काठमाडौं । दाङको एक पर्यटकीय सम्भाव्यताले युक्त गन्तव्य हाे, छिल्लीकोट । तुलसीपुर उपमहानगरपालिका-१९ मा अवस्थित छिल्लीकोट समुन्द्री सतहदेखि एक हजार चार सय १० मिटर उचाईमा रहेको छ । छिल्लीकोटबाट सिस्ने हिमाल, धवलागिरि हिमाल देख्न सकिन्छ ।
त्यहाँ भ्यूटावर निर्माण गरिएको छ । यसको उद्देश्य हो- पर्यटन प्रवर्द्धन गर्ने । त्यहाँबाट दाङका फाँट, रूकुम, सल्यान, रोल्पालगायत बाँके जिल्लाका केही स्थानको अवलोकन गर्न सकिन्छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय हिसाबले उत्तम मानिएको त्यस क्षेत्रमा पुग्ने सडक भने गतिलो छैन । सुन्दर दृश्य हेर्न जानेहरू धुलाम्मे हुनुपर्छ । ठूला गाडीलाई केही सहज भए पनि मोटरसाइकलमा जाँदा धुलाम्मे हुने अवस्था छ ।
पन्ध्रौँ-सोह्रौँ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको ठाउँ छिल्लीकोट पर्यटनको आकर्षण केन्द्र हो । बेलझुण्डी र सङ्ग्राम ब्यारेक गरेर दुई सडकबाट ऐतिहासिक तथा पर्यटकीय क्षेत्र छिल्लीकोट पुग्न सकिन्छ ।
बिजौरीको हाडिमे हुँदै छिल्लीकोट पुग्ने सडक अहिले कालोपत्र हुँदैछ । त्यस सडक कालोपत्र भएपछि भने पर्यटक सहजै छिल्लीकोट पुग्न सक्नेछन् । छिल्लीकोट पुग्ने सडक कालोपत्र भएपछि सहजरूपमा आवतजावत हुनेछ । यसले पर्यटकको सङ्ख्यालाई थप वृद्धि गर्ने स्थानीय पूर्ण पुनले बताए ।
उनले भने, ‘सडक व्यवस्थित भएमा यहाँ पर्यटकको घुइँचो लाग्ने गर्छ ।’
मोटरसाइकल, स्कुटरमात्रै होइन, तुलसीपुरबाट धुलाम्मे हुँदै छिल्लीकोट अवलोकन गर्नेको सङ्ख्या पनि कम छैन । कोही बाटोमा सिमेन्ट उद्योगका टिपर भेटिए पनि रोकेर त्यसमै चढेर पुग्छन् भने छिल्लीकोट पुग्ने जो-कोही गाडी भेटिए पनि रोक्दै गाडीमा चढ्दै गर्छन् । बिजौरी, बेलझुण्डीबाट छिल्लीकोट जाने बाटोमा दिउँसो प्रायः छिल्लीकोट पुग्ने पर्यटकको घुइँचो लाग्ने गर्छ ।
पन्ध्रौँ-सोह्रौँ शताब्दीमा जुम्लाबाट आएका चल्ल वंशीय राजा मेघनाथ शाहले राज्य सञ्चालनका लागि रोजे र राज्य सञ्चालन गरे यो भन्दा पहिले यस ठाउँको नाम धार्मिक शास्त्रअनुसार (मल्लागिरि), पर्वत (पहाड) हो । अर्थात छिल्लीकोटको प्राचीन नाम मल्लागिरि हो । पूर्णागिरि भारतमा पर्दछ भने चन्द्रागिरि काठमाडौंको उत्तरी भू-भागमा पर्दछ ।
छिल्लीकोटबाट खुमखानी राजाले राज गरेको स्थान पनि देखिन्छ । कुनै समय छिल्लीकोट राजा र खुमखानी राजा आपसमा लडेको र त्यतिबेला छिल्लीकोटे राजाले खुमखानी राजालाई प्रहार गर्ने तोप पनि ऐतिहासिक वस्तुका रूपमा हेर्न सकिन्छ । त्यहाँ छिल्लीकोटे राजा बसेको घर र बस्न प्रयोग गरेका ढुङ्गाका अवशेष पनि हेर्न सकिन्छ ।
छिल्लीकोटमा कालिका, मालिका, गणेशथान, भैरवथान, शिवजी थान, हवन कुण्ड, रक्तकुण्ड, बुद्धढुङ्गा, गुप्तेश्वरी गुफा, छिल्लीकोट राजगडी, राजमाको तोप, राजाका शिलाढुङ्गा चौकी, इन्द्रचोक, टुँडिखेललगायत छन् । नेपाल एकीकरण गर्ने सिलसिलामा राजेन्द्र लक्ष्मीदेवी शाह गद्दीमा बसेको बेला पृथ्वीनारायण शाहका भाइ बहादुर शाह नायक बनी छिल्ली राज्य गाभिएको हो ।
छिल्लीकोटबाटै मालपोत कार्यालय पनि सञ्चालनमा आएको थियो । सरकारले क्षेत्रलाई अधिकार दिने काममा बटौली खसेउली वर्तमान बुटवल शासन गर्नका नेपालगञ्जमा गोश्वारा स्थापना भई शासन प्रशासन जमिन्दार, पटवारी मुखिया तालुकदार, मतवा स्थापना भई शासन प्रशासन सञ्चालनमा आएपछि मालपोत कार्यालय माल अड्डाले हेर्ने टुङ्गो लागेको थियो ।
त्यो माल अड्डा कार्यालय तत्कालीन दाङको सदरमुकाम छिल्लीकोटमा रहेको थियो । वि.सं. २००६ सम्म त्यहाँ मालपोत कार्यालय रहेको प्रमाण अहिले पनि सुरक्षित छन् ।
यहाँ सतीदेवीको अङ्ग पतन भई कालिका मालिका देवी भगवती उत्पत्ति भएको विश्वास गरिन्छ । पछि छिल्ली राजाले देवकोटा ब्राह्मणलाई पुजारी राखी कालिका मालिका भगवती मन्दिर बनाई विधिपूर्वक पूजाआजा गर्ने चलनको सुरुआत गरेका हुन् ।
राजाले भोटबाट लामा गुरु बोलाई बुद्ध ढुङ्गाको समेत पूजा चलाएको किंवदन्ती छ । पछि आएर वि.सं. २००६ देखि २०२२ सम्म यहाँकै भगवतीले रुचाएर अमृता घर्तीमगरलाई ओलप्पाई माताका रूपमा प्रकट गरेको मानिन्छ ।
यिनै कुरा छिल्लीकोटका सुन्दरता हुन् । ऐतिहासिक र धार्मिक कुरालाई लिएर अहिले सङ्घीय, प्रदेश र स्थानीय तहले छिल्लीकोटलाई दाङकै एउटा प्रमुख पर्यटनको केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेका छन् । सोहीअनुसार वर्षेनि बजेट विनियोजन भइरहेको छ । करोडौँ बजेट छिल्लीकोटमा गएको छ । यो बजेटले काम पनि भइरहेको छ । त्यहाँका नागरिकको जीवनस्तर सुधार हुँदै गएको छ ।