मंगलबार , भाद्र ९, २०८३

पुष्प मेलामा चार सय ५० भन्दा बढी प्रकारका फूल बिरुवाको प्रदर्शन

image

काठमाडौं ।  पुष्प व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरा एक्स्पो मेला आयोजना गरिने भएको छ । यही चैत १७ गतेदेखि २० गतेसम्म सञ्चालन गर्न लागिएको मेलामा ७० वटा कक्ष रहने जनाइएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सञ्चालन हुने मेलामा  व्यावसायिक ६० वटा र सूचनामूलक १० कक्ष प्रदर्शनमा राखिने एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जनाएका छन् ।

मेलामा विभिन्न पुष्प नर्सरी, फार्म तथा संस्थाको सहभागिता रहने अध्यक्ष तामाङले जनाएका छन् ।  चार सय ५० भन्दा बढी प्रकारका फूल बिरुवाको प्रदर्शन तथा खरिद बिक्री हुने मेलामा नर्सरी व्यवसायीद्वारा उत्पादित आलङ्कारिक फूल बिरुवा, मौसमी फूल, स्टल सजावट, बगैँचा सजावट, पुष्प सजावटजस्ता उत्कृष्ट विधामा प्रतिस्पर्धा गराई पुरस्कृत समेत गरिनेछ ।

विभिन्न प्रकारका फूल बिरुवाको एकै थलोमा अवलोकन तथा खरिद गर्ने अवसरका साथै आधुनिक खेती प्रविधिबारे सूचना आदानप्रदान गर्ने अवसर प्रदर्शनीबाट पाइने अपेक्षा एसोसिएसनले राखेको छ । मेला बिहान ९ बजेदेखि साँझ ५ः३० बजेसम्म सञ्चालन हुनेछ ।

विशेषगरि तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ । अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको बताइएको छ । अध्यक्ष तामाङले पुष्पको बढ्दो मागका कारण काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको बताए । नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन भइरहेको छ ।

करिब एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले पुष्पखेती गर्दै आएका छन् । कोरोना महामारीका कारण विगतका वर्षमा लक्ष्यमा पुग्न निकै कठिन भए तापनि अहिलेको अवस्थामा कारोबार गर्न सके यस वर्ष लक्ष्यमा पुग्न निकै सहज हुने विश्वास एसोसिएसनले लिएको छ ।

नेपालमा २००७ सालदेखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । कात्तिकदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुन्छ ।

सम्बन्धित समाचार