विद्वत् वर्गबाट अनुसन्धान हुनसके शंकर लामिछानेप्रति सच्चा सम्मान हुनसक्थ्याे कि भन्ने मनमा लागि राखेको छ ।
Photo by: Himal Darpan
– शिव पौडेल
दर्शनशास्त्रकाे विद्यार्थी भएका नाताले Saunder काे Research Onion पढेको थिएँ । त्यसै क्रममा मलाई कुनै मित्रले शंकर लामिछानेको यो पुस्तक छ भन्ने जानकारी दिए । नामले जाँचेर खासै महत्त्व दिएको थिइनँ । दुर्भाग्य ! यस पहिले मैले शङ्कर लामिछानेकाे कुनै पनि पुस्तक पढेको रहेनछु । अहिले महसुस हुँदैछ ।
२०७९ वैशाख मध्यतिर, साझा प्रकाशनको पुस्तक मेला पुल्चोकमा घुम्न जाँदा अनायासै यो पुस्तकमा मेरा आँखा गडे । हात लम्किए र पुस्तक समाते । भित्र नपल्टाई अरू पुस्तकसँगै घर भित्र्याएँ ।
२-४ दिन पछिको एक दिन खासै मन नलागी-नलागी पुस्तक हातमा लिएँ । ओल्टाईपल्टाई गरेँ । जम्मा ५२ पेजको यो पुस्तकले २०२४ सालकाे मदन पुरस्कार प्राप्त गरेको रहेछ । पाना पल्टाउने क्रममा भावना अभियान नेपाल परिवारको ‘भन्नैपर्ने कुरा’ पनि पढेँ । भन्नैपर्ने कुराका ३ अनुच्छेद भित्रका २/४ वाक्यले उनकाबारे थुप्रै यथार्थ बोले ! म नतमस्तक भएँ !
मदन पुरस्कार पाएपछि शङ्कर लामिछानेको मन्तव्य पनि रहेछ, पुस्तकमा। ‘Repetition of work on the same line has no meaning’ भनेर शंकर लामिछाने र महाकवि लक्ष्मीप्रसाद देवकोटाकाे भलाकुसारीले एउटा सिद्धान्त नै जन्माएको रहेछ ।
दुई पानाको उनको मन्तव्य नै एउटा सिङ्गो दर्शन भएको पाएँ । विद्वत् वर्गबाट अनुसन्धान हुनसके शंकर लामिछानेप्रति सच्चा सम्मान हुनसक्थ्याे कि भन्ने मनमा लागि राखेको छ ।
उनको मन्तव्यले धेरै कुरा बोल्छ । उनी स्पष्ट छन् । विचारमा स्पष्ट हुनु भनेको खरो हुनु हो । उनी खरो रहेछन् । विभिन्न भाषामा दखल राख्ने उनी नेपाली भाषालाई बडा राम्री तरुनीजस्ती थुप्रै सम्भावना भएको देख्दछन् । भाषा र लेखकाे भविष्यका बारेमा उनी हेनरी मिलरसँग सहमत छन् । शंकर लामिछाने साहित्यलाई इतिहास मान्छन् । किन ? भन्ने थाहा पाउन उनकाे मन्तव्य पढ्नै पर्छ । पढिएका हरेक शब्द र वाक्य सुन्नु पर्छ ।
पुस्तकमा, लेखकीय ‘भनाइको भूमिका’ र ‘अभनाईकाे अभूमिका’ दुवै छन् । दुवै स्पष्ट छन् । दमदार छन् । मस्त छन् । खरा छन् । भूमिका होस् वा अभूमिका, उनका हरेक वाक्य अर्थपूर्ण छ न्। सशक्त छन् । दार्शनिक छन् ।
दश वटा निबन्ध रहेको पुस्तकका दुई निबन्ध ‘देउताको काम’ र ‘एब्स्ट्रा्याक चिन्तन:प्याज’ मात्रै पढेँ । पहिलो म शून्य भई पढेँ, अर्को म पूर्वाग्रही भई पढेँ । तर, मेरो पूर्वाग्रह क्षरभरमै चकनाचुर भइगयो । अहिलेलाई यी दुई निबन्धका बारे केही लेख्ने दुस्साहस गरिएन । यत्ति मात्रै भनूँ, सायदै पहिले कहिल्यै निबन्ध पढ्दा यति मजा आउँथ्यो । बाँकी अरू पढ्नु छ ।
अन्त्यमा, यो पुस्तकका भूमिका र मात्र दुई निबन्ध पढेपछि ‘नामले जाँचेर खासै महत्त्व नदिएको’ कारण आफैँलाई ग्लानि महसुस भयो ।
गाताको आधारमा किताबको निर्णय नगरौँ (Don’t judge a book by its cover) भन्ने थाहा पाउँदापाउँदै पनि महसुस गरायो । सायद शिक्षा र ज्ञानकाे फरकको सुरुवाती बिन्दु यस्तै हुन्छ ।