काठमाडौं । एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्छन् । ‘एसिड आक्रमणमा परेका पीडितहरूको उपचारसम्बन्धी कार्यविधि २०७८’ अनुसार पीडितहरूले त्यस्तो सेवा पाउँछन् ।
आकस्मिकपछि थप उपचार भने देशका चार अस्पतालमा मात्र निःशुल्क छ । काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौंकै वीर अस्पताल, ललितपुरको पाटन अस्पताल र काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा एसिड आक्रमणमा परेका पीडितहरूको निःशुल्क उपचार गरिन्छ । एसिडपीडितका लागि सरकारले ती अस्पतालमा निःशुल्क उपचार सेवाको व्यवस्था गरेको छ ।
यी अस्पतालबाट निःशुल्क उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ ३१ गतेदेखि लागु हुनेगरी एसिड आक्रमणमा परेका पीडितहरुको उपचारसम्बन्धी कार्यविधी २०७८ जारी गरेको छ । कार्यविधीमा कस्मेटिक उपचारबाहेकको अन्य एसिड आक्रमणसँग सम्बन्धित सम्पूर्ण आवश्यक उपचार तथा औषधि खर्च नेपाल सरकारले ब्यहोर्ने उल्लेख छ ।
मन्त्रालयले २९ भदौ २०७७ को मन्त्रिपरिषद् बैठकको आदेशअनुसार एसिड आक्रमणमा परेका पीडितहरुको निःशुल्क उपचारको संयोजन तथा सहजीकरण गर्न यो कार्यविधी ल्याएको हो । एसिड आक्रमण पीडित कुनै पनि स्वास्थ्य संस्थामा सेवा लिन पाएमा निःशुल्क प्राथमिक एवं आकस्मिक उपचार गर्नुपर्ने तथा ६ महिनाका लागि निःशुल्क घाउमा लगाउने मल्हमसमेत उपलब्ध गराउनुपर्ने व्यवस्था पनि कार्यविधीमा छ ।
