बुधबार , साउन ९, २०८१

आलमदेवी र मिर्मीमा जलयात्रा

image

नेपालका शक्तिपीठहरुमध्ये बेग्लै विशेषता र पहिचान बोकेको स्याङ्जाको आलमदेवी तीर्थाटन पर्यटनको लागि पुग्नैपर्ने स्थान हो । आलमदेवी मन्दिरमा बडा दशैंको नवमीका दिन विशेष पूजा र सरकारी पञ्चबलि चढाउने प्रचलन छ । वि.सं.१३५० सालमा स्थापना भएको यो मन्दिर शाह वंशको कूल देवता र कूल मन्दिर मानिंदै आएको छ । आलमदेवी मन्दिर कालीगण्डकी गाउँपालिका वडा नंं. ३ लसर्घाको टाकुरामा रहेको छ । आलमदेवीको मन्दिर समुन्द्री सतहबाट करिब १३ सय ५० मिटर उचाइमा रहेको छ । आलमदेवी उत्तर दक्षिण र पश्चिम तर्फ कालीगण्डकी नदीले युटर्न गरी बगेको छ ।

ग्रामीण पर्यटन धार्मिक, प्रकृति र संस्कृतिमा आधारित छ । प्रकृति र संस्कृति ग्रामीण क्षेत्रमा नै रहेको हुन्छ । त्यसैले पनि ग्रामीण पर्यटनका सम्भावनाहरु गाउँमा नै धेरै हुन्छ । त्यसैले त आजभोलि धेरै पर्यटक घुमफिरको लागि ग्रामीण क्षेत्रमा पुग्ने गर्दछन् । कालीगण्डकी करिडोरले गर्दा यतिखेर कालीगण्डकी वारिपारी ग्रामीण बजार बिस्तार भएको छ । आलमदेवी मात्र होइन त्यस क्षेत्रमा घुमफिरमा जाने ग्रामीण पर्यटकहरुलाई खान बस्नको लागि कुनै असुविधा हुँदैन । गाउँमा पुगेपछि अधिकांश पर्यटकहरुले खासगरी संस्कृति, प्रकृति र परम्पराको अध्ययनमा रुचि देखाउँछन् । कालीगण्डकी वारिपारी विशेष गरी आलमदेवी क्षेत्रमा मगर संस्कृति रहेको छ ।

आलमदेवी शाह राजाहरुको कुलदेवी हुन् । भारतको चित्तौडगढका चन्द्र वंशावली भट्टारक राजा ऋषि राणाजीको राज्यमा मुगलले आक्रमण गरेपछि चित्तौडमा राज्य गरी बस्ने मिचा खान र खाम्चा खानहरु त्यहाँबाट भागेर भारतको गढवाल हुँदै नेपाल प्रवेश गरे । नेपालमा गुल्मीको रिडी हुँदै चण्डीभञ्ज्याडबाट हाल आलमदेवी मन्दिर रहेको स्थान आइपुग्दा साँझ पर्यो र त्यस ठाउँमा भीमसेन पातीको रुख र समथर जमिनमा बास बसे । अर्कोदिन बिहान उठेर हेर्दा आफ्नो साथमा लिएर आएको इष्टदेवी रुखको फेदमा गहिरो प्वाल पारेर अलप भएको पाए । उक्त प्वाल कालीगण्डकीको तीरसम्म नै पुगेको र त्यो प्वालबाट कालीगण्डकी नदी सुस्याएको समेत सुन्न सकिने किंवदन्ती रहेको छ । यसरी आफ्नो इष्टदेवी अलप भएपछि उनीहरुकै व्यवस्थापनमा मन्दिर स्थापना गरेर अलपदेवीको नाममा पूजा आजा गर्न थाले र त्यही स्थानमा लसर्घाकोट राज्यको स्थापना गरेर केही समय राज्य सञ्चालन गरी बसे । मिन्चा खाँण र खान्चा खाँणमध्ये एकजनाले स्याङ्जाको नुवाकोटमा र अर्कोले कास्कीकोट, तनहु हुंदै गोरखा सम्म राजा भएर राज्य गरेका र तिनै खाँणलाई पछि भारतका वादशाहले शाह उपाधि दिएपछि शाह लेख्न थालेका हुन् । नेपालको शाह वंश तिनै चित्तौडगढका चन्द्र वंशावली राजाका सन्तान हुन् ।

आलमदेवी मन्दिरको छाना छैन । बेलाबेलामा मन्दिरभित्रबाट ज्वाला निस्कने भएकाले मन्दिरमा छाना नराखिएको हो । आलमदेवी मन्दिरलाई ज्वालामाई देवीको रुपमा पनि चित्रण गरिन्छ । अर्को कुरा आलमदेवी मन्दिरमा मूर्ति छैन, मूर्ति रहने ठाउँमा भीमसेन पातीको रुख छ । यो रुख सय वर्ष भन्दा अगाडिदेखि जस्ताको त्यस्तै रहेको स्थानीय बताउँछन् । आलमदेवी मन्दिरमा राना मगर थरका चुडाकर्म गरेका १५ वर्षमुनिका किशोरले मात्रै पुजारी बन्न पाउँछन् । पुजारीले कालीगण्डकी नदीमा नुहाएर मात्र पूजा गर्छन् । पैदल यात्रामा आलमदेवी जाने पर्यटकहरुले मन्दिर पुग्न जुनसुकै दिशाबाट जाँदा पनि उकालो चढ्नैपर्छ । तर आजभोलि मन्दिर परिसरमा नै मोटर पुग्छ । मन्दिरमा पूजा हुँदा नगरा बजाउने परम्परा छ । एकादशी, औंशी, साउन १ देखि नागपंचमी र १६ श्राद्धमा बाहेक अरु सबै दिन आलमदेवी मन्दिरमा बली चढाइन्छ । आलमदेवी मन्दिरमा वर माग्न, भाकल गर्न र पूजा गर्न तीर्थाटनका पर्यटकहरु नेपालका अधिकांश जिल्लादेखि मात्र होइन भारतबाट समेत पर्यटकहरु पुग्ने गर्दछन् । आलमदेवीमा चैते दशैं, र न्वागीमा पनि विशेष पूजा र सांस्कृतिक कार्यक्रमहरु हुने गर्छन् ।

आलमदेवी मन्दिर कोटाकोट लसर्घा र बिर्घागाउँको सिरमा रहेको छ । मन्दिर परिसरबाट उत्तरतर्फ अन्नपूर्ण र माछापुच्छ«े हिमश्रृंखला समेत देख्न सकिन्छ । मन्दिरको दक्षिणतर्फ फर्कदा पाल्पा तानसेनको श्रीनगर डाँडा र रानीमहल र सुन्दर बस्तीहरु छेर्लुङ सटुकाको फाट देख्न सकिन्छ । आलमदेवीलाई केन्द्र मानेर त्यस वरपरका धार्मिक, सांस्कृतिक, प्राकृतिक जस्ता ग्रामीण पर्यटकीय स्थल रमणीय छ । आलमदेवी पुग्ने मुख्य चार मार्गहरु रहेका छन् । आलमदेवी प्रवेश गर्ने दक्षिण मार्ग पाल्पाको तानसेनबाट रानीघाट तरेर स्याङ्जाको सटुकाबाट उकालो चडेपछि आलमदेवी पुगिन्छ । अहिले मोटरमार्ग बनेको छ । जसको दूरी कालीगण्डकी किनारमा रहेको रानीघाटबाट ७ किलोमिटर पर्दछ । मिर्मीबाट विर्घा हँुदै आलमदेवी पुग्न पनि सकिन्छ भने रिडी, रुद्रवेणी, कोटाकोट, लसर्घा हुँदै पनि आलमदेवी पुग्न सकिन्छ । रिडी चण्डीभञ्याङ हुँदै पनि आलमदेवी पुग्न सकिन्छ ।

आलमदेवी मन्दिर उत्तर, दक्षिण र पश्चिमबाट कालीगण्डकी नदीले घेरिएर रहेको छ । आलमदेवी मन्दिर कोटाकोट वेसी, लसर्घा वेसी र बिर्घा फाँटको सिरमा पर्दछ । मन्दिर परिसरदेखि उत्तरतर्फ अन्नपूर्ण र माछापुच्छ्रेको हिमश्रृंखला दृश्यावलोकन गर्न सकिन्छ । मन्दिरको दक्षिणतर्फ फर्कदा तानसेनको श्रीनगर डाँडा र नेपालकै ताजमहलको रुपमा रहेको रानीमहल एवं सुन्दर बस्तीहरु छेर्लुङ र सटुका देख्न सकिन्छ । मन्दिरको पश्चिमतर्फ रुरु क्षेत्र र रुद्रवेणी रहेको छ । आलमदेवी वरपर बेल्टारी फाँट, बाँसटारी, मिर्मी, बिर्घा, कोटाकोट बेसी, लसर्घा बेसी, सटुका, बारीचौर, टङलेहवा प्यूघा, किपटको समथर गाउँ र जैपते, छाप, दब्छे, कट्टि, आलम, वैघा, कोटाकोट, चण्डीभञ्ज्याङ, हटिया आदि गाउँहरु रहेका छन् ।

आलमदेवी पुग्दा धेरै पर्यटकहरु स्याङ्जाको मिर्मी पुग्न चाहन्छन् । पर्यटकहरु मिर्मी पुगेपछि जलयात्रा गरेर सेतीवेनी पुग्छन् । कालीगण्डकी ए जलविद्युत परियोजना बन्ने क्रममा मिर्मीमा बाँध बाँधिएपछि नदी तालमा परिणत भएको छ । त्यसरी बनेको जलाशयमा आजभोलि पर्यटकहरुको लागि जलयात्राको गन्तब्य भएको छ । नदीको जलाशयमा स्टिमरले गुल्मी, पर्वत र स्याङ्जा जिल्लाको संगमस्थल सेतीवेनीसम्म पुर्याउने गर्दछ । सेतीबेनीमा शालिग्राम शीलाको अवलोकन गर्न सकिन्छ । जलयात्रामा मिर्मीदेखि सेतीवेनीसम्म सात किलोमिटरको दूरी ४५ मिनेटमा पार गरिन्छ । मिर्मीमा अहिले १२ वटा स्टिमर सञ्चालनमा छन् । पोखरा अथवा स्याङ्जातिरबाट आउने पर्यटकहरु सिद्धार्थ राजमार्गमा पर्ने राम्दीदेखि १६ र गल्याङबाट ३ कि.मी.को दूरीमा रहेको जिरो भन्ने स्थानबाट मिर्मीको यात्रा शुरु गर्न सक्नुहुन्छ ।

जिरोबाट उकालो शुरु भएपछि देखिन थाल्छ कालीगण्डकी वरपरका ग्रामीण सम्पदाका रमणीय दृष्यहरु । उकालो घुम्ती सकिनासाथ फुलेभट्टी पुगिन्छ । फुलेभट्टीबाट मालुङ्गा, चापाकोट र पाल्पाको हुगी गाउँ समेत देख्न सकिन्छ । जिरो किलोबाट मिर्मीको आधीदोभानसम्म २० किलो मिटरको यात्रामा दायाँपट्टी आँधीखोला र बायाँपट्टी काली गण्डकी वरपरका प्राकृतिक सम्पदा र रमणीय गाउँहरु देख्न सकिन्छ । मोटर मार्गमा पर्ने बटुवा, गुरुङ्दी भञ्ज्याङ, गुठी, रैबारा, जयत्रदेवीस्थान, नयाँमिल, वलाम जाइपाते, छाप, गौरी भञ्ज्याङ, बरडाँडा, वारीचौर हुँदै मिर्मी पुगिन्छ । यसरी मोटर मार्गमा यात्रा गर्दा स्याङ्जा जिल्लाको आँधीखोला पारीको दुधेचौर, निवुवाखर्क र डुम्रीचौर गाउँहरुको प्राकृतिक दृष्य समेत अवलोकन गर्न सकिन्छ । त्यसैगरी फुलेभट्टीबाट मिर्मीतिर जाँदा कालीपारीको पाल्पा जिल्लाको खानीछाप, दर्मलडाँडा, याम्घा, खानीगाउँ र वौधागुम्बा गाउँहरुको समेत यात्राको समयमा अवलोकन गर्न सकिन्छ ।

जब मिर्मीको आधीदोभान पुग्नुहुन्छ– तपाईले कालीगण्डकी ए ले बनाएको बाँध र बाँधको कारण कालीगण्डकी र आँधीखोलामा बनेको जलाशय हेर्दा कुनै प्राकृतिक ताल झै तपाइँलाई लाग्न सक्छ । खाना बस्नको लागि आधी दोभानमा कुनै समस्या छैन । तालको किनारमा रहेका होटलहरुले खाना बस्नको सुविधा त्यहा पुग्ने ग्रामीण पर्यटकहरुलाई दिने गर्दछन । आधी दोभानका माछाको लागि प्रख्यात मानिन्छ । आँधीखोला स्याङ्जा जिल्लाको प्रख्यात खोला हो । यसको उदगमस्थल अन्धाअन्धीको नाम राखिएको दहबाट भएको हो । यो खोला स्याङ्जा जिल्लाको बीचभागबाट बग्दै मिर्मीमा पुगेपछि कालीगण्डकीमा मिसिन्छ । कालीगण्डकी ए जलविद्युत आयोजना १४४ मे.वा. क्षमताको पिकिङ रन–अफ–रिभर प्लान्ट हो । यो जलविद्युत सन् २००२ अर्थात आज भन्दा २० वर्ष पहिलेदेखि सञ्चालनमा आएको हो । कालीगण्डकी जलविद्युत परियोजनाको बाँध मिर्मीको आधीदोभानमा पर्दछ । कालीगण्डकीलाई बाँध बाँधेर करिव ७ कि.मी.को सुरुङ मार्गबाट वलाम वेल्टारीमा यसको विद्युत गृह बनेको छ । कालीगण्डकी बाँधस्थलको केही तल गुल्मीको हर्मिचौरबाट पश्चिम नागवेलीको आकारमा बग्दै रुद्रवेनी भएर रिडीमा पुग्छ । रिडीबाट उत्तरबाहिनी हुँदै पुन नदी पूर्वी दिशामा बग्दै अर्गेली, वौधागुम्बाको छेरलुङ रानीदरवार, यम्घा खानीछाप भएर राम्दीमा पुग्छ । यसरी कालीगण्डकी घुम्दा युटर्न को आकार देखिन्छ । यो बीचमा स्याङ्जा जिल्लाको मिर्मी, बिर्घा, आलमदेवी, कोटाकोट, चण्डिभञ्ज्याङ गाउँहरु पर्दछन् ।

कालीगण्डकी ए को बाँधदेखि ठूलो शिला शालिग्राम रहेको सेतीवेणी बजारसम्म दुई ठूला पहाडको खोचबाट पानीमाथि स्टिमर चढेर यात्रा गर्दाको आनन्द बेग्लै हुने हुँदा ग्रामीण पर्यटकहरु रमाउने गर्दछन् । स्टिमरको यात्रा नेपालकै लागि नौलो यात्रा मानिन्छ । स्टिमरले पचासदेखि साठीजना मानिसहरुलाई एक पटकमा यात्रा गराउँछ । इञ्जिनबाट चल्ने यस्ता स्टिमरमा बसेर यात्रा गर्दा पर्यटकहरु रमाउने गर्दछन । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरहरुको अवलोकन स्टिमरको यात्रामा पर्यटकहरु रमाउने मात्र होइन आनन्दको महसुस गर्दछन् । स्टिमरमा यात्रा गर्नेले जल यातायातको अनुभव मात्र गर्दैनन यात्रा अवधिभर दुबैतर्फ रहेका घना जंगलको तस्बिर समेत खिच्न पाउँछन् । नदीको दुबैतर्फ पहाडका खोचमा रहेका स–साना प्वाल र जमिनमुनिबाट रसाउँदै निस्कने पानीका फोकाहरु समेत उत्तिकै हेर्नलायक हुन्छन् । स्टिमर चालकले कतिपय ठाउँमा एक्कासी नदीको किनारतर्फ लैजान्छन् । जतिखेर छेउको पहाडमा रहेका अग्ला रुखहरुबाट निरन्तर झर्ने पानीका थोपाले यात्रीलाई आनन्द दिन्छन् ।

कालीगण्डकीलाई श्रीकृष्णागण्डकी, हिरण्यगर्भा र विभवदात्री माता पनि भन्ने गरिन्छ । विशेषत शालिग्रामका विविध आकृति पाइने हुनाले कालीगण्डकीलाई पवित्र मानिन्छ । कालीगण्डकीको शिरमा रहेको मुक्तिनाथ पवित्र धामको रुपमा मानिन्छ । कालीगण्डकीको दर्शन र स्नान गरेमा महापापबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ । नेपालमा सबै नदीहरु दक्षिण दिशामा बगेका छन । तर कालीगण्डकी शुरुमा उत्तर बगेका कारण धार्मिकरुपमा यसको महत्व बढी रहेको छ । कालीगण्डकी र सेती खोलाको दोभानमा रहेको पर्वत, स्याङ्जा र गुल्मी तीन जिल्लाको संगमस्थलमा पर्ने सेतीवेनीमा विशाल शिला रहेको छ । शिलालाई परापूर्वकालदेखी शालिग्राम मान्दै आएका छन् । हिन्दू धर्म अनुसार शिलालाई भगवान विष्णुका रुपमा मानिन्छ । शिलाको पूजा र दर्शन गर्न विभिन्न ठाउँहरुबाट एकादशी, औंशी, माघे सक्रान्ति जस्ता चाडपर्वमा तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन् । सेतीवेनी धार्मिक आस्था राख्नेहरुको लागि आस्थाको केन्द्र बनेको छ ।

कालीगण्डकी वरपर प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक, भौगोलिक र सामाजिक विविधता रहेको भूगोल हो । कालीगण्डकी किनार धार्मिक महत्वले मात्र होइन ऐतिहासिक र सांस्कृतिक महत्व धेरै पाउन सकिन्छ । आलमदेवीको यात्रामा प्राकृतिक सुन्दरतासँगै मनोरम वातावरणको रमाइलो अनुभव हुन्छ । कालीगण्डकी नदीको तिरैतिर यतिबेला कालीगण्डकी करिडोरको सडक निर्माण कार्य भइरहेको छ । कालीगण्डकी करिडोर गंैडाकोटदेखि चीनको कोरला नाकासम्म ४ सय ३५ किलोमिटरको दूरी छ । राम्दी–अर्गली रिडी खण्डको ४२ र रिडी रुद्रवेनी १३ किलोमिटर रहेको छ । त्यसैगरी रिडीदेखि जोमसोमसम्म १ सय ७४ किलोमिटर पर्दछ । पर्वतको सदरमुकाम कुश्मादेखि स्याङ्जाको मिर्मीसम्मको करिब ६८ किलोमिटरको मोटर मार्ग बनेको छ । सडक सुविधाले गर्दा आजभोलि केही पर्यटकहरु सडकमार्गको प्रयोगबाट पनि सेतीवेनी र अन्य ग्रामीण पर्यटकीयस्थलहरुको भ्रमण गर्ने गर्दछन् । कालीगण्डकी स्याङ्जा, पाल्पा र गुल्मी जिल्लाको सीमा बनेको छ । पवित्र कालीगण्डकी किनारमा रहेका प्रशिद्ध राम्दी, रानीघाट, रिडी, रुद्रवेनी, मिर्मी र सेतीवेनी जस्ता घाटहरुमा विशेष पर्वहरुमा मेला समेत लाग्ने गर्दछ ।

कसरी जाने ?

काठमाडौं–स्याङ्जा मिर्मी ३ सय ५ पाँच कि.मि । गल्याङ–मिर्मी २२ कि.मि । मिर्मी–आलमदेवी १२ कि.मि । पाल्पाको रानी महल आलमदेवी ७ कि.मि. । गुल्मीको रुद्रवेणी आलमदेवी करिव ८ कि.मि. । काठमाडौं–मिर्मी रात्रि बस सेवा पाइन्छ । पोखरा, बुटवलबाट दैनिक मिनीबस चल्छन् । गल्याङ जिरोबाट महिन्द्रा जीपमा पनि जान सकिन्छ ।

सम्बन्धित समाचार