प्रहरीले कपिलवस्तु नगरपालिका- ३ सानो बर्गदहवाबाट रक्सी बरामद गरेको छ ।
काठमाडौं । प्रहरीले कपिलवस्तु नगरपालिका- ३ सानो बर्गदहवाबाट बाँड्न लागेको रक्सी समाएको छ । बुधवार मतदातालाई बाँड्दै गरेको अवस्थामा कपिलवस्तु प्रहरीले रक्सी नियन्त्रणमा लिएको हो ।
स्थानीयलाई बाँड्न लु १ ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी देखेपछि प्रहरीलाई जानकारी गराइएको थियो । घटनास्थलमा पुगेर प्रहरीले रक्सी सहितको भ्यान र मानिसलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी जेसी शाहका अनुसार १२ कार्टुन (२६० बोतल) रक्सीसहित एक जनालाई पक्राउ गरिएको छ । रक्सी बाँड्न निवर्तमान वडा अध्यक्ष तथा क्रिकेट एसोसिएसन कपिलवस्तुका अध्यक्ष समेत रहेका वडा नम्बर ३ का उम्मेदवार प्रकाश गैरेले लगाएको आरोप छ ।