बुधबार , साउन ९, २०८१

अष्टिम्की: प्रकृति र मानव जीवनशैली

आम मानिसहरूको बुझाइमा अष्टिम्की र कृष्ण जन्माष्टमी एउटै हो भन्ने गलत बुझाइ रहेको पाइन्छ । तर यसको गहिराइ र वास्तविक त्यसो होइन, अष्टिम्कीमा प्रकृति, सृष्टि र मानव जीवनशैलीको गाथा गाइन्छ ।

image

हरेक समुदायमा रहेको चाडवाड, उत्सव लगायतका संस्कृतिसँग जोडिएर रहेको विविधताले त्यो समुदायको पहिचान झल्काउँछ । नेपाल यस्तो देश हो जहाँ विभिन्न जाति समुदायको आआफ्नै कला संस्कृतिहरू रहेको छन् । चाडपर्व, चालचलन रहेको छन् । यसले देशको सांस्कृतिक महत्वलाई जिवन्त बनाउँछ र एकार्काे समुदाय बीचको सांस्कृतिक महत्वलाई बुझ्ने अवसर पनि प्रदान गर्छ । आज थारू समुदायमा मनाइने एक महत्वपूर्ण चाड ‘अष्टिम्की’ को बारेमा केही चर्चा गरिनेछ ।

थारू महिलाहरूको पर्व अष्टिम्की

अष्टिम्की मुलतः थारू समुदायमा महिलाहरूको पर्व हो । र स्वेच्छा अनुसार पुरुषहरू पनि ब्रत बस्न सक्छन् । यो पर्वमा दिनभरि ब्रत बस्ने चलन छ । अब लागौं यो पर्व के हो ? किन मनाइन्छ ? कसरी मानिन्छ ? भन्ने तिर ।

हरेक पर्वसँग पौराणिक, ऐतिहासिक अथवा लोक मान्यताहरू जोडिएका हुन्छन् र यिनै मान्यताहरू नै चाड पर्वका खास आधारहरू पनि हुन् । यसकारण अष्टिम्कीका लोक मान्यताहरू के-के हुन्, यस बारेमा जान्न जरुरी छ । खास गरेर अष्टिम्कीलाई तीन वटा मिथकीय मान्यताहरू प्रचलनमा रहेका छन् । लोककथा, अष्टिम्की गीत र कृष्ण लिलाबारे बुझ्न जरुरी छ । अष्टिम्की बुझ्नका लागि यी मिथकहरूका बारेमा सामान्य चर्चा गरौं ।

१. लोककथा

जब गुर्बाबा (सृष्टिकर्ता)ले जल, थलको सृष्टि गरिसकेपछि वनस्पति हुँदै जीवजन्तुहरूको उत्पत्ति भयो । पृथ्वीमा मानिस सर्वश्रेष्ठ प्राणीको रूपमा देखा पर्यो । विभिन्न चरण पार गर्दै मानिस जब कृषि प्रणालीमा प्रवेश गर्छ । त्यसैबेला एक एउटा संयुक्त परिवार थियो । उनीहरू सात भाइ छोराहरू थिए । सबै भाइहरू मिलेर काम गर्थे र वर्षभरिलाई खेतबाट अन्न उत्पादन गर्थे । उनीहरू खेतीपाती सकिएपछि प्रत्येक वर्ष हलो, जुवा काट्न जंगल जान्थे ।

गुर्बाबाको बन्दै गरेको मूर्ति

एक पटक असार–साउनमा खेती सकिएपछि उनीहरू सातै भाइ हलो–जुवा काट्न जंगल निस्किए । जंगल टाढा थियो, यसकारण उनीहरूले एक-दुई दिनको खर्च बोकेर गाएका थिए । यसरी जंगल गएका श्रीमान्हरू समयमा नआएपछि तिनीहरूका श्रीमतीहरू पनि आत्तिन थाले । उनीहरू गएकै दिनदेखि प्रत्येक दिन घर भित्तामा धर्को तानेर चिनो चलाउँथे । दिन बिर्सिन्छ कि भनेर पहिले घरको भित्तामा धर्को तान्ने चलन थियो । जब सातौं दिनसम्म पनि कोही नआएपछि उनीहरू चिन्तामा परे र उनीहरूको आश पनि टुट्यो । चिन्ताले गर्दा आठौं दिन उनीहरूले चुलो बारे । कुनै खान पाकेन, पानी समेत खाएनन् । बालबच्चाहरू बासी भात र बारीमा फलेका काँक्रा खाएर रहे ।

ठीक त्यसै साँझ सातै भाइ छोराहरू टुपलुक्क आइपुगे । घरमा निकै खुसियाली छायो । सबैले खाना, भात–भान्सा पनि वास्ता गरेनन् । सबै वृत्तान्त सुन्न र सुनाउनमै मस्त रहे । रात त्यसै बित्यो । त्यसै परिवारमा एक जना कान नसुन्ने बुढीआमा पनि थिइन् । उनले आँखाले देखेपनि कानले भने केही सुन्दैन थिइन । त्यसैले उनलाई पनि बुझ्न सजिलो होस् भनेर एक भाइ छोराले सबै वृत्तान्तहरू भित्तामा चित्रहरू मार्फत जनाउने कोसिस गरे ।

जब भाले बस्यो । सबै बुहारीहरू रातभरि खाएका काक्रो लगायतका फलफुल बोक्राहरू लिएर खोलातिर नुहाउन गए । त्यसैबेला जेठी बुहारीको भान्सा पालो थियो । सबै नुहाउन गएपछि उनी तरकारी खोज्न निस्किइन । आफ्नो बारी नजिक थिएन । उनले अरुकै बारीको चिचिन्डो टिपेर ल्याइन । नुहाएर आएपछि सबै मिलेर मीठो पकवान तयार गरे । आफ्नो श्रीमान्हरूलाई खुवाइबरी सुखद् सन्देश बोकेर केही ‘पाहुर’ लिएर आफ्नो चेलीबेटी कहाँ गए र सुख–दुःखका कुरा गरेर फर्किए । यसरी कालान्तरमा अष्टिम्की एउटा पर्वको रूपमा स्थापित भयो । अहिलेसम्म यो चलन कायमै छ ।

२. अष्टिम्की गीतको संक्षेप

जब गुर्बाबाले यो पृथ्वीको सृष्टि गरे, त्यसबेला यो पुरै जलमग्न थियो । पछि गुर्बाबाले पातालबाट माटो ल्याउनको लागि गंगटोलाई पठाए । गंगटोलाई पाताललोकका दानवहरूका पहरेदारहरूले नियन्त्रणमा लिन्छन् । त्यसपछि कुमालकोटी, बिच्छी लगायतको जीवहरूलाई माटो लिन पठाइन्छ तर सबै समातिन्छन् । अन्तिममा गड्यौलालाई पठाइन्छ र उसले आफ्नो पेटमा माटो बोकेर ल्याउँछ । त्यही माटो ल्याएर बिस्ट्याएपछि यो हामीले टेक्ने जमीन बनेको हो । त्यसपछि यहाँ विभिन्न प्रकारका जलघाँस, वनस्पति, जीवजन्तुहरूको उत्पत्ति हुन्छ । जीवमध्ये मानिस सबैभन्दा बौद्धिक र सचेत प्राणीको रूपमा देखा पर्छ । मानिसले अन्य जीवजन्तुभन्दा भिन्नै सभ्यताको विकास गर्छ । जीवनयापनका लागि विभिन्न विकल्पहरू खोज्न थाल्छ । खेती प्रणालीको विकास हुन्छ ।

अष्टिम्की गीत अनुसार गुर्बाबाले खास पात्रकोे रूपमा ‘इसरू’लाई जन्म दिन्छन् । साथै सृष्टिको लागि एकजना महिलाको खाँचो पर्छ । महिलाको रूपमा ‘जासु’को पनि जन्म हुन्छ । उमेरले परिपक्व भइसकेपछि दुबैको औपचारिक विवाह हुन्छ । संसारिक जीवनसँगै जीवनयापनका लागि उनीहरूले कृषि विकल्पको रूपमा रोज्छन् ।

खेतीपातीका लागि आवश्यक सामान हलो, जुवा चाहिन्छ । एक दिन इसरु हलो जुवा काट्न जंगल जन्छन् । जब काठ लिएर आएपछि हलो कसरी बनाउने उनलाई थाहा हुँदैन, उनकी श्रीमति जासुले सिकाएपछि उनी हलो तयार गर्छन र त्यसैले खेतीपाती गर्छन ।

समयक्रम अनुसार जासु गर्भावती हुन्छिन् । गर्भावती भएपछि गाउँको एक जना ‘डेंगिया’ भन्नेलाई इसरूले सोडेनी बोलाउन पठाउँछन् । सोडेनीको घर उनलाई थाहा हुँदैन । बोलाउन जाने आदेश भएपछि ऊ सोध्दै–सोध्दै जान्छ । बाटोमा सुरुमा बाख्रा चराउनेहरूसँग भेट हुन्छ र उनीहरूलाई सोध्छन् । उनीहरूलाई थाहा नभएको जनाउँछन्, बरु भेंडा चराउनेहरूलाई थाहा हुनसक्छ भन्ने कुरा सुनाउँछन् । डेंगिया भेडा चराउनेहरू कहाँ पुग्छन् । उनीहरूलाई पनि यो कुरा थाहा हुँदैन, उनीहरूले सुँगुर चराउनेहरू कहाँ पठाउँछन् । यस्तै गाइ–गोरु, भैसी, घोडा, ऊँट, हात्ती चराउने सबैसँग सोध्दै जाँदा उनले कुवाँमा पानी लिन आएका महिला, जुत्ता सिउने सार्की, लुगा सिउने दमाइ, फलाम पिट्ने लोहार, सुनको गहना बनाउने सुनार लगायत सबलाई सोध्छन् तर कसैले भन्न सकेका हुँदैन । अन्त्यमा लुगा धुने धोबी कहाँ पुग्छन् र धोबीले सुडेनीको घर बताइदिन्छ, उनी सुडेनीकहाँ पुग्छन् ।

सुडेनी कहाँ पुगेर इसरूका जहान जासुको सुत्केरी हुने दिन पुग्नै लागेकोले लिन पठाएको खबर सुनाउँछन् । तर सुडेनीले स-सम्मान मलाई हात्ती लिएर आए मात्रै जाने सुनाउँछिन् । डेंगिया फर्किन्छन् र इसरुलाई सुडेनीको सन्देश सुनाउँछन् । इसरू हात्ती लिएर डेंगियालाई फेरि पठाउँछन् । हात्ती लिएर सुडनीको घर पुगेपछि हात्तीको सुपा जस्तो कान अजंगको शरीर देखेर उनी मुर्छा पर्छिन् । ब्युँतिएपछि अर्कोपाली घोडा लिएर आउने आग्रह गर्छिन् । डेगिया हात्ती लिएर फर्किन्छन् र फेरि घोडा लिएर जाँदा घोडा डरलाग्दो गरि कराएको सुनेर घोडामा आउन पनि अस्वीकार गर्छिन् ।

डेंगिया फेरि फर्किन्छन् । अर्को पाली सुडेनीको इच्छा अनुसार ऊँट लगायतका सवारीको माग गर्छन् तर लिएर जाँदा विभिन्न बहाना गर्दै अस्वीकार गर्दै  जान्छिन् । अन्तिममा उनी सुनको खात सहितको डोलीमा जान मन्जुर हुन्छिन् । उनी इसरूको घर पुगेर आफ्नो कर्तव्य पालना गर्छिन् । इसरू र जासुको पहिलो सन्तानको रूपमा ‘कान्हा’ जन्मिन्छ ।

सुस्त–सुस्त कान्हा बढ्दै जान्छन् । गाउँका केटाकेटीहरूसँग खेल्न थान्छन् । साथीहरूसँग डन्डीबियो लगायतका खेलहरू खेल्न थाल्छन् । उनी बाख्रा चराउन सक्ने भएपछि आमाले उनलाई बाख्रा, गाइ–गोरु चराउन जाने आग्रह गर्दा उनले आफूसँग काठको पौवा, लट्ठी, छाता नभएकोले नजाने आदान लिन्छन् । उनको कुरा सुनेर ‘हामी त किसानका सन्तान हाम्रो जीवन यापन यसैमा चलेको छ । त्यसैमा चलेको छ, त्यसै तिमी गाइ गोरु चराउन जानु पर्छ । बरु तिम्रो मामालाई आज बनाउन लगाउँछु, बनायो भने तिमीलाई दिन्छु’ भनेर सम्झाएर पठाउँछिन् । कान्हा मामाको सबैभन्दा प्यारो भान्जा थिए । कान्हाले इच्छाएको सबै कुरा मामाले पुरा गरिदिन्थे । भान्जा कान्हाको कुनै कुरामा कमी नहोस् भनेर मामाले माँगेको सबै चिज बनाएर पठाइदिन्थे ।

बाख्रा, भेडा चराउँदा चराउँदै उनी केही समयपछि जवान हुन्छन् । उनलाई अब गाई गोरु हेर्ने जिम्मेवारी दिइन्छ । अब उनी गोठालासँग रमाउन थाल्छन् । अन्य गोठालोहरूले बाँसुरी बजाएको देखेपछि उनलाई पनि रहर जाग्छ । तर उनीको आफ्नो बासुरी हुँदैन । यो कुरा आफ्नो आमालाई सुनाउँछन् । आमाले उनको मामालाई भन्छिन् । मामाले आफ्नो प्यारो भान्जाको लागि सुनको बाँसुरी बनाएर पठाइदिन्छन् ।

अब कान्हा बाँसुरी लिएर खुसी हुँदै गोठालो जान थाल्छन् । उनी अब्बल बाँसुरी वादक निस्किए । उसको बाँसुरी कलाले उनकै साथीहरू पनि अचम्मित भए । हरेक दिन गाइ गोरु जंगलमा छोडेर उनी रुखमा बसेर बाँसुरी बजाउँछन् । बाँसुरीको सुरिलो धुन सुनेर उनकी माइजु खोज्दै आउँछिन् । अन्ततः यति सुरिलो बाँसुरी बजाउने त आफ्नै साख्खै भान्जा भनेर थाहा पाउँछिन् । कान्हाको बाँसुरीमा उनी निकै मोहित थिइन । र हरेक दिन जसो बाँसुरी सुन्न उनी भान्जालाई भेट्न जंगल पुग्न थालिन् । धेरै दिनको उठ–बसले कान्हाँकी माइजू नै उनको प्रेमजालमा फस्छिन् ।

आफ्नै माइजूसँग कान्हाको गहिँरो प्रेम सम्बन्ध गाँसिन्छ । ‘एक कान, दुई कान मैदान’ भने जस्तै कान्हाका मामाले एक दिन भान्जा–माइजूको प्रेमजालबारे थाहा पाउँछन् । आफ्नै भान्जासँग श्रीमति प्रेमजालमा फँसेको कुरा चाल पाएपछि मामालाई असह्य हुन्छ । तर अति माया गर्ने भान्जालाई कुनै पनि बहानामा केही गर्न सक्ने अवस्थामा थिएनन् । ‘भाञ्जा मार्नु बाहुन मारे बराबर पाप हो’ भन्ने ठानेर मामाले केही गर्न पनि सकेनन् ।

मामाले एक दिन एउटा उपाय निकाले । उनले भान्जा कान्हालाई बारी फुल्वार गाएर फूल टिप्न पठाउने । जुन फूल नागराजको निगरानीमा थियो । त्यो फेल कसै पनि टिपेर ल्याउन सक्दैन । टिप्न जानेलाई नागराजले डसेर मारिदिन्थे । यसैले भान्जा फुल टिप्न जाँदा नागराजले डसेपछि उनी मर्छन् र मात्र म मेरो श्रीमति पाउँछु । यसो गर्दा सर्प पनि मर्ने र लट्ठी पनि नभाँचिने । उनी कान्हाँलाई बोलाउन पठाउँछन् । मामाको बोलावटमा कान्हाँ तुरन्तै हाजिर हुन्छन् । मामाले सबै कुरा सुनाएपछि उनी बारी फुल्वार फूल लिन जाने राजी हुन्छन् । तर एउटा सर्त राख्छन् । उनी मामालाई भन्छन्, ‘मामा बारी फुल्वार जान लामो बाटो छ । आउन जान मलाई खान खर्चा पनि चाहिन्छ, जंगलको बाटो छ, हिंसक जंगली जनावर पनि भेटिन सक्छन् । त्यसैले बाटो खर्च र छुरी–कटारी, धनुष–बाँण, खराउ चाहिन्छ । मामाले यत्ति कुराको जोहो गर्नु पर्छ ।’

मामाले उनको कुरा स्वीकार्छन र सबै कुरा बनाएर दिन्छन् । आफूले माँगेको मामाले पुर्याइदिएपछि कान्हा बारी फुल्वार फूल लिन तम्तयार हुन्छन् । उनी घरबाट निस्किदा घर परिवार ठूलो चिन्ता छाउँछ । ‘जोखिमपूर्ण काममा जाँदैछ’ भनेर आमा रुन थाल्छिन् । यो कारुणिक अवस्थामा पनि उनी हरेश खाँदैन । विश्वासका लागि एउटा भाँडोमा दूध चिनो राखेर भन्छन् । ‘आमा बुवा यो भाँडाको दूध हेर्नु होला, यदि मलाई तलमाथि भयो या मरेँ भने यो दूध रगतमा परिणत हुन्छ । यदि केही भएन भने म नआउँदासम्म केही हुँदैन ।’ यत्ति खुरा भनेर कान्हाँ बिदा हुन्छन् ।

उनी आफ्नो झोला हतियार सहित सात पहाड पारीको यात्रा तय गर्छन् । भोग प्यास खेप्दै सात पहाड पार गरिसक्दा पनि उनले खोज्न आएको बारी फुल्वार भेटाउँदैनन् । उनी बिरक्तिएर रुन थाल्छन् । उनको त्यो दश देखेर ढउरागिन पर्वतबाट ढउरा पेंरखिया (ढुकुर) आइपुग्छ । ढुकुरलाई उनले आफ्नो सबै सुनाउँछन् । ढुकुरले उनलाई बाटो देखाएर सहयोग गर्छ । उनी वृहत कष्टपूर्ण यात्रा पार गर्दै बारी फुल्वार आइ पुग्छन् ।

बारी फुल्वार पस्न त्यत्ति सजिलो थिएन । चारैतिरबाट बार बन्देज गरिएको थियो । प्रवेशद्वारमा सुरक्षा कडा बनाइएको थियो । बारी फुल्वार काली नागीनको अधिनमा थियो । त्यसकारण बारीमा पस्न नपाउँदैन काली नागीनले डसेर मार्ने गथ्र्यो । यो कुरा कान्हाँलाई थाहा थियो तर उनी ठूलो साहसका साथ प्रवेश गर्ने आँट गरे । किनकि मामाले सुम्पेको जिम्मेवारी पनि उनले पुरा गर्नु पर्ने थियो । उनी ढोका पुग्दा नपुग्दै काली नागीनले डसिहाल्यो । अन्तत: कान्हाँ बेहोस हुन्छन् ।

षडयन्त्र गरेर मार्नका लागि फूल टिप्न पठाएको कुरा कान्हाँका प्रेमिका (माइजू)लाई थाहा हुन्छ । त्यसकारण माइजूले कान्हाँको सुरक्षार्थ गरुडलाई पठाउँछिन् । गरुड त्यहाँ पुग्दा कान्हाँलाई बेहोस अवस्थामा देख्छ । उनलाई बचाउन औषधीको खोजीका लागि आकाशमा उड्छ । ऊ चाँरैतिर हेर्छ तर कतै पनि भेटाउँदैन । गरुडले एक कुटी देख्छ । कुटीमा एक ऋषि बस्थे । गरुड ऋषिसँग आफ्ना सबै कुरा सुनाउँछ ।

गरुडले ऋषिले सिकाएको विधि पुरा गर्यो । कान्हाँ ब्यूझिए र फूल लिएर फर्किए र, आफ्नो मामालाई पूजाको लागि दिए । मामाको षडयन्त्र पनि कान्हालाई थाहा भयो । त्यसैले मामालाई पनि मार्ने उपाय सोच्न थाले । सजिलो उपाय – ‘पूजा गरेर ढोग्दा तरबारले बध गर्ने ।’ यसैक्रममा जब मामा पूजा गर्न बस्छन् । उनी पनि तरबार लिएर तयार हुन्छन् । अन्त्यमा, मामा फूल चढाएर पूजा गरी ढोगिरहँदा कान्हाले तरवारले आफ्नो मामाको वध गर्छन् । अन्त्यमा उनी आफ्नी माइजूसँग विवाह गरे ।

astamaki

३. कृष्ण लिला सार

हिन्दू धर्मग्रन्थ अनुसार, कृष्णको जन्म द्वापर युगमा भएको थियो । भाद्र कृष्ण अष्टमीको दिन बुबा वासुदेव र आमा देवकीको कोखबाट भएको थियो । देवकी कंशकी बहिनी थिइन् । कंश राजा उग्रसेनका सन्तान थिए । उनले आफ्नै बुबालाई राजसिंहासनबाट बर्खास्त गरेर जेलमा राखेका थिए ।

वासुदेव र देवकीको विवाहपश्चात् एक दिन कंश आफ्नी बहिनी देवकी र वासुदेवलाई आफ्नै रथमा उनको घरसम्म पठाउँन जाँदै थिए । त्यसै बेला आकाशबाट एउटा अनौठो आवज आयो, ‘हे कंश ! जसलाई तिमीले यो रथमा बसालेर पठाउन गइरहेका छौँ, उसैको कोखबाट जन्मेको सन्तानको हातबाट तिम्रो मृत्यु हुनेछ !’ यो कुरा सुनेपछि कंश रिसले भयो । र, आफ्नी बहिनीको हत्या गर्ने मनसायले आफ्नो तरबार निकाल्यो ।

त्यसैबेला वासुदेवले देउकी (देवकी) को गर्भबाट जति पनि सन्तान जन्मिन्छन्, सबै कंशलाई सुम्पिने प्रण गर्दै देउकीको जिवनको रक्षका लागि बिन्ति गरे । यति सुनेर कंशले वासुदेवको कुरा स्वीकार गरे । तर दुबैलाई जेलमा हाले ।

वासुदेव र देउकीका सात सन्तान सहमति अनुसार कंशलाई बुझाइयो र उसले सबैको हत्या गरिरह्यो । त्यसपछि देवकीको आठौं गर्भ रह्यो । जब आठौं सन्तान जन्मिनेक्रमसम्म जेलभित्र निकै कडा पहरा दिइयो । पहरेदारहरू थपिए र निगरानी बढाइयो ।

जब कृष्णको जन्म भयो । पहरेदारहरूलाई मोह निद्राले ढाक्यो । सबै पहरेदारहरू आफ्नै ठाउँमा निदाए । कृष्ण जन्मेको पहरेदारहरूले सुइकोसम्मा पाएनन । जेलका ढोकामा लगाइएका तालाहरू आफैँ खुल्यो । ढोकाहरू पनि आफैँ खुले । बाहिर घनघोर पानी पर्न थाल्यो । तर जेलभित्र भने उज्यालो भयो ।

यसैबेला वासुदेव कृष्णलाई टोकरीमा राखेर गोकुल लैजाने भनेर बाहिर निस्किए । पानी थामिएको थिएन । कृष्ण भिज्न थालेपछि नागराज आफ्नो फणाले बचाउँछन् । जाँदा जाँदै उनी जब यमुना पुग्छन्, यमुनामा ठूलो बाढी हुन्छ । यत्रो पानी कसर तर्ने भन्ने चिन्ता हुन्छ वासुदेवलाई । तर जसरी पनि गोकुल पुग्नै पर्ने भएकोले उनी यमुनामा पस्छन् । उनी पानीमा पसेपछि पानी छिनभरमा सुक्दै गयो । उनी यमुना पार गरे र, गोकुल पुगे ।

गोकुलमा यशोदाको कोखबाट नवकन्याको जन्म भएको हुन्छ । वासुदेव यशोदाको काखमा खेलिरहेकी बच्चीलाई उठाए र कृष्णलाई उनकै काखमा सुताए अनि, गोपाल नन्दको सहमतिमा कन्या लिएर फर्किए । यशोदा प्रसवपीडामा थिइन । उनलाई पुत्र या पुत्री जन्माएको कुरा पनि थाहा पाएनन ।

वासुदेव कन्यालाई लिएर मथुरा आए । उनी आउँदा पहरेदारहरू अझै निद्रा मोहमै सुतिरहेका थिए । जेलका ढोहरू आफैँ खुले र बन्द भए । ताला पूर्ववत् आफैँ लाग्यो । उनीहरू फेरि जेलभित्रै थुनिए । कन्यालाई देवकीको काखमा राखिदिए । केही समयपछि बालिका जोर जोरले रुन थालिन् । बालिकाको कारुणिक रुवाइले पहरेदारहरू ब्यूँझिए । पहरेदारहरूले कंशलाई खबर गरे । कंश आगो भएर जेलभित्र छिर्र्यो र बहिनी देवकीको कोखमा रहेको बालिकालाई खोस्यो । र, अन्य सात बच्चालाई जमीनमा पछारे जस्तै पछार्न लाग्दा बालिका कंशको हातबाट फुत्किएर आकाशमा उडिन । उड्दै भनिन्, ‘पापी मलाई जति कोसिस गरे पनि मार्न सक्ने छैनस् । तँलाई मार्ने तेरो शत्रु गोकलमा जन्मिसकेको छ ।’

कंश असफल भयो ।

कृष्ण गोकुलमा रहेको जानकारी पाएपछि कंशले सबै बालकहरूलाई मार्ने आज्ञा दिन्छ । यसको लागि स्त्रीयोद्धा पुतनालाई खटाइन्छ । उनले गोकुलका बालकहरूलाई बीष लगाएर स्तनपान गराउन थाल्छिन् । यसैक्रममा उनी यशोदाको घर पुग्छिन् । यशोदा काम विशेष घर बाहिर गएकी थिइन । यसै मौकामा सुतिरहेको कृष्णलाई उठाएर बाहिर ल्याइन् र स्तन चुसाउन थालिन् । तर कृष्णले उनको स्तनपानसँगै प्राण नै चुसिदिए । पुतनाको त्यही मृत्यु भयो ।

त्यत्ति मात्रै होइन, कंशद्वारा कृष्णलाई मार्न लागि विभिन्न षड्यन्त्रहरू भएको छन् । पहलमानहरू लगाएर हात्तीहरू लगाएर मार्ने प्रयास कंशले गर्छ तर कृष्णले अद्भूत तरिकाले विजय हासिल गरेका थिए ।

कलाकार एस.सी. सुमनले बनाएका राधा-कृष्णको चित्र

कृष्णको राधासँगको प्रेम गहिरिन्छ । राधा कृष्णका बालसखा थिइन । कृष्णले राधासँग हजारौँ लिला रचाएका थिए । राधा ब्रज निवासी भृषभानुकी छोरी थिइन् । राधा कृष्णको बाँसुरीको धूनप्रति असाध्यै मोहित हुन्थिन् । जब कृष्णले बाँसुरी बजाउँथे, उनी आफ्नो घरको सबै काम छोडेर बाँसुरी सुन्न आइपुग्थिन् । र कृष्णसँग उनको गहिरो प्रेम पनि भयो । त्यसो त हिन्दू धर्म ग्रन्थ भागवत पुराण गीता, हरिवंश, विष्णु पुराण, महाभारत लगायतका ग्रन्थहरूका अनुसार कृष्णको औपचारिक पहिलो विवाह रुक्मिणीसँग भएको उल्लेख गरिएको छ । त्यसपछि सत्यभामा, कालिन्दी, जम्बावती, नागनजिती, भाद्र, लक्ष्मणा (माद्रा) र राधा लगायत आठ जनासँग उनको विवाह भएको उल्लेख छ । तर चरमप्रेम भने राधासँग रहेको कुरा सबैमा अवगत छ । त्यत्ति मात्रै होइन, उनको कब्जामा रहेका १६ हजार एक सय ८ जना गोपिनीहरूसँग ‘रासलिला चलेको’ कुरा पनि हिन्दू ग्रन्थहरूमा भेटिन्छ ।

यता कृष्ण गोकुलमा रहेको थाहा पाएदेखि कंश बीच–बीचमा आफ्ना योद्धाहरूलाई पठाइरहन्छ । दाजू बलराम र कृष्ण मिलेर धेरै योद्धाहरूलाई मारिसकेका थिए । अन्ततः कृष्ण गोकुल छोडेर मथुरा आए र पापी मामाको वध गरे । उनका बुबा वासुदेव र आमा देवकी पनि जेल मुक्त हुन्छन् । त्यसपछि उनी संसारिक जीवन बिताउन थाल्छन् ।

तीन मिथकका आ-आफ्नै भाव

यी तीन वटै मिथकीय सन्देशले आआफ्नै भाव बोकेका छन् । हरेक मिथकले समुदायको प्रतिनिधित्व गर्छ । यसमा पहिलो र दोस्रो मिथकले थारु समुदायको मौलिकताको प्रतिनिधित्व गर्छ भने तेस्रो मिथकले सिंगो हिन्दू धम र आस्र्थासँगको समुदायको प्रतिनिधित्व गर्छ । अष्टिम्की पर्व विशेषतः प्रकृति र मानव जीवनशैलीसँग जोडिएर आएको एक विशेष पर्व हो । कृष्ण जन्माष्टमी धर्म र आस्थासँग जोडिएको पर्व हो भन्दा धेरै फरक नपर्ला । थारु समुदायमा यो विषयमा निकै लामो समयदेखि एउटा अन्योलता रहिआएको छ- अष्टिम्की र कृष्ण जन्माष्टमी पर्व एउटै हो कि भिन्न–भिन्न पर्व हुन् भन्ने कुरामा । यसकारण माथिका यी तीन वटा मिथकहरूलाई तुलनात्मक अध्ययन गर्न जरुरी देखिन्छ ।

हेरौँ मिथकहरू बीचका केही असमानताहरू;

१. मिथक दोस्रो श्रृष्टि, प्रकृति र मानव जीवनशैलीको वर्णन गरिको लोक काव्य हो भने तेस्रो मिथकमा पाप, धर्म र प्रेमको वर्णन छ ।

२. कान्हाँका बुबा इसरु र आमा जासु हुन् भने कृष्ण (कन्हैया) वासुदेव र आमा देवकी हुन् । केही थारु लेखकहरूले इसरुलाई वासुदेव र जासुलाई देवकी रूपमा उल्लेख गरेका छन् । तर यसमा सत्यता पाइँदैन । किनकि इसरु थारु समुदायको विभिन्न लोक साहित्यमा उपस्थित एक मौलिक पात्र हुन् । गुर्बाबक जल्मौटि, सुर्खेल, ढक्हेर गीत, पचरा, मन्त्र, गोरिया, सख्या लगायत लोक काव्यमा उनी प्रमुख पात्र हुन् । जुन लोक काव्यमा कृष्णको प्रतिनिधित्व भेटिदैन ।

३. कान्हाँ इसरु र जासुको पहिलो सन्तान हुन् भने कृष्ण वासुदेव र देवकीको आठौँ सन्तान हुन् ।

४. इसरु एक सामान्य परिवारमा जन्मेका किसान हुन् । जसलाई थारु लोक साहित्यमा कृषि प्रणालीको प्रवर्तकको रूपमा उल्लेख गरिको छ भने वासुदेव एक राज खानदानमा हुर्किएका एक पात्र हुन्, उनको कृषिसँगको कुनै संलग्नता भेटिदैन ।

५. कान्हाँको जन्म पहिलो सन्तानको रूपमा आफ्नै घरमा हुन्छ । बाल्यकालमा लालनपालन पनि घरमै आफ्नै आमा बुबाबाट हुन्छ भने कृष्णको जन्म जेलभित्र हुन्छ । उनी आठौँ सन्तानको रूपमा जन्मिएका थिए र जन्मिनेबित्तिकै उनलाई गोकुल पठाइएको थियो । उनको बाल्यकाल र लालनपालन गोप नन्द र उनकी श्रीमती यशोदाले गरेकी थिइन । यस तथ्यले पनि कान्हाँ र कृष्ण एउटै पात्र होइनन् भन्ने कुराको पुष्टि हुन्छ ।

६. कान्हाँको मामा उनको सबैभन्दा प्रिय थिए । उनको बाल्यकाल खेलौना लगायत मनोरन्जनका साधनहरू उनकै मामाले पुर्याइदिएका थिए । त्यत्ति मात्रै होइन उनीहरूको परिवारसँग पनि मामाको सहयोग र गहिरो मायाप्रेम थियो भने कृष्णको सबैभन्दा ठूलो दुश्मन मामा कंश नै थिए । उनलाई कैयौँ षडयन्त्र गरेर उनलाई मार्ने योजना बनाएका थिए । बाबु आमालाई जेलमा राखेका थिए ।

७. कान्हाँको प्रेम आफ्नै माइजूसँग हुन्छ र अन्ततः मामाको वधपछि विवाह पनि आफ्नै माइजूसँग हुन्छ । यता कृष्णको चरमप्रेम आफ्नै बालसखा राधासँग हुन्छ भने औपचारिक विवाह रुक्मिणी, सत्यभामा, कालिन्दी, जम्बावती, नागनजिती, भाद्र, लक्ष्मणा (माद्रा) र राधा गरी ८ जनासँग हुन्छ ।

अध्ययनको दृष्टिकोणले सामाजिक र सांस्कृतिक क्षेत्र पनि प्रमुख हो । सामाजिक तथा सांस्कृतिकक्षेत्रलाई हेर्ने हो भने अहिले पनि थारु समुदायमा कृष्णको कुनै पनि स्थान भेटिँदैन । उनको पूजापाठ गरेको पनि देखिँदैन ।

थारु समुदायका आफ्नै मौलिक देउता र भवानीहरू रहेका छन् । कुल देउताको रूपमा खेंख्री–मैया, सौंरा, लागुबासु, गुर्बाबा, चैटिक पटिया, बघहाँ, भेंर्वा लगायतका रहेका छन् । जुन देउताहरू प्रत्येक घरको देवस्थान (डेहुरार) हुन्छन् । यस बाहेक ग्राम थान (मर्वा/डेउठन्वा) हुन्छ । जुन प्रत्येक गाउँमा कम्तिमा एक-एक वटा मर्वाहरू हुन्छन् । जसमा जहाँ रजामहादेव, गावर ढिया, गावर माता, सात बह्नििक लहरा, बहिरा रक्सा, मरिवा, ढनचोर्वा, डनवाँ, चुरिनियाँ, डहरचन्डी, पाँचो पान्डो, बघेस्री, चमरगन्नी, पाटन भवानी लगायतका देउताहरू हुन्छन् । तर, कृष्णको प्रतिकात्मक स्वरूप समेत कतै भेटिदैन । यसकारण अष्टिम्की पर्वलाई कृष्ण जन्माष्टमीसँग जोडेर विश्लेषण गर्नु उपयुक्त देखिदैन । हिन्दू संस्कृतिमा कृष्णको आफ्नै महिमा छ । यसको आस्था र महिमालाई आफ्नै ठाउँमा राखेर प्रकृति पुजक थारु समुदायले पनि आफ्नो मौलिकताबारे चिन्तन गर्न जरुरी छ । हरेक समुदायको संस्कृति आफ्नो समुदाय अनुकुल हुन्छ र महत्व पनि रादख्छ ।

astamaki

हस्तचित्र:

अष्टिम्कीमा घरको बहरी (प्रवेशद्वारको पहिलो कोठा, बैठक कोठा) को उत्तरपट्टिको भित्तामा हस्तचित्र बनाउने चलन छ । जसमा विभिन्न मानवाकृति र प्राकृतिक चित्रहरू बनाएका हुन्छन् । जुन मानव जीवनशैलीलाई प्रतिकात्मक रूपमा प्रस्तुत गरिएको हुन्छ । उहिले, अहिलेको जस्तो चित्र बनाउनका लागि प्रयाप्त रूपमा रंगहरू पाइदैनथ्यो । चित्र बनाउनका लागि सेमीको पात निचोरेर हरियो र पोइ भन्ने जातको पाकेको फलको निचोरेर रातो रंग बनाइन्थ्यो । त्यसैगरि अन्य रंगहरू पनि बनाइन्थ्यो । चित्र बनाउनुभन्दा पहिले ‘ढौरा’ भन्ने एक विशेष प्रकारको माटोले भित्ता पोतिन्छ ।

चित्र बनाउनुभन्दा पहिले विभिन्न रंगहरूको बुट्टाले घेरा बनाइन्छ र त्यही घेराभित्र चित्र बनाइन्छ । यो चित्र बनाउनको लागि कुनै विशेष कालीगढको जरुरत पर्छ भन्ने छैन । यो चित्र सिकारुहरूले पनि बनाउन सक्छन् । घेराभित्र पनि तीन वटा कोठा हुन्छ । त्यसको माथि अर्को सानो कोठा हुन्छ । जसमा गुर्बाबाको प्रतीक बनाइएको हुन्छ । जुन उल्टो पारेर बनाइन्छ ।

तीन वटा कोठा मध्ये माथिल्लो कोठामा विजोर संख्यामा पुरुषाकृति बनाइएको हुन्छ । यसमा तीनदेखि सात वटासम्मको चित्र बनाउन सकिन्छ । तर केही ठाउँमा सोभन्दा पनि बढी बनाएको पाइन्छ । धेरै मेहनत लाग्ने हुनले धेरै संख्यामा चित्र बनाउन नसकेको हो । संख्यामा छेकबार छैन । तर यो विजोर संख्यामा हुनुपर्ने कुरामा भने सबैको एकरूपता देखिन्छ । माथिल्लो कोठा पुरुषहरूको चित्रमा मादल भिरेका, बाँसुरी बनाइरहेको, बन्दूक बोकेको तथा छाता ओढेको पाइन्छ । यस चित्रले पुरुषहरूको विभिन्न क्रियाकलाप र अवस्थाको बारेमा सम्बोधन गर्छ । त्यसको बायाँ कुनामा चन्द्रमा र दायाँ कुनामा सूर्यको पनि चित्र बनाइएको हुन्छ । थारू प्रकृति पुजक हुन् भन्ने कुरा बायाँ पट्टि चन्द्रमा र दायाँपट्टि सूर्यको चित्रले प्रमाणित गर्छ ।

त्यसैगरि त्यसको ठीक तल्लो कोठा अथवा बीचको कोठामा पनि माथिल्लो कोठामा बनाइएको पुरुषाकृति संख्याको बराबरमा महिलाकृति बनाइन्छ । उनीहरूको दुबै छेउमा जोक्करको पनि चित्र बनाइएको हुन्छ । नाचमा जोक्करको पनि ठूलो भूमिका हुने भएकोले ती चित्र बनाइएको हुनु पर्छ । यसरी माथिल्लोमा पुरुष र तल्लोमा महिलाको चित्रले सृष्टिको बिम्बको लिइन्छ । अर्थात सन्तान उत्पादनको माहिला र पुरुष अनिवार्य वस्तु हुन् भन्ने कुराको संकेत गर्छ ।

सबैभन्दा तल्लो कोठा माथिको दुबै कोठाभन्दा ठूलो हुन्छ । यसमा विभिन्न प्रकृतिसँग सम्बन्धि आकृतिहरू बनाइएको हुन्छ, जसलाई यहाँ बुँदागत रूपमा प्रस्तुत गरिएको छ;

  • रोइना: तल्लो कोठाको पश्चिमपट्टि रोइनाको चित्र बनाइएको हुन्छ जसको बाह्र वटा टाउका हुन्छन् । त्यसैल यसलाइृ बरमुर्वा पनि भनिन्छ । कसैकसैले यसलाई रौना (रावण) को प्रतीक पनि भन्ने गरेका छन् । तर रावणको जीवन र आचरणसँगको दुवै घटना-परिघटना अष्टिम्कीको न गीतमा पाइन्छ, न कुनै लोकोक्ति/कथा/किम्बदन्तिमा पाइन्छ । रावणको १० वटा टाउको हुन्छ तर रौइना/रौनाको १२ वटा टाउको हुन्छ । त्यसकारण ‘रोइना रावण नभएर थारु समुदायको आफ्नै मौलिक पात्र हो’ भन्ने कुराको पुष्टि हुन्छ । उनको चित्र बनाएपनि उनलाई पूजा गर्ने चलन भने छैन । उनको चित्रमा टीका लगाएमा लगाउनेको बच्चा बच्ची रुने जस्ता चरित्रका जन्मिने जनविश्वास छ ।
  • डोली: मानव मात्रै होइन पशुपन्छिहरूमा एकअर्काबीच आत्मीय सम्बन्ध रहन्छ । तर मानिस बौद्धिक प्राणी भएकोले समयक्रमसँगै सम्बन्धलाई औपचारिक रूप दिन थाल्यो, जसलाई विवाह भनेर भनियो । विवाह सृष्टिको औपचारिक माध्यमको रूपमा पनि लिइन्छ । विवाहको पहिलो दिन डोली चढेर आफ्नो श्रीमान्को घर जानु पर्ने भएकोले डोली अनिवार्य हुन्छ । त्यसैगरि अष्टिम्की गीत अनुसार सुडेनीलाई हात्ती, घोडा, ऊँट लगायतको सवारमा आउन नमानेपछि अन्त्यमा डोलीमा बोकेर ल्याइएको प्रसंग पनि छ ।
  • कजरिक बनवा: घना जंगललाई कजरिक वनवाँ भन्ने बुझाउँछ । जंगलमा काठ, वन्यजन्तु, पशुपन्छी रहने बासस्थानको रूपमा लिइन्छ ।
  • कमलको फूल: फूल सुन्दरताको प्रतीकको रूपमा लिइन्छ । यसको पात खानाका लागि पनि प्रयोग गरिन्छ । अष्टिम्कीको लोककथामा जंगल गएका सात भाइ छोराहरूले थालको अभावमा यसैको पातमा खान खाने गर्दथे ।
  • मयूर: मयूर नौरंगी सुन्दर चरा हो ।
  • लाउ (डुङ्गा): अष्टिम्कीमा डुङ्गा यातायातको साधनको प्रतिकात्मक चित्रण गरिएको छ ।
  • रैनी मछरिया: रैनी माछा एक अद्भूत माछा हो जुन जल–थल दुबै ठाउँमा बस्न सक्छ । सृष्टिकर्ताले जब यो पृथ्वी सृष्टि गर्नेबेला जल (पानी) र थल (जमिन) बनायो र पृथ्वीमा मतस्य अवतारको रूपमा रैनी माछाको जन्म भयो । र अष्टिम्कीमा पनि यसको चित्र बनाउने गरिएको छ ।
  • हलो जोत्दै गरेको मान्छे: विभिन्न समयक्रममा मानवले जीवनयापनका लागि खेतीपाती गर्नुपर्ने भएकोले मानव जीवनशैली र कृषि प्रणालीको बिम्ब ।
  • भाले: समयबोधक पंक्षी, जसको बोली सुनेर मानिसले समय निर्धारण गर्छन् । अष्टिम्कीमा पनि समयभित्र सबै काम गर्नुपर्ने भएकोले भालेको ठूलो भूमिका रहेको छ ।
  • सख्ली कुकनिया : सुरक्षाको लागि सख्ली कुकनियाँको ठूलो भूमिका छ । कुकुर एक बफादार पहरेदार जनावर हो । त्यसकारण पहरेदार सुरक्षाको लागि सख्ली कुकनियाँ अँगनामा रहेको ठूलो रुखमूनि बाँधिएका हुन्छ । त्यसैगरि हात्ती, घोडा, बाँदर, चराचुरुङ्गी, माछा, कछुवा, गोही, बिच्छी, सर्प लगायतका जनावरहरू प्राकृतिक सम्पदाको रूपमा रहेकोले अष्टिम्कीमा सबै चराचुरुङ्गी, पशु लगायतको चित्रले स्थान पाउँछ ।

अष्टिम्की दुई किसिमको हुन्छ । बर्का र छुट्की दुबैमा चित्र उही नै हुन्छन् । तर आकारमा भने साना–ठूला हुन्छन् । दिनभरि भोकै ब्रत बसेकाहरूले बर्का अष्टिम्कीमा पूजा गर्छन् भने स–साना बच्चाहरू भने छुट्की अष्टिम्कीमा पूजा गर्छन् । जो भोकै ब्रत बस्नु पर्दैन । उनीहरू केही कुरा खाएर पनि बस्न सक्छन् ।

  • सामा –जामा: जब साँझा भएपछि अष्टिम्की बनाएको घरका मुली महिला (अगुनियाँ, महटिनियाँ) अष्टिम्की बनाएको बहरीलाई राम्ररी गाईको गोबरले लिपपोत गरेर सतरंगी गुद्री, पटकी, ढाँचिया गुद्री बिछ्याउनु, जहाँ पूजा गर्न ल्याएका चामल राख्छन् । त्यस्तै आवश्यकता अनुसारका सामानहरू जुराउँछन् । सल्लाको धूप, नौनी मिलाएर, सिंदुर, लोटामा पानी र दुई घोघा सहितको तरा सहतिको मकै अष्टिम्की बनाएको पश्चिमपट्टी राखिएको हुन्छ ।
  • डट्कट्टन: अष्टिम्कीको पहिलो दिन या ब्रत बस्नुभन्दा पहिलो भटौर खैना (दर खाने) लागि दिनभरि माछा मार्ने चलन छ । माछा अरु दिन पनि मारिन्छ । तर, त्यस दिनको माछा मार्ने कामलाई विशेष मानिन्छ । दिनभरि लगाएर मारेर ल्याएको माछा धेरै भए साँझाको खानासँग खाइन्छ भने केही राती भटौरसँग खानाका लागि बचाइन्छ । यदी कारणवश त्यस दिन माछा मार्ने सकिएन भने भटौर नै खल्लो मानिन्छ । भटौर साँझाको खानापछि आफ्नो काम सकेर सुतेको केही बेरपछि अथवा भाले बास्नुभन्दा पहिले खाइन्छ । यो खाना अरु दिनको भन्दा विशेष हुन्छ । माछासँगै अन्य मीठा–मीठा परिकारहरू पनि बनाइएको हुन्छ । जुन बेसमयमा खाँदा मीठो मानेर खान सकियोस् भनेर त्यस किसिमका परिकारहरू तयारी गरिएको हो । यो खाने काम भाले बास्नुभन्दा पहिले हुन्छ । यदि कसैले भाले बासेपछि खायो भने ऊ जुठो परेको ठहरिन्छ र ब्रत बस्न पाउँदैन ।

astamaki

पूजा:

साँझ परेपछि ब्रत बस्नेहरू नयाँ–नयाँ कपडा लगाएर अष्टिम्की बनाएको घरमा जान्छन् । साथमा थालमा एक माना चामल, हरियो काँक्रा, काँक्रा नभए ज्यामुर, भोगते, स्याउ लगायतका फलफुल लिएका गएका हुन्छन् । थालको चामलमाथि माटो दीयो पनि बालेर लगेका हुन्छन् । त्यहाँ गाउँभरिका या टोलभरिका महिलाहरू जम्मा हुन्छन् । ब्रतालु मात्रै नभएर त्यहाँ ‘हेरालुहरू’को पनि उस्तै भीड लागेको हुन्छ । जब सबैजना जम्मा भइसकेपछि त्यस घरको अगुनियाँले (घरमुली) पूजा शुरु गर्छ ।

अष्टिम्कीको सबैभन्दा माथि अथवा टाउकोमा गुर्बाबाको चित्र बनाएको हुन्छ । टीको लगाउने काम गुर्बाबाको चित्रबाट शुरु हुन्छ र क्रमशः सबै चित्रमा लगाइन्छ । तर, सबैभन्दा तल्लो कोठामा बनाएको रोइनाको चित्रमा भने कसैले पनि लगाउँदैनन् । उसलाई टीका लगाएमा रुने खालका बच्चा जन्मिने जनधारणा छ । तर, उमेर पुगेका र बच्चाबच्ची भइसकेकाहरूले भने हस्यौली पारामा टीका लगाइदिन्छन् । यसरी टीका लगाइसकेपछि ‘अगियारी’ दिने चलन छ । आगोमा सल्लाको घूप, नौनी मिसाएर आगो हबन गर्ने प्रक्रियालाई अगियारी भनिन्छ । आगोमा सल्लाधूप र नौनी चढाइसकेपछि पानी बिजोर पटक घेरो हाल्ने चलन छ । घेरो हाल्ने कामलाई ‘पर्छन’ भनिन्छ ।

टीका लगाउनु भन्दा पहिले आफूले ल्याएका चामल त्यही बिछयाइएको गुद्रीमा राखेका हुन्छन् । चामलको छेउछाउमा काँक्रा र बीचमा दीयो हुन्छ । कसैको पूजा नसकिँदै दीयो निभ्यो भने लुकेर केही खाएको अथवा पानी खाएको अनुमान लगाइन्छ । गाउँका केटाहरू काँक्रा काट्न आएका हुन्छन् । पूजा सकिएपछि उनीहरूले काँक्राको भेट्नो काटेर पात सहित यथास्थानमा राख्छन् । काटिएका काँक्रा हेर्न आएकाहरूलाई बाँड्छन् र बचेका काँक्रा घर लिएर जान्छन् । त्यसैगरि पश्चिमपट्टिको कुनामा दुई थान जरा सहितको मकै पनि राखिएको हुन्छ, त्यही मकै टिप्छन् ।

फलाहार भोजन:

अष्टिम्की विशेष गरेर फलाहार पर्व भएको यसमा फलफुल मात्रै खाने गरिन्छ । जब पूजा सकेर ब्रतालुहरू घर फर्किन्छन् । घरमा खानका लागि विभिन्न थरिका फलफूलहरू पनि तयार गरिएको हुन्छ । तर खानुभन्दा यहाँ पनि पूजा गर्नु पर्छ । खाने ठाउँमा गाइको गोबरले लिपपोत गरेर आगो राखिन्छ र त्यसैमा अगियारी दिइन्छ । अगियारी सल्लाको धूप, नौनी र खानलाई तयारी अवस्थामा रहेका सबै वस्तुबाट मिसाएर आगोमा चढाइन्छ र पर्छने काम गरिन्छ । यत्ति काम सकिसकेपछि आफ्ना चेलीबेटीहरूका लागि ‘अग्रासन’ निकाल्ने गरिन्छ र भोलिपल्ट आफ्नो चेलीबेटी दिन जान्छन् । साँझको खानमा केरा, अम्बा, स्याउ, नासपति लगायतका हुन्छन् ।

astamaki

अष्टिम्कीको गीत:

सबैले खानपिन सकेपछि पुनः अष्टिम्की बनाएको घर जम्मा हुन्छन् र रातभर अष्टिम्की गीत गाउने गर्छन् । गीत ठाउँ अनुसार कतै महिलाहरूले गाउँछन् भने कतै पुरुषहरूले मात्रै गाउने चलन छ । देउखुरीक्षेत्र लगायत केही ठाउँमा पुरुषहरूले मात्रै गाउने गर्छन् भने अन्य ठाउँमा महिलाहरुले गाउने गर्दछन् । ब्रत नबसेकाहरूले जाँड/दारु खाएर र ब्रत बसेकाहरू भने फलफुल खाएर रातभर गीत गाउँदै जाग्रम बस्छन् ।

गीतको केही अंश:

पहिलेटे सिरिजल जल–ठल ढरटि ।
सिरिजिटे गैलाँ हो कुस कई डाभ ।।
डुसरे टे सिरिजल अन्न कइ पेरें ।
सिरि टे गैलाँ हो अन्न कइ बिरोग ।।
टिसरे टे सिरिजल अन्न कइ डाँरे ।
सिरि टे गैलाँ अन्न कइ पाट ।।
चौटे टे सिरिलज अन्न कइ फुला ।
सिरि टे गैलाँ अन्न कइ फल ।।

अस्राई जैना:

बिहान भाले बासेपछि घरको अगुनियाँ अष्टिम्कीको डोलीमा बनाइल अपूर्ण कान्हालाई पूर्णता दिनका लागि अरुकै बारीको कैंठा (चिचिण्डो) चोरेर ल्याउनु पर्छ । चोरेर ल्याएको कैंठाको पूजा गरेर कान्हालाई पूर्ण गरिन्छ । यसरी पूर्ण भएपछि कान्हाको जन्म भएको मानिन्छ ।

यता भाले बासेपछि ब्रतालुहरूको खाने/पिउने कार्य बन्द हुन्छ । उनीहरूले अष्टिम्की विसर्जनका लागि टपरी खुत्ना थाल्छन् । टपरी साधारण टपरीभन्दा विशेष प्रकारको हुन्छ । टपरीम पातकै पाँच या सात वटा दीया जडिएको हुन्छ । बिहान सबै जम्मा भइसकेपछि आफ्नो चामल माथि राखिएको काँक्रोको भेट्नो र पात पनि त्यही टपरीमा राख्छन् र पुनः दीयो पनि बाल्छन् । जब अगुनियाँ आफ्नो सबै सामान तयार गरेर निस्किएपछि अरु पनि सँगै लाग्छन्- घाट, नदी, कुलो तिर । त्यही विसर्जन गरेर नुहाई घर फकिन्छन् ।

 पाँच या सात वटा दीया  जडिएको टपरी सेलाउँदै थारु महिलाहरू, फोटो : तुल्सीपुर अनलाइन

फरहार:

विसर्जनपछि आफ्नो तिर लाग्छन् । घरमा खँरिया, फुलौरी, पोँइ र झिलंगीको ठुसा, सुकेको माछा, भात तयार गर्छन् । जब तयार हुन्छ, तब ‘फरहार’ गर्नका लागि तयार हुन्छन् । फरहार गर्नेबेला पनि साँझा गरे जस्तै अगियारी दिई आफ्नो चेलीबेटीको लागि अग्रासन निकाल्ने चलन छ।

अग्रासन:
चेलीबेटीहरूको नाममा निकालिएको खाने कुरालाई ‘अग्रासन’ भनिन्छ । सबै काम सकिएपछि आफ्ना चेलीबेटीहरूलाई अग्रासन दिन जान्छन् । यो धेरै दिनपछि दिदी बहिनीहरूसँगको भेटले सद्भाव आत्मीय बढाउँछ । चेलीहरू आफ्नो दाजू–भाइलाई सम्मान गर्छन् । थारू समुदायमा दारु जाँड, मासु खुवाएर सम्मान गर्छन् । भेटघाटबाट मनमा लागेको पीर–व्याथा सुन्न सुनाउने अवसरको रूपमा पनि लिइन्छ ।

(यो पनि पढ्नुहोस्, मातृसत्ताको छनक दिने खस सभ्यताको ‘अग्ग्रास’)

अन्त्यमा:

यसरी विधिवत रूपमा अष्टिम्की सकिन्छ । हिजोभन्दा आज अष्टिम्की धेरै फेरबदल भइसकेको छ । प्रकृति पूजक थारु समुदायको यो मौलिक पर्व भएपनि कालान्तरमा आएर यो यसको बाह्य प्रभाव पनि परिरहेको छ । पछिल्लो समय यस पर्वलाई कृष्णको गाथासँग जोडेर वर्णन गर्न थालिएको छ । आम मानिसहरूको बुझाइमा अष्टिम्की र कृष्ण जन्माष्टमी एउटै हो भन्ने गलत बुझाइ पनि रहेको पाइन्छ । तर यसको गहिराइ र वास्तविक त्यसो नभएर अष्टिम्कीमा प्रकृति, सृष्टि र मानव जीवनशैलीको गाथा गाइन्छ । जुन गीत थारु समुदायको सबैभन्दा पुरानो मानिने ‘गुर्बाबक जल्मौटि’ गीतको हुबहु कथावस्तुमा आधारित लयान्तर गरिएको गीत हो ।

यो चाड अरु चाडपर्व जस्तै यो पर्व पनि विकृत बन्दै गएको छ । धेरैले आधुनिकताको नाममा फजुल खर्च गर्ने, सम्मानको नाममा महंगी रक्सी, रंगहरूको प्रयोग, मौलिक परिकारभन्दा बाह्य परिकारको प्रयोग जुन अत्याधिक रूपमा प्रयोग गरिएको हुन्छ । आजको अवस्था रुढ संस्कारलाई परिमार्जन गरेर प्रगतिशील संस्कार निर्माण गर्नु स्वभाविक हो । तर, संस्कार परिमार्जनको नाउँमा त्यसलाई अझ खर्चिलो, महंगा, भड्कावपूर्ण, समाजमा नकारात्मक प्रभाव पार्छ ।

सम्बन्धित समाचार