शुक्रबार , मंग्सिर २३, २०७९

आजबाट बालाचह्रे जात्रा सुरु

image

  • सन्दीप महर्जन

हरेक वर्ष मंसिर कृष्ण एकादशीको दिनदेखि मंसिर शुक्ल द्वितियासम्म बालाचह्रे जात्रा मनाउने गरिन्छ । यस जात्रामा काठमाडौको अष्टमातृका मध्येकी एक श्री लुँती अजिमा- इन्द्रायणी देवीको भव्य खट जात्रा गर्ने गरिन्छ ।

लुँती अजिमालाई सबैभन्दा गरिब तथा धेरै बालबच्चा भएकी देवीको रुपमा लिने गरिन्छ । बालाचह्रे जात्रामा लुँती अजिमा सहित उनका छोराछोरी मानिने स्वाँछपु गणेश, भुँडी गणेश, ज्वालामाइ, शोभा भगवती र मांखचाको पनि खट जात्रा गरिन्छ ।

खट जात्रा त्रयोदशीको रातबाट हुने भएता पनि जात्रा भने त्यसको दुई दिन अगाडिबाट औपचारिक रुपमा सुरु हुन्छ । एकादशीको साँझ द्य: छेँबाट ढल्कोमा रहेको प्रसिद्ध इन्द्रायणी मन्दिरमा पूजा गरि मन्दिरको मूल ढोकालाई डोरीले बाँधी बन्द गर्ने गरिन्छ । यससँगै बालाचह्रे जात्रा औपचारिक रुपमा सुरु भएको मानिन्छ । यसलाई खापा ति वयेगु भन्ने गरिन्छ ।

यसको भोलिपल्ट द्वादशीको दिन साँझ पुन: द्य:छेँबाट पूजा ल्याएपछी ढोका खोल्ने परम्परा रहिआएको छ भने यस दिन बलि सहित पूजा गर्ने गरिन्छ र त्रयोदशीको दिन राती खट जात्रा गरि लुँती अजिमाको मुर्तिलाई मन्दिरमा ल्याइन्छ र मध्यरातमा सर्पाहुती यज्ञ गर्ने गरिन्छ ।

यसरी बन्द गरिसकेपछी द्वादशीको दिन मात्र खोलिनुपर्ने परम्परा भएपनी हाल भने यसमा एकरुपता कायम भएको पाइन्न । मन्दिरमा पालो रहेको रेखदेख गर्ने जिम्मेवारी पाएको द्य: पाला – मन्दिरको पूजारीमा भर पर्ने गरेको छ । कसैले यस परम्परामा साथ दिएर ढोका खोल्दैनन् भने कसैले भोलिपल्ट बिहानै आफूखुसी खोलिदिने गरेको छ । हरेक वर्ष जात्रा पर्ने समयमा फरक पुजारी परिवार रहने भएकोले यसमा एकरुपता कायम गर्न गाह्रो भएको हो ।

सम्बन्धित समाचार