बिहिबार , बैसाख २४, २०८३

भारत: बलात्कारबाट जन्मिएका छोराले आमाको न्यायका निम्ति गरेको प्रयत्न

जबजब उनी घरमा एक्लै हुन्थिन् तबतब तिनीहरू पर्खालबाट हाम फालेर आउँथे र जबरजस्ती गर्थे ।

image

काठमाडाैं । भारतमा एक महिलालाई दुई जनाले पटक-पटक बलात्कार गरेको तीन दशक पछाडि बल्ल न्याय मिल्ने आशा बढेको छ – त्यो पनि बलात्कारबाट जन्मिएका उनका छोराको मद्दतले । उत्तर प्रदेश राज्यकी ती महिलालाई १२ वर्षको हुँदा ६ महिनासम्म दुईजना पुरुषले लगातार बलात्कार गरेका थिए ।

त्यसपछि जन्मिएको उनको छोरालाई अरूलाई नै पाल्न दिइयो । तर १३ वर्षपछि छोरा उनलाई नै फर्काइयो । यो घटनाले उनलाई ती आरोपित बलात्कारीविरुद्ध मुद्दा हाल्न प्रोत्साहन मिल्यो ।पछिल्ला केही दिनको अन्तरालमा प्रहरीले दुईजना आरोपितलाई पक्राउ गरेको छ ।

“यो घटना निकै पुरानो भए तापनि यसले बनाएको घाउ निको भएको थिएन,” ती महिलाले भनेकी छिन् । “त्यो घटनाले मेरो जीवन ठप्प बनायो । म त्यो घटना बारम्बार सम्झने गर्छु ।” भारतमा हरेक वर्ष बाल यौन दुर्व्यवहारका हजारौँ मामिला रेकर्ड हुन्छन् ।

सन् २०२० को आँकडाअनुसार ४७ हजार त्यस्ता मामिला यौन अपराधबाट बालबालिकालाई संरक्षण गर्ने ऐन (पोक्सो) अन्तर्गत दर्ता भएका थिए । अभियानकर्मीहरूका अनुसार वास्तविक सङ्ख्या त अझै धेरै हुनसक्छ । किनभने बालबालिकाले तिनीहरूमाथि भएका दुर्व्यवहार बुझ्न सक्दैनन् अनि बोल्न पनि डराउँछन् ।

‘तिनले मेरो मनमा त्रास उत्पन्न गराए’

भारतीय कानुन अनुसार नाम उल्लेख गर्न नमिल्ने ती बलात्कृत महिलाले सो घटना शाहजहाँपुर शहरमा सन् १९९४ मा भएको बताइन् । आरोपित दाजुभाइ मोहम्मद राजी तथा नकी हसन छिमेकमा बस्थे ।

जबजब उनी घरमा एक्लै हुन्थिन् तबतब तिनीहरू पर्खालबाट हाम फालेर आउँथे र जबरजस्ती गर्थे । बिस्तारै उनको स्वास्थ्य कमजोर हुँदै गएपछि मात्र उनी गर्भवती भएको थाहा भयो ।उनलाई डाक्टरकहाँ लगियो ।

तर उनको कमजोर स्वास्थ्य अवस्था तथा सानो उमेरका कारण गर्भपतन गर्न नमिल्ने डाक्टरले सुझाव दिए । उनले जन्म दिने बित्तिकै उनको शिशुलाई अरूलाई नै पालनपोषण गर्न दिएर पठाइयो ।

“जुन शिशुलाई जन्म दिन मैले त्यत्रो सास्ती बेहोरेँ उसको अनुहार पनि मैले हेर्न पाइनँ । मैले आमालाई सोध्दा उनले अब तिमीले जीवनमा दोस्रो मौका पायौ भन्नुभयो ।” ती महिला र उनको परिवारले त्यतिखेर प्रहरीमा उजुरी पनि गरेन किनभने आरोपितहरूले धम्क्याएका थिए ।

“घटनाबारे कसैलाई भनेमा तिनले मेरो परिवारलाई मारिदिने र घर जलाइदिने धम्की दिएका थिए,” उनले भनिन् । “मेरो सपना भनेको ठूलो भएर प्रहरीमा जागिर खाने थियो । तर ती दुई पुरुषका कारण मेरो सपना साकार हुन सकेन । मैले पढ्न सकिनँ ।”

ती महिला र उनको परिवार पछि रामपुर जिल्लामा बसाइँ सर्‍यो । सन् २००० मा उनले बिहे गरिन् र उनको दोस्रो छोरा भयो । जीवनमा अब नयाँ अध्याय सुरु गर्ने र विगत बिर्सने उनको आस थियो ।

तर बिहे भएको ६ वर्षपछि उनको पतिले उनलाई विगतमा बलात्कार गरिएको थाहा पाए र त्यसको दोष उनलाई नै दिए ।  उनी र उनको बच्चालाई घरबाट निकालियो । उनी आफ्नी दिदीको परिवारको शरण परिन् ।

छोराको साथ

उनको पहिलो छोराले पनि उनको परिचयका कारण थुप्रै विभेद सहनु पर्‍यो । हुर्कँदै जाँदा छिमेकीहरूले आमाबुवाले तिनलाई केवल पालेको भन्ने सुनाए ।

आमा-छोरा छुट्टिएको १३ वर्षपछि तिनलाई पाल्ने आमाबुवाले पुरानै आमा कहाँ फर्काइदिए ।त्यहाँ पुगेपछि तिनलाई आफ्नो बुवाबारे पनि जान्न मन भयो ।

किनभने उनको थर थिएन – भारतमा बुवाको थर बच्चालाई दिइन्छ – उनलाई स्कूलमा केटाकेटीहरूले जिस्काउने गर्थे । उनले निरन्तर आमालाई बुवाको परिचय सोधिरहन्थे । जवाफ नआउँदा दिक्क मान्थे ।

नाम बिनाको जीवन जिउन नसक्ने भन्दै बुवाको नाम नभने आत्महत्या गर्नेसम्म उनले धम्की दिए । अन्ततः आमाले सत्य बताइन् । त्यसपछि त उनको छोरा उनको सबभन्दा ठूलो समर्थक बने ।सङ्घर्ष गर्नुपर्ने र आरोपितहरूलाई पाठ पढाउनुर्ने उनले बताए ।

“यदि तपाईँले सत्य बोल्नु भयो भने अरू मानिसहरूले पनि त्यसो गर्ने छन् । त्यसले हाम्रो मुद्दा बलियो हुन्छ र दोषीले सजाय पाउनेछन् । अपराध गरेपछि कोही पनि उम्कन नसकिने सन्देश समाजमा प्रवाह हुनेछ ।”

न्यायको निम्ति लडाइँ

आफ्नो छोराको प्रोत्साहनपछि ती महिला सन् २०२० मा शाहजहाँपुर फर्किइन् । तर मुद्दा दायर गर्न उनले निकै कठिनाइ बेहोरिन् । निकै पुरानो मामिला भएको भन्दै प्रहरीले उनको उजुरी दर्ता गर्न मानेन । त्यसपछि उनी वकिलकहाँ पुगिन् । वकिल पनि अघि सरेनन् ।

उनी हुर्किएको थलोमा निकै परिवर्तन भइसकेको थियो । पुरानो घर ठम्याउन समेत मुस्किल भयो भने आरोपितहरू पनि फेला परेनन् ।

“तीन दशकपहिले तपाईँ कहाँ बस्नुहुन्थ्यो र त्यहाँ नै बलात्कार भएको थियो भनेर कसरी प्रमाणित गर्ने?” वकिलको प्रश्न थियो । “मैले वकिललाई भनेँ, तिमी मुद्दा लड प्रमाण हामी जुटाउँछौँ,” उनले भनिन् ।

वकिलले अदालतमा मुद्दा दर्ता गरे । शाहजहाँपुरका मुख्य जुडिसियल मजिस्ट्रेटको आदेशमा दुईजना आरोपितका विरुद्ध सन् २०२१ को मार्चमा एउटा मुद्दा दर्ता भयो । प्रहरीले ती महिलालाई नै आरोपित खोज्न भने ।

“मैले तिनलाई फेला पारेँ र फोनमा कुरा गरेँ,” महिलाले भनिन् । “तिनले मेरो आवाज चिने र किन अहिलेसम्म नमरेको भने । मैले भनेँ – अब मर्ने पालो त तिनीहरूको हो ।”

प्रमाण र पक्राउ

आरोपितहरू फेला परे पनि तिनलाई अपराधसँग जोड्ने प्रमाण थिएन ।  तर फेब्रुअरीमा लिइएको डीएनएको परीक्षणको नतिजा अहिले प्रमाणको रूपमा आएको प्रहरीले बताएको छ ।

जुलाई ३१ मा एकजना र अघिल्लो बुधवार अर्का आरोपित पनि पक्राउ परेको प्रहरीले जनाएको छ।

शाहजहाँपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) एस आनन्दले भने, “यो निकै अनपेक्षित मुद्दा थियो । जब ती महिला आएर मुद्दा हालिन् हामी एकदम छक्क पर्‍यौँ । तर हामीले चुनौती स्विकार्‍यौँ र उनको छोराको डीएनएको नमुना लियौँ ।”

गत एक वर्षदेखि सो मामिला अनुसन्धान गर्दै आएका इन्स्पेक्टर धर्मेन्द्रकुमार गुप्ताले भने, “त्यसपछि हामीले आरोपितहरूको डीएनए पनि जाँच्यौँ । तीमध्ये एकजनाको डीएनए ती छोराको डीएनएसँग मिल्यो ।”

जुलाई ३१ मा एकजना आरोपित पक्राउ परे अनि अघिल्लो बुधवार अर्का आरोपित पनि पक्राउ परे । आरोपितहरूले कुनै टिप्पणी गरेका छैनन् । आफ्नो कथाले अरूलाई पनि अघि सर्न प्रोत्साहन मिल्ने ती महिलाले आशा व्यक्त गरेकी छन् ।

“मानिसहरू चुपचाप बस्छन् । म पनि चुप बसेँ र यही नै मेरो नियति हो भन्ने ठानेँ । तर त्यस्तो होइन रहेछ । हामी प्रहरीकहाँ जानुपर्छ ताकि अरूले यस्तो भोग्न नपरोस् ।” उनका छोरा पनि आरोपितहरू समातिएकोमा निकै खुसी भएको बताउँछन् ।

-बीबीसी

सम्बन्धित समाचार