मेयर शाहले भनेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाइ माग्नुभयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ । अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफै बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइदिनु होला ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नक्सा जसरी पास भएको छ, त्यसरी नै संरचनाहरु निर्माण गरिदिन आग्रह गरेका छन् ।
बिहीबार नयाँ बानेश्वस्थित अल्फाबिटा कम्प्लेक्सले बनाएको अवैध संरचनामा डोजर चलाएपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । सबैले आफैले बुझेर अवैधानिक संरचना हटाइदिन पनि उनले आग्रह गरेका छन् ।
यसअघि आजै मेयर शाह अल्फाबिटा पुगेर अनधिकृत रुपमा बनेको संरचना हटाउन आग्रह गरेका थिए । संरचना हटाउन आग्रह गर्दा अल्फाबिटा ग्रुपका सञ्चालन द्विराज शर्माले मेयर शाहसँग उल्टै सवालजवाफ गरेका थिए ।
त्यसक्रममा शाहले भवन निर्माणको नक्सा मागेका थिए । तर, शर्माले नक्सा आफूसँग नभएको बताएपछि मेयर शाह र सञ्चालक शर्माबीच चर्काचर्कीसमेत भएको थियो ।
त्यसलगत्तै बालेन अवैध संरचना हटाउन आफै नक्सा र डोजर लिएर पुगेका थिए । महानगरले अवैध रुपमा बनाइएको सटर भत्काएको छ ।
मेयर शाहले भनेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाइ माग्नुभयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ । अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफै बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइदिनु होला । नक्सा जसरी पास भएको छ , त्यहीअनुसार बनाइ दिनुहोला ।’
काठमाडौं महानगरपालिकाले केही दिनदेखि काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बनाएका संरचनाहरू भत्काउँदै आएको छ ।
३५ दिन अगाडि नै महानगरपालिकाले नक्सामा पार्किङका लागि अनुमति लिएर अरू संरचना बनाएको भएमा खाली गर्न सूचना जारी गरेको थियो । अवैध संरचनाहरू निरन्तर भत्काउने महानगरले जनाएको छ ।
भिडियो