बिहिबार , अषोज १, २०८३

बञ्चरेडाँडा संघर्ष समिति र सरकारबीच शुक्रबार बिहान वार्ता हुने

वार्ता शुक्रबार विहान ८ बजे सहरी विकास मन्त्रालयमा हुने  छ ।

image

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका बञ्चरेडाँडा संघर्ष समिति र सरकारबीच शुक्रबार वार्ता हुने भएको छ । वार्ता शुक्रबार विहान ८ बजे सहरी विकास मन्त्रालयमा हुने  छ ।

वार्तामा सरकार तर्फबाट सहरी विकास मन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्ष, नुवाकोटका कांग्रेस नेता प्रकाशशरण महत लगायत सहभागी हुने छन् ।

सहरी विकास मन्त्रालयले सोमबार नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिका प्रमुखलाई मात्र राखेर बञ्चरेमा फोहोर फाल्ने सम्झौता गरेको थियो । सम्झौता हस्ताक्षर गर्दा स्थानीय बासिन्दालाई संलग्न गराइएको थिएन । आफूलाई सोध्दै नसोधी गुपचुप सम्झौता गरेको भन्दै स्थानीयले मान्न अस्वीकार गरेका थिए ।

यसले मंगलबारदेखि सिसडोल र बञ्चरेडाँडा क्षेत्र तनावग्रस्त बन्यो । सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेर मंगलबार डेढ सयभन्दा बढी ट्रक फोहोर फालेको थियो । बुधबार भने स्थानीयको प्रतिकारपछि फोहोर लिएका गएका गाडीहरू त्यसै फर्किएका थिए ।

तनाव चर्किँदै गएपछि सहरी विकास मन्त्रालयले बञ्चरेडाँडा संघर्ष समिति र वडाका प्रतिनिधिसमेतलाई राखेर शुक्रबार वार्ता गर्न लागेको हो ।

वार्तामा ककनी गाउँपालिका वडा नम्बर १, २ र ३ तथा धुनिबेसी नगरपालिका वडा नम्बर १, ३ र ४ का वडाध्यक्ष सहभागी हुने छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र बञ्चरेडाँडा डम्पिङ साइट आयोजना प्रमुख रविन्द्र बोहोराले पनि भाग लिने छन् ।

यसअघि प्रधानमन्त्रीले नै संघर्ष समितिसँग वार्ता गर्ने भनिएको थियो । बञ्चरेडाँडाबाट बुधबार दिउँसो पक्राउ परेका संघर्ष समितिका संयोजक ढुंगानासहित तीन जनालाई प्रधानमन्त्रीले छलफल गर्ने भन्दै बिहीबार बिहान छाडिएको थियो ।

सम्बन्धित समाचार