बिहिबार , मंग्सिर १४, २०८०

पाँच ‘म’ र वराहक्षेत्र

image

हिन्दूहरूको विश्वका चार पवित्र तीर्थस्थल मध्ये एक वराहक्षेत्र । प्राचीन हरिद्वार चतराधाम । नेपालका प्रथम जगद्गुरु पीठ चतराधाम । देशकै पहिलो कुम्भ आयोजना स्थल चतराधाम । आयुर्वेदिक तथा योग विश्वविद्यालयको स्थापना हुने क्षेत्र चतराधाम ।

धार्मिक पर्यटकीय क्षेत्र र जल पर्यटनको अपार सम्भावनाले युक्त चतरा– वराहक्षेत्रधाम । पूर्वको प्रमुख बोलबम मेलामा जल उठाउने पवित्र सप्तकोशी नदी रहेको क्षेत्र चतराधाम । औलिया बाबा, छिन्नमस्तादेवीको स्थल ।

प्रमुख जडीबुटीलगायत रुद्राक्षको खेती हुने सूर्यकुण्ड । वनभोजका लागि प्रमुख आकर्षक स्थल चतरा । राजधानीलाई तराईसँग जोड्ने वैकल्पिक राजमार्गको रूपमा विकसित भइरहेको वराहक्षेत्र । पुष्पलाल लोकमार्ग जोडिएको वराहक्षेत्र । धरान–चतरा–कञ्चनपुर–सडकसँग जोडिएको क्षेत्र ।

पकली–नडाहा– चतरा– फत्तेपुर सडकको मुख्य क्षेत्र । भोजपुर– धनकुटा– उदयपुरलगायत पहाडी जिल्ला प्रवेश गर्ने प्रमुख नाका । हाइड्रोपावर सञ्चालन भइरहेको र प्रशस्त सम्भावना भएको क्षेत्र । सप्तकोशी नदीमा जल पर्यटनसँगै जलमार्गको आकर्षक गन्तव्य र पर्यटकीय क्षेत्र ।

प्रदेश–१ कै अति महत्वपूर्ण धार्मिक ऐतिहासिक, पुरातात्विक तथा पर्यटकीय अपार सम्पदायुक्त वराहक्षेत्रको बढ्दै गएको महत्वलाई उजागर गर्ने माथिका यी केही उदाहरणहरू भए । सामाजिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा समृद्ध तथा प्रसिद्धक्षेत्र आर्थिक रूपमा सबल हुँदै विकसित हुँदै गएको वराहक्षेत्रको विशेषतामा केही समय यता पाँच ‘म’ ले समेत चर्चा पाउँदै गएको छ ।

इलामको ‘अ’ जस्तै वराहक्षेत्रलाई झट्टै चिनिहाल्ने यहाँको पहिचान झल्काउने वराहक्षेत्रका पाँच ‘म’ छन् ।  पाँच ‘म’ अर्थात् मसाला, माछा, मठमन्दिर, मुर्दाघाट र मेला–महोत्सव ।

मठ–मन्दिरः वराहक्षेत्र मठ–मन्दिरले भरिएको पवित्र तीर्थभूमि हो । शास्त्रमा हिन्दूहरूका पवित्र चारक्षेत्र उल्लेख गरिएका छन्, हरिहर क्षेत्र, कुरुक्षेत्र, मुक्तिक्षेत्र र वराहक्षेत्र । तीमध्ये मुक्तिक्षेत्र र वराहक्षेत्र नेपालमा पर्छन् । यी चारक्षेत्र मध्ये पनि एक वराहक्षेत्र भगवान विष्णुको तेस्रो अवतार भएकाले हिन्दूले यस क्षेत्रलाई पवित्र र महत्वपूर्ण मान्दछन् ।

यसको महिमा र महत्व धेरै ठूलो छ । प्राचीन धार्मिक पौराणिक ग्रन्थ पुराणहरूमा उल्लेख भएअनुसार हिरण्याक्ष नाम भएको राक्षसले पृथ्वीलाई रसातलमा डुबाई सम्पूर्ण श्रृष्टिलाई रोकेपछि भगवान् विष्णुले वराह (बँदेल) को अवतार लिई पृथ्वीको उद्धार गरेका थिए ।

यसै मान्यताअनुसार वराहक्षेत्र हिन्दूहरूको पवित्र आस्थाको केन्द्र बन्न पुगेको छ । हिरण्याक्ष राक्षसलाई वध गरेर भगवान यही क्षेत्रमा बसेको हुनाले यस क्षेत्रको नाम वराहक्षेत्र रहन गएको विश्वास गरिन्छ । योसँगै औलो रोग उन्मूलन गर्ने औलिया मुनि बाबाको प्रसिद्ध औलिया मन्दिर वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ चतरामा रहेको छ ।

मन्दिर नजिकै जङ्गलमा अर्को महत्वपूर्ण छिन्नमस्ता देवीको पनि मन्दिर छ । सूर्यकुण्ड, लट्टेनीथान, देवी स्थान, भवानी स्थान लगायतका दर्जनौं मठ–मन्दिरले वराहक्षेत्र भरिएको छ । बराहक्षेत्र नगरपालिका र प्रदेश–१ सरकार समेत अहिले वराहक्षेत्रको विकासका लागि प्रयासरत छ ।

मेला र महोत्सव
वराहक्षेत्रमा लाग्ने हरिबोेधनी एकादशी कार्तिके मेला हिन्दूहरूको प्रसिद्ध धार्मिक मेला हो । प्रत्येक वर्ष कार्तिक महिनाको हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म पाँच दिन लाग्ने यो मेलामा स्वदेश र भारत, भुटानलगायतका लाखौं धार्मिक पर्यटक, भक्तजन वराह भगवानको दर्शन गर्न यहाँ आउने गर्दछन् ।

देशका विभिन्न जिल्ला, भारतको बिहार, उत्तरप्रदेश, पश्चिम बङ्गाल, सिक्किम लगायतका राज्य र भुटानबाट समेत मेलामा श्रद्धालु भक्तजन आउँछन् । अन्य समयमा पनि घुमघाम र तीर्थाटनका लागि श्रद्धालु आउने गरेका छन् ।

यसैगरी माघ महिनामा पर्ने मकर सङ्क्रान्तिका अवसरमा लाग्ने माघे मेलामा मकर नुहाउन चतरास्थित प्रसिद्ध सप्तकोशी नदी र वराहक्षेत्रस्थित कोकाहा खोलाको सङ्गमस्थलमा मकर नुहाउनेको भिड लाग्छ । नेपालमा सबैभन्दा धेरै मानिस भेला हुने कुम्भ महोत्सव यहाँ आयोजना हुन्छ ।

मसाला
वराहक्षेत्र मसालाको लागि आवश्यक हावापानीले युक्त मलिलो र उब्जाउ भूमि हो । यहाँ प्रमुख रूपमा उत्पादन हुने मुख्य मसाला अदुवा र हर्दी हुन् । साविकको वराहक्षेत्र गाविसको ७, ८ र ९ हाल वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ मा मसला खेती हुने गरेको छ ।

यस क्षेत्रलाई मसला खेतीको सुपरजोनका रूपमा विकास गर्ने प्रस्ताव पनि गरिएको छ । जुटपाख्री, अर्चले, सूर्यकुण्ड, चावाचा, सिलीपाखा, बान्द्रे चौरी, कटहरे र चियाबारीजस्ता स्थानमा अदुवा, हर्दी (बेसार) उत्पादन हुने गर्दछ । यहाँको बेसार र अदुवा मुलुककै १ नम्बर उत्पादन भएको यसका व्यापारीहरूले बताउने गरेका छन् ।

सूर्यकुण्डलगायतको स्थानमा रुद्राक्षको खेती हुने गरेको छ । यी उत्पादनसँगै हर्रो, बर्रो, अमलालगायतका उत्पादन हुने गरेको छ । प्रत्येक बिहीबार र सोमबार लाग्ने हाटमा सयौं मन यस्ता मसाला जन्य वस्तुको व्यापार हुने गर्दछ ।

माछा
वराहक्षेत्र घुम्न आउने पर्यटकको पहिलो रोजाइ सप्तकोशीको माछा हुने गर्दछ । र्याफटिङ गर्दै आउने विदेशी पर्यटक हुन् वा धरान, इटहरी, विराटनगर छिमेकी शहरहरू बाट चतरा आउने आन्तरिक पर्यटक सबैले एक पटक माछाको स्वाद लिने गरेका छन् ।

गर्मी छल्न र चिसोको मजा लिन माछा मार्ने फिसिङ रड लिएर नजिकको शहरबाट आएका युवाहरू कोशीमा रमाइरहेका हुन्छन् । चतराको माछा राजधानी काठमाडौंदेखि हङकङलगायतका देशमा समेत जाने गरेको छ । हिमालको हिउँ पग्लेर बग्ने सातवटा नदीको पानीमा खेलेका, हिमाली जडिबुटीको पानीमा रमाएका माछाको स्वाद लिन पारखीहरू लालायित हुने गरेका छन् ।

मुर्दाघाट (मृतकलाई मोक्ष प्रदान गर्ने पवित्र सप्तकौशिकी नदीको किनारमा अवस्थित घाट)
पाँच तत्वले बनेको मानिसलाई उसको मृत्यु पश्चात् नदी किनारमा जलाउँदा पृथ्वी, जल, अग्नी, वायु र आकाश पाँच वटा तत्वमा विलिन भई मृतकले मोक्ष प्राप्त गर्ने हिन्दूहरूको मान्यता छ । यसैअनुसार मृत्यु भएकालाई चतराको प्रसिद्ध दुर्वासाघाट र १३ आरडीस्थित कौशिकी घाटमा जलाउने गरिएको छ ।

जो आफन्तको अन्त्येष्टी गर्न र श्रद्धाञ्जली अर्पण गर्न धरान, इटहरी, विराटनगर, झुम्का कहिलेकहीँ झापासम्मका मानिस चतरास्थित कौशिकी घाटमा आउने गर्दछन् । प्रत्येक दिन एउटा शव जलिरहेको देखिन्छ । कहिलेकहीँ एकैपटक तीनदेखि चार वटासम्म शवमा अग्नि प्रज्वलित भएको देखिन्छ । खुल्ला रूपमा जलाइने शवलाई विद्युतीय बनाउने हो भने घाट व्यवस्थित हुने देखिन्छ ।

अहिले वराहक्षेत्रमा जल पर्यटन र जलमार्गको रूपमा सप्तकोशीमा पानी बोटहरू सञ्चालनमा आएका छन् । शेर्पा हुँदै सुम्निमाबाट शुरु भएको जल यातायातले गति लिन थालेको छ । अहिले नदीमा कोशी रिभर ट्रान्सपोर्ट, वराहक्षेत्र जल यातायात, वराहक्षेत्र मरिन लगायत तीन वटा कम्पनीका बोटले यात्रुलाई पहाडी जिल्लामा घुमाउने र गन्तव्यसम्म पुर्याउने गरेका छन् । यसले वराहक्षेत्रको आर्थिक विकासमा टेवा पुर्याएको छ ।

यस्तै भोलिका दिनमा चतराधाममा स्थापना हुने आयुर्वेदिक तथा योग विश्वविद्यालयले रोजगारी सिर्जना गर्ने छ भने मसाला जन्य वस्तुको व्यवस्थित उत्पादन र बजारीकरणले चतरा हर्दी र अदुवा बिक्री वितरण हुने प्रमुख केन्द्र बन्ने देखिन्छ ।

नगरपालिका भरि रहेको पुराना धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका मठ मन्दिरको जर्गेना गर्दै यसलाई व्यवस्थित गर्ने हो भने यसलाई आन्तरिक र बाह्य पर्यटनको धार्मिक हब बनाउन सकिन्छ । मसाला, माछा, मठ–मन्दिर, मेला–महोत्सव र मुर्दाघाटलाई व्यवस्थित गर्नु पर्ने देखिन्छ ।

अहिले तराईलाई राजधानीसँग जोड्ने वैकल्पिक धरान– चतरा– कञ्चनपुर, पकली–नडाहा– फत्तेपुर तथा पुष्पलाल मध्य पहाडी लोकमार्ग पक्की सडकको निर्माण भइरहेको छ । पूर्वाधार विकासको प्रमुख खुड्किलो सडक बन्ने बित्तिकै यातायात सुगम र सहज हुनेछ ।

यसले विकासका अन्य तत्वलाई समेत वराहक्षेत्रमा ल्याउने छ । जसको अन्तत्व प्रमुख उद्देश्य भनेको स्थानीयलाई रोजगारी प्रदान गर्नु तथा आयआर्जन गर्नु हो । माथिका बुँदाहरूलाई नगरपालिकाको योजनाहरूको क्यालेण्डरमा प्रमुखता दिएर राख्नुपर्छ । प्रदेश सरकारले समेत मुख्य आयस्रोतको दीर्घकालीन लक्ष्यका रूपमा स्थान दिनुपर्छ ।

वराहक्षेत्रलाई प्रदेशकै प्रमुख रोजगार उत्पादन गर्ने तथा बढी करदाता ट्याक्सपेयर भएको बिजनेस हबको रूपमा विकास गर्न सकिन्छ । (ओमकुमार शर्मा)

सम्बन्धित समाचार