वराहक्षेत्र धाम हाल धार्मिक मात्र नभएर प्राकृतिक पर्यटनको पनि केन्द्र बन्न पुगेको छ ।
हिन्दुहरूको आस्थाको केन्द्र विभिन्न धामहरूमध्ये एक, धर्तीको नै पहिलो तीर्थ भनेर विश्वास गरिने वराहक्षेत्र धाम हाल धार्मिक मात्र नभएर प्राकृतिक पर्यटनको पनि केन्द्र बन्न पुगेको छ ।
वराहक्षेत्र धाम जाने पर्यटकहरूका लागि सप्तकोशी र कोका खोलाको सङ्गम स्थल कौशिकी, धाम परिसरमा रहेका विभिन्न नौ वटा मन्दिर, वराह कुण्ड, सप्तकोशी नदीको जलयात्रा, किराँती समुदायको आस्थाको केन्द्र खुवालुङ्ग, सुनकोसी, अरुण र तमोरको त्रिवेणी, त्यहाँ रहेको करिब ५६ किलो तौल भएको “तामांलुङ” (तामाको ढुङ्गा) लगायत विभिन्न धार्मिक तथा प्राकृतिक आकर्षणहरू रहेका छन् ।
उक्त ताम्रशिला विजयपुरका किराँती राजा (वि.सं. १६४१ देखि १६६६) को शासनकालमा धरानको सर्दुखोलामा घुम्न गएका दुई बालकहरूले एउटा अनौठो ढुङ्गा “तामांलुङ” (तामा र ढुङ्गा मिश्रित) फेला पारेको र राजाको आदेश अनुरूप उक्त ताम्रशिलालाई वराहक्षेत्रमा लगेर राखिएको भनाइ रहेको छ । शिलालाई उठाउन सक्ने व्यक्ति भाग्यमानी र धार्मिक हुने विश्वास गरिन्छ ।
वि.सं. २०६४ साल पौष महिनासम्म भुईँमा बेवारिसे अवस्थामा रहेको ढुङ्गाको महत्त्व र संरक्षणलाई मध्यनजर गर्दै हाल आएर उक्त ताम्रशिलालाई “तामांलुङ माङ हिम” मन्दिर बनाइ त्यहाँ प्रतिस्थापन गरिएको छ ।