आइतबार , फागुण १३, २०८०

बराह क्षेत्रदेखि खुवालुङ त्रिवेणीसम्म

image

नेपाली शब्दकोशका अनुसार पर्यटक भन्नाले देश–विदेश घुम्ने, भ्रमण गर्ने घुमक्कड व्यक्ति बुझिन्छ।  विगतमा नेपाली समाजमा पर्यटकभन्दा विदेशी पर्यटक भन्ने बुझाइ थियो । समयको बदलाबसँगै विदेशी मात्र होइन नेपालीमा पनि स्वदेश र विदेश घुम्ने प्रचलनको विकास भएको छ । यसले आन्तरिक पर्यटन प्रवर्द्धनलाई टेवा पुर्‍याएको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न ठाउँमा नयाँ पर्यटकीय गन्तव्यको विकास भएको पाइन्छ । पूर्वी नेपालमा धार्मिक, सांस्कृतिक, प्राकृतिक मनोरम दृश्यलाई जोडेर नयाँ गन्तव्य विकास गरिएको छ । जुन गन्तव्य हो ‘चतरा टु खुवालुङ  ।’ जहाँ स्थानीय, आन्तरिक तथा बाह्य पर्यटकले धार्मिक स्थलको दर्शन, मनोरम दृश्यको अवलोकन, जलयात्रा, सांस्कृतिक अवस्थाको अध्ययन र हाइकिङ पनि गर्न सकिन्छ ।

सुनसरीको इटहरीबाट पकली, बक्लौरी, कालाबन्जार हुँदै चतरा पुग्न सकिन्छ । चतराबाट बराहक्षेत्र, अक्कररिभ हुँदै खुवालुङ, त्रिवेणीको करिब ११ किलोमिटर यात्रा निकै रोमाञ्चित हुन्छ ।

कुनै बेलाको सुनसान हुने सुनसरीको चतरा आजभोलि व्यस्त छ । आन्तरिक पर्यटकको चहलपहल छ । शनिबार र सार्वजनिक बिदाको दिन कोशीपुल घुम्न आउने, पिकनिक आउनेले भरिभराउ हुन्छ । ‘जतिबेला धरान सहर विकसित हुँदै थियो त्यो बेला चतरा सुनसान थियो । अहिले पर्यटकीय गन्तव्य बनेको छ । चतरा धनकुटा, उदयपुर र भोजपुर जाने पैदल यात्रीको बिसौनी पनि हो ।

ताप्लेजुङको प्रसिद्ध पाथीभरा माताको दर्शनका लागि हिँडेका केहि हुल चतरामा भेटिए । उनीहरू सप्तकोशीमा डुंगा सयर गर्दै रमाएका देखिन्थे । राजधानी काठमाडौंदेखि पूर्वी पहाड पुग्नेका लागि चतरा विश्राम स्थल पनि हो । चतरामा सप्तकोशी नदीको माछाको स्वाद चाख्न पाइन्छ ।

यहाँका स्थानीय युवाले ‘चतरा हाइकिङ’को अवधारणा अघि सारेर प्रचार गरिरहेका छन् । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको चतरा ‘टुरिस्ट हव’ का रूपमा विकास भइरहेको छ ।

सप्तकोशी नदीमा जलयात्रा गर्न पनि सकिन्छ । सप्तकोशी नदीमा व्यावसायिक जेट बोट सञ्चालनमा आएपछि जलयात्रा नयाँ गन्तव्य बनेको छ । आन्तरिक पर्यटक कोशी नदीको जलयात्रामा रोमाञ्चित हुने गरेका छन् । पर्यटकका लागि १० सिटे ओवियम बोटमा करिब १० मिनेट जलयात्राको मज्जा लिन सकिन्छ । चतराबाट बराह क्षेत्रसम्म पैदल र जलयात्रा दुवै गर्न सकिन्छ । जल यातायात तथा पर्यटन प्रालिले सुनसरी बराहक्षेत्रबाट सप्तकोशीमा बोट सञ्चालन भएपछि यात्रा सहज मात्र भएको छैन पर्यटकलाई आकर्षित पनि गरेको छ ।

वराह क्षेत्र सुनसरी जिल्लाको मात्र नभएर नेपालकै सर्वाधिक महत्वपूर्ण र प्रख्यात तीर्थ हो । ब्रह्मपुराण वराहपुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत वराहको उल्लेख गरिएको छ ।

वराह क्षेत्रमा वराह अवतार विष्णुको पूजा गरिन्छ । भारतमा कुरुक्षेत्र र धर्मक्षेत्र नेपालमा वराह क्षेत्र र मुक्तिनाथ छन् । यहाँ ठुलाठुला मेला कात्तिक पूर्णिमा र मकर संक्रान्तिमा लाग्ने गर्छन् । मेलामा भारत र नेपालका विभिन्न क्षेत्रबाट मानिसहरू आउँछन् । वराह क्षेत्रको पावन भूमिमा बगेकी कोकाह नदीको पनि छुट्टै विशेषता छ ।

वराह क्षेत्र धाम हुँदै झोलुङ्गे पुल तरेपछि दक्षिणतर्फ अक्करेभिर हुँदै गाउँबस्ती छिचोल्दै कोशीको तिरैतिर तरेपछि धनकुटा र भोजपुरसम्म पुगिन्छ । तमोर–कोशी, अरूण–दुधकोशी किनारका बलौटे बगर, पाखा–भित्ताका गाउँलेको जीवन शैलीले परम्परालाई पछ्याउन छाडेको महसुस गर्न सकिन्छ । भरियाहरू नुन बोकेर हिँड्ने बाटा अहिले सुनसान छन् ।

भोजपुर, खोटाङ, धनकुटा लगायतका जिल्लाबाट नुनसहित खाद्यान्न लिन सुनसरीको चतरा झर्ने ढाक्रे र भरिया पुरानो बाटोले अहिले बटुवा भेट्न छोडेको छ ।

२०५० को दशकसम्म चतराबाट वराह क्षेत्र हुँदै भोजपुरको पदैल मार्गको मुख्य रुट कोशी किनारको अक्कर भिरको बाटो मुख्य थियो । सडक यातायात र जेट बोटका कारण मानिसहरू हिँड्न छाडे ।

चतराबाट बराह क्षेत्र त्रिवेणी हुँदै खुवालुङसम्म हाइकिङ गर्न सकिन्छ । उदयपुर, धनकुटा र भोजपुरको संगम स्थल भएका कारण त्रिवेणी महत्वपूर्ण छ । तामाकोशी, भोटेकोशी, सुनकोशी, लिखु र दुध कोशी उदयपुरबाट, भोजपुरबाट अरूण र धनकुटाबाट तमोर नदी आएर त्रिवेणीको संगम बनेको छ ।

त्रिवेणी धार्मिक तथा पुरातात्विक हिसाबले महत्वपूर्ण छ । त्रिवेणी नजिक रहेको खुवालुङले यहाँको महत्व अझ बढाएको छ । ‘खु’ भनेको पानी ‘वा’ भनेको नदी र ‘लुङ’ भनेको डुङ्गा हो । यसको अर्थ पानीमाथि बसेको डुङ्गा भन्ने अर्थ लाग्छ । पानीमाथि बसेको डुङ्गालाई राई, लिम्बु, याक्खा, सुनुवार जातिले खुवालुङ, खवाक्लुङ, खोवालुङ, खोलुङ मान्दछन् ।

किराँत समूहबाट छुट्टाछुट्टै जातिको उत्पत्ति र विकासक्रमसँग जोडिएका किंवदन्ती अनेकौं छन् । करिब ६ हजार वर्ष पहिला भारतबाट गंगासागर बह्मपुत्र नदी हुँदै एउटा मानव समुदाय खोलै खोला हिँड्ने क्रममा त्रिवेणी आइपुगेपछि अघि बढ्न नसक्दा अदृश्य दैविक शक्ति रहेछ भनेर खुवालुङ क्षेत्रमा सेवापूजा गरेपछि ढोका खुलेको भन्ने किंवदन्ती रहेको छ ।

खुवालुङ क्षेत्रमा विकसित किराँत सभ्यताका किंवदन्तीसँग उपन्यासमा वर्णित कोशी किनारको प्रकृति उस्तै छ । अरूण–दुधकोशी, तमोर–सप्तकोशी किनारमा पुग्दा ‘विभिन्न कथा, कविता चलचित्रमा वर्णन गरिएका कल्पनाशील दृश्यहरू यथार्थको नजिक देखिन्छन् । किराँत समुदायका खोजकर्ताहरूले खुवालुङमा विकसित किराँत सभ्यतामा राई, लिम्बु, यख्खा, सुनुवार एकै परिवारका दाजुभाइ भएको दाबी गर्छन् ।

सङ्गीतका रागहरूको उत्पत्तिसँग खुवालुङको गहिरो सम्बन्ध भएको बताइन्छ । किराँत धर्म मान्नेहरूको सिमाना त्रिवेणी भएकाले किराँत धर्म मान्ने समुदाय बर्सेनि पूजा–अर्चनका लागि खुवालुङस्थल त्रिवेणी आउँछन् । सांस्कृतिक महत्वको खुवालुङ क्षेत्रमा पर्यटकीय पूर्वाधारहरू बनेमा यसको संरक्षण र आर्थिक विकासमा टेवा पुग्ने देखिन्छ ।        – सरला रेग्मी

सम्बन्धित समाचार