कछुवा संरक्षण क्षेत्रका रूपमा रहेको बेतनामा चार प्रकारका कछुवा रहेका छन् जसमध्ये दक्षिण एसियामा लोपोन्मुख रहेको मयूरपङ्खी कछुवा पनि एक हो ।
जमिनमा पानी रसाएर निस्कने हिलो, भास क्षेत्र र पानी जम्मा भएर बन्ने खोल्सी (होली) आदि ठाउँलाई सिमसार भनिन्छ । साना चिस्यान झारपात, झाडी र ठूला रूख आदिले जमिनबाट पानी लिई भण्डारण गर्ने गर्दछन् । बोट बिरुवामा पानी भण्डारण भएका कारण माटोमा पर्याप्त पानीको मात्रा रहन्छ र सोही पानीको मात्रा जमिनको होचो भागबाट बाहिर सोसिएर सिमको रूपमा जमिनको सतहमा निस्कन्छ । जमिनभित्रबाट निरन्तर पानी बाहिर निस्कने ठाउँ नै सिमसार हो । सिमसारको व्युत्पत्तिमूलक (etymological) अर्थ लगाउँदा ‘सिम’ भनेको ‘जलथल जमिन’ र ‘सार’ भनेको ‘पानी’ हो ।
विश्व संरक्षण सङ्घ नेपालको अनुसन्धानबाट प्राप्त तथ्यअनुसार तराईका १९ जिल्लामा ८० वटा प्राकृतिक ताल, ५५ वटा बाढ क्षेत्र र १२ वटा सिम नहर क्षेत्र तथा जलाशय पर्दछन् । यस अनुसन्धानले खोला, नदी तथा माछा पोखरीहरूको लागतलाई सिमसारको दायराभित्र राखेको छैन ।
विष्णु भण्डारी (१९९२) ले उच्च पहाडी (हिमाली), मध्य पहाडी तथा तराईमा क्रमशः ७८, ८६ र १६३ गरी जम्मा २९७ वटा ताल तथा सिमसार रहेको तथ्याङ्क अद्यावधिक गर्नुभएको छ । एकीकृत पर्वतीय विकासका लागि अन्तरराष्ट्रिय केन्द्र र विश्व संरक्षण सङ्घको दुवै तथ्याङ्कलाई मिलाउँदा नेपालमा २,६२० वटा सिमसारहरू भएको अनुमान गरिन्छ जसमा ठुला साना गरी २४०३ वटा तालहरू पर्दछन् नेपालका सम्पूर्ण ताल तथा सिमसारलाई समेट्ने हो भने यी क्षेत्रले देशको कुल भूभागको ५% भन्दा बढी भाग लिएको अनुमान गर्न सकिन्छ ।

यिनै सिमसारमध्ये एक बेतना सिमसार क्षेत्र मोरङको केन्द्रमा रहेको एक सिमसार हो । पूर्व-पश्चिम लोकमार्गले बिच भागबाट चिरेको यो सिमसार बेलबारी नगरपालिकामा अवस्थित छ । यो क्षेत्रमा कार्तिकदेखि मूल फुट्ने हुनाले, पानीको मात्रा बढ्दछ र चैत अन्त्यतिर पानी कम हुने गर्दछ । भक्तशेर लिम्बुको एक लेख अनुसार पहिला मेटेको झारले भरिभराउ बेतना सुँगुरको चारोको स्रोत र माछा मार्ने ठाउँ थियो ।
स्थापना
बेलबारी गाउँपालिका हुँदा ३ वटा वार्डलाई सिँचाइ गर्न मिल्ने गरी यो परियोजना सुरु गरिएको हो । हाल त्यहाँबाट निस्किएका ६ वटा सिँचाइबाट ४ नं वार्डभरि पानी प्रवाह हुने गरेको छ । बाँध बनाएपछि सो स्थानमा पानी जम्यो । सिँचाइका लागि पानी प्रवाह गर्ने क्रममा दिन-हप्ता- महिना बित्दै गए । बाटो हिँड्नेहरू पानी जमेको तथा ओसिलो ठाउँ देखेर शीतलताका लागि बेतना ओर्लन थाले । धेरै मानिसहरू शीतल खोज्दै बेतना क्षेत्रमा प्रवेश गरेको देखेपछि बेतना सिमसार संरक्षण समिति गठन भयो ।
समितिले थोरै प्रवेश शुल्क लिएर मानिसहरूलाई सिमसार क्षेत्र भ्रमण गर्न दिन थाल्यो । शुल्क लिन थालेपछि आयआर्जनको बाटो देखियो । मानिसहरू सिमसार क्षेत्रमा पिकनिक खान आउन थाले । पछि अमना सिसौली सामुदायिक वनको केही भाग र देवीथान सामुदायिक वनको केही भागलाई समेटेर बेतना सिमसार सामुदायिक वन भनेर स्थापना गरियो ।
वि.सं. २०७२ सालमा बेतना सामुदायिक वनमा रूपान्तरित भएको हो । सिडिओ कार्यालयमा दर्ता भएको संरक्षण समितिलाई २०७२ सालमा जिल्ला वन कार्यालयले बृहत् रूपमा वन संरक्षण र पर्या पर्यटनको विकास गर्ने बताउँदै सामुदायिक वन घोषणा गरी हस्तान्तरण गर्यो ।
बेतना सिमसार स्मारिका २०६९ अनुसार वि.सं. २०५७ सालमा स्व. विष्णु बस्नेतले आफ्ना पिता पिता कटकबहादुर बस्नेतले बनाएको ‘कटके’ बाँध (बेतना बाँध)लाई पक्का गर्ने कार्यको थालनी गरे । गाउँलेहरूको साथ र सहयोगमा स्व. विष्णु बस्नेतले २०५७ सालमा ‘बेतौना खोला सिँचाइ आयोजना जल उपभोक्ता समिति’ गठन गरी दर्ता गरे । र २०५८ सालमा कटके बाँधलाई पक्का बाँधमा रूपान्तरित गरे ।

बेतना खोलामा पक्का बाँध बनेपछि बाँधका कारण त्यस स्थानमा ठूलो पोखरी बन्यो । सो पोखरी क्षेत्र सिम क्षेत्र भएको कारण त्यस क्षेत्रलाई सिमसार क्षेत्र बनाउने इच्छा उनीभित्र जाग्यो । फलतः वि.सं. २०६१ सालमा बेतना सिमसार संरक्षण समिति स्थापना भयो र सबैको सल्लाह बमोजिम त्यसको पहिलो अध्यक्ष पनि उनै बने । उनको नामबाट ‘बेतना सिमसार विष्णु बस्नेत अक्षयकोष’ नामक अक्षयकोष राखिएको छ । जसबाट आएको ब्याजबाट हरेक वर्ष सिमसार दिवस (फेब्रुअरी २)का दिन मनाउने गरिन्छ । अक्षयकोष गाउँले, बेतना सिमसार संरक्षण समिति र परिवारले मिलेर स्थापना गरेका हुन् ।
विशेषता
यहाँ विशेषगरि आन्तरिक पर्यटक भ्रमणमा आउने गर्छन् र निकै थोरै मात्रामा बाह्य पर्यटकहरू पुग्ने गरेका छन् । गर्मीमा शीतल खोज्दै मानिसहरू बेतना जान्छन् भने जाडो याममा वनभोज खान पुग्ने गर्छन् । प्रत्येक शुक्रबार र शनिबार बेतनामा विशेष भिड हुने गरेको छ ।
बेतनामा जरुवाको पानी आइरहने हुनाले अहिलेसम्म सिँचाइका लागि पर्याप्त पानी उपलब्ध भइरहेको छ । यस सिमसार क्षेत्रमा विभिन्न किसिमका जलचर तथा पशुपक्षीहरू देख्न सकिन्छ । कछुवा, माछा, घोंघी, सिपी, गंगटा, भ्यागुता आदि जलचर रहेको यस सिमसारमा जलचरलाई आहार बनाउने जलकवा, पानी हाँसका बथान, साइबेरियन हाँसका हुल र विभिन्न प्रजातिका बकुल्ला देख्न सकिन्छ । पुतली तथा चराको अध्ययन गर्ने मानिसहरू पनि बेतना पुग्ने गरेका छन् ।

वरिपरि शीतल वन, वनको बिचमा पोखरी, पोखरीमा रहेका माछा खाने चराहरूको र तिब्बत या हिमालपारिबाट आएका माछा खाने बाजहरूको क्रियाकलापले भ्रमणमा आउनेको मन लोभ्याउने गर्छ । पोखरीमा माछाको सङ्ख्या बढ्दै गएपछि ठूलो भएका माछाहरू बिक्री वितरण गर्ने गरिन्छ । त्यहाँको माछा वर्ष दुई वर्षमा एकपटक मात्र बेचिन्छ ।
१७४.९१ हेक्टर (२६० बिगाहा)मा फैलिएको सिमसार क्षेत्रमा विभिन्न ठाउँबाट उद्धार गरी ल्याइएको जनावरसमेत राख्ने गरिएको छ । चित्तल, नीलगाई, गिद्ध, अजिङ्गर आदि जनवार राखिएका छन् । यद्यपि, चिडियाखाना बनाउने उद्देश्यले यी जनावर राखिएका भने होइनन् । कहीँ दुर्घटनामा परेका या घाइते भएका जनावरलाई बेतनामा ल्याई उपचार गरी त्यसको पालनपोषण गर्ने गरिन्छ । बेतना पर्यटकीय क्षेत्र भएकाले यसले थप पर्यटक आकर्षण गर्ने बिचार गरी ती जनावर ल्याइ राखिएका हुन् । समग्रमा भन्दा बेतना जनावरहरूको एक उद्धार केन्द्र हो भन्दा पनि फरक नपर्ला । बेतनाको आयस्रोत भएकाले उपचार गर्न सक्षम रहेको हुनाले विभिन्न सामुदायिक वनबाट यी जनावरहरू उद्धार गरी ल्याएर राखिएका हुन् ।


योजना
सामुदायिक वन भएपछि २०७५ सालमा समितिले गुरुयोजना निर्माण गरेको छ समितिका अध्यक्ष डम्बर बस्नेतले बताए । जसमा बाटोमुनि रहेको १३ हेक्टर क्षेत्रफल मानव प्रयोग क्षेत्र बनाउने योजना रहेको छ । यसबारे बताउँदै उनले भने, ‘जहाँ मानवीय गतिविधि सञ्चालन हुनेछ । पिकनिक खाने, मोटर बोट कुदाउने, पोखरी बनाउने, चिल्ड्रेन पार्क, स्विमिङ पुल, होटल आदि यस क्षेत्रमा पर्नेछन् ।’
मानवीय कोलाहलले चराहरू विस्थापित हुने डर रहेकाले दोस्रो खण्डअन्तर्गत् ६३ हेक्टर क्षेत्रफलमा दलदल तथा पोखरी क्षेत्रलाई मानव नियन्त्रित क्षेत्र बनाउने योजना छ । ‘उद्धार गरी ल्याइएका जनावरको वासस्थान बनाउने, कछुवाको प्रजनन केन्द्र बनाउने, इकोलोजिकल रिजोर्ट (रुखमै रूम राखेर) बाह्य पर्यटकलाई पनि आकर्षण गर्ने उद्देश्यले यो क्षेत्रमा काम हुनेछ ।’ उनले भने, ‘यो क्षेत्रमा हल्ला गर्न भने पाइँदैन, प्लास्टिक तथा कुनै पनि किसिमका फोहर गर्न नपाइने, पानी, लेउ, कछुवा, पुतली विषयमा अध्ययन गर्ने मानिसहरू आइरहने हुँदा यसलाई अध्ययन केन्द्रको रूपमा पनि राखिनेछ ।’
उत्तरपट्टि ९८ हेक्टर भने मानव निषेधित क्षेत्र रहने उनले जानकारी दिए । जहाँ प्रवेश गर्न पनि अनुमति लिनुपर्ने हुन्छ । त्यहाँ जङ्गली जनावरको सुरक्षित बासस्थान बनाउने योजना रहेको बस्नेतले बताए ।

व्यवस्थापन
सामुदायिक वनमध्येमा नेपालको पहिलो बेतना सिमसार सामुदायिक वन यस्तो हो अन्य सामुदायिक वनमा जस्तो काठहरू बिक्री वितरण गर्ने गरिँदैन । क्षति भएका या ढलेका रूख पनि बिक्री गर्न पाइँदैन ।
बेतना सिमसार क्षेत्रमै कुनै संरचना बनाउनु पर्यो भने वनसँग अनुमति मागेर ती ढलेका रूखलाई प्रयोग गरिन्छ । आन्तरिक प्रयोग बाहेक अन्य प्रायोजनका लागि रूख चलाउन पाइँदैन । सिमसार क्षेत्रमा रहेका प्राणी तथा वनस्पतिलाई हानि पुग्ने या चोरी गर्ने गरेको पाइए उक्त व्यक्तिलाई नियन्त्रणमा लिइ वन कार्यालयमा बुझाइने र कानुन अनुसार प्रक्रिया अघि बढाइने कर्मचारी धनबहादुर राईले जानकारी दिए । बेतनामा १२ जना कर्मचारी र ३ जना सुरक्षा गार्ड गरी १५ जनाले पारिश्रमिक लिएर काम गरिरहेका छन् ।
आर्थिक पाटोको कुरा गर्दा बेतनामा एउटा पिकनिक टोलीबाट ६०० रुपैयाँ लिने गरिन्छ भने पिकनिक आउने प्रतिव्यक्ति प्रवेश शुल्क १० रुपैयाँ लिने गरिन्छ । त्यसैगरि, भ्रमणमा जाने पर्यटकहरूसँग प्रतिव्यक्ति ३० रुपैयाँ लिने गरिएको छ । पिकनिक टोलीले गर्ने फोहर व्यवस्थापनका लागि फोहर फ्याँक्ने डस्टबिन राखिएको छ । त्यसैगरि, पिकनिक उठेर गएपछि कर्मचारीहरूले सरसफाइ गर्ने गरेका छन् ।
प्लास्टिकजन्य तथा सिसाका फोहर कवाडीमा दिने गरिन्छ । कवाडीवालाले वनभरि खोजेर ल्याएका प्लास्टिकजन्य तथा सिसाका फोहरबापत शुल्क तिर्नु पर्दैन बरु समितिले नै पैसा दिने गरेको छ । जसले कवाडीवालालाई आकर्षित त गर्छ नै सरसफाइमा समेत सहयोग पुगेको छ ।

थप के गर्न सकिन्छ ?
आन्तरिक तथा बाह्य पर्यटकका लागि एउटा जैविक विविधतापूर्ण पर्यटकीय क्षेत्र विकास गर्न सकिन्छ । बेतना सिमसार क्षेत्रको उचित संरक्षण र विकास गर्न सके भविष्यमा सिमसार क्षेत्रका र पानीभित्रका बोटबिरुवा तथा जीवहरूको अध्ययन गर्ने एउटा महत्त्वपूर्ण केन्द्र बनाउन सकिन्छ ।
बेतना नाम तर बेतचाहिँ लोपोन्मुख भएको छ, यसलाई व्यावसायिक रूप दिएर योजनाबद्ध ढङ्गले व्यवस्थापन गर्न सके बेलबारीको आर्थिक उन्नतिमा टेवा पुग्ने थियो ।

के कुरामा ध्यान दिने ?
भौतिक संरचनाको विकास गर्दा, वनभोज, जल बिहार आदिले त्यहाँ भएका पशुपक्षीलाई कुनै असर नगरोस् पनि सतर्क रहनुपर्छ । पिकनिकमा गरिने अत्याधिक मनोरञ्जन, या त्यसबाट हुने फोहर तथा प्रदूषणले सिमसार क्षेत्रबाट विभिन्न पशुपक्षी विस्थापित हुने अवस्था सिर्जना हुनाले यसमा विशेष ध्यान दिने, जसलाई योजनामा समेटे पनि अहिलेसम्म लागु भनेको गरिएको पाइएको छैन ।
वन संरक्षणमा बेलैमा ध्यान नदिए २०६९ मा डी.पी. राईले एक लेखमार्फत् सिमसारको पानीको स्रोत घट्ने सम्भावना रहेको बताएका थिए । जसको प्रतिउत्तरमा अध्यक्ष बस्नेतले अहिले सम्म त्यस्तो अवस्था आइनसकेको जानकारी दिए । वन संरक्षणमा आफूहरूले ध्यान दिइरहे तापनि बढिरहेको क्रसर उद्योगले भने समस्या निम्त्याउन सक्ने उनले सुनाए । उनी भन्छन्, ‘वन संरक्षण एउटा पाटो भयो । यहाँको पानीको स्रोत भनेको मेरो बुझाइ अनुसार चुरेको पानी, चिस्याङ खोलाको पानी हो । लेटाङमा चिस्याङ खोलामा पानी प्रशस्त छ । तल हाइवेको पुलमा भने पानी नै छैन । क्रसर उद्योगले खोलाहरू दोहन गरिरहेकाले बेतना सिमसार क्षेत्रमा असर पुर्याउँछ कि जस्तो लाग्छ ।’
यसलाई नियन्त्रण गर्न पहल गरिरहेको र पानीमा कमी नआएको उनले बताए । उनी भन्छन्, ‘पानीको कमी भने भएको छैन तर पोखरीहरू पुरिँदै गएको देखिन्छ । अहिले पनि प्रति सेकेन्ड हजार लिटर पानी आउने गरेको विज्ञ टोलीले बताएका छन् ।’

उनका अनुसार समितिलाई पर्यटन बोर्डले सहयोग गर्ने गरेको छैन तर पर्यटन मन्त्रालयबाट कहिलेकाहीँ सहयोग आउने गरेको छ । उनी भन्छन् , ‘प्रदेश र केन्द्र को पर्यटन मन्त्रालयले सहयोग गर्ने गरेको छ, पर्यटन बोर्डले सामुदायिक वनलाई सहयोग गर्ने गरेको मैले थाहा पाएको छैन ।’
सामुदायिक वनलाई उपेक्षा गरिएमा उनी दुखी हुँदै भन्छन्, ‘पर्यटन बोर्डले प्रबल पर्यटकीय सम्भावना बोकेका यस्ता सामुदायिक वन तथा सिमसारलाई सदस्यता पनि दिँदैन । मन्दिरलाई भने सजिलै सदस्यता दिइने गरिन्छ भने यस्ता प्राकृतिक पर्यटकीय क्षेत्रलाई बेवास्ता गरिन्छ ।’ यस विषयमा पर्यटनसँग सम्बन्धित विभिन्न निकायसँग बृहत् छलफल गरिरहेको उनले सुनाए ।
बेतना कछुवाको हबको रूपमा रहेको छ या भनौँ कछुवा संरक्षण क्षेत्रको रूपमा रहेको छ । बेतनामा चार प्रकारका कछुवा रहेका छन् । जसमध्ये दक्षिण एसियामा लोपोन्मुख रहेको मयूरपङ्खी कछुवा पनि एक रहेको छ । कछुवाको सङ्ख्या बढ्ने क्रममा रहेको बताउँदै उनी भन्छन्, ‘कछुवाको सङ्ख्या बढिरहेको छ । हाम्रोमा ५० किलो भन्दा माथिको कछुवा पनि छन् ।’ बेतनामा प्राकृतिक रूपमै कछुवासमेत प्रजनन हुने गरेको छ । कछुवासम्बन्धी अध्ययन गर्ने मानिसहरू पनि बेतना पुग्ने गरेका छन् ।

अन्त्यमा,
सरकारले लगानी गर्दा प्रतिफल विचार गरेर लगानी गर्नुपर्ने उनले बताए । ‘बेतनामा ५ करोडको योजना रहेकोमा कुनै वर्ष १ करोड छुट्याउने गरिएको छ । अर्को वर्ष आउँदैन, काम अधकल्चो हुन्छ । बजेट खेर जान्छ ।’, उनी भन्छन्, ‘यस्ता पैसा म ल्याउँदा पनि ल्याउँदिनँ । कि काम पूर्ण होस् र प्रतिफल मिल्ने होस्, अनि ल्याउँछु ।’
