शुक्रबार , बैसाख ७, २०८१

भगौडा बुद्धि ! आजपनि भाग्यो…

‘ए घाँस खाने जन्तु तँ मेरै बुद्धि हो ?’ मैले प्रश्न राखे । हुन त मलाई बेलाबेला ‘मेरो बुद्धि घाँस खान जान्छ’ भन्ने शङ्का थियो । त्यसले आज सार्थकता पाएको हुनपर्छ । तर ऊ बोल्दैन, घोसे छ, अपराधी ।

image

खुट्टालाई भरिया बनाएर आफ्नो जिउको भारी लादेर कतै गइरहेको छु या आइरहेको छु, थाह छैन । खोपडी एकदम-दुईदम या तीस-चालिसदम खाली-खाली लागिरहेको छ । रित्तो-रित्तो । ब्ल्यांक ! केही सोचाई छैन, विचार छैन, म के हो या किन हो पनि ज्ञात छैन । साह्रै हलुका भएको छ गिदी राख्ने डब्बा । कसैले सुटुक्क गिदी निकालेर भुटेर खाएको भए जान्दिनँ म । ‘तेरो टाउकोमा त गोबर भरिएको छ’ भन्नुहुन्थ्यो आमा, कसैले किन गोबर खाँदो हो ? त्यो पनि भुटेर !

कि मैले आफ्नो टाउको भित्रको हार्ड डिस्क आज घरमै बिर्सिएर आएँ ? याद छैन, जान्दिनँ, मेलोमेसो छैन । हिजो राती खप्परको सटर खोलेर भित्रको माल निकाले जस्तो लाग्दैन । कसैले चोर्ला भन्नु छैन, लुट्ला या जफत गर्ला भन्नु छैन, गोबरको ढिस्को । केही लेख्नु अघि टेबलमा राखेँ कि आलुसँगै खाटमुनि मिल्काई दिएँ सम्झन सक्दिनँ ।

भन्न त श्रीमतीले ‘तिम्रो दिमागमा किरा परेको छ’ भन्थिइन् । सुटुसुटु किराले कुटुकुटु भोजन गरेर रित्याएको हो कि ? खाएकै भए पनि कुन मार्गबाट निस्कियो होला ? नाक किचिमिची पार्छु, कानमा औँला हाल्छु, अहँ केही फरक छैन । आँखा छाम्छु छैन, छैन यताबाट होइन । भाग्यो ! भाग्यो ! कताबाट भाग्यो जान्दिनँ । त्यो मेरो दिमागको राज्य नै तहसनहस पार्ने किरोलाई मैले नै चुनाव गरेर दिमागमा राखेको हुँ कि, मलाई फकाएर पसेको थियो ? उसका मिठा-मिठा वाचामा भुलेर उसले गिदीको साम्राज्य नै चट् पारिसक्दा पनि मलाई होस् नभएकै हो त ? होइन होला, घिचेको छैन होला ।

अस्ति साँझ खोइ कसले हो ख्वाएको रक्सी र मासुको सुरमा बेचिदिए कि क्या हो ? लौ न ! घर फर्किएपछि पुराना विद्यालयका गुरुले ‘बुद्धि बेचेर खाइस् कि क्या हो ?’ भनेर शङ्का त गरेका थिए । हुन त उनले विद्यालयमा पनि मलाई यसरी नै शङ्का गर्थे । तर मैले बेचेको भने थिइनँ, त्यतिबेला बेचेको भए भर्खर-भर्खरको ताजा बुद्धिको राम्रै दाम आउँथ्यो होला ।

किन्नेले कतिमा किन्यो होला, मैले किन बेचेँ हुँला थाह छैन । औँलामा मसि लागेको छैन, बन्दकी राखेको पनि हुनसक्छु ।  एकपटक बिक्री भइसकेको बुद्धि फिर्ता हुन्छ कि हुँदैन ? दुई चारवटा सपेटाको चपेटामा परेर र्‍याल चुहाएँ होला । कि पक्कै कलेजोको तिर्खा मेट्न, बन्दकी राखेँ होला । म जस्ताको बुद्धि किनेर के नै पो नाप्ला र मोराले । ब्याज आउने होइन, कुनै विदेशी मुलुकले ऋण दिने होइन । कि दिन्छ हौ ?

पिरो र अमिलो नपुगेको चट्पट जस्तो नमिठो छट्पट भइरहेको छ । दिमाग नै हराएको मान्छेलाई पनि छट्पट त हुने रहेछ । बेलैमा दिमागमा चेन लगाएर राख्न नसकेपछि बेचैन भइने नै भयो !

आधा-आधा दशकमा घरमा फेरो लगाउन आएका जोगीलाई दान दिएँ कि जस्तो पनि लाग्छ । अँध्यारोमा खोइ के-के मन्त्र फलाँकेर गाउँभरिका मान्छेलाई अँध्यारोमा राखेर, घरको परिक्रमा गरेर, झोला भरि गाउँकै बुद्धि लिएर गए कि क्या हो, कि मेरो मात्र बुद्धि हराएको हो भन्ने जानेको छुइनँ । मैले त कडाइ नै गर्नु पर्ने हो ‘म त दान दिन्न’ भनेकै हुँला । उसले दान दिनै पर्छ भनेर कर लगाएको होला, नियम कानुन सिकाएको होला, संविधानको धारा बगाएको होला । रै पनि मैले ‘म त दान दिन्न’ भनेकै हुनपर्छ । मेरो अधिकारको कुरा हो, कुन जोगीलाई दान दिने कुनलाई नदिने भन्दै कराएकै हुनपर्छ म । सायद उनीहरूको शङ्ख बजाइमा नै जादु-टोना होला र मैले आफ्नो बुद्धि बुझाएको हुनपर्छ । कान चिरेका जोगीप्रति पनि मलाई शङ्का छ । हुन त हाम्रो गाउँमा आउने सबै जोगीका कान चिरिएकै हुन्छन् ।

थोरै अघि झ्याङबाट खस्र्याक खुस्रुक आवाज आइरहेको छ । खुट्टाले मालिकको शरीरलाई, शरीरको मालिकलाई बोकेर झ्याङतिर भइरहेको ल्याङ-ल्याङ हेर्न लैजान्छ । के होला त्यो, बडो अचम्मको छ । खबाट खरायो पनि होइन, कबाट कछुवा पनि होइन ।

नजिकबाट हेर्छु ऊ घाँस खाइरहेको छ । कस्तो भोको रहेछ ! बिचरा ! आज बडो अचम्मको यस्तो जनावर देख्न पाइयो । न हात छन्, न खुट्टा, न मुख, न कान, न नाक नै, तर घाँस चपाइरहेको छ । यो पक्कै डाइनोसरको जमानाको जन्तु हुनपर्छ । यस्तो जनावर खोज गरेकोमा मलाई पक्कै पनि विश्वले जयजयकार गर्नेछ ।

‘ए को होस् तँ ?’ म मानवीय भाषामा प्रश्न तेर्साउँछु । ऊ केही बोल्दैन, सायद मान्छेको क्लिष्ट भाषा उसले बुझ्दैन’, या बुझ्न रुचि छैन । मेरै बुद्धिको आकारमा छ, प्रकारमा छ । ‘ए घाँस खाने जन्तु तँ मेरै बुद्धि हो ?’ मैले प्रश्न राखे । हुन त मलाई बेलाबेला ‘मेरो बुद्धि घाँस खान जान्छ’ भन्ने शङ्का थियो । त्यसले आज सार्थकता पाएको हुनपर्छ । तर ऊ बोल्दैन, घोसे छ, अपराधी ।

‘आइज है मेरो टाउकाको खपेटा भित्र छिर्’ उसलाई म उसको घर देखाउँछु । उसको कान छैन, सुन्दैन । र, उचाई घाँस खानमा मस्त छ, तृप्तता लिइरहेको छ । मेरो बुद्धि घाँस खान गयो भनेर रुन पनि भएन, बिल्ला हुन्छ । ऊ सुन्दै सुन्दैन । सायद यो मेरो बुद्धि होइन ।

तपाईँहरू कसैले मेरो बुद्धि देख्नु भएको छ ? देख्नु भएको छ भने उसलाई उसको मालिकले खोजिरहेको छ भनेर खबर गरिदिनु होला । हाम्रो अनबन भएको छैन, झगडा परेको होइन, कुस्ती खेलका होइनौं, राष्ट्रलाई स्वर्ण दिलाउने प्रयासमा लागेको छैन ।  प्रत्येक पाँच वर्षमा मेरो बुद्धि आफ्सेआफ मेरो टाउकाको ढोका खोलेर भाग्ने गरेको छ र मलाई धोका दिने गरेको छ । ‘कहिले रक्सी खाएर आइहाल्छु’ भन्छ,..आउँदैन । कहिले अजिब किसिमको झण्डा बोकेर बाटोघाटो दौडिरहेको हुन्छ । कहिले के मुर्दावाद, के जाति जिन्दाबाद भन्छ । यसपालि फेरी मेरो बुद्धि उर्फ दिमाग उर्फ गिदी पुनः आफ्नो ठाउँ छोडेर हिँडेको छ । सायद गुन्डा भएको छ, भेटे मलाई नै सिध्याउला । या ऊ पनि कान चिरेको जोगी हुने प्रयासमा छ ।

ए साँच्ची ! तपाईँको बुद्धि त तपाईँसँगै होला नि ? बेच्ने, बन्दकी राख्ने या हराउने त गर्नु भएको छैन नि ? टाउको छाम्नुहोस् । बुद्धि भए त्यसलाई यसपालि काममा लगाउनुहोस् । अहिल्यै लगाउनुहोस् ।

कुनै बङ्गारा बुद्धिको पाठेघर होइन, त्यसैले बुद्धि बङ्गारा नभएपनि बुद्धि लगाउन सकिन्छ ।

‘कुखुरी काँ
बुद्धि लगा !
खोइ मेरो बुद्धि ?
घामले सुक्यो
खोइ घाम ?
रुखमा छेलियो
खोइ रुख ?
हँसिया हथौडाले ढाल्यो
खोइ हँसिया हथौडा ?
हलो बनाउन गयो
खोइ हलो ?
गोरुको घन्टीले तर्सियो
खोइ घन्टी ?
……..फुट्यो

Tags:

सम्बन्धित समाचार