भैरवाष्टमीको दिनमा बिहान घरको कौसीबाट भैरवलाई सम्झि पूजा गर्ने प्रचलन रहेको पाइन्छ । यस दिन उपत्यका लगायत विभिन्न स्थानका भैरव मन्दिरहरूमा विशेष पूजा गर्ने गरिन्छ ।
देव अष्टमी तथा शुद्ध अष्टमीको नामले पनि चिनिने भैरवाष्टमीलाई भैरव सर्वप्रथम उत्पन्न भएको तिथिको रूपमा लिइन्छ । शिवको क्रोध अग्निबाट आजकै तिथिमा पहिलो पटक भैरव रूप उत्पन्न भएको मानिन्छ । हरेक वर्ष मार्ग कृष्ण अष्टमी (कछलागा अष्टमी) तिथिलाई भैरवाष्टमीको रूपमा लिइन्छ ।
के गरिन्छ?
भैरवाष्टमीको दिनमा बिहान घरको कौसीबाट भैरवलाई सम्झि पूजा गर्ने प्रचलन रहेको पाइन्छ । यस दिन उपत्यका लगायत विभिन्न स्थानका भैरव मन्दिरहरूमा विशेष पूजा गर्ने गरिन्छ । नेपाल, भारत लगायतका विभिन्न स्थानमा भैरव मन्दिरमा विशेष पूजा हुने यस दिन काठमाडौँ उपत्यकाका विभिन्न भैरव पीठहरूमा वर्ष-बन्धन पूजा पनि गर्ने गरिन्छ ।
आजको दिन नेवा: समुदायमा अष्टभैरव दर्शन गर्न जाने परम्परा पनि रहेको पाइन्छ । विभिन्न स्थान अनुसार आ-आफ्नै रीत अनुसार अष्टभैरव पूज्ने चलन रहेको पाइन्छ।
सांस्कृतिक पक्ष
विभिन्न वेद पुराणमा उल्लेख भए अनुसार आजको दिन शिवले रौद्र रूप धारण गरेको तथा उनको तेस्रो आँखाबाट भैरव उत्पन्न भएको मानिन्छ । यस दिन बिहान स्नान गरि, पवित्र मनले दान, तर्पन आदि गरेमा पुण्य लाभ हुने उल्लेख गरेको पाइन्छ । यस्तै आजको दिन पितृको नाममा दान तथा शिला दिएमा पितृले पाउने, तथा आजको दिन पितृलाई पूजा गरि बत्ती दिएमा पितृ तृप्त भई परिवारमा सुख शान्ति हुने जनविश्वास रहेको पाइन्छ ।
यसैगरि, भैरव तन्त्रमा भैरवाष्टमीका दिन पञ्चमाकर राखी पूजा गरेमा आफ्नो तन्त्र सिद्ध हुने उल्लेख भएको पाइन्छ । आजको दिन शैव नेवा: समुदायले कालभैरव, आकाश भैरव, आनन्द भैरव, चन्द भैरव लगायतका स्थानमा समयबजी राखी पूजा जाने पनि गर्ने गर्दछन् भने बौद्ध नेवा: समुदायले आज हेरुका, चक्रसंवर, चन्दमहारोसन तथा महांकाल भैरवहरूको पूजा गर्ने गर्दछन् ।
हरेक जात्रा पर्वलाई उपत्यका भित्र रहेका शैव, वैष्णव, शाक्त आदि विभिन्न सम्प्रदायका नेवा: र बज्रयान बौद्ध नेवा: हरूले आ-आफ्नै तरिकाले सहर्ष मनाउनु यहाँको एक विशेषता हो । धार्मिक सहिष्णुता राखी यसरी पर्वहरू आत्मसात् गरि आफ्नो संस्कार अनुसार मनाउनुले यहाँको सभ्यताको मूलधार दर्शाउँछ । तपाईँहरू सबैलाई भैरवाष्टमीको शुभकामना छ !!!
(ब्यानरमा प्रयोग गरिएको फोटो रोहित महर्जनले खिचेका हुन्- सम्पादक ।)