मंगलबार , जेठ १९, २०८३

भरिया (कथा)

हरेक भेटमा चकलेट दिएकौ कारण होला केही वर्षसम्म उसलाई उसको साथी भरिया, चकलेट र खुसीको पर्यायवाची लागिरह्यो । हिजै जस्तो लाग्छ उसलाई भरियाले ल्याएको चकलेट बाँड्न ऊ र भरिया सँगसँगै गाउँ डुलेको !

image

– विजय लुइँटेल

आज

बादल लागेको कारण बिहान मधुरो छ । केही बेरमा आकाश रोँला जस्तो देखिएको छ । एउटा केटो बसिरहेको छ भरियालाई पर्खेर, डाँडाको चौतारीमा । ऊ चार वर्षको हुँदा उसले चिनेको उसको साथी भरियालाई उसले आज बिसौँ पल्ट भेट्नेछ । चौतारी एकदम शान्त छ, एकाबिहानै भएकाले मान्छेको चहलपहल छैन त्यहाँ । त्यत्तिकैमा के झोक चल्छ त्यो केटो सुसेल्न थाल्छ- कृष्ण विक्रम थापाको ‘सिन्धुली गढी घुमेर हेर्दा ।’ सुसेल्दै पर..पर.. डाँडा नियाल्न खोज्दै हुन्छ, एउटा सानो आकृति पर साँघुरो बाटोबाट उसैतिर आइरहेको देख्छ ।

एकपल्ट ध्यान दिएर त्यो आकृतिलाई हेर्छ, देख्छ- उसको साथी भरिया जस्तै देखिने कोही उसैतिर आइरहेको छ । अझै ध्यान दिएर हेर्दा, टाउकोमा नाम्लो अनि ढाडमा डोको बोकेको मान्छे भएकाले त्यो भरिया नै हो भनेर विश्वस्त हुन्छ । मुहारमा एउटा अनौठो हाँसो ल्याएर ऊ हेरिरहन्छ भरिया आउने बाटोतिर । त्यता हेर्दा हेर्दै एक्कासि उसले भरियालाई एउटा सानो केटो जस्तो देख्न थाल्छ, जसको टाउकोमा सानो नाम्लो छ अनि ढाडमा सानो डोको देखिन्छ..!

भरियासँगको पहिलो भेट

यही ठाउँमा यसरी नै बसिरहेको थियो ऊ, भरिया पनि उसरी नै आएको थियो जसरी अहिले आइरहेको छ, ढाडमा सानो डोको बोकेर, टाउकोमा नाम्लो बाँधेर तर त्यसबखत भरिया अहिले भन्दा निकै सानो थियो । ऊ सम्झन्छ कति साना थियौँ हामी, म अनि मेरो साथी भरिया । सम्झन्छ, हामी भेट्दा केवल चार वर्षका थियौँ । उसलाई सम्झना आउँछ, भरियाले पहिलो भेटमा आफ्नो सानो डोकोबाट एक प्याकेट चकलेट निकालेर उसलाई दिएको । त्यसरी हरेक भेटमा चकलेट दिएकौ कारण होला केही वर्षसम्म उसलाई उसको साथी भरिया, चकलेट र खुसीको पर्यायवाची लागिरह्यो । हिजै जस्तो लाग्छ उसलाई भरियाले ल्याएको चकलेट बाँड्न ऊ र भरिया सँगसँगै गाउँ डुलेको ! चकलेट ल्याएको दिन भरिया दिनै भरी उसैसँग हुन्थ्यो । दिनभर उनीहरू हाँसखेल गर्थे, एकअर्का साथमा नहुँदा भएका कुराहरू साट्थे । उसलाई भरिया आउने दिन अँध्यारो भए पनि उज्यालो लाग्थ्यो, किनकि त्यो दिन ऊ आफैँ पनि उज्यालो हुन्थ्यो । राती ऊ सुत्ने बेला भने भरिया ऊसँग बिदा माग्दै वाचा गर्थ्यो- ‘यतै ररहें भनेँ म तिमीलाई भेट्न अर्को साल आउनेछु, मिठा मिठा चकलेट ल्याउनेछु ।

साथीलाई कविता

केही वर्ष यसरी नै बित्दै गए । भरिया चकलेट लिएर आउँथ्यो, दिनभर साथ बस्थ्यो अनि फेरी रातमा फर्की जान्थ्यो । मज्जाले सम्झना छैन उसलाई, सायद नौ वर्षको भएको हुनु पर्छ ऊ, या सायद दस । त्यो साल भरिया आउनुभन्दा एक दिन अगाडि उसले सोच्यो, ‘यो पाली म मेरो साथीका लागि एउटा कविता लेख्छु ।’

अनि त्यही रात धेरै बेर सोचेर एउटा कागजको टुक्रामा कलम र मन कुदाएर केही शब्द लेख्यो ।

कविता : साथी

डुल्दै र फिर्दै यो साल पनि
डोको बोकी आउनेछ साथी
कोसेली चक्लेट र थोरै खुसी
पोको पारी ल्याउनेछ साथी
अर्को साल पनि मलाई भेट्न
पक्कै नबिर्सी आउनेछ साथी

लेखेको कविता पाइन्टको गोजीमा राखेर अर्को दिन ऊ यही चौतारोमा पर्खेर बस्यो । उसले सोचेको थियो, मलाई खुसी दिने साथीलाई म पनि आज केही खुसी दिएर खुसी पार्नेछु । त्यो दिन उसको साथी अरू बेलाभन्दा ठुलो डोको बोकेर आएको थियो । उसलाई लाग्यो आज मेरो साथीले मलाई अझै बढी कुराहरू ल्याइदिएछ । केही बेरमा भरिया आएर उसलाई अङ्गालो हाल्यो अनि चौतारीमा बस्दै आफ्नो टाउकोको पसिना पुस्यो । भरिया बसेको मात्र के थियो,  उसलाई कविता सुनाउने हतार भइहाल्यो । फटाफट आफ्नो गोजीबाट कागज झिक्यो अनि तिम्रो लागि लेखेको भन्दै भरियालाई एकै सासमा कविता सुनायो ।

उसले सोचेको थियो उसको कविता सुनेर साथी खुसी हुनेछ तर, त्यसो नभएर साथी त झन् निराश बन्यो ।  भरियाको निराशा देखेर नराम्रो मान्दै उसले सोध्यो, ‘साथी कविता मन परेन हो ?’ भरियाले नजर झुकाएर भन्यो, ‘माफ गर्देऊ साथी, यसपालि चकलेट ल्याउन सकिनँ..।’

केही बेर दुवै मौन रहे..। अनि त्यो मौनतालाई तोड्न भरियाले डोकोबाट एउटा फाउन्टेन कलम र चेलपार्क मसी निकालेर उसलाई दियो । साथी उदास भएकाले निस्ताइरहेको उसको मुहारमा एकाएक खुसी छायो । खुसी हुँदै साथीको हातबाट कलम र मसी लियो । अनि साथीलाई धन्यवाद भन्यो । त्यो धन्यवादले भरियाको मुहारमा हाँसो ल्याउन सकेन । साथीलाई कसरी खुसी बनाउनेबारे केहीबेर सोचेपछि मसीको बट्टा खोल्यो, कलममा मसी भर्‍यो । कविता लेखेको कागज भुईँमा राख्यो । हिजो पेन्सिलले लेखेको कविता निलो मसीले क्रस गरेर काट्यो अनि त्यसकै तल सुधारिएको कविता लेख्यो..,

साथी
डुल्दै र फिर्दै यो साल पनि
डोको बोकी आउनेछ साथी
कोसेली सम्झना र धेरै खुसी
पोको पारी ल्याउनेछ साथी
अर्को साल पनि मलाई भेट्न
पक्कै नबिर्सी आउनेछ साथी

कविता लेखिसकेर कलमको बिर्को लगायो । नयाँ कविता साथीलाई पढेर सुनायो । दुवै एकअर्कालाई हेरेर मुस्कुराए ।

भेटको सिलसिला

हरेक वर्ष त्यसरी नै भेटको सिलसिला चली नै रह्यो । उसले चकलेटको आस पनि गर्न छोडिदियो र चकलेट आउन पनि छोड्यो । उनीहरूको मित्रतामा त्यो चकलेट हुनु र नहुनुले केही फरक ल्याएन । न कहिले उसले चकलेटको कुरा नै गर्‍यो, न त कहिले भरियाले नै चकलेटको बारेमा केही भन्यो नै । मित्रता भन्ने चिज यस्तै हो सायद, जहाँ केही कुराको आशा हुन्न, त्यहाँ कतै निराशा पनि रहन्न । हरेक साल उसलाई भेट्न आउने उसको साथी भरिया सधैँ केही न केही लिएरै आयो । कुनै साल किताब लिएर आयो । कुनै साल उसलाई सुहाउने लुगा लिएर आयो । कुनै साल उसलाई मनपर्ने खेलौना लिएर आयो । कुनै साल कोठामा सजाउने फुलदानी लिएर आयो । कुनै साल कसैको चिठी लिएर आयो ।..भरिया आइरह्यो ।

आज

छेउमा आएर भरियाले भारीको डोको राख्दा ऊ झसङ्ग हुन्छ । बिस्तारै उठेर उसलाई अङ्गालो हाल्छ । उसले देख्छ, उसको साथी ऊ जस्तै जवान भएको छ, बलियो भएको छ । ठुलो भारी बोक्न सक्ने भएको छ । ‘तिमी त अर्कै भएछौ’, भरियालाई हेर्दै उसले भन्छ ।
‘उमेरको कमाल हो साथी, तिमी पनि त अर्कै भएका छौँ ।’ दुवै मुस्कुराउँछन् ..
‘अनि साथी के ल्यायौ त मेरा लागि आज ?’ उसले सधैँको जस्तै प्रश्न गर्छ ।
‘यसपालि मैले डोको मात्र ल्याएको छु साथी, त्यो पनि खाली । ल्याउनलाई मसँग अरू केही थिएन । त्यही पनि भौतिक सामानमा रमाउने उमेर कहाँ रह्यो र तिम्रो ?’
‘कहिलेकाहीँ खाली हात आउनेले पनि धेरै कुरा लिएर आउँछन् साथी । मलाई तिमी आयौ, त्यही ठुलो कुरा भयो ।’
‘आज उपहार छोडेर गफ मात्र गर्ने हो साथी । उपहार ल्याएपछि तिमी त्यतै भुलिन्छौ, गफ गर्ने मौकै मिल्दैन ।’
‘ए त्यसो भएर पो नल्याएको उपहार ?’
‘साथी नै एउटा उपहार हैन र ?’
‘त्यो त हो ।’
‘चिन्ता नगर, तिम्रो साथी त्यति निष्ठुरी पनि छैन । तिम्रो लागि केही ल्याएको छु ।’
‘साँच्चै ? के हो भन त । उत्सुकताका साथ सोध्छ उसले ।’

भरियाले आफ्नो पातलो ज्याकेटको गोजीबाट एउटा बट्टा निकाल्छ अनि उसलाई थमाइदिन्छ । बट्टामा एउटा नयाँ चस्मा हुन्छ । पावर वाला जस्तो देखिने त्यो चस्मा देखेर उसलाई अचम्म लाग्छ । किन ल्याइदिएछ साथीले यस्तो  पावर वाला चस्मा भन्ने बुझ्नलाई ऊ साथीलाई सोध्छ ।

‘साथी, मेरो आँखा त कमजोर छैन त । किन ल्याएको यस्तो चस्मा ?’

‘साथी, यो चानचुने चस्मा हैन । यो चस्माबाट मान्छेको जीवनमा अर्थ राख्ने कुरा मात्र देखिन्छ, जादुयी चस्मा हो यो ।’

‘साँच्चै हो ? म लगाएर हेरौँ ?’ विश्वास नगरेको भावमा उसले सोध्छ ।

‘साथीको विश्वास लाग्दैन ?’

‘लाग्छ तर. केही ब्रान्ड पनि छैन । यो चस्मामा कसरी पत्याउनु आफैँ भन न !’

‘अँ, लेखेको त छैन । तर, मलाई थाहा छ कुन ब्रान्डको हो ।’

‘कुन हो ? भन त ।’

‘उमेर..!’

‘अचम्मको ब्रान्ड रहेछ । नेपाली नै जस्तो छ नामले त । जे होस्, तिमीलाई धन्यवाद ।’

‘साथीलाई धन्यवाद भन्नु हुन्न के ।’.. हाँस्दिन्छ ।

यस्तै यस्तै गफमा भुलेर दिन बित्छ । साँझमा मात्र उनीहरू भरियाले बोकेको डोको घरको ढोकामा अडाएर भित्र पस्छन् । त्यसपछि खाना खाएर उनीहरू उसको सुत्ने कोठामा उक्लन्छन् । त्यहाँ पनि केही बेर गफ गाफ गर्छन्, सुखदु:खका कुरा साट्छन् । रहर, सपना सबैका गफ गर्छन् ।

गफ गर्दागर्दै रात निकै छिप्पिन्छ । अनि बल्ल समयको होस आएर भरिया भन्छ, ‘साथी अब मेरो जाने बेला भयो, बिदा देऊ मलाई ।’
ऊ हातमा बाधेको घडी हेर्छ , रातको बाह्र बज्न लागेको हुन्छ ।

भरिया बिस्तारै बसेको ठाउँबाट उठ्छ अनि आफ्नो साथीलाई अङ्गालो हाल्छ । भरिया ऊसँग बिदा माग्दै सधैँझैँ बाचा गर्छ, ुयतै रह्यौ भनेँ म तिमीलाई भेट्न अर्को साल आउनेछु ।

उसले अङ्गालोबाट छुट्दै भन्छ, ‘हिँड, म तिमीलाई तल सम्म पुर्याउछु ।’

‘तल त पुर्‍याउँछौ होला तर, पहिला मैले ल्याएको उपहार एक पल्ट लगाएर त हेर ।’

‘ल ल हिँड, म तिमीलाई नयाँ चस्मा लगाएरै तल छोडिदिन्छु ।’

चस्मा लगाएर ऊ साथीलाई छोड्न बाहिर निस्कन्छ । भरिया ढोकामा उभिएर आफ्नो जुत्ता लगाउँछ । अनि फेरी उसलाई एकपटक अङ्गालो हालेर आफ्नो बाटो लाग्छ ।

ऊ ढोकामा उभिएर गइरहेको साथीलाई हेर्छ । उमेरले ऊ जत्रै भएको साथीको ठुलो ढाड केही बेरसम्म देखिन्छ, त्यत्तिकैमा उसलाई साथीले डोको बिर्सेको याद आउँछ अनि आवाज दिन्छ, ‘साथी डोको बिर्सियौ ।’ उसको आवाज सुनेर भरिया एकपल्ट पछाडि फर्कन्छ, उसलाई हेरेर मुस्कुराउँछ अनि फेरी उसलाई ढाड देखाएर अन्धकारमा विलीन हुन्छ ।

भरिया गएपछि एक पल्ट अघि डोको राखेको ठाउँ हेर्छ, त्यहाँ डोको हुँदैन । अचम्म मान्छ- डोको हराएको देखेर । धेरैबेर त्यही उभिएर सोच्छ आखिर कहाँ गयो त डोको ? सोच्दासोच्दै आँखामा केही अप्ठ्यारो भएको अनुभव गर्छ । अनि एकछिन अगाडि लगाएको चस्मा खोल्छ अनि डोको राखेको ठाउँलाई हेर्छ ।

भरियाको परिचय 

घरको ढोका लगाएर बिस्तारै एक तला माथिको कोठामा उक्लन्छ । टेबलमा राखेको बोतलबाट दुई घुट्को पानी पिउँछ । त्यही टेबलमा चस्माको बट्टा लडिरहेको हुन्छ । उसले बट्टामा एउटा सानो कागजको टुक्रा देख्छ । कागज बट्टाबाट झिक्छ र खोलेर पढ्छ । कागजमा लेखिएको हुन्छ, ‘जन्मदिनको धेरै धेरै शुभकामना साथी।’
अनि तल त्यो शुभकामना लेख्नेको नाम लेखिएको हुन्छ, जन्मदिन ।

सम्बन्धित समाचार