बुधबार , भाद्र ३१, २०८३

जेठ १० अर्थात् ‘जात व्यवस्था विरुद्धको विद्रोह दिवस’

image

काठमाडौं । जात व्यवस्था उन्मुलन मोर्चाले रुकम घटना भएको दिन अर्थात् जेठ १० लाई ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’को रूपमा मनाउने भएको छ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निकट सो मोर्चाले जेठ १० गतेलाई ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’को रूपमा घोषणा गरेको हो ।

रुकुमको चौरजहारी नगरपालिका सोतीमा दुई वर्षअघि अन्तरजातिय प्रेम गरेको कारण नवराज विकसहित, लोकेन्द्र सुनार, सन्दिप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको हत्या भएको थियो । जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं ४ का उनीहरुको शव भेरी नदिमा फेला परेको थियो ।

मोर्चाकी केन्द्रीय सदस्य रुपा सुनारका अनुसार ‘छ जना युवाहरूले एउटा विद्रोह गरेर जात व्यवस्थाको कारण बलिदान दिएको कारण उक्त दिनलाई शक्तिमा बदल्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।’ पीडितहरूले अझै पनि न्याय नपाएको कारण उनीहरूको न्यायको लागि पनि यो दिवस विशेष रहेको उनले बताइन् । उक्त घटनामा समलग्न केही व्यक्ति अहिले पनि थुनामा छन् ।

मोर्चा लगायत केहि समूहले सो दिवसलाई मंगलबार काठमाडौंस्थित माइतीघर लगायत सातै प्रदेशमा मनाउँदैछ । काठमाडौंको माइतीघर मन्डलामा प्रतिराेधि कविता, गीत, पर्फमेन्स आर्ट र नाटक सहित आभा फर क्रियटीभिटी लगायत समूहको उपस्थिति रहने बताइएको छ भने भेरीमा कर्णाली थिएटर, प्रतिरोधः जनअधिकार आन्दोलन, वृहत नागरिक आन्दोलन लगायत समूहले ‘भेरी प्रतिरोध मार्च-२०७९’ गर्नेछ ।

“भेरी प्रतिरोध मार्च-२०७९” कार्यक्रमा सहभागी हुनका लागि खगेन्द्र सङ्ग्रौला, अभय श्रेष्ठ लगायत जाजरकोटको खलंगामा पुग्दै छन्


नवराज विश्वकर्मा, लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीले गरेको प्रतिरोधको सम्मान र सम्झनामा—-*जात व्यवस्थाविरुद्ध ‘भेरी प्रतिरोध मार्च’*

२०७९ जेठ १०, भेरी किनार, जाजरकोट

——————————————-

दुई वर्षअघि २०७७ जेठ १० गते साँझ जाजरकोट जिल्ला भेरी नगरपालिका—४ का नवराज विश्वकर्मासहित लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका—८, सोतीका गैरदलित समुदायको भीडले क्रुर र नृशंस हत्या गरेको थियो । घटनामा नवराजका १२ जना साथी घाइते भएका थिए ।

करिब ३५०० वर्षअघिदेखि सुरु भएको वर्णव्यवस्था र त्यसको जगमा निर्मित जात व्यवस्थामा आधारित समाजले दलित समुदायमाथि निरन्तर चरम अत्याचार गर्दै आइरहेको छ । अन्तरजातीय प्रेम सम्बन्धकै कारण दलितको हत्या हुने शृङ्खला रोकिएको छैन । जाजरकोटका नवराज विश्वकर्माले रुकुम पश्चिम सोतीकी एक गैरदलित युवतीसँग प्रेम सम्बन्ध राखे । सोही अन्तरजातीय प्रेम सम्बन्धकै कारण सोतीका गैरदलित समुदायबाट छजना युवाको नरसंहारको घटना भयो । यसले समाज नेपाली समाज कति जातिवादी, अमानवीय, क्रुर र अत्याचारी छ भन्ने दृष्टान्त उजागर गरेको छ ।

विभेदकारी जात व्यवस्थामा आधारित राजनीतिक सत्ता, राजनीतिक पार्टी, प्रशासन आदिले यस्ता गम्भीर अत्याचारी व्यवस्थालाई संरक्षण मात्रै गरिरहेका छैनन्, यस्ता घटनाका अपराधीलाई बचाउन सक्रिय रहिआएको तथ्य पनि जगजाहेर नै छ । यस्तो गम्भीर नरसंहारको घटनापछि पनि नेपालका राजनीतिक दल, गैरदलित समुदायको ठूलो पंक्ति, बौद्धिक वर्ग, सचेत दाबी गर्ने नागरिक समूह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदाय पीडितको न्यायका पक्षमा आवाज उठाउन तयार देखिँदैनन् । रुकुम नरसंहार न्यायको प्रश्न हो, मानवीयताको प्रश्न हो र जात व्यवस्थाविरुद्धको प्रतिरोधको प्रश्न हो । न्यायप्रेमी समुदाय यस्तो गम्भीर प्रश्नमा मौन बस्नु जात व्यवस्था र अपराधलाई संरक्षण गर्नु हो । त्यसैले क्रुर र अत्याचारी जात व्यवस्थाको अन्त्यका लागि दृढतापूर्वक संघर्ष गर्नु आजको आवश्यकता हो ।

रुकुम नरसंहार भएको दुई वर्ष पुग्दा पनि पीडितले न्याय पाउन सकेका छैनन् । राज्य प्रशासन नै घटनालाई तोडमोड गरी भवितव्य घटनाका रुपमा परिभाषित गर्ने दुस्साहस गरिरहेको छ । आरोपित ३४ जनामध्ये ११ थुनामुक्त भइसकेका छन् भने २३ थुनामा छन् । पीडित परिवारले राज्यशक्तिको दुरुपयोग गरेर अपराधी छुट्न सक्ने आशंका गरिरहेका छन् । पीडितलाई न्याय र अपराधीलाई कारबाही गर्नका लागि राज्यको तदारुकता देखिएको छैन, बरु संसदीय र अन्य सरकारी छानबिन समितिको प्रतिवेनसमेत सार्वजनिक गरेको छैन । ‘उच्चस्तरीय नागरिक आयोग गठन’ को माग पनि बेवास्ता गरिरहेको छ ।

दलित समुदायमाथि भएको यस्तो गम्भीर नरसंहारको सत्यतथ्य बाहिर ल्याउन, अपराधीहरुलाई कारबाही गराउन र पीडितको न्याय सुनिश्चित गर्न सरकारलाई जवाफदेही बनाउने उद्देश्यले नागरिक समाज, राजनीतिक संगठन, दलित संघसंस्था र प्रगतिशील गैरदलित समुदायले निरन्तर खबरदारी गर्न जरुरी छ ।

रुकुम नरसंहारसँगै दलितमाथि भइरहेका अन्य जघन्य अपराधको छानबिन गर्न, अपराधीलाई कानुनको कठघरामा ल्याएर कारबाही गर्न, पीडितलाई न्याय दिलाउन र जात व्यवस्थामा आधारित राज्यप्रणाली बदल्ने अभियानका साथ ‘भेरी प्रतिरोध मार्च’ को आयोजना गर्न लागिएको हो । ‘भेरी प्रतिरोध मार्च’ जात व्यवस्थाविरुद्ध आमनागरिकको प्रतिरोधको प्रतीक हो । यो मार्च जात व्यवस्थाविरुद्ध नवराज विक, लोकेन्द्र सुनार, सन्दीप विक, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीले गरेको प्रतिरोधको सम्मान र सम्झना हो । जात व्यवस्थाविरुद्ध लड्ने यी सहिदका परिवार र भुइँतहमा भइरहेका सम्पूर्ण प्रतिरोधी आन्दोलनको यो प्रतिबिम्ब हो । यो पीडितलाई न्याय दिलाउनका लागि निरन्तर जन–खबरदारी हो । यसका साथै दलित समुदायले न्यायका लागि गरेका सबै आन्दोलनमा ऐक्यबद्धताका लागि साझा अपिल हो । त्यसैले नेपाली समाजको विभेदको अन्त्यका लागि आफ्नातर्फबाट भूमिका निर्वाह गर्नु सचेत नागरिकको जिम्मेवारी र दायित्व हो । त्यसैले ‘भेरी प्रतिरोध मार्च’मा सहभागी भई रुकुम नरसंहारमा ज्यान गुमाएका परिवारको न्याय सुनिश्चितता र अपराधीलाई कारबाहीका लागि खबरदारी गर्न र जात व्यवस्थाविरुद्ध सशक्त प्रतिरोधका लागि हामी सबै न्यायप्रेमी दलित तथा गैरदलित समुदायमा अपिल गर्दछौं ।

–––

कार्यक्रम संयोजनः–

कर्णाली थिएटर

प्रतिरोधः जनअधिकार आन्दोलन

बृहत् नागरिक आन्दोलन

––––––––––––––––––––––––

सम्पर्क, सहभागिता र सहयोगका लागिः-

१. अनिता पण्डित (काठमाडौंमा ९८४११९३०५७)

२. जेबी विश्वकर्मा (काठमाडौंमा)

३. हीरा बिजुली (कर्णालीमा ९८४१६५९३३८)

सम्बन्धित समाचार