बुधबार , साउन ९, २०८१

बुढीनन्दा ! प्रकृतिको अनुपम छटा

image

बाजुरा जिल्ला धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पर्यटकीय दृष्टीकोणबाट प्रचुर सम्भावना बोकेको जिल्ला हो । यहाँ विविध खालका सँस्कृती, रहनसहन, भेषभुषा, कलाकौशल, साहित्य,सृजना, भाषा, शैली र परम्परा छन् । धार्मिक रुपमा सहिष्श्रुणता, एकता र सद्भाव कायम छ ।

बाजुरा जिल्ला मानवीय विकास सूचकांकमा पछाडी भएपनि धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पर्यटकीय, जल, जमिन र जडिबुटीको श्रोत र साधनका हिसावले धनी छ । कस्तुरीको नावीमा बिना हुन्छ तर कस्तुरीले त्यसको बासना र आफ्नो शरीरमा भएको बिनालाई चिन्दैन भनेझै बाजुराले आफुभित्र भएको श्रोत र साधनलाई पहिचान र प्रचार गराउन नसक्दा कागलाई बेल पाक्यो हर्ष न विस्मात झैं सावित भएको छ ।

बाजुरा जिल्लालाई धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पर्यटकीय दृष्टीकोणबाट प्रचारप्रसार गरेर पहिचान बनाउन यहाँका राजनीतिकदल, जनप्रतिनिधी, नेता, समाजसेवी, बुद्धिजीवी, नागरिक समाज र सचेत नागरिक एक जुट भएर पहलकदमीमा लाग्ने हो भने प्रचुर पर्यटनको सम्भावना छ । बाजुरा जिल्लामा पर्यटनकीय, धार्मिक, ऐतिहासिक, साँस्कृतिक र पौराणीक सम्भावना भएका क्षेत्र र स्थान मध्ये महत्वपूर्ण स्थान हो प्रशिद्ध धार्मिक एवं पर्यटकीय स्थल हो बुढीनन्दा ।

बुढीनन्दाको ऐतिहासिक पृष्ठभूमि

बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं ४ मा पर्ने प्रशिद्ध धार्मिक तथा ऐतिहासिक बुढीनन्दा तीर्थस्थल धार्मिक, पर्यटकीय, पौराणीक र ऐतिहासिक रुपमा महत्वपूर्ण मानिन्छ । पूर्वमा बाजुरा जिल्लाको हिमाली गाउँपालिका पश्चिममा गौमुल गाउँपालिका र बझाङ्गको साइपाल हिमाल, उत्तरमा हिमाली गाउँपालिकाको फुलैगुम्वा र रानीसैन तथा दक्षिणको तल्लो क्षेत्र बुढनिन्दा नगरपालिकाको वडा नं. ४ कुरु र माथिल्लो क्षेत्र वडा नं. ३ को तलीगोठी र नुरी बस्ती पर्दछन ।

बुढीनन्दाको अर्थलाई हेर्ने हो भने बुढी भनेको जेठो, नन्दा भनेको अविवाहित कन्या भन्ने अर्थ लाग्दछ । नौ माईदेवी भगवती मध्ये बुढीनन्दा माई भगवती जेठी हुन भन्ने भनाईरहेको छ । देवीको पनि देवी र अविवाहित भएकाले बुढीनन्दा माई भनिएको कहावत रहँदैआएको छ । सतीदेवीको खुट्टाको बुढीऔंला खसेकोले बुढीनन्दा माईको अवतार भएको भनाई छ तर यो पुराणमा उल्लेख छैन ।

व्यासऋषीका छोरा सुकदेवले पौराणीक ग्रन्थ सुखसागरको ८ औं स्कन्दकोपाँचौ अध्यायमा उल्लेख गरे अनुसार मनुश्यको उत्पत्ति हुनुपूर्व स्वयम्भू मनु ऋषीले भगवानविष्णुको दर्शन पाउँ भनेर पादुकामा तपस्या गर्दा भगवान विष्णु प्रशन्न भई दर्शन दिएरइच्छा पुरा भए पश्चात स्वयम्भु मनुको मृत्यु भयो । भगवान विष्णुको पाउ परेको हुनाले पादुका नाम रहन गएको भनाई रहेको छ ।

मनु ऋषीको मृत्यु पश्चात ऋषीपत्नीसतरुपा सती गइन । ऋषी पत्नी सतरुपा सती गए पश्चात सुनको मृगको रुप धारण गरेर जन्मलिएर बुढीनन्दामा गएर बसेको उल्लेख छ ।

यसै क्रममा समय वित्दै जाँदामानवसृष्टीकोविकाससंगै धेरै समयपछि तत्कालिन कोल्टी गाविसको वडा नं. ८ का दानेपल्लाने नामकादुई दाजभाईको मोटेढुंगा भन्ने ठाउँमा घरजग्गा थियो । उनीहरु महाशिकारीथिए । तिनीहरु धनुषबाणले मृग मार्ने गर्दथे ।

त्यस समयको चलनमा बाणको टुप्पामा विषराखेरशिकारखेल्ने प्रचल थियो । एक दिन दुई दाजुभाई शिकार खेल्ले क्रममा बाणकोटुप्पामाभएको विष मोटे ढुंगा भन्ने ठाउँकमा जौ बाली लगाएको जग्गामा खसेछ । तीदाजुभाईलेविष खसेको जौ बालीमा जौ उम्रीन्छ की उम्रीदैन भनी अन्दाज गरेछन । जौबाली अति नैउम्रेछ । अषाढ महिनामा जौ बाली भित्र्याएर ती दाजुभाई फेरी शिकारखेल्न बनतिरगएछन। त्यसै समयमा उनको घरको श्रीमतिले घरमा ल्याएको जौ बालीविस्कुन डासेछन। सुकाउन लागेको जौ एउटा मृग आएर सबै जौ खाइदिएछ।

यो देखेर तीदुवै जनाकोश्रीमतिले घरमा सुकाउन हालेको विस्कुन सबै मृगले खाइ सक्यो। तपाई बनमागएरमृगको शिकार खेल्न जानु हुन्छ। मृगले केही राखेन भनी ती दुबैजनाकी श्रीमतिलेबनमागएर खबर गरेछन। भोली पल्ट फेरी विस्कुन डासेर कतिखेर विस्कुन खान मृगआउछभनेर दुबै जना आआफ्नो घरमा मृगको शिकार गर्ने प्रतिक्षामा कुकुर समेत तयार गरिबसेछन। मृग सदाझै सुकाउन हालेको विस्कुन खान आएछ।

उनी दुबै जनाले उक्तमृगलाई ताकेर बाण हान्दा लागेनछ। कुकुरलाई समेत तयार गर्दा पनि त्यो मृग मार्न नसकेर लखेट्दै लिएछन। लखेटि लिएको मृगले छल गर्दै कतिखेर देखिने कतिखेर नदेखिने गर्दैजाँदा कस्ततुरी मृगकोरुप धारण गरि चौकीलेकमा देखिएछ र उनीहरु मृग लखेट्दै चौकीलेक पुगेछन। यसैठाउँमा पनि भगवती बस्ने स्थान रहेछ।

त्यहाँ पनि मृग मार्न नसकी दुबै शिकारी दाजुभाई र शिकारी कुकुर लिएर लखेट्दै चुनढुस्का भन्ने ठाउँ पुगेछन। त्यहाँपनि मृगलाई बाण हान्दै मार्न नसकेर मुसेपानी भन्ने ठाउँमा पुगेछन । त्यहाँबाट मृग लखेट्दै छाप्रेमा पुगेछन । कस्तुरी मृग यहााबाट वेपत्ता भएछ। त्यहाँ पुग्दा रात परेछ ।  यहाँ बास खोज्दा एउटा ठूलो ओडार भेटेर त्यहाँ बास बसेछन। तयो रात काटेर विहान उज्यालो भयो।

यहाँ भन्दा माथि कीन जाने घर जाउँ भन्दा शिकारीको सामुन्ने फेरी देखिएछ। त्यो कस्तुरी मृगलाई ती शिकारी दाजुभाईले देख्दा यो के अचम्म भयो। यो पक्कै छल भयो। जसरी पनि यस कस्तुरी मृगलाई मार्नुपर्ट भनी बाण हाने छन। बाण पनि लाग्दैन। साथमा लिएको शिकारी कुकुरले पनि शिकार गर्न सक्दैन।

कस्तुरी मृगलाई लखेट्दै जाँदा मृग भागेर लौणी विनायक पाटनमा चर्न पुगेछ। त्यहाँ पनि पुगेर बाण हान्न नसकी मृग गौगोठमा पुगेछ। यहाँ पुग्दा मृगको रुप छलि एउटा सन्यासी बाबाको रुप धारण गरि ती दुई जना शिकारी दाजुभाईको सामुुन्नेमा आई तिमीहरु कता जान्छौ ?

यो त भगवतीले बरदान दिने ठाउँ हो। यहाँ तिमीहरुले माग गरेमा इच्छा अनुसार बरदान दिनेछन। तिनीहरुले इच्छा अनुसार बर मागी कस्तुरी मृगलाई मार्न पछिपछि गएछन। त्यहाँबाट चणी दह पुगेछन। त्यहाँ जाँदा मृगले चणीदह परिक्रमा गरि धनभण्डार भन्ने ठाउामा पुगेछ। अघिअघि मृग पछिपछि शिकारी दाजुभाई जाँदा त्यो रुपधारण मृगले अनकन्टार भीरुको ढंगा फोरी भित्र पसेर गुप्त भएछ।

शिकारी ती दुई दाजुभाई खुव थाकेछन र भोकाछन। त्यही बसेछन। त्यहाँ एक झारल आएछ र त्यसलाई बाण हानी मारेछन। भोक र थकाईले जेठो दाई दाने सुतेछन। कान्छो भाई पल्लाने भने ब्युझै बसेछन।

तत्काल एक लामा जस्तो अवतार गरि मानिस आएर मेरो लामा मृगलाई कीन मारेउ ? भनी विष मन्तर जपी मरेको झारल ब्युताई आफुसंग लिएर गएको देख्दा हामीले मारेको मृग तिमीले लिन मिल्छ र भन्दा लामा रुपी मानिसले यो मेरो अगाडी लाग्ने लामा रुपी मृग हो। यसको सट्टा म तिमीलाई बनभैसीको सन्तान दिन्छु भनेछ । बनभैसीको सन्तान छोडेर गएछ।

केहीबेर दाने शिकारी ब्युझिएछ। सुतेर उठेको शिकारी दानेलाई अबताररुपी मृगले सपना दिएछ। सपनामा म मृग होइन। बुढीनन्दा देवी हुँ। म तिमीलाई भोली विहान प्रतक्ष्य दर्शन दिन्छु। मेैंले रोजेको र बसेको ठाउँमा मन्दिर स्थापना गरि पुजाआजा गर्नु। तिमी मेरो माइती हौ। मलाई नमार म मृग होइन। रुप धारण गरेकी हुँ। प्रत्येक बर्षको जनै पूर्णिमाको चतुर्दशीका दिनमा मेरो पुजाआजा गर्नु भनी अदृश्य भइन।

त्यो सपना ब्यझिएको दाई दानेले भाई पल्लानेलाई सपना देखेको कुरा गर्यो । भाईले पनि लामा रुपी मानिस आएर मारेको झारललाई विष बमन गरेर मन्तर गरि बचाएर लिएर गयो । यो बनभैसी छोडेर गएको कुरा दाईलाई बतायो । त्यो रात ती दुबै दाजुभाई धनभण्डार भन्ने ठाउामा बास बसे तयहि सुते।

भोली पल्टको विहान उज्यालो भएपछि रुपभारी कस्तुरी मृग देखा परेर अनकन्टार भीर धनभण्डारबाट सुनालिस्नी, भुजडाली, मष्टादह, भेराल दह हुँदै त्यो मृग माथि लागी त्यहाँबाट पनि अनकन्टार भीर पहाड हिमाल पर्वत पार गरेर ढटेलो बृक्षको बोट, दुधकुण्ड, होम कुण्ड पार गरेर हाल बुढनिन्दा माईको पुजाआजा गर्ने सुनन्दा मन्दिरमा गयो। दुवै दाजुभाईले यो के अच्चम्म आश्चर्य भयो । अब यो कस्तुरी मृग मार्नुहुँदैन।

सपनामा दिएको बेलीविस्तार, अवताररुपी लामा र यतिका दिनसम्म मृग मारि नसक्नु यी पक्कै माई भगवती हुन भनेर पछिपछि दाजुभाई जाँदा सुनन्दाको हाल पुजाआजा गर्ने मन्दिरमा प्रतक्ष्य रुपमा बुढीनन्दादेवीले चतुर्भुज देवीको रुपमा दर्शन दिइन । ती शिकारी दूई दाजुभाईले माईको प्रयक्ष रुपमा दर्शन गरि मैले सपना दिएको मेैंले रोजेको कुरा अनुसार यसै ठाउँमा मन्दिर स्थापना गरि पुजाआजा गर्नु । तिमी मेरो माइती हौ।

मलाई नमार प्रत्येक बर्षको जनै पूर्णिमाको चतुर्दशीका दिनमा मेरो पुजाआजा गर्नु मेरो पुजाआजा गर्न दुखकष्ट गरि आउने मलाई सम्झिने सबै दर्शालु भक्तजनलाई मागेको बरदान दिने छु भनी अदृश्य भइन। ती दाजुभाईले सकेजतिको पुजाआजा गरि माईको शिलढुंगा चढाई तीलक, तोरन, फुलअक्षता, बनभैसीको सन्तान ल्याई सुनालिस्नीको ओरालो काटी गौगोठमा आफ्नो इच्छा अनुसारको बर मागी लौडी विनायक हुँदै पहिला बास बसेको छाप्रे ओडारमा धौली भण्डारमा फुलअक्षता चढाई खस्र्याङ्डी लाटा धवलपुरा स्थापना गरि चुनढुस्कामा पुगी जयजयकार गर्दै देवीको फुलअक्षता र प्रसाद घरमा भित्र्याए । ती दुई शिकारी दाजुभाई दाने पल्लाने बुढीनन्दा देवीका माइती र पुजारी बने।

बुढीनन्दा देवीले भने बमोजिम प्रत्येक बर्ष जनैपूर्णिमाको चतुर्दशीका दिन बुढीनन्दा माताको मन्दिरमा परम्परादेखी हालसम्म पुजाआजा गरिदै आइरहेको परम्परा छ । बुढीनन्दा माताको पुजारी बोहरा र हुमाराको रुपमा पहिला कोल्टीका रेग्मीथिए भने हाल बाँधुका तिमिल्सिना उपाध्याय रहेका छन । हाल पुजारीको रुपमा श्रीलाल बोहरा, रत्नचन्द्र बोहरा, गगन बोहरा लगायत बोशरा परिवार र हुमाराका रुपमा लेवरा उपाध्याय, दीपचन्द्र उपाध्याय र कृपा उपाध्याय लगातका परिवार रहेका छन ।

पुराणका अनुसार स्कन्दपुराणको केदारखण्डको पौराणिक ग्रन्थ श्री स्वस्थानी व्रतकथाको ११ औं अध्यायमाउल्लेख भएअनुसार हिन्दु धर्मावलम्वीका आराध्य देव शीवकी पत्नि शीवकी शक्तिदक्षप्रजापतिपुत्रीश्री सतीदेवीले आफ्नै पिताबाट पति शीवको आफ्ना बुबा दक्षप्रजापतिबाटशीव प्रतिगरिएको निन्दा, घृणा र अपमान सहन गर्न नसकि यज्ञको बल्दो होमकुण्डमा हामफालेरदेह त्याग गरेकी थिईन। हुनत अग्निने जलाएर सतीदेवीको देह त्यहि हवनकुण्डमाखरानीहुनुपर्ने थियो तर महादेवको डरले अग्निीले सतीदेवकिो देह दहन गर्न सकेनन्।

यद्दपीसतीदेवीले प्राण खैंचेर देहत्याग गरि छाडिन्। सो खबर महर्षि नारद मार्फत भोलेनाथ महादेवले थाहोपाएपछि रिस थाम्न नसकि आफ्नो जटाबाट महावीर वीरभद्र र महाकाली उत्पन्नगराईआफूलाई निन्दा गरि आफ्नै छोरीलाई आत्महत्या गर्न प्रेरित गर्ने दक्षप्रजापतिकोयज्ञकोविध्वंस गराई दिए।

त्यसपछि प्राण प्यारी पत्निको विछोड र वियोगको पीडा सहन नसकि पागल तुल्य बनी सतीदेवीको शव पिठ्यूमा बोकी पृथ्वीको भ्रमण गर्न थाले। एक सय बर्ष पागलतुल्य बौलाहा भएका शीवले आँखा चिम्लेर पृथ्वीमा भ्रमण गरेको केहि समयपछि शीवजीले बोकेको लाशमा औंसा परि कुहियो। तर पनि भोलेनाथ अचेतन अवस्थामाबाट सचेत अवस्थामा आउन सकेनन्।

यसरी शीवजीको पृथ्वी भ्रमणकै क्रममा पिठ्युबाटै सतीदेवीको अंग पतनको क्रम शुरु भयो। सतीदेवीको अंग पतन भएको ठाउँमा शक्ति पीठ स्थापना भए । यसै क्रममा मल्ल गिरीमा शीवजी पुग्दा सतीदेवीको कुनै अंग पतन भयो यसबाट मल्लिका गिरी पिचाशेश्वर महादेवको स्थापना भई शीव शक्ति स्वरुपले रहे।

त्यसै गरि वडिमालिकाको दर्शन गर्न आउने क्रममा पंचकोटी मार्गमा पर्ने अन्य पाँच शक्ति पीठ छतारा माई , खलाटुप्पा माई, चाकुमाई, गहतेदेवीमाई, जुड्डयाल्नीमाईको स्थापना पनि सवीदेवीको अंग पतनबाटै भएको हो । तापनि पुराणमा उल्लेखित १ सय ५० पीठ बाहेकका अंग पतन भएको हुनाले यी पीठको चर्चा पाईदैन। तथापि यी पीठहरुमा दर्शन गरेर यहि मार्गबाट मालिका र बुढीनन्दा जाने श्रद्धालु भक्तजनहरुलाई पंचकोटीको दर्शनबाट छुट्टै आनन्दको अनुभूति हुने गर्दछ।

सतीदेवीको मृत शरीर बोकेर एक सय बर्ष आँखा बन्द गरि पृथ्वी परिक्रमा गर्दा सतीदेवीको शव गलेर मासुका चोक्टा र अंगपतन हुने क्रममा शिर मानासश्वरोवर कविलासमा दायाँ कुम छायानाथमा वायाँ कुम मालिका क्षेत्रमा खसेको हुँदा बडीमालिकामा आस्तिकहरुको मेलालाग्ने र पुजापाठ गर्ने गरेको मान्यता रहेको छ।

त्यसै गरि बाजुरा जिल्लाको बुढीनन्दानगरपालिका, जगन्नाथ, हिमाली र स्वामीकार्तिक खापर गाउँ पालिकाको कर्णाली नदी र बड्डी खोलाको दोभानकोसिरानमा पर्ने पादुकामा सतीदेवीको पाउ खसेको हुनालेसतीदेवी पाउ पतन शिद्घेश्वर महादेव उत्पत्ति भई पादुका नाम रहेको पौराणिक कथनरहेको छ।

त्यसै कारणलेमहाशिवरात्रीको दिन पादुका त्रिवेणी धाममा यस ठाउँमाठूलो मेला लाग्ने गर्दछ। योदिन शीवका भक्तजन, श्रद्धालुर व्रतालुहरु महाशिवरात्रीको दिनकर्णाली नदी र बड्डी खोलाको दोभानमा स्नान गरेर पादुका मन्दिरमा पुजा गर्ने परम्परारहेको छ। नेपालमा मात्रै सतीदेवीका १०८ अंग पतन भएर शिवशक्ति स्वरुपले रहेकोउल्लेख छ। १०८ अंग मध्ये सतीदेवीको खुट्टाको बुढीऔंला खसेकोले बुढीनन्दा माई उत्पत्ति भएको कहावत भएपनि तर यो पुराणमा उल्लेख छैन।

बुढीनन्दामाई भगवतीको मन्दिर समुन्द्री सतह देखि करिव १६ हजार फिट अर्थात ४५८१ मिटर उचाईमा रहेको छ। प्रशिद्घ धार्मिक तथा ऐतिहासिक बुढीनन्दा माई भगवती अवस्थित मन्दिर र बुढीनन्दा ताल यसै क्षेत्रमा भएका कारण देश संघीयतामा गएपश्चात पालिकाको नाम बुढीनन्दा नगर पालिका नामाकरण गरिएको छ।

देशकै दोस्रो अग्लो करिब १६ हजार फिटमा बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकामा रहेकोे बुढिनन्दा ताल सुन्दर सम्पदा हो। बुढीनन्दा देवी मन्दिरसँगै चट्टान नै चट्टानको बीचमा ठूलो ताल छ। यस वरिपरि अरु ९ वटा ताल पनि छन्। मुख्य तालको उचाई समुन्द्री सतहबाट ४५८१ मिटर रहेको छ। बुढीनन्दा क्षेत्र प्राकृतिक सुन्दरताको अनुपम उहाहरण हो । यो ताल ठूला पहाडको बीचमा गोलो आकारमा रहेको छ । यस क्षेत्रमा बुढीनन्दा ताल ठूलो छ। अन्य तालहरुमा सुनन्दा ताल, चरीताल, कैलाश ताल, राक्षेशीताल, लंकारी दह, फूलदह, मष्टाताल र भेरालदह नौवटा ताल छन्।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

बुढीनन्दा ताल तथा मन्दिर रहेको स्थान नजिकै करिब आधा दिनको क्षेत्रमा खाली खुट्टाले हिड्नुपर्ने प्रचलन रहेको छ। सतीदेवीको खुट्टाको बुढीऔंंला खसेकाले खाली खुट्टा हिडेर गएका बुढीनन्दा माई भगवती प्रशन्न भएर मागेको बर दिने कहावत छ। यस बीचमा चट्टान नै चट्टानमा हिड्नुपर्ने धार्मिक परम्परा छ। हरेक वर्ष जनैपूर्णिमाको दिन खाली खुट्टा हिँडेर बुढीनन्दाको दर्शन गर्न जाने गर्दछन्। यस क्षेत्रका बासिन्दामा बुढीनन्दा माईको पूजा तथा आराधनाले चिताएको कुरा पूरा हुने र बुढीनन्दा तालमा स्नान गर्दा सबै पाप पखालिने जनविश्वास रहँदै आएकोछ।

धार्मिक तथा सांस्कृतिक महत्व :

बुढिनन्दा धार्मिक तिर्थस्थल हो। रामको मालिका बरको बुढीनन्दा भन्ने उखान प्रचलनमा छ। बुढीनन्दा माइको दर्शनसंगै बुढीनन्दा ताल पुगेर मनले चिताएको मागेमा पुरा हुने जनविश्वास रहेको छ। निसन्तानीलाई सन्तानको बरदान पाइने, मनले चिताएको मनोआकांक्षा पुरा, सुखशान्ति र धन प्राप्ती हुने धार्मिक विश्वास रहेकोछ। श्रावण शुक्ल त्रयोदशीदेखि जनैपूर्णिसम्म बुढीनन्दामा भब्य मेला लाग्दछ। बाजुरा, बझाङ्ग,अछाम, हुम्ला, जुम्ला र कालिकोट लगायत भारतको कुमाउ गडवालबाट समेत दर्शनार्थीहरु बुढनिन्दा माई भगवतीको दर्शन गर्न आउने गर्छन। पहिला परम्परागत रुपमा पुजाआजा गरिदैआएपनि यो बर्ष देखि पहिलोपटक बुढीनन्दामा जिल्ला प्रशासन कार्यालय सहित बुढीनन्दा नगरपालिकाको सरकारी टोली, पुजारी र दर्शालु भक्तजनहरु श्रावण शुक्ल एकादशीका दिनदेखि पूर्र्णीमासम्म बुढीनन्दाको सरकारी टोलीद्घारा पुजाआजा गरि दर्शन गर्ने परिपाटीको थालनी गरिएकोछ।

प्राकृतिक सौन्दर्य

बुढीनन्दा अवलोकनका लागि जाने सर्वोत्तम अवधि साउन भदौ महिनामा हो । बुढीनन्दाका क्षेत्र प्राकृतिक सुन्दरताको अनुपम उहाहरण हो । बुढीनन्दा पुग्दा मन चङ्गा हुन्छ । प्रकृतिप्रेमी हरेकले एकपटक बुढीनन्दा पुग्नैपर्ने ठाउँ हो । बुढनिन्दा मन्दिर र तालमा पुग्ने बाटोमा ठूल्ठूला झरनाहरु अनि पाटनहरुमा कैयौ प्रजातीका रङ्गीचङ्गी विरंगी फुलहरुले संसारकै सुन्दर बगैचाहरुको झझल्को दिने गर्दछ । सुन्दरताको खानी बुढीनन्दा पुग्दा मन चङ्गा हुन्छ, घोडा भेडाका लस्कर र गाईभैंसीका गोठहरु पनि देख्न पाइन्छ ।

जैविक विविधता

बुढन्न्दिा ताल रहेको ठाउँ जाने बाटोमा ठूल्ठूला झरना, कैयौं प्रजातिका रङ्गीचङ्गी फूलहरुले संसारकै सुन्दर बगैंचाहरुको झझल्को दिन्छ । खप्तड राष्ट्रिय निकुन्ज हुँदै रारा जाने पर्यटकका लागि बीचबाटोमा पर्ने क्षेत्र भएकाले पनि यसको महत्व बढेको छ । बुढीनन्दा लोपोन्मुख बन्यजन्तु र चरातुरुङ्गीहरुको बासस्थान क्षेत्र हो । बाटोमा हिँड्दा मृगका बथान, बहुमूल्य जडीबुटी, यार्सागुम्बा, कटुकी, हत्ताजरी, बाह्रजरी, विख र जटामसी लगायतका सयौं जडिबुटी भेटिन्छन् ।

पर्यटन प्रर्वद्धन

धार्मिक आस्था र अपार प्राकृतिक छटाहरुको सुन्दरताले भरिएको बुढीनन्दम क्षेत्र र तालबारे देशका अन्य स्थानबाट समेत चासो व्यक्त हुन थालेको छ । बाटोमा गोठालाहरुले पर्यटक तथा दर्शनार्थीहरुको भब्य स्वागत सत्कार गर्दैआएका छन ।

पर्यटकीय सम्भावना

चञ्चल बादल, मनोहर फूल र हरियाली त्रिवेणी जस्तो लाग्ने यो अद्धितिय भूगोल विश्व स्तरीय पर्यटकको गन्तव्य बन्ने हैसियत राख्दछ । धार्मिक आस्था र अपार प्राकृतिक छटाहरुको सुन्दरताले महत्वपूर्ण बुढीनन्दा क्षेत्रमा रहेको ताल विश्वमै दोस्रो उचाईमा रहेको तथ्य सार्वजनिक भएपछि यसबारे चासो बढ्न थालेको छ ।जिल्लालाई आर्थिक रूपमा माथि उकासी राम्रो आम्दानी दिन पर्यटन विकास र स्थानीय स्रोतको अधिकतम प्रयोग गरेर जसरी भएपनि बाजुरामा पर्यटन प्रवद्र्घन र विकासका लागि लाग्न आवश्यक देखिन्छ ।
आकर्षणहरू : लौरी बिनायक, खेतीबेती, बर माग्ने डाँडो, गाई गोठ, धौलीगाड, धनभण्डार, छाप्रे पाटन लगायतका मनमोहक ठाउँ बुढीनन्दामा छन्।

कसरी पुग्ने 

बुढीनन्दा नगरपालिकामा पर्ने यो क्षेत्रमा पुग्न सदरमुकाम मार्तडीदेखि चारदिन पैदल हिँड्नुपर्छ। ताल तथा मन्दिर रहेको ठाउँमा पुग्न झण्डै आधादिन खाली खुट्टाले हिँड्नुपर्छ । बाटोमा दुईदिन बास बस्नुपर्छ, त्यो पनि प्राकृतिक गुफाहरुमा। चट्टानमा हिँड्नुपर्ने धार्मिक परम्परा छ। बुढीनन्दा पुग्न नेपालगञ्ज हुँदै कोल्टीको हवाई यात्रा सहज छ। कोल्टीदेखि अढाई दिनमा पुगिन्छ।
स्थानीयहरुका खर्क, धर्मशाला र केही ठाउँमा प्राकृतिक ओडारहरुमा बास बस्दै यहाँसम्म पुग्न सकिन्छ। बाजुराको कोल्टीबाट ३ देखि ४ दिनमा बुढीनन्दा पुगेर फर्किन सकिन्छ।

बुढनिन्दा जाने बाटो :

सदरमुका मार्तडी देखि ढम्कने, कालाजग्रा, कुरु, छाप्रेपाटन, धौलीभण्डार, सुनालिस्नी हुँदै बुढीनन्दा मन्दिर र तालमा पुगिन्छ। नेपालगंजबाट हवाई यात्रा मार्फत कोल्टी, बसको यात्रा नेपालगंज सुर्खेत हुँदै कोल्टी र मार्तडबिाट बसको यात्रा गर्दै कोल्टी भएर आउने पर्यटकले पुजारी सहितको टोलीसंग कोल्टी, मोटेढुंगा, चौकीलेक, चुनढृंगा, छाप्रे पाटन, धौलीभण्डार र सुनालिस्नी हुँदै बुढीनन्दा माईको मन्दिर र तालमा पुगिन्छ।

  • सर्पलाल गिरी – लेखक : नेपाल पत्रकार महासंघ बाजुरा शाखाको केन्द्रीय परिषद सदस्य, सामुदायिक रेडियो शिम्भुनाथ १०४.९ मेगाहर्ज कोल्टी बाजुराका अध्यक्ष संचारकर्मि एवं बालअधिकारकर्मि छन् ।

सम्बन्धित समाचार