बुधबार , जेठ १३, २०८३

पर्यटन बोर्डले काम गर्न नसकेकै हो, याे मर्न लागिरहेकाे छ: चन्द्र रिजाल (उपाध्यक्ष, नेपाल पर्यटन बोर्ड) 

image

काठमाडौं । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बोर्डले उद्देश्य अनुरूपको काम गर्न नसकेको बताएका छन् । शुक्रवार काठमाडौंको लाजिम्पाटस्थित हाेटल र्याडिसनमा आयोजित पर्वतीय पर्यटन व्यावसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)को नेतृत्व हस्तान्तरण तथा पदभार ग्रहण समारोहमा बोल्दै रिजालले यस्तो बताएका हुन् ।

‘पर्यटन बोर्ड मर्न लागिरहेको छ, पर्यटन बोर्ड जन्माउने डा. दीपेन्द्र पुरुष ढकालले पनि अस्ति भर्खर पर्यटन बोर्डमा बोर्ड कमजोर बनेको विषयमा बोल्नुभएको थियो । सायद मैले बुझेको पनि त्यही हो । त्यो अत्यन्तै सुकेनास भएको छ, यो स्थितिमा पर्यटन बोर्ड छ ।’ रिजालले भने, ‘यदि त्यसलाई बचाउने हो भने पर्यटन व्यवसायीले बोर्डलाई सही ढङ्गले बुझ्नु पर्छ । किनकि,  त्यो पिपिईको अवधारणाबाट बनेको बोर्ड हो । यो प्राइभेट सेक्टरको अभिभावक हाे, लिडरसिप हो ।’

रिजालले बोर्डकै कारण पदयात्री सूचना व्यवस्थापन प्रणाली ट्रेक्कर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (टिम्स) पनि खारेज गर्नुपर्ने अवस्थामा पुगेको बताएका छन् । उनले आफैले स्थापना गरेको टिम्सलाई अस्तव्यस्त बनाएको भन्दै बोर्डलाई ‘असती आमा’को संज्ञा दिएका छन् ।

टिम्सबाट सङ्कलन भएकाे रकमकाे विषयमा टान र बाेर्डबीच लामाे समयदेखि विवाद कायम छ । विवाद समाधान नभएपछि बाेर्डले टिम्स नै खारेज गर्ने मनस्थिति बनाएकाे बताइन्छ ।

टानको आग्रहमा पर्यटन बोर्डले टिम्सको स्थापना गरेको तर बोर्डले अभिभावकत्व ग्रहण नगर्दा खारेजीको अवस्थामा पुगेको उनले बताए ।

‘एउटा बाउले आफ्नी श्रीमतीबाट सन्तान पाउन नसकेपछि उसले एउटा कोख भाडामा लिएर बच्चा जन्मायो, त्यही नै पर्यटन बोर्ड र टिम्सबिचको सम्बन्ध रहेको छ । त्यसलाई सही ढङ्गले बुझ्न नसक्दा आजसम्म जब त्यो आमा सही भइनन्, बच्चा त उनले जन्म दिइन्, पर्यटन बोर्डले टिम्स त जन्म दियो, टानको स्पर्मबाट लिएको बच्चाको पर्यटन बोर्ड भन्ने असती आमा परिसकेपछि ती आमाले अहिले टिम्स मार्न लागिरहेकी छन् ।’ उनले भने, ‘पर्यटन बोर्डको उपाध्यक्षको रूपमा मात्र नभएर टानको पहिलाको कार्यसमितिमा अध्यक्ष भएको हैसियतले र एक पर्वतीय पर्यटन व्यवसायीको रूपमा र लामो समयदेखि मेरा अभिभावकहरूले बोकेको टिम्सलाई मैले त्यही ढङ्गले बुझेँ र आज टिम्स मर्न लागिरहेको छ । असती आमाको कोख भाडामा लिँदा टिम्स सही ढङ्गले अगाडी बढेन भन्ने मेरो बुझाइ हो । मलाइ लाग्छ यही नै वास्तविकता हो तपाईँहरूले गहिरिएर टिम्स बुझ्नु भयो भने ।’

रिजालले सरकारले पर्यटन विभागको गठन गरेपछि बोर्ड र विभागले गर्ने कार्यहरूको स्पष्ट विभाजन नहुँदा पनि बोर्ड अलमलमा परेको बताएका छन् । ‘सरकारले पर्यटन विभाग गठन गरेपछि मुद्दा मामिला सही ढङ्गले नबुझ्दा र पर्यटन बोर्डले गर्ने काम विभागले गर्न थालेपछि बोर्ड अलमलमा परेको छ ।’ उनले भने ।

उनले टान पर्यटन व्यावसायीहरूको सबै भन्दा ठुलो, क्रियाशील, सशक्त र प्रगतिशील सङ्गठन भएको र यसलाई पर्यटन मन्त्रालय, विभाग र बोर्डले पनि स्विकार्नुपर्ने बताए ।

‘पर्यटनसँग सम्बन्धित खुलेका ४०औँ सङ्घ सङ्गठनहरूमा टान सबैभन्दा क्रियाशील, सशक्त र प्रगतिशील रहेको कुरा पर्यटन मन्त्रालय र पर्यटन बोर्डले स्विकार्नुपर्छ।’ रिजालले भने ।

उनले टानकाे नवनिर्वाचित कार्यसमितिलाई सबैलाई समेटेर अघि बढ्न सुझाव दिएका छन् ।

भिडियो

सम्बन्धित समाचार