शुक्रबार , मंग्सिर २३, २०७९

नेता सुध्रिने कि जनता ? ल है, यही हाे मौका 

हामी परिवर्तन चाहन्छौँ, तर आफूलाई परिवर्तन गर्न भने तयार हुँदैनौँ । आफ्नो सोचाई, विचार, व्यवहार र कार्यशैली परिवर्तन गर्न सक्दैनौँ । 'नाच्न नजान्ने आँगन टेढो' भने जस्तै आफूलाई सुधार्न नसक्ने अनि नेता सुध्रेनन् भनेर चिच्याउने ?

image

अहिले देश चुनावमय बनेको छ । आगामी मङ्सिर ४ गते सङ्घ र प्रदेशको निर्वाचन हुँदै छ । गाउँघरका चिया चौतारी, भट्टी पसलदेखि मेलापातसम्म चुनावकै चर्चा सुन्न सकिन्छ । घाँस दाउरा अनि गोठालामा जम्मा भएकाहरूको गफ गर्ने बहाना बनेको छ, चुनाव । सहरका चोक, गल्लीका चिया पसल, रेस्टुरेन्टदेखि पाँचतारे होटेलसम्म जमघट र चुनावी चर्चा छँदै छ । भनौँ, जताततै चुनावै चुनाव छ ।

चुनावी चर्चा सुन्दा कुन पार्टी र कुन उम्मेदवारले जित्छ या हार्छ भन्दा पनि ‘फलानो पार्टीका फलानोलाई यति वर्षदेखि यति पटक भोट हालेको/जिताएको तर, केही गरेन’ भन्ने खालका तर्कहरू बढी सुनिन्छ । विगत आफूले निर्वाचित गरेर पठाएका पार्टी/नेतासँग असन्तुष्टि पोखिरहेको बढी सुनिन्छ । पार्टी र नेतालाई गाली गरिरहेको देख्न/सुन्न पाइन्छ । कतिपय मतदाताहरू उम्मेदवारहरूसँग आक्रोशित बनेको घटनाहरू पनि बाहिर नआएका होइनन् ।

अहिले नेताहरूले देश बिगारे, विकास गर्न सकेनन्, तिनलाई अब नेतृत्वमा आउन दिनुहुन्न भन्दै “नो नट अगेन” को अभियान पनि चलिरहेको छ । अभियानमा स्वतन्त्र नागरिक मात्रै नभएर राजनीतिक दलका नेता कार्यकर्ताहरू पनि जोडिएका छन्, जो आफ्ना दलका नेता र नेतृत्वबाट निराश बनेका छन् । उमेरले ६० वर्ष नाघेका, पटक पटक नेतृत्वमा पुगेर पनि काम गर्न नसकेका र असफल साबित भइसकेकालाई पुनः नेतृत्वमा आउन नदिऊँ, नयाँ र युवालाई प्रोत्साहन गरौँ भन्ने अभियानको उद्देश्य देखिन्छ । अभियानको नारा र उद्देश्य संविधानसम्मत छ/छैन, व्यवहारिक छ/छैन छुट्टै बहसको पाटो होला । तर, अभियानमा जोडिएका समाजको निकै ठुलो हिस्सा जुन छ, त्यसले राजनीतिक दलको चरित्र, नेतृत्व र तिनको कार्यशैलीबाट समाज निकै उकुसमुकुस बनिसकेको सङ्केत गर्छ ।

निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगिरहेका छन् । मतदाताहरूसँग साक्षात्कार तथा अन्तरक्रिया गरिहरेका छन् । पटक-पटक निर्वाचित भएर गएकाहरू आफूले गरेका कामहरूको फेहरिस्त सुनाउँदै फेरि आफूलाई जिताउन जनतासँग बिन्ती बिसाइरहेका छन् । विगत पराजित भएका र पहिलो पटक उम्मेदवार बनेकाहरू ‘विगतकाले केही नगरेको र गर्न नसक्ने’ भन्दै आफूलाई जिताउन भनिरहेका छन् । तर, वर्षैभरि आफ्नो पेसा व्यवसायमा व्यस्त रहने मतदाताहरू अलमलमा देखिन्छन् । कसलाई भोट दिने, कसलाई नदिने उनीहरूले छुटाउन सकेका छैनन् । रनभुल्ल छन् । यस्तो अवस्था देखिन्छ कि, जनताहरू धमिलो पानीले भरिएको पोखरीका माछा हुन्, उम्मेदवारहरू त्यही धमिलो पानीमा जाल हान्न तँछाडमछाड गरिरहेका छन् । आफू एक न एक जनाको जालमा पर्ने मतदातालाई थाहा छ । तर, मतदाताहरूले मानिसको आकृति मात्रै देख्छन्, चिन्न सक्दैनन् । उम्मेदवार चिन्ने सामर्थ्य उनीहरू राख्दैनन् या चिन्ने कोसिस गर्दैनन् अथवा चिन्ने मौका नै दिँदैनन्, अध्ययनको पाटो बन्न सक्छ ।

लोकतन्त्र जनताले आफैँमाथि शासन गर्ने पद्धति हो । जनता सार्वभौम हुन्छ । जनता र जनमत भन्दा शक्तिशाली लोकतन्त्रमा अरू हुन सक्दैन । ‘आफ्नो छनौट व्यक्त गर्नेहरू बुद्धिमानीपूर्वक छनौट गर्न तयार नभएसम्म लोकतन्त्र सफल हुन नसक्ने र त्यसका लागि जनता शिक्षित हुनुपर्ने’ पूर्व अमेरिकी राष्ट्रपति फ्रैंकलिन रूजवेल्टले बताएका थिए । वास्तवमा हो पनि । लोकतन्त्रमा जनतालाई स्वतन्त्रपूर्वक छनौट गर्ने अधिकार त हुन्छ, तर, उसले सही छनौट गर्न सकेनन् अथवा सही छनौट गर्न तयार भएनन् भने लोकतन्त्र सफल हुनै सक्दैन । अहिले नेपालमा भएको पनि त्यही हो । नेताले विकास गरेन, भ्रष्टाचार गरे, देश बिगारे भन्छन्, तर, निर्वाचन आएपछि फेरि तिनै नेताको पछि लाग्छन् । आश्वासनमा बिक्छन्, मासुभातमा रमाउँछन् अनि उही चक्र दोहोरिरहन्छ ।  सही नेतृत्व छान्न नसक्दा वा  सही नेतृत्व छान्न तयार नहुँदा  आफैँले छनौट गरेर पठाएका प्रतिनिधिहरूलाई गाली गरेर बसिरहेका हुन्छौँ । सही नेतृत्व छनौट गर्नसक्ने सामर्थ्य यदि मतदातामा हुन्थ्यो भने यस्तो अवस्था  आउने  थिएन ।

हामी जनता परिवर्तन चाहन्छौँ, तर आफूलाई परिवर्तन गर्न भने तयार हुँदैनौँ । आफ्नो सोचाई, विचार, व्यवहार र कार्यशैली परिवर्तन गर्न सक्दैनौँ । ‘नाच्न नजान्ने आँगन टेढो’ भने जस्तै आफूलाई सुधार्न नसक्ने अनि नेता सुध्रेनन् भनेर चिच्याउने ? हामीमा एउटा रोग छ, त्यो हो राजनीतिक दललाई पैतृक सम्पत्ति ठान्ने । तीन पुस्तादेखि एउटै पार्टी र व्यक्तिलाई भोट दिइरहने परम्परा हामीमा छ । यो पनि परिवर्तनको वाधक हो । विकास र रूपान्तरणको बाधक हो । भर्खरका युवाहरूलाई “फलानो पार्टीको कार्यकर्ता किन बनेको ? त्यो पार्टीलाई नै मतदान किन ?” भनेर सोध्यो भने अधिकांशको जवाफ हुन्छ, “हाम्रा हजुरबाको पालादेखि नै फलानो पार्टीका हौँ ।” हजुर बा-आमाले छनौट गरेको पार्टी र व्यक्तिलाई मतदान गर्नै नहुने भन्ने चाहिँ होइन । उसमा अहिलेको समय र समाजले खोजेको विचार, भिजन अनि नेतृत्व क्षमता र इमानदारिता छ भने  हजुर बा होइन जुजु-बाजेको पालादेखिको पार्टीलाई नै आफ्नो सम्पत्ति मान्दा हुन्छ । तिनैलाई समर्थन गर्दा हुन्छ । नेतृत्वमा पुर्‍याउँदा हुन्छ । तर, फगत आफ्नो पिता पुर्खाले भोट हाल्दै आएको पार्टी भएकैले तिनैको पछि लागिरहनु चाहिँ मूर्खता हो । यसले समाजलाई यथास्थितिमा थन्क्याउने मात्रै होइन, रूपान्तरण, विकास र समृद्धिको ढोकामा ताला लगाइदिन्छ ।

लोकतन्त्रमा जनता शक्तिको मुहान हो, नेता/प्रतिनिधि भनेका धारा हुन् । मुहानबाटै धमिलो पानी आएपछि धारामा सङ्लो पानी झर्दैन । त्यसैले सर्वप्रथम मुहान सङ्लिन जरुरी छ । त्याे भनेकाे जनता सच्चिनु हाे । जनता लोकतन्त्रबारे जानकार हुनु हो र उसले सही नेतृत्व छान्न सक्नु हो । हामीले  आफूलाई सही नेतृत्व छान्नसक्ने र छान्न तयार बनाउन जरुरी छ । यसले सुदृढ नेतृत्व जन्माउनेछ भने विकृत नेतृत्वलाई सुध्रिन बाध्य पार्ने छ । त्यसैले नेताभन्दा पहिला हामी पो सुध्रिने हो कि ? ल है, यही हो मौका ।

सम्बन्धित समाचार