शुक्रबार , मंग्सिर २३, २०७९

माैन अवधिमा मन्थन गराैँ न, देश बनाउन तपाइँकाे एक भाेट नै काफी छ !

हिजो अस्ति कसको कुन पार्टीको झन्डा बोकेर हिँड्नुभयाे ? कसको दालमोठ चिउरा खानुभयाे, कसको मासुभात खानु भयाे,  रक्सी पिउनु भयाे ? सबै भुलिदिनुस् । कसैलाई नसुन्नुस्, आफूलाई मात्रै सुन्नुस् । आफ्ना भावी सन्ततिलाई सम्झनुस्, उनीहरूको भविष्यलाई कल्पनुस्, अनि निर्णयमा पुग्नुस् । एउटा सचेत निर्णय गर्नुस् । तपाईँको एक निर्णय देश परिवर्तनको लागि काफी हुने छ । 

image

आज (बिहीबार राति) १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुँदै छ । आउँदो आइतबार (मङ्सिर ४ गते) हुने  निर्वाचनको प्रचारप्रसार गर्ने समय आज राति सकिँदै छ । त्यसपछि उम्मेदवारहरूले मतदातासँग साक्षात्कार गर्न पाइँदैन, अथवा भनौँ उनीहरूको मत परिवर्तन हुने/गर्ने गतिविधि गर्न पाइँदैन ।

कार्तिक १७ गतेबाट प्रचार प्रसार तथा आमसभा सम्मेलन गर्न निर्वाचन आयोगले उम्मेदवारहरूलाई अनुमति दिएको थियो । उक्त १५ दिनको समय आज राति सकिँदै छ । यसबीचमा प्रचारप्रसार गर्न र मतदातालाई प्रभावित पार्न पाइँदैन ।

निर्वाचन कसुर तथा सजाय ऐनले मतदानको दिनदेखि ४८ घण्टा अघिको समयलाई मौन अवधि तोकेको छ । यो समयमा पालना गर्नुपर्ने नियमका बारेमा भनिएको छ, ‘कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचार प्रसार गर्न वा गराउन हुँदैन ।’

यो नियम उल्लङ्घन गर्नेलाई २५ हजार रुपैयाँ जरिवाना हुने थपलियाले बताएका छन् । स्थानीय निर्वाचन आचारसंहिता अनुगमन समितिलाई यो कसुरबारे कडाइका साथ अनुगमन गर्न आयोगले निर्देशन समेत दिएको छ ।

उम्मेदवारहरूले यसबीचमा मतदातासँग गरेको साक्षात्कार तथा अन्तरक्रियाका आधारमा आफू, आफ्नो पार्टी निर्वाचित हुने दाबी गरिहरेका छन् । स्वतन्त्र उम्मेदवारहरूको पनि आफू जित्ने दाबी सुन्न सकिन्छ । तर, उम्मेदवारहरूले यसो भनिरहँदा मतदाताको लागि भने यो मौन अवधि निकै महत्त्वपूर्ण समय हो । कसलाई निर्वाचित गर्ने, कसलाई मतदान गर्ने या नगर्ने  भन्ने विषयमा विवेकसम्मत निर्णय गर्ने सुनौलो समय हो, मौन अवधि ।

यो मौन अवधि राजनीतिक दल र उम्मेदवारहरूले बोलेका कुराहरू, गरेका प्रतिबद्धताहरू, बाँडेका सपनाहरूको निर्मम एवम् वस्तुनिष्ठ  समीक्षा गर्ने अवसर हो । अघिल्ला निर्वाचनमा छापेका घोषणापत्रहरू खोजौँ, पढौँ । कति पुरा गरे ? कति गरेनन् ? मूल्याङ्कन गरौँ, समीक्षा गरौँ । अहिले गरेका प्रतिबद्धताहरू उनीहरूले भनेका अवधिमा पुरा हुन सम्भव छ कि छैन ? मूल्याङ्कन गरौँ ।  तिनका कार्यक्रम तथा योजनाहरू व्यवहारिक छन् कि छैनन् ? गम्भीर बनेर विश्लेषण गरौँ ।

पछिल्लो दशकमा आफू, आफ्नो परिवार र  समाजको मुहारमा के कस्ता परिवर्तनहरू  आए ? जीवन कति सहज बने ? कति सुधार भए ? गाउँ टोलका धारामा पानी झर्छन् कि झर्दैनन् ? सडक, बाटोघाटोको अवस्था कस्तो छ ? बत्ती बल्छ कि बल्दैन ? विद्यालयको अवस्था कस्तो छ ? ज्वरो आउँदा सिटामोल पाइन्छ कि पाइँदैन ? यी प्रश्नहरूको उत्तर खोज्नुस्, जुन उम्मेदवारमा  यी कामहरू गर्ने सामर्थ्य छ, इमानदारता छ, उसैलाई मतदान गर्नुहोस् ।

तपाईँका हजुर बा , हजुर आमा, बा-आमाले कुन पार्टी र कसलाई भोट दिए बिर्सिदिनुस्, ती त उनीहरूको समयको माग थियो, छनोट थियो । अहिले ती पार्टी वा व्यक्ति समय सान्दर्भिक, सक्षम र असल नहुन सक्छन् । हजुर बा को पालाको राजनीतिक  आस्था बोकेर हिँड्ने अनि समाज रूपान्तरण भएन भन्नु त “हलो अड्काएर गोरु चुटेको” जस्तै भएन र ?

हिजो अस्ति कसको कुन पार्टीको झन्डा बोकेर हिँड्नुभयाे ? कसको दालमोठ चिउरा खानुभयाे, कसको मासुभात खानु भयाे,  रक्सी पिउनु भयाे ? सबै भुलिदिनुस् । कसैलाई नसुन्नुस्, आफूलाई मात्रै सुन्नुस् । आफ्ना भावी सन्ततिलाई सम्झनुस्, उनीहरूको भविष्यलाई कल्पनुस्, अनि निर्णयमा पुग्नुस् । एउटा सचेत निर्णय गर्नुस् । तपाईँको एक निर्णय देश परिवर्तनको लागि काफी हुने छ ।

सम्बन्धित समाचार