बुधबार , जेठ ३०, २०८१

चतराधाम र कुम्भ मेला

image

नेपालमा धेरै पर्यटनका स्थल तीर्थाटनसँग जोडिएका छन् । तीर्थाटनका लागि नेपाली मात्र होइन भारतबाट पनि नेपालमा प्रत्येक वर्ष लाखौंको संख्यामा पर्यटकहरु आउँछन् । भारतबाट आउने तीर्थाटनका पर्यटकहरु विशेष गरी काठमाडौं उपत्यकामा पशुपतिनाथ र उपत्यका बाहिर जनकपुर, पूर्वको पाथीभरा, चतराधाम, हलेसी, पश्चिमको मुक्तिनाथ, स्वर्गद्वारी, खप्तड र बडिमालिकासम्म पुग्ने गर्दछन् । यो बाहेक मनकामना, गढीमाई, पलाञ्चोक र कालिञ्चोकलगायत धार्मिक क्षेत्रमा पनि भारतीय तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन् ।

चतराधाम प्राचीन र कोशी नदीको किनारामा पर्दछ । चतराधाम धरानदेखि पश्चिम सप्तकोशी नदीको किनारामा पर्दछ । चतराधाममा मुख्य औलीया बाबा मठ र जगदगुरु पीठ रहेका छन् । चतराको पुरानो मठ भने औलीया बाबाको मठ हो । औलिया बाबा मठको इतिहास मध्यकालको मानिन्छ । चतराधामको औलिया बाबा मठ क्षेत्रमा भैरव, काली, शिव, शिवगणेश र हनुमानका मन्दिरहरु छन् । औलिया बाबाको गुदरी घर अर्थात बाबा मनमुकुन्द सेनले ओढ्ने कपडा राखिएको घर पनि पर्दछ । मनमुकुन्देश्र शिवालय, मनमुकुन्द सेनले स्थापना गरेका हुन् । चतराधाममा रहेको जगदगुरु पीठलाई राधाकृष्ण आध्यात्मिक भक्ति साधना प्रतिष्ठान भनिन्छ । चतराधाममा कार्तिक पूर्णिमा मेला लाग्दछ । मेलाको अवसरमा विशेष उत्सवका साथ औलिबाबाको निसान वराहक्षेत्र पु‍र्याउने गरिन्छ । त्यसपछि बाबाको निसानलाई तीन दिनसम्म वराहक्षेत्र मन्दिरभित्र राखी कार्तिक पूर्णिमाको भोलिपल्ट चतराधाम ल्याएपछि कार्तिक मेलाको समापन हुन्छ ।

कुम्भमेलालाई हिन्दु धर्मावलम्बीहरुले महान स्नान पर्वको रुपमा लिने गर्दछन् । शास्त्रीय आधारमा जम्मा १२ वटा कुम्भस्थल भए पनि हाल खोज भइसकेका जम्मा ५ कुम्भ मेलाहरु मध्ये ४ कुम्भस्थलहरु भारतका हरिद्वार, प्रयाग, नाशिक र उज्जैनमा पर्दछन् । जहाँ प्रत्येक १२/१२ वर्षमा कुम्भमेला लाग्ने गर्दछन् भने अर्को कुम्भमेला नेपालको प्राचीन हरिद्वार चतारधाम कोशी नदीको किनारमा लाग्ने गर्दछ । जगदगुरु महाराजश्रीद्वारा २०५४ सालदेखि २०५८ सालसम्म भएको अथक खोज र अनुसन्धानबाट प्राप्त शास्त्रीय प्रमाणको आधारमा २०५९ साल वैशाखदेखि प्रथम कुम्भमेला चतारधाममा शुरु भएको थियो । त्यसपछि चतराधाममा प्रत्येक १२ वर्षमा पूर्ण कुम्भ मेला र ६/६ वर्षमा अर्धकुम्भ मेला लाग्ने गरेको छ । कुम्भमेलामा तीर्थाटनका पर्यटकहरु बराहक्षेत्रमा स्नान गर्न पुग्छन् । कुम्भमेलामा स्नान, दान, यज्ञ, अनुष्ठान, यजन र पूजन गर्दा कहिल्यै पनि ननासिने अर्थात क्षय नहुने र पुण्य प्राप्त हुने बिश्वास तीर्थाटन पर्यटकहरुको छ । अर्कोतर्फ कुम्भका समयमा ब्रह्मा, विष्णु, महेश्वर तथा देवताहरुका राजा इन्द्र र अन्य देवगण कुम्भको तिथि पारेर बराहक्षेत्रमा स्नान गर्न आउने भएकाले कुम्भ मेलाको समयमा स्नान गर्नाले अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता छ । बराहक्षेत्रमा वृद्धाश्रम, वेद विद्यालय, कुम्भ स्मारक अर्थात नेपालको प्रथम कुम्भ मेलाको प्रतिक र आयुर्वेदिक विश्वविद्यालय, धर्मशाला, गौशाला, यज्ञशाला र अन्य मठ मन्दिरहरु पनि रहेका छन् ।

प्राचीन हरिद्वार चतराधाममा सञ्चालन भएको महाकुम्भ मेलामा प्रत्येक दिन तीर्थाटनका पर्यटकहरुको संख्या बढ्दैछ । बराहक्षेत्रमा स्नान गर्न, कुम्भको दर्शन गर्न, प्रवचन सुन्न र घुमफिर गर्न तीर्थाटनका पर्यटकहरु पुग्ने गरेका छन् । हिन्दू धर्मशास्त्रमा बराह क्षेत्रस्थित सप्तकोशी नदी र धरानको पिण्डेश्वर धाम कुम्भ मेलासँग जोडिएको छ । धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको कुम्भ मेलामा नेपाल र भारतका तीर्थाटनका पर्यटकहरुको दैनिक लाखौंले तीर्थाटन गर्दै आएका छन् । कुम्भ मेला आध्यात्मिक हिसाबले अत्यन्त महत्वपूर्ण मानिन्छ । कुम्भ मेलामा जगत्गुरु, शंकराचार्यहरु, धर्माचार्यको सहभागिता प्रवचन, भजनकीर्तन, शास्त्रार्थ सम्मेलनलगायत महास्नान हुने गरेको छ । चतराधामको कुम्भ मेलाले हराउँदै गएको धर्म, संस्कार र संस्कृतिको पुनरुत्थान गरेको छ । कुम्भ मेला शुरु भएपछि धार्मिक पर्यटनको विकास हुनुका साथै प्राचीन चतराधामको प्रचार भएको छ । वि.सं २०५० को दशकमा अहिलेको कुम्भ क्षेत्र अर्थात चतराधाम मसानघाट जस्तै थियो । चतराधाममा कुनै बस्ती थिएन भने खर र बाक्लो खयरको झाडी मात्र थियो । वि.सं.२०५४ मा बालसन्त देवाचार्य चतराधाम आएपछि उनको अगुवाइमा कोशीको किनारमा अहिलेको धार्मिक संरचना निर्माण हुन थाल्यो र कुम्भ नगरीमा परिणत भएको हो । विगतमा मसानघाटका रुपमा चिनिएको चतरा अहिले तीर्थस्थलका रुपमा विकसित भएको छ । कुम्भ मेलाले कोशी किनारमा रहेको चतराधाम राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा परिचित हुँदै आएको छ ।

बराहक्षेत्र ब्रह्मपुराण, वराहपुराण, स्कन्दपुराण र महाभारत महाकाव्यमा समेत उल्लेख भएको नेपालको सबैभन्दा पुरानो देवस्थल हो । बराहक्षेत्रमा वराह अवतार विष्णुको पूजाआजा हुने गर्दछ । बराहक्षेत्र सुनसरी जिल्लाको धरानदेखि करिब २५ कि.मी.उत्तर पश्चिममा पर्दछ । कोकाहा नदी र कोशी नदीको संगमस्थल बराहक्षेत्र प्राचीन मानिन्छ  । बराहक्षेत्रमा इन्द्र ब्रह्मा, कोका, सूर्य, बद्री, मुक्तेश्वर, गुरुब्रह्मालगायत १० वटा तीर्थाटनका लागि मन्दिर रहेका छन् । कोशी नदी नेपालको सबैभन्दा ठूलो नदी हो । कुशिक ऋषिको नामबाट नामाकरण भएको कोशी नदीमा अरुण, तमोर, सुनकोशी, भोटेकोशी, लिखु, तामाकोशी र इन्द्रावती मिसिन्छ । सातवटा नदी मिलेर बनेको हुनाले कोशी नदीलाई सप्तकोशी पनि भनिन्छ । यी नदीहरुमा सबैभन्दा ठूलो अरुण र सबै भन्दा सानो लिखु नदी हो । पूर्वमा कञ्चनजंघा हिमालयदेखि पश्चिममा लाङटाङ हिमालसम्म सप्तकोशीको प्रभाव क्षेत्र रहेको छ । बराहक्षेत्रमा कोशी र कोकाहा नदी मिसिन्छ । कोकाहा नदीको उद्गमस्थल सुनसरीको प्रख्यात धार्मिक स्थल बिष्णु पादुका मन्दिर क्षेत्रको पहाड हो । धरान बजारदेखि उत्तर पश्चिममा कोकाहा नदीको किनारमा रहेको विष्णु पादुकाको महत्व छुट्टै रहेको छ । विष्णु पादुकामा भगवान विष्णुले आफ्ना पितृलाई मोक्ष गर्न तर्पण गरी पहिलो श्राद्ध गर्नुभएको मानिन्छ । प्रत्येक वर्षको पौष शुक्ल औंशीका दिन आफ्ना पितृहरुलाई पिण्ड तर्पणका लागि तीर्थाटनका पर्यटकहरु विष्णु पादुका पुग्ने गर्दछन् । विष्णु पादुकामा श्राद्ध गरेपछि काशी र गया गएर श्राद्ध गर्नु नपर्ने भनाइ छ । चतराधामबाट तराईमा प्रवेश गर्दै कोशी बाँध पार गरेर कोशी नदी भारत प्रवेश गर्दछ ।

चतराधाम कुम्भ मेलामा पुग्ने तीर्थाटनका पर्यटकहरुलाई पाँचवटा स्थानमा स्नान स्थल निर्माण गरिएको छ । तीर्थयात्रीका लागि खानाको व्यवस्था धरान र विराटनगरका मारवाडी समुदायले निःशुल्क सेवा दिएका छन् । कुम्भ मेलाको मुख्य आकर्षक शाही स्नान रहेको छ । कुम्भ स्नान गर्नकै लागि तीर्थाटनका पर्यटकहरु चतराधाम पुग्ने गरेका छन् । अमृतको सार पिण्ड अक्ष तृतीयासम्म राखिने छ । कुम्भ मेलामा नुहाए मोक्ष प्राप्ति हुने मान्यता छ । शाही स्नान सन्तमहासन्तदेखि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्ति, लाखौं भक्तजनका साथमा बाजागाजासहित हुने भएको छ । कुम्भ मेलाको समापन महास्नान अर्थात शाही स्नान यही वैशाख २८ गते अक्षय तृतीयामा हुनेछ । बराहक्षेत्र वरपरका पर्वत, वन जंगल तथा त्यहाँबाट देखिने रमणीय दृश्यहरुले पर्यटकहरु रमाउँछन् । बराहक्षेत्रमा डेढ दर्जन होटल तथा आधा दर्जन जति लज समेतको सुविधा भएका होटलहरु छन् । जहाँ तीर्थाटनका पर्यटकहरुले खाना र बस्ने सुविधा पाउँछन् । त्यसबाहेक चारवटा धर्मशाला पनि छन् । धर्मशालामा भाँडावर्तन उपलब्ध हुन्छ । धर्मशालामा बस्न चाहने तीर्थाटनका पर्यटकहरुले आफैले पकाएर खानुपर्दछ ।

इलामको ‘अ’ जस्तै बराहक्षेत्रलाई छुट्टै पहिचान झल्काउने बराहक्षेत्रका पाँच ‘म’ छन् । पाँच म अर्थात् मसाला, माछा, मठमन्दिर, मुर्दाघाट र मेला–महोत्सव । बराहक्षेत्रमा प्रत्येक वर्ष कार्तिक महिनाको हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म पाँच दिन मेला लाग्छ । मेलामा नेपालका मात्र होइन भारत, भुटानलगायतका तीर्थाटनका पर्यटकहरु बराहक्षेत्रमा पुग्ने गर्दछन् । यसैगरी माघ महिनामा पर्ने माघे संक्रान्ति मेलामा चतराधामको सप्तकोशी नदी र बराहक्षेत्रस्थित कोकाहा खोलाको संगमस्थलमा स्नान गर्नेहरुको भीड लाग्छ । कुम्भ मेलामा जाने तीर्थाटनका पर्यटकहरुले आफ्नो समय भएमा पूर्वी नेपालमा रहेका धार्मिक मठ मन्दिरमा समेत तीर्थाटन गर्न सक्नेछन् । अहिले चतराधामदेखि तमोर करिडोर सडकले पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङ जानको लागि छोटो मार्ग भएको छ । मोरङको रानीभन्सारदेखि ताप्लेजुङको ओलाङचुङ्गोला हुँदै चीन जोड्ने तमोर करिडोर कूल २७० कि.मी. दुरी पर्दछ । तमोर करिडोर चतरादेखि मूलघाट हुँदै पाँचथरको माझीटार, ताप्लेजुङको सुकेटार र ओलाङचुङ्गोला हुँदै चीनको तीब्बतसँग जोड्ने सडक हो । चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको दूरी १५५ किलोमिटर पर्दछ । अर्को तर्फ पर्यटकहरुले आफ्नो समय र रुचि भए कोशी टप्पु, भेडेटार र धरान पनि घुम्न सक्छन् । कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तीनवटा जिल्लामा फैलिएको छ । नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रुपमा परिचित कोशी टप्पु आरक्षमा विभिन्न ४८९ प्रजातिका चराहरु र दुर्लभ अर्ना र डल्फिनसमेत देख्न सकिन्छ । कोशी टप्पु लोपोन्मुख अवस्थामा रहेका अर्ना अर्थात जंगली भैँसी र चराहरुको मुख्य बासस्थानका रुपमा रहेको छ । हाँसका विभिन्न जात, लालसर र धेरै किसिमका बकुल्ला, गरुड, सारस र अन्य पानी चराहरु समेत कोशी टप्पुमा देख्न सकिन्छ ।

आजभोलि बराहक्षेत्र पुग्ने पर्यटकहरुको लागि कोशी नदीमा जलक्रीडा र नौकाशयर गर्न सुविधा समेत छ । ब्यावसायिक रुपमा जेटबोट सञ्चालनमा आएपछि अरुण र दुधकोशीमा रोमान्चक जलयात्रा गर्ने पर्यटकहरुको संख्या दिनप्रतिदिन बढेको छ । सप्तकोशी नदीमा सञ्चालन भएको जेटबोटले आजभोलि चतरा र बराहक्षेत्र पुग्ने पर्यटकहरुलाई सुविधा भएको छ । अहिले सप्तकोशी नदीमा कोशी रिभर ट्रान्सपोर्ट, बराहक्षेत्र जल यातायात, बराहक्षेत्र मरिनलगायत तीनवटा कम्पनीका बोटले पर्यटकहरुलाई पहाडी जिल्लामा घुमाउने र गन्तव्यसम्म पु¥याउने गरेका छन् । जेटबोटबाट बराहक्षेत्र मन्दिरलगायत भोजपुर जिल्लाको हतुवागढी भसुवासम्मको २५ किलोमिटरको एडभेन्चर ¥याफ्टिङ गर्नेलाई प्याकेज टुरमा सुविधा समेत भएको छ । चतराघाट पोर्टबाट विशेष गरी धनकुटा, भोजपुर र खोटाङका गाउँमा जाने यात्रुलाई पनि सेवा दिइरहेको छ । चतरा तीर्थाटन पर्यटनस्थलको रुपमा परिचित रहँदै आएको थियो भने अहिले यो स्थान जेटबोट अर्थात पानीजहाजसँग जोडिएको छ ।

जेटबोट सञ्चालन भएयता पर्यटकहरुले दूधकोशी नदी किनारमा पर्ने भोजपुर हतुवागढीको चुहार र भसुवासम्म र अरुण नदीको किनारमा पर्ने भोजपुर र धनकुटाको सिमाना पर्ने सिम्लेसम्म पुग्न सकेका छन् । सप्तकोसीमा र्याफ्टिङ पनि सञ्चालन भइरहेको छ  । र्याफ्टिङ सेवाले तमोर, अरुण र सुनकोसी नदीहरुमा सेवा दिँदै आएको छ  । तमोरको मूलघाटबाट चतरासम्मको ३४ किलोमिटर यात्रा र अरुणको लेगुवाघाट–चतरासम्मको ४२ किलोमिटरको र्याफ्टिङ यात्रामा रमाउने पर्यटकहरुको संख्या पनि धेरै छ । कुम्भमेलामा मात्र होइन अन्य समयमा पनि वराहक्षेत्र घुम्न धेरै पर्यटकहरु पुग्ने गर्दछन् । वराहक्षेत्रमा पर्यटकको पहिलो रोजाइ सप्तकोशीको माछा हुने गर्दछ । र्याफ्टिङ गर्दै आउने विदेशी पर्यटक हुन् वा आन्तरिक पर्यटक चतरा र बराहक्षेत्रमा पुग्ना साथ माछाको स्वाद लिन खोज्छन् । अर्कोतर्फ गर्मी छल्न र चिसोको मजा लिन माछा मार्ने फिसिङ रड लिएर युवाहरु कोशीमा रमाइरहेका हुन्छन् । चतराको माछा हिमालको हिउँ पग्लेर बग्ने सातवटा नदीको पानीमा खेलेका हुनाले माछाको स्वादका पारखी पर्यटकहरु माछा खान लालायित हुने गर्दछन् ।

धरान पूर्वी पहाडी जिल्लाहरुको प्रवेशद्वार मात्र नभएर पहाड र तराईको संगम स्थल पनि हो । धरानमा विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वका स्थलहरु रहेका छन् । पूर्वी नेपाल घुम्नका लागि ट्रान्जिट पनि हो धरान । धरानदेखि उत्तरतर्फ माछामारामा ब्रिटिस गोर्खा स्मृति पार्क रहेको छ । पार्कमा भिक्टोरिया क्रस विजेता १३ जना बहादुर गोर्खालीहरुको नाममा होलिडे हट निर्माण गरिएको छ । पार्कबाट पर्यटकहरुले धरान बजारको अवलोकन गर्न सक्छन् । धरान पुगेपछि ऐतिहासिक विजयपुर पुग्नै पर्दछ । विजयपुर बुद्धिकर्ण राईको समाधिस्थल र चर्चित बूढासुब्बाको मन्दिर रहेको छ । जहाँ बाँसका टुप्पा ठुट्टै देख्न सकिन्छ । विजयपुरका बाँसमा प्रेमीप्रेमिकाको नाम लेख्ने युवायुवतीको उत्तिकै भीड हुन्छ । शक्तिपीठ दन्तकाली र प्राचीन रुद्राक्षरणम् क्षेत्रको पिण्डेश्वर बाबाधाम पनि विजयपुरमै रहेको छ । भताभुंगे दरबारदेखि पाँचकन्या मन्दिर पनि यसै क्षेत्रमा पर्दछ । धरान पुग्दा भेडेटार पुगेन भने यात्रानै अधुरो हुन्छ । भेडेटार धरानबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सिमानामा पर्दछ । बाह्रैमास चिसो हावा बहने हुनाले पर्यटकहरु तराईको गर्मी छल्न र प्राकृतिक आनन्द लिन, चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न पुग्ने गर्दछन् । भेडेटारको भ्यू टावर यस्तो स्थान हो जहाँबाट सप्तकोशीको मनोरम दृष्य र तराईका फाँटहरुका साथै मकालु, कञ्चनजंघा, कुम्भकर्ण जस्ता हिमश्रृंखलाहरु पर्यटकहरुले एकै स्थानबाट अवलोकन गर्न सक्छन् ।

चतरा कसरी पुग्ने ?

चतराधाम पुग्न इटहरी आसपास पुगेपछि २–३ वटा वैकल्पिक सडक मार्ग छन् । धरान–चतरा, पकली–चतरा र झुम्का–चतरा नहरको सडकबाट चतरा पुग्न सकिन्छ । पश्चिम नेपालको बिभिन्न जिल्लाबाट चतराधाम पुग्नको लागि आजभोलि हेटौंडादेखि मदन भण्डारी लोकमार्ग समेत प्रयोग गर्न सकिन्छ । यो मार्ग छोटो मात्र नभएर सिन्धुली र उदयपुर बजारको समेत अवलोकन गर्न सकिन्छ । बराहक्षेत्रसम्म पुग्न धरानबाट पनि चतरा हुँदै जान सकिन्छ । यी सडकमा सार्वजनिक यातायातका साधन चल्ने गर्दछन् ।

सम्बन्धित समाचार