गढी क्षेत्र भित्रका तोप, गोला यद्यपि असरल्ल देखिन्छ । ऐतिहासिक महत्त्व बोकेको काली तोप, आकाशे तोप लगायत युद्ध सामग्री समेट्न बाँकी नै छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–६ मा रहेको चिसापानी गढीको संरक्षण तथा पूर्वाधार निर्माणको काम सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ७० प्रतिशत तथा भीमफेदी गाउँपालिकाको ३० प्रतिशत लगानीमा ऐतिहासिक चिसापानी गढी संरक्षण तथा पूर्वाधार निर्माणको काम अहिले चलिरहेको हो ।
“कूल २८ करोडको गुरुयोजनासहित अघि बढाइएको उक्त आयोजनाको लागि चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ विनियोजन गरेर निर्माणको काम अगाडि बढाइएको छ”, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए । गढीको भित्री भाग पुरातत्त्व विभागले संरक्षण तथा पुनर्निर्माण गर्ने एवम् बाहिर तारजाली गर्ने, पर्यटकका लागि पैदलमार्ग निर्माण गर्ने, सरसफाइ लगायतका काम पालिकाले गर्ने गरि काम अघि बढिरहेको उनले बताए ।
“नेपाली वीर योद्धाहरूको विजयको पहिचान, प्रमाण र शिलालेख बोकेको यस किल्ला (युद्धको भाषामा) बेवारिसे जस्तै बन्न पुगेको थियो । स्थानीय प्रहरी प्रशासन र नेपाली सेनाले वर्ष–दुई वर्षमा गढीको सरसफाइ गर्न बाहेक अन्य काम भएको थिएन । गढीको संरक्षण र पुनर्निर्माणका लागि तीनै तहको राज्यबाट कुनै काम नभइरहेको पाइएपश्चात् हामीले काम सुरु गरेका हौँ”, उनले भने ।
चालु आर्थिक वर्षमा वास्तुकलायुक्त प्रवेशद्वारा तथा चिसापानी गढी क्षेत्रको करिब ४ बिगाहा क्षेत्रफलमा कम्पाउन्ड वाल निर्माण, आकर्षक नेपालको नक्सा निर्माण, सो क्षेत्रमा रहेको इनार पुनः निर्माण तथा संरक्षण एवम् सरसफाइको काम सम्पन्न गरिने र २ वर्षभित्रमा अन्य निर्माण तथा संरक्षणका काम सम्पन्न गर्ने गरि काम अघि बढाइएको उनले बताए । उनका अनुसार २०८० सालसम्म काम सक्नेगरी भएको ठेक्का सम्झौताको ३३ प्रतिशत काम सम्पन्न भइसकेको छ । ऐतिहासिक चिसापानी गढी संरक्षण तथा पूर्वाधार निर्माणको गत कार्तिकमा प्रधानसेनापति प्रभुराम शर्माले शिलान्यास गरिसकेका छन् ।
गढी र किल्लालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दा त्यसले दिगो पर्यटन विकाससँगै आर्थिक लक्ष्य पनि प्राप्त हुने अध्यक्ष हिदम लामा बताउँछन् । “नेपाल सरकारले नै नेपाल एकीकरणको क्रममा प्रयोग भएका ऐतिहासिक गढी तथा किल्लालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य राखेको बताएपछि चिसापानीगढी तथा मकवानपुरका अन्य गढीहरूको पनि संरक्षण र संवर्द्धनका कामहरू शुरु भएका छन्, यो राम्रो कदम हो”, उनले भने ।
अध्यक्ष लामाले गढी क्षेत्र हालसालै अतिक्रमण मुक्त भएको तर बडाहाकिमको घर वरपर चाहिँ स्थानीय अझै बसिरहेका समेत बताए । “गढीको जग्गा (करिब ४ बिघा)लाई स्थानीयवासीलाई अलग गरिसकेका छौँ, बडाहाकिमको घर वरपरबाट उहाँहरूलाई हटाउने प्रक्रिया अघि बढाएका छौँ”, उनले भने । यस गढीको नाममा ४ बिघा जमिन रहेको देखिन्छ तर वरपरका होटेलहरूले जग्गा अतिक्रमण गरेर आफ्नो व्यवसाय सन्चलान गरिरहेको पाइन्छ । गढीको जग्गा वरपर खनजोत भएको समेत पाइएको छ ।
नेपाली सेनामा हाल रहेको बटुक दल बटुक भैरव मन्दिरको नामबाट जुराइएको थियो । उनका अनुसार किल्ला भित्र रहेको मन्दिरका पूजारीले अनसन्ट बोल्ने र झुटा कुरा गर्ने गरेका छन् । “उहाँले काली तोप पड्किँदा केके भयो भन्नुहुँदो रहेछ, गढीमै थेसिस गर्नुभएको प्रेमसिंह बस्नेतका अनुसार काली तोप यहाँ ल्याएपछि पड्किएको नै छैन । यस्ता धेरै झुटा कुरा गरिरहनुभएको हुँदा उहाँलाई बिदाइ गर्ने कि भन्ने पनि सोचिरहेका छौँ”, हिमाल दर्पणकर्मीसँग उनले भने । यता, मन्दिरका पुजारी भने बटुक भैरव मन्दिरको पूजाखर्च बापत मासिक १ सय ५० रुपैयाँ भत्ता मात्रै पाइरहेको र फाट्टफुट्ट पुग्ने दर्शानार्थीले चढाएको भेटीले मन्दिरको आम्दानी बढ्न नसकेको बताउँछन् ।
विगतमा राज्यको चरम बेवास्ताको मारमा परेको गढी पालिकाको पहलकदमीपश्चात् आफ्नो पहिचान र अस्तित्वमा आउन लागेकोको स्थानीयवासीले खुसी प्रकट गरेका छन् । “गढी संरक्षण गर्न थालेको छ, तर यही किल्लाछेउको राजमार्ग भएर प्रशासनिक एवम् सरकारी निकायका व्यक्तिहरू काठमाडौं आउजाउ गर्दछन् । न यहाँ रोकिन्छन्, न यसबारे खोज्दै आउँछन्”, उनीहरू भन्छन् । हेटौँडालगायत कतिपय तराईका जिल्लालाई राजधानीसँग जोड्ने मदन भण्डारी मार्ग (कुलेखानी–सिस्नेरी–काठमाडौं) छेउमै रहेको चिसापानी गढीको प्रचारप्रसार र संरक्षण हुन् सकेमा आफूहरूको व्यवसायले गति लिन सक्ने उनीहरूको भनाई छ । नारायणी यातायात व्यवसायी सङ्घका अनुसार हाल दैनिक करिब ५ सय निजी तथा भाडाका सवारी साधन यही बाटो भएर काठमाडौं-हेटौंडा आवतजावत गर्दछन् । तर, यस गढीमा ओर्लने मानिसको सङ्ख्या भने ज्यादै न्यून छ ।
नेपालमा ३५ वटा मात्रै जिल्ला रहेका बेला हालको चितवन र मकवानपुर जिल्ला सहितको “चिसापानीगढी जिल्ला” पनि यही चिसापानीगढीको नाममा नामकरण भएको पाइन्छ । २०१८ साल वैशाख १ गते तत्कालीन राजा महेन्द्रले देशलाई चौध अञ्चल ७५ जिल्लामा विभाजन गरेपछि चिसापानी गढी जिल्लालाई चितवन र मकवानपुरमा विभाजन गरियो । जिल्ला विभाजनसँगै चिसापानीगढी मकवानपुरको भूभागमा रह्यो तर यसको चर्चा कम हुँदै गयो । हेटौडा बजारबाट २७ किलोमिटर दूरीमा रहेको यो गढी २०४२ सालसम्म मकवानपुरको सदरमुकामका रूपमा रहेको थियो । पछि सदरमुकाम भीमफेदीबाट हेटौडा सरेपछि झन् ओझेलमा पर्यो ।
गढीका सामान अझै व्यवस्थित भएनन्
गढी क्षेत्र भित्रका तोप, गोला यद्यपि असरल्ल देखिन्छ । ऐतिहासिक महत्त्व बोकेको काली तोप, आकाशे तोप लगायत युद्ध सामग्री समेट्न बाँकी छ । गढीमा तत्कालीन समयमा कुनै गल्ती गरेमा र शत्रु तर्फका मानिसलाई थुन्नका लागि बनाइएको जेल घर पनि छ । अहिले यो जेल घरमा झारपात, रुखबिरुवा उम्रेको छ ।
सरकारले गढी संरक्षण गर्न थाल्दा पुराना कुराहरूबारे खोजीखबरी गर्नुपर्ने स्थानीय वासीन्दा बताउँछन् ।
मन्दिरमा रहेको मूर्तिको बहुमूल्य गरगहना समेत २०७० साल असार १९ गते राति चोरी भइसकेको छ । स्थानीयका अनुसार करिब २५ तोला बराबरको सुनचाँदी मिश्रित गहना सामग्री आजसम्म भेटिएको छैन । त्यसैगरि, खाना पकाउन प्रयोग गरिने पित्तलका ठूला भाँडाकुँडा समेत मन्दिरमा त्यतिकै थन्किएका छन् ।
चिसापानी किल्लामा केही वर्ष अघिसम्म सानो र ठूलो गरी १० वटा तोप र झन्डै ३०० वटा तोपका गोली र बारुद हालेर पड्काउने ग्रिनेडहरू रहेका थिए । तर हाल काली तोप १ वटा, साधारण ४ वटा, आकाशे तोप १ वटा र सानो १ वटा गरी ७ वटा र बारुद हालेर मार हान्ने ग्रेनाइट आकारका करिब १०० वटा मात्र रहेको छ । तीन वटा साधारण तोप सङ्ग्रहालयमा लगेको भनिएता पनि करिब २०० गोलीहरू कहाँ गए कसैले सोधखोज पनि गर्दैनन्, स्वयं पुजारीलाई समेत थाहा छैन । केही समय अघि सङ्ग्रहालयमा लाने भन्दै ३ वटा तोप नेपाली सेनाले यहाँबाट लिएर गएको स्थानीयहरूको भनाई रहेको छ । लाली तोप गोरखा दरबारमा राखिएको बताइन्छ ।
साथै, नेपालमा मात्र प्रचलनमा रहेको तौल प्रणाली अन्तर्गत चलनचल्तीका भाषामा बोलिने धार्नी शब्दको प्रयोग यहाँका तोपहरूमा देख्न सकिन्छ । करिब ३०० धार्नी (करिब ७५० किलो) का ४ वटा तोपहरू यस किल्लामा अझै सम्म पनि उस्तै रहिरहेको छ तर खुला आकाशमुनी घामपानीले यसको आयु दिनप्रतिदिन घटाइरहेको छ ।
किल्लामा एउटा जीर्ण घर छ, जहाँ बसेर बडाहाकिमले जिल्लाको सुरक्षा गर्थे । यहाँ बडाहाकिमको कार्यालय, सैनिक ब्यारेक, जेलघर, भन्सार, चेकपोस्ट लगायतको संरचना निर्माण गरिएको थियो । मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीका कतिपय सरकारी कार्यालय, पाटीपौवा, धर्मशाला समेत यसै चिसापानी गढी अन्तर्गत रहेका थिए । काठमाडौ जान आउन यसै किल्लाको बाटो भएर जानु पर्ने भएकोले, चन्द्रागिरि, कुलेखानी, भीमफेदी, हेटौंडा, वीरगन्ज, रक्सौल समेत जाने एकमात्र बाटो यही रहेकाले र देश भित्र शत्रुहरूको घुसपैठ नहोस् भन्नाका लागि बडाहाकिम मार्फत चेक जाँच र अनुमति पत्र लिएर मात्रै राजधानी प्रवेश पाइन्थ्यो ।
इतिहास:
नेपालको इतिहासमा ढुंगेगढी, मकवानपुरगढी, सिमभञ्ज्यांग गढी, कान्द्रांग गढी, उपरदांग गढी पहिलो अङ्ग्रेज युद्धको लागि किल्ला बनेका पाइन्छन् भने चिसापानी गढी दोस्रो अङ्ग्रेज युद्धको लागि अङ्ग्रेजलाई प्रवेश रोक्ने किल्लाको रूपमा बनाइएको पाइन्छ । विक्रम सम्वत १८०१ सालमा मकवानपुरमा राज्य गरेर बसेका सेन राजाको पहलमा नजिकैका महत गाउँका बासिन्दाले गढीको निर्माण गरेका थिए । चिसापानी गढीको कारणले नै दोस्रोपटक युद्ध गर्न आएका अङ्ग्रेजहरू यस क्षेत्रमा आउन नसकेर सिमभन्ज्याङतर्फ मोडिन बाध्य भएको इतिहास पाइन्छ ।
इतिहासकाका अनुसार, नेपाल अङ्ग्रेज युद्धको बेला सन् १८१४ देखि सन् १८१६ को समय अर्थात् विक्रम सम्वत १८७१ देखि १८७३ को समयमा देशको सुरक्षाको लागि राखिएको हो । सेन राजवंशको नियन्त्रणमा रहेको यस गढीलाई गोर्खा राज्य (पछि नेपाल अधिराज्य) ले मकवानपुर कब्जा गरेसँगै उनीहरूले सैन्य, प्रशासनिक, व्यापार र अध्यागमन उद्देश्य पूर्तिको लागि प्रयोगमा आयो ।
यस गढी काठमाडौं उपत्यकामा आर्थिक नाकाबन्दी लगाउन श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहद्वारा प्रयोगमा आएकाले पनि यसको ऐतिहासिक महत्त्व छ । त्रिभुवन राजपथको निर्माणपूर्व उपत्यका र तराई जोड्ने मूल नाकाका रूपमा ख्याति कमाएको व्यापारिक केन्द्र भीमफेदी तत्कालीन समयमा जङ्गली सवारीको प्रयोगमा ल्याइने हात्तीहरू सुरक्षित राख्न निर्माण गरिएको हात्तीसार र हात्तीचढीसम्बन्धी अन्य सामग्रीहरू आज इतिहास प्रतिबिम्बित हुने सङ्ग्रहालय बन्न गएको छ । तत्कालीन बेलायतकी महारानीलगायत विशिष्ट पाहुनाको स्वागत सत्कार र सवारीमा प्रयोग गरिने विभिन्न दर्जाका हौदाहरू अवलोकनीय छन् ।
किल्ला भित्रैबाट पानी र थप हतियार ल्याउनका लागि सुरुङ तयार गरिएको छ । सुरुङ समेतमा भर्याङका खुड्किला बनाउँदा सहज हुन्छ भन्ने सोचिएको देखिन्छ । यस्तो विकट स्थानमा रहेको किल्लामा बस्ने नेपाली फौजका लागि पर्याप्त पानीको सुविधा रहोस् भन्नाका लागि इनार समेत खनिएको थियो, यो इनार पनि अवलोकनयोग्य वस्तु हो।
कसरी पुग्ने ?
मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीबाट माथि उकालो लागेपछि चिसापानी गढी पुगिन्छ । भीमफेदी बजारभन्दा केही माथि र देउराली डाँडाको मुनिपट्टि भागमा अवस्थित यस गढी हेटौंडाबाट २९ किमी उत्तर र काठमाडौंबाट ४८ किमीको दूरीमा रहेको छ ।