शनिबार , अषोज ३, २०८३

रुपन्देहीमा डेंगीको संक्रमण बढ्दै, सावधानी अपनाउन आग्रह

image

रुपन्देहीमा डेंगीको संक्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा यो वर्ष डेंगीका बिरामी धेरै देखिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा २ सय ६९ डेंगीका बिरामी भेटिएका थिए । गत आर्थिक वर्षमा ४६ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।

जिल्लामा २०६७ देखि डेंगीको समस्या देखिएको हो । २०६७/६८ मा २ सय ९० जनामा डेंगीको संक्रमण देखिएको थियो । आव २०७६/७७ मा यो सङ्ख्या बढेर दुई हजार नौ सय ३० पुगेको थियो । यो सङ्ख्या गत वर्ष घटेर ४६ मा झरेको थियो । अहिले पुनः बढ्दै गएकाले नियन्त्रण र रोकथामका लागि सबैको सक्रियता आवश्यक रहेको शाह बताउँछन् ।

डेंगीको रोकथामका लागि लार्भा नष्ट गर्ने अभियान उपयुक्त हुने उनको भनाइ छ । डेंगीको संक्रमण बढ्दै गए पनि फेयरमेट फाउन्डेसन नेपाल र इन्द्रेणी सामुदायिक केन्द्रको सहयोगमा बुटवल उपमहानगरपालिकाले बुधबार बुटवलमा डेंगी रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण कार्यक्रममा डेंगीको अवस्थाबारे जानकारी गराउँदै शाहले समयमै नियन्त्रण नगरे यसले महामारीको रूप लिनसक्ने बताए ।

‘खोप छैन, त्यसैले जोखिम छ । घरमा पानी जम्ने ठाउँ छ भने सफा राख्नुपर्छ  । लामखुट्टेको टोकाइबाट बच्नुपर्छ’, उनले भने । डेंगीको संक्रमण बढ्दै गएपछि बुटवल उपमहानगरपालिकले अभियान सुरु गरेको छ । उपमहानगरका सबै वडामा डेंगी नियन्त्रणका लागि सचेतनामूलक अभियान थालेको उपमहानगर प्रमुख खेलराज पाण्डेले बताए । अभियानअन्तर्गत समूह समूहमा लार्भा खोज र नष्ट गर अभियान, क्लोरिनको झोल स्प्रे गर्ने तथा पर्चा पम्पेटिङ वितरणको काम हुने उनको भनाइ छ ।

विपद् व्यवस्थापन समितिको अगुवाइमा स्वास्थ्यकर्मीको साथ लिएर टोलटोलमा कार्यक्रम चलाउन थालिएको उपप्रमुख सावित्रादेवी अर्याल बताउँछिन् । यो एक सरुवा रोग भएकाले महामारीको रूप लिन नदिननन सबै सचेत हुनुपर्नेमा उनको जोड छ । यसको संक्रमणले ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी तथा माँसपेशी दुख्ने, आलस्य हुने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुनेजस्ता लक्षण देखापर्छन् ।

Tags:

सम्बन्धित समाचार