एउटा सिङ्गो परेवाको मसालेदार ग्रेभीलाई ४०० रुपैयाँ लिइने गरिएको छ । ढलाइको परेवा पसलमा हातले पिसेको मसला प्रयोग गरिन्छ ।
काठमाडौंबाट सिन्धुली-बर्दिबास हुँदै या मुग्लिङ सडकखण्ड प्रयोग गरेर सप्तरीको भारदह पुग्न सकिन्छ । भारदह चौकबाट दाहिने मोडिएर केही मिनेट यात्रा गरेपछि हनुमाननगर पुगिन्छ । पूर्वबाट आउँदा भने चौकबाट देब्रे मोडिनुपर्छ । हनुमाननगर चोक नपुग्दै (चौकबाट १०० मिटर वर) दाहिनेतिर हेर्ने हो भने एक विशेष रेस्टुराँ ‘ढलाइको परेवा पसल’ देख्न सकिन्छ ।
पसलभित्र प्रवेश गरेपछि ठुलो कराइमा मसालेदार परेवा पाकिरहेको छ । सिङ्गै परेवालाई घरेलु मसला प्रयोग गरी हेर्दै खाउँ-खाउँ लाग्ने तरिकाले पकाइरहेको देख्दा मुखै रसाउँछ । तात्तातो परेवाको सो परिकार भात या भुजासँग मगाएर तृप्तता लिन सकिन्छ ।
यसको सुरुआत के-कसरी भयो भन्ने कौतुहलता पक्कै मनमा जाग्नेछ, पहिला त्यो मेटाऔँ ।
गाउँघरमा सजिलैसँग परेवा पाउने हुनाले परेवाको परिकार बनाउनु र खानु सामान्य थियो । गाउँलेहरूले ‘सिङ्गै परेवाको केही परिकार बनाऊ न’ भनेर ढलाइलाई भनिरहन्थे । स्थानीयहरूले ‘ढलाइ’ भनेर चिन्ने उनको वास्तविक नाम जय प्रकाश दास रहेको छ । गाउँलेहरूको इच्छा बमोजिम उनीहरूलाई चखाउन ढलाइले सुरुआती दिनहरूमा ४/५ सिङ्गो परेवाको परिकार बनाए । र, त्यसको अद्भुत स्वाद गाउँलेको जिब्रोमा झुन्डियो या भनौँ ढलाइको परेवाको यो परिकारले सबैलाई मन्त्रमुग्ध बनायो ।
ढलाइको सिङ्गै परेवाको उक्त परिकार गाउँलेमाझ मात्र सीमित रहेन । ढलाइको परेवा समयसँगै एककान, दुईकान हुँदै ठुलो मैदानसम्म पुग्यो । पूर्वदेखि पश्चिमसम्मका मान्छेहरू उनको परेवा पसल खोज्दै आउन थाले । अहिले काठमाडौं, पोखरा लगायत टाढा-टाढाका ठाउँबाट मानिसहरू उनको परेवाको परिकार खान आउने गरेका छन् । त्यति मात्रै होइन भारतका विभिन्न स्थानबाट खानाका पारखीहरू उनको पसल पुग्ने गरेका छन् ।
करिब १४/१५ वर्षअघि ढलाइले सप्तरीको हनुमाननगर चौकमा परेवा पसल थालेका थिए । उनी परेवाको विभिन्न खाले परिकार घरमा बनाएर खाने गर्थे । घरकै पाककलालाई उनले व्यवसायीकरण गरेका हुन् । एउटा सिङ्गो परेवाको मसालेदार ग्रेभीलाई ४०० रुपैयाँ लिइने गरिएको छ । ढलाइको परेवा पसलमा हातले पिसेको मसला प्रयोग गरिन्छ । उनले यो मसलामा के-के प्रयोग गरिन्छ भन्ने कुराको जानकारी दिन नमिल्ने बताए । अहिले पनि सो मसला ढलाइ स्वयम् या उनका दुई छोराले तयार गर्ने गर्छन् । परेवा पकाउन पनि उनीहरू स्वयम् खट्ने गरेका छन् । ढलाइ र उनका छोरा एकै स्वरमा भन्छन् ‘बनाउने तरिका हामी कसैलाई भन्दैनौँ ।’
गाउँघरमा पालिएको परेवाको यो परिकार बनाउने तरिका उनले आफ्ना छोरा बाहेक कसैलाई बताएका छैनन् । एक पटक आफ्नो पसलको परेवा खाएका ग्राहकहरू फर्की-फर्की आउने गरेको ढलाइले सुनाए । कतिपय यात्रुहरू टाढा-टाढाबाट प्याकिङ लिन समेत उनको पसल आउने गरेका छन् ।
जयप्रकाश दास र उनका दुई छोराले पसलबाट राम्रो आम्दानी गरिरहेका छन् । पसल थाप्नु अघि ढलाइ गाडीमा कन्टेकटरको काम गर्ने गर्थे । सो काममा मन नलागेपछि उनले थोरै क्षमताको सानो पसल राखे । करिब ५ हजारको लगानीमा सुरु गरिएको सो पसलमा अहिले दैनिक रूपमा ३०/४० हजारको व्यापार हुने गरेको छ । पसलमा ५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
ढलाइले आफ्नो पाककलाद्वारा हनुमाननगरको पर्यटनमा सहयोग गरिरहेका छन् । उनको पाककलाबाट आकर्षित भएर पनि कतिपय पर्यटकहरू हनुमाननगर पुग्ने गरेका छन् । प्रत्यक्ष रूपमा नदेखिए तापनि अप्रत्यक्ष रूपमा उनले पर्यटक आकर्षित गरिरहेका छन् ।
ग्राहकहरूलाई के भन्नु हुन्छ भनेर सोध्दा उनी भन्छन्, ‘एकपटक मेरो परेवाको स्वाद पाइसकेका ग्राहकलाई मैले केही भनिरहनै पर्दैन । उनीहरू आफैँ आउँछन् । नखाएकाहरूलाई भने समय मिलाएर हाम्रो पसलमा आउन आग्रह गर्न चाहन्छु ।’
हनुमाननगरमा अरू पनि परेवाका पसलहरू रहेका छन् तर ढलाइ आफ्नो पसल सबैभन्दा पुरानो रहेको दाबी गर्छन् । उनी भन्छन्, ‘यहाँ आएर स्वाद लिइसकेपछि थाह भइहाल्छ, कुन पसल पुरानो हो र कहाँको परेवा स्वादिलो हुन्छ ।’
राजविराजबाट विराटनगर हिँडेका एक जना ग्राहकले आफू त्यहाँको परेवासँग भात खानका लागि घरबाट खाना नखाई हिँड्ने गरेको बताए । उनी प्रत्येक पटक आउँदा-जाँदा ढलाइको परेवा नखाई अघि बढ्दैनन् ।
अहिले सानो क्षेत्रफलमा रहेको ढलाइको परेवा पसल चाडै एसी रूम, क्याबिन सहित सुविधा सम्पन्न रूपमा प्रस्तुत हुने जानकारी ढलाइका छोरा रुपेश कुमार दासले दिए । परेवा पसल गरेरै जग्गा जोडेको र निकट भविष्यमा सोही जग्गामा पसल राख्ने उनले सुनाए ।