शनिबार , फागुण १९, २०८०

धरान एक रमणिय सहर

image

धरान उपमहानगरपालिकाका दस्तावेजमा एउटा नारा लेख्ने गरिएको छ, ‘शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक, आवासीय समृद्ध शहर।’

यही नारालाई दीर्घकालीन विकास लक्ष्य भन्न थालिएको पनि दशकौं भइसक्यो। आर्थिक वर्ष २०५६/५७ मा तत्कालीन धरान नगरपालिकाको तेस्रो नगर परिषद्बाट ‘धरानलाई दुई दशकभित्रमा शिक्षा, स्वास्थ्य र पर्यटनको पूर्वाधारयुक्त शहरका रूपमा विकास गर्नुका साथै सांस्कृतिक केन्द्र बनाउने’ दीर्घकालीन दृष्टिकोण तय गरिएको थियो। त्यसपछि दीर्घकालीन लक्ष्यमा यो नाराले अझ प्राथमिकता पायो। तर, यथार्थमा धरान विकासको गतिमा ओरालो यात्रा हिंडिरहेको छ। आफ्नै गर्विलो इतिहास भुलेर रुमलिएको छ।

२०५७ सालमा धरान सय वर्ष पुगेको घोषणा गर्दै ‘शतवार्षिक महोत्सव’ मनाइएको थियो। त्यसैलाई आधार बनाएर यस पटक धरान स्थापनाको १२१ वर्ष भनेर तीन दिन मेला आयोजना गरियो। धरानको हालको मुख्य बजार विस्तार भएको शताब्दी नाघेको सत्य हो। तर, यसलाई नै समग्र धरानको इतिहास मान्न सकिंदैन।

धरानको सबैभन्दा पुरानो बस्ती हो, विजयपुर। आजभन्दा करीब ५०० वर्षअघि नै विजयपुरमा बस्ती रहेका आधारहरू भेटिन्छन्। विजयपुर क्षेत्रमा कुनै समय किरात राज्य रहेको विभिन्न इतिहासकारले लेखेका छन्। अहिले पनि यो क्षेत्रमा दरबार र पुराना घरका अवशेष तथा विभिन्न पुरातात्त्विक वस्तु पाइन्छन्।

विजयपुरमा दन्तकाली, बूढासुब्बा र पिण्डेश्वर मन्दिर छन्। दन्तकाली मन्दिरका आठौं पुस्ताका पुजारी विश्वराज खनालसँग १८६८ सालमा राजा गीर्वाणयुद्ध विक्रम शाहले उनका पुर्खा तुलाराम खनाललाई दिएका ताम्रपत्र, लालमोहर अझै सुरक्षित छन्। ताम्रपत्रमा खनालहरूले सेनका पालादेखि पुजारीको काम गरिआएको उल्लेख छ। विश्वराजको भनाइमा उनका पुर्खा विजयपुरमा १५०२ सालतिर आएका हुन्। विजयपुरमा हाल खनालका दशौं पुस्ता भइसकेका छन्। यसबाट पनि धरानको इतिहास १२१ वर्ष मात्र होइन भन्ने प्रष्ट हुन्छ।

कुनै समय सालघारीका रूपमा रहेको धरानमा १९५० सालपछि फँडानी भएको थियो। त्यति वेला गंगाप्रसाद श्रेष्ठ र माल अड्डाका सुब्बा रत्नप्रसाद श्रेष्ठले राणाहरूबाट रूख काट्ने जिम्मा पाएका थिए। उनीहरूले काठ काट्न सजिलोका लागि जङ्गलभरि धरान (काठ चिर्न बनाइएको अड्याउने टाँड) बनाएका थिए। काटिएका सालका काठ इस्ट इन्डिया कम्पनीले रेल्वेलाइन विस्तार गर्न लगेको थियो (स्रोतः सुब्बा रत्नप्रसादका नाति मुकुल कायस्थ)। काठ चिर्न बनाइएको धरानबाट नै अन्ततः बस्तीको नाम ‘धरान’ रहन गएको पाइन्छ।

१९५९ सालमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराले बस्ती बसाएको ‘चन्द्रनगर’ (हालको पुरानो बजार) र १९९० तिर श्री ३ जुद्धशमशेरले बस्ती बसाएको ‘जुद्धनगर’ (हालको मुख्य बजार) नै धरानको आधुनिक रूप हो। यसैलाई आधार बनाएर धरानको इतिहास १२१ वर्ष भनेर प्रचार गरिंदा विजयपुरको इतिहास बिर्सिइँदै गएको छ, जसका कारण नयाँ पुस्ताले गलत इतिहास बुझिरहेको छ।

सुस्ताएको शहर

धरानमा २०१० सालमा आवादी बढ्न थाल्यो। पूर्वी पहाडका युवालाई सेनामा भर्ना गराउन यहाँ ब्रिटिश गोर्खा भर्ती केन्द्र (घोपा क्याम्प) स्थापना भएपछि बसोबास बढ्दै गएको हो। त्यसपछि पूर्वी पहाड र तराई जोड्ने पुल बन्यो, धरान। २००३ सालमा छात्रका लागि पब्लिक हाइस्कूल र २००५ मा छात्राका लागि शारदा बालिका स्कूल खुल्यो। त्यसपछि अन्य शैक्षिक संस्थाहरू पनि स्थापना हुँदै गए। पूर्वी पहाडका लागि यो शैक्षिक केन्द्रका रूपमा विकास भयो। पूर्वी पहाडका ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर, धनकुटा लगायत जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रूपमा पनि विकास भयो।

२०१८ सालमा नेपाल १४ अञ्चल ७५ जिल्लामा विभाजित गरिंदा धरान कोशी अञ्चलको सदरमुकाम घोषणा भएको थियो। यहाँ अञ्चल र क्षेत्रीय स्तरका सरकारी कार्यालयहरू थिए। क्षेत्रीय शिक्षा निर्देशनालय, क्षेत्रीय प्रशासन कार्यालय, क्षेत्रीय खाद्य प्रयोगशाला, प्रमाणपत्र तहसम्म अध्ययन हुने चिकित्सा अध्ययन प्रतिष्ठान, यातायातको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्यालय, बागमतीदेखि पूर्वको हावापानी निगरानी गर्ने कोशी बेसिन, अञ्चल अदालत, वाणिज्य ब्यांकको क्षेत्रीय कार्यालय, कृषि विकास ब्यांकको क्षेत्रीय कार्यालय र क्षेत्रीय अस्पताल लगायत भएकाले धरान पूर्वी नेपालको प्रशासनिक केन्द्र पनि थियो।

पञ्चायतकालमा राजा महेन्द्रले धरानलाई कोशी अञ्चलको सदरमुकाम बनाएका थिए, तर पञ्चायत ढलेसँगै अञ्चल सदरमुकाम ओझेल पर्‍यो। पञ्चायतकालमै पनि धनकुटाका सूर्यबहादुर थापा शक्तिशाली रहेका वेला धरानका कार्यालय धनकुटा सारिए। प्रजातन्त्र पुनःस्थापनापछिका दिनमा त झन् धरानलाई उजाड बनाइयो। २०४० सालमा क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटा सारियो। गोर्खा भर्ती केन्द्र २०४६ सालतिरै पोखरा सरेपछि त्यसको असर पनि धरानमा पर्‍यो। २०४६ सालको राजनीतिक परिवर्तनपछि क्रमश: धरानका भएभरका क्षेत्रीय र अञ्चल स्तरीय कार्यालयहरू विराटनगर सारिए।

२०४९ सालमा अञ्चल अदालत विराटनगर सारियो। २०५० सालमा राष्ट्रिय वाणिज्य ब्यांकको क्षेत्रीय कार्यालय पनि विराटनगर लगियो। २०५० मा क्षेत्रीय अस्पताल कोशी अञ्चल अस्पताल विराटनगरमा लगेर गाभियो। २०५५ सालमा पूर्वाञ्चल खाद्य प्रयोगशाला विराटनगर सारियो। त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र तहसम्म पढाइ हुने मेडिसिन कलेज काठमाडौंको महाराजगञ्ज सारियो। त्यसपछि पनि सरकारी कार्यालय सार्ने क्रम रोकिएन। धरानमा रहेको यातायात कार्यालय इटहरी सारियो भने नेपाली सेनाको बाहिनी पनि इटहरीस्थित पूर्वी पृतनामा लगेर गाभियो।

२०४५ सालको भूकम्पले सबैभन्दा बढी क्षति गरेकाे उपत्यकावाहिर धरानमै थियाे । यही माैकामा पनि धरानमा भएका सरकारी कार्यालय सारियाे ।

धरानको विकास सुस्त हुन पुग्यो। त्यसपछि याे शहरलाई ‘मृत शहर’ पनि भन्न थालियाे ।

धरानलाई ‘मृत शहर’ बनाउन भूमिका खेल्ने राजनीतिक दलहरू थिए र उनीहरूले त्यसो गर्नुको कारण राजनीतिक रिसइबी थियो। किनभने, धरान सधैं केन्द्रीय राजनीतिको विपरीत चल्यो। २०३६ सालको जनमत सङ्ग्रहमा निर्दलले जितेका वेला धरान बहुदलको पक्षमा थियो। पञ्चायत हाेश् या बहुदल, संसदीय हाेस् या स्थानीय, धरान जहिल्यै कम्युनिष्टको ‘लाल किल्ला’ बन्यो। यसरी राजनीतिक मूलधारको विपरीत बहने धरान अहिले पनि राजनीतिक रूपमा स्थिर छैन। राजनीतिक दलहरूमा आशालाग्दा अनुहार देखिन सकेका छैनन्। राजनीतिमा माथिल्लो तहमा पहुँच भएका नेता उत्पादन गर्न नसक्दा धरान गतिहीन शहर बनिरहेको छ।

विकासमा विवाद

पहिला गोर्खा भर्ती केन्द्र रहेको स्थानमा २०५० सालमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि भने धरान ‘मृत शहर’ बाट बौरियो। धरानलाई जीवन दिने प्रतिष्ठान राजनीतिक खिचातानीको शिकार भएर अहिले आफैं अस्तव्यस्त छ। दलका कार्यकर्ताको भर्ती केन्द्र जस्तो बनेको प्रतिष्ठान अनियमितता र भ्रष्टाचारबाट थलिएको छ।

बीपी प्रतिष्ठान मात्र होइन, अहिले समग्र धरानै अस्तव्यस्त छ। करीब रु.२ अर्ब लगानीमा शुरू भएको धरान खानेपानी आयोजना विवादकै बीच शुरू त भयो, तर यसले लक्ष्य अनुसार काम गरेको छैन। खानेपानी आयोजनामा अनियमितता भएको भन्दै धरानवासीले लामो समय आन्दोलन गरे। धरानमा व्यवस्थित बसपार्कको अभाव भएको दुई दशक भइसक्यो। धरान–८ मा बसपार्क सहितको तीनकुने सुन्दर बस्ती विकास आयोजना दशकअघि नै शुरू भएको थियो, तर उपमहानगरपालिकाकै कर्मचारी र नेताहरूले आयोजनाको जग्गा आफ्नो नाममा पारेपछि विवाद शुरू भयो। बल्लतल्ल बसपार्क योजना त शुरू भएको छ, तर कहिले निर्माण हुने हो टुङ्गो छैन।

धरानमा विमानस्थल बनाउने भनेर स्थानीयको जग्गा सस्तो दाममा नगरपालिकाकै दबाबमा निजी कम्पनीलाई किनाइयो, तर हालसम्म विमानस्थल बनाउने टुङ्गो छैन।

धरानको अहिलेको प्रमुख समस्या हो, दूर दृष्टिकोण भएको नेतृत्वको अभाव। धरान उपमहानगरको नेतृत्वमा त्यस्तो दृष्टिकोण भएको व्यक्ति आउन सकेका छैनन्। दलहरूका स्थानीय नेताहरूमा पनि धरानको भविष्य कस्तो बनाउने भन्ने स्पष्ट दृष्टिकोण छैन। सबल नेतृत्वको खडेरीले उपमहानगरको दीर्घकालीन लक्ष्य नारामै सीमित बनेको छ।

कुनै समय धरानलाई विकासको नमूना नगरका रूपमा चिनिन्थ्यो। स्थानीय निकाय र समुदाय मिलेर सडक निर्माण गर्ने काम देशमै उदाहरणीय बन्यो। तर, एक दशकयता विकासमा नाममा विवादै विवाद उत्पन्न भएको शहर बनिरहेको छ। लाहुरे समुदायको बाक्लो बसोबास रहेको धरानमा विकासका काममा पनि उनीहरू अग्रसर थिए। केही समययता लाहुरे समुदाय बेलायततिरै बसाइ सरेसँगै त्यसको असर पनि धरानका विकासमा देखिएको छ।

धरानका हरेक ठूला विकास आयोजना विवादमा पर्नु, स्थानीयले नकारात्मक दृष्टिले हेर्नुमा यहाँका जनप्रतिनिधि र कर्मचारीहरूले यस्ता आयोजनालाई समग्र नगरको भन्दा व्यक्तिगत फाइदाका नजरले हेर्ने प्रवृत्ति कारक देखिएको छ।

नचिनिएको सौम्य शक्ति

राजनीतिक तथा आर्थिक रूपमा कमजोर धरान कला, संस्कृति, साहित्य र खेलकुद जस्ता सौम्य शक्ति (सफ्ट पावर) मा सबल छ। तर, आफ्नै सौम्य शक्तिलाई पहिचान र उपयोग गर्न नसक्दा धरान चमक हराएको शहर बनिरहेको छ। राज्यले नै सौम्य शक्तिलाई अनुत्पादक क्षेत्र मान्ने प्रवृत्तिले पनि धरान जस्ता सौम्य शक्तिमा सम्पन्न शहरहरू गतिहीन बन्न पुगेका छन्।

धरानमा १९८० सालको दशकबाटै लिखित साहित्यको विकास भएको विभिन्न दस्तावेजबाट बुझ्न सकिन्छ। २००६ सालमा धरानका साहित्यप्रेमीहरूको सक्रियतामा पब्लिक हाइस्कूलबाट हस्तलिखित पत्रिका छात्र धाराको प्रकाशन शुरू भएको थियो। त्यसपछि धेरै वटा साहित्यिक पत्रिका प्रकाशन भए, धेरै साहित्यिक संस्था स्थापना भए। यही साहित्यिक जगबाट छविलाल पोखरेल, कृष्ण पाख्रिन, नरेश शाक्य, कुन्ता शर्मा, वेणु आचार्य, बम देवान, गोविन्द विकल, शिवशंकर थापा, जनार्दन आचार्य, बद्री पलिखे, आनन्ददेव भट्ट, कालीप्रसाद रिजाल जस्ता थुप्रै साहित्यकार स्थापित भए। नयाँ पुस्तामा पनि यसको प्रभाव छ।

धरानमा २००४ सालमै सार्वजनिक पुस्तकालय खुलेको थियो। त्यसपछि खुलेका झण्डै दुई दर्जन पुस्तकालयमध्ये अहिले आधा दर्जन जति अस्तित्वमा छन्। धरानमा साहित्यकारकै नामबाट भानु चोक, लक्ष्मी चोक, लेखनाथ चोक जस्ता चोकहरू छन्। यसबाट पनि धरानको साहित्यप्रतिको लगाव बुझ्न सकिन्छ। यो धरानको शक्ति र विशिष्टता हो।

गीत-सङ्गीतका क्षेत्रमा पनि धरानको बलियो पहिचान छ। पूर्वी पहाडको प्रमुख व्यापारिक केन्द्र रहेको बखत धरानमा त्यस वेला हाटबजारमा रातभर नाचगान हुने गरेको पाइन्छ। त्यहींबाट यहाँको गीतसङ्गीत विकसित हुँदै गयो।

२०२० सालको दशकदेखि भने धरानको सङ्गीतले गति लियो। धरानको यही साङ्गीतिक माहोलबाट उठेका दीप श्रेष्ठ अहिले नेपाली सङ्गीत क्षेत्रमा ‘लिभिङ लिजेन्ड’ का रूपमा परिचित छन्। धरानमै बसेर राल्फा समूहका रामेश, मञ्जुल, अरिमहरूले २०३२ देखि ३६ सालसम्म ‘गाउँगाउँबाट उठ’ जस्ता आफ्ना कालजयी जनवादी गीतहरू सिर्जना गरे। जेबी टुहुरेले ‘आमा दिदीबहिनी हो’ सिर्जना गरे। त्यही माहोलबाट शम्भु राई, लोचन भट्टराईहरु पनि जन्मिए। युवा पुस्ताले मन पराएका सविन राई, दीपक लिम्बू, शिव लामिछानेहरूको साङ्गीतिक धरातल धरानै हो।

रङ्गमञ्चमा पनि धरानको बेग्लै पहिचान छ। २००४ सालबाटै धरानमा नाटक मञ्चन हुन थालेको पाइन्छ। त्यस वेला हिन्दी नाटकहरू, रामायण, रामलीला प्रदर्शन गरिन्थे। २००७ सालको क्रान्तिपछि नेपाली नाटक प्रदर्शनको लहर चल्यो। २०१० सालताका कालीप्रसाद रिजाल, चन्द्रशेखर श्रेष्ठ लगायतले नाटक प्रदर्शन गर्थे।

बिस्तारै धरानमा एक दर्जन हाराहारी नाट्य संस्थाहरू खुले। धराने रङ्गमञ्चले धेरै कलाकार, निर्देशक उत्पादन गर्‍यो। धरानको रङ्गकर्मबाट माथि उठेका नवीन सुब्बा अहिले देशमै अलग धारका निर्देशकका रूपमा चिनिन्छन्। यही क्षेत्रमा व्यावसायिक बन्न नसक्दा धेरै कलाकार बीचमै पलायन भए, कोही काठमाडौं र कोही विदेशतिर लागे। अझै पनि धरानमा केही रङ्गकर्मीहरू सक्रिय छन्। तर, रङ्गमञ्चमा धरानको सौम्य शक्ति यहाँका स्थानीय सरकार र राजनीतिक दलले चिन्न सकेका छैनन्। कला, साहित्यको विकासका नाममा धरान उपमहानगरपालिकाले ‘धरान प्रज्ञा–प्रतिष्ठान’ स्थापना गरेको छ। तर, यसमा विषय विज्ञभन्दा पनि दलका कार्यकर्ता भर्ती गरिंदा कला, साहित्यमा ठोस कुराभन्दा कर्मकाण्डी गतिविधि भइरहेको छ।

खेल क्षेत्र पनि धरानको गतिलो सौम्य शक्ति हो। सितेरियो कराते खेल त नेपालमा धरानबाटै शुरू भएको मानिन्छ। शुरूमा प्रहरी र सेनाले मात्र सिक्न पाउने कराते सर्वसाधारणका लागि प्रतिबन्धित थियो। २०३३ सालताका सिंगापुरबाट कराते सिकेर आएका थानेश्वर राईले जंगल र खोलाको किनारमा लुकेर कराते सिकाउँथे। २०३९ सालमा मात्र सरकारले मान्यता दिएको थियो।

धरानका थुप्रै कराते खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गरेका छन्। बक्सिङ खेल्नेहरू पनि धरानमा पहिल्यैदेखि थिए। धरानकै नरेन्द्र पोमो बक्सिङबाट ओलम्पिकमा समेत सहभागी भए। अहिले पनि बक्सिङका प्रशिक्षक किशोर सम्बाहाम्फे नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत प्रशिक्षकका रूपमा सहभागी भइरहेका छन्।

गल्फमा पनि धरान सम्पन्न छ। धरानमा ब्रिटिश क्याम्प रहेका वेला सन् १९६० तिरै १८ होलको गल्फ कोर्स स्थापना भएको थियो। हालसम्म पनि यो कोर्समा विभिन्न प्रतियोगिता भइरहेका छन्। यहाँबाट उत्पादित गल्फ खेलाडीहरू राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा काम गरिरहेका छन्। यहींबाट गल्फर बनेका रिठ्ठे सापकोटा र उनका छोरा सविन सापकोटा अहिले जर्मनीमा गल्फ प्रशिक्षक छन्। यही कोर्समा क्याडी बाेईबाट शुरू गरेका युवा गल्फर शुक्रबहादुर राई अहिलेका नेपालकै नम्बर १ गल्फर बनेका छन्।

क्रिकेटमा पनि धरानेहरूको लगाव छ। यहाँ २०१६ सालतिरै तत्कालीन ब्रिटिश क्याम्पका कर्मचारी र धरानका स्थानीयबीच क्रिकेट प्रतियोगिता हुन्थ्यो। २०५३ सालमा सुनसरी क्रिकेट संघ स्थापना भएपछि धेरै खेलाडी उत्पादन भए। उनीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा खेलेका थिए। तर, व्यावसायिक बन्न नसक्दा यसले गति लिन सकेन।

बडी बिल्डिङमा पनि धरान अग्रस्थानमा आउँछ। धरानमा नेपालमै पहिलो पटक २०२७ सालमा शारीरिक सुगठन प्रतियोगिता भएको थियो। बडी बिल्डिङका स्थानीय, क्षेत्रीय र राष्ट्रिय प्रतियोगिताहरूमा धराने खेलाडीको उपस्थिति उल्लेख्य छ। फूटबलमा पनि धरानको बलियो उपस्थिति छ। धरानबाट उत्पादित खेलाडीहरू अहिले पनि देशका धेरै वटा क्लबमा आबद्ध छन्। राष्ट्रिय टीमको प्रशिक्षक रहिसकेका राजुकाजी शाक्य धरानकै उत्पादन हुन्। धरानमा २०५५ सालदेखि दक्षिण एशियाका क्लबहरू समेत सहभागि बुढासुब्बा गोल्डकप भइरहेको छ।

फेशन, सांस्कृतिक विविधता पनि धरानका सौम्य शक्तिका स्रोत हुन्। तर, धरानले कला, संगीत, रङ्गकर्म, साहित्य, खेलकुद जस्ता क्षेत्रलाई विकास मान्न सकेको छैन। यी क्षेत्रमा सशक्त उपस्थिति भएर पनि यसलाई शक्ति मान्न सकेको छैन। त्यसैले धरानलाई आफ्नै इतिहास सम्झाइदिने, आफ्नै शक्ति बुझाइदिने नेतृत्व चाहिएको छ। – गोपाल दाहाल

Tags:

सम्बन्धित समाचार