शुक्रबार , फागुण १८, २०८०

धर्तीको स्वर्ग रारा : कहाँबाट जाने ? कति लाग्छ खर्च ?

सार्वजनिक सवारी प्रयोग गरेर पनि रारा जान सकिन्छ । केही वर्ष अगाडीसम्म सुर्खेतबाट हिँडेर १० दिनमा रारा पुगिन्थ्यो । तर, अहिले रारा जान १० दिन हिँड्न पर्ने अवस्था छैन ।

image

कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो । रारा तालले मौसम अनुसार दिनमै चार पाँच चोटि रङ्ग फेर्छ। त्यही रङ्ग फेर्ने रारा तालको पानीको रङ्गमा मिसिन आइपुग्छ, सिन्जे र कान्जिरोवा हिमालको छायाँ । रारा वरपर आन्तरिक पर्यटक हिउँमा रमाउने फोटो खिच्ने हिउँसँग लुकामारी गर्ने गरेका छन् । राजा महेन्द्रले ‘अप्सरा’ नाम दिएपछि राराको झन् महत्त्व बढ्दै गएको पुरानो किम्बदन्ती छ ।

आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको मुगु जिल्लामा अवस्थित रारा ताल समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको छ । सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको यो ताल १०.८ किलोमिटर क्षेत्रफलमा फैलिएर रहेको छ । तालको औसत लम्बाइ ५ किलोमिटर , चौडा ३ किलोमिटर र गहिराइ १६७ मिटर छ ।

तस्बीर सौजन्य : नेपाली टाइम्स, भरतबन्धु थापा

रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र २७२ प्रजातिका चराचुरुंगी पाइन्छन् । यो तालमा विश्वमै कहीँ पनि नभेटिने ‘स्नो टाउट’ प्रजातिको माछा पाइन्छ । रारा ताल रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले रारासम्म सवारी साधन प्रवेश निषेध छ । मिली चौरमा सवारी साधन रोकेर रारा तालतर्फ पैदल यात्रा गर्नु पर्छ । तर, पैदल यात्रा गर्न नसक्नेहरुका लागि घोडाहरूको व्यवस्था छ ।

नेपालको सबैभन्दा ठूलो ताल हो, रारा । रारा राष्ट्रिय निकुञ्ज भित्र पर्ने यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको छ । तर हिउँदको समयमा भने विगतमा रारामा खासै चहलपहल हुने गरेको थिएन । तर, गएको वर्षदेखि रारामा हिउँदको समयमा पनि आन्तरिक पर्यटक उल्लेखनीय रूपमा जान थालेका छन् ।

रारामा बस्ने ठाउँ छन् ?

 रारा ताल अवलोकनममा लागि विदेशी पर्यटकको खासै मन तान्न सकेको छैन । आन्तरिक पर्यटकले पनि सिजनको बेला सहजै बास पाउने अवस्था छैन । रारा तालको छेउमै डाँफे होटेल लगायत दुई वटा मात्रै बास बस्ने ठाउँ छ । भएका होटेलमा पनि प्रशस्त मात्रामा रुम छैन ।होटेलले आएका पाउनालाई पाल टाँगेर राख्ने गर्छ ।

कसरी जाने रारा ?

रारा जान हवाई, सवारीसाधन तथा स्थल मार्गको प्रयोग गर्न सकिन्छ ।

स्थल मार्ग हुँदै आफ्नै सवारी साधनमा जाने हो भने ताल नजिकैको सल्लाघारीमा गएर रोकिन्छ । आफ्नो सवारीमा सबैभन्दा बढीले अहिले मोटरसाइकल प्रयोग गर्ने गरेका छन् ।

रारा ताल जान पैदल यात्रीलाई सबैभन्दा सहज बाटो भनेको जुम्ला सदरमुकाम पुग्नु पर्छ । तर, जुम्ला सदरमुकाम नपुगी नाग्माबाट पनि सिञ्जा उपत्यका हुँदै जान सकिन्छ । जुम्ला सदरमुकामबाट करिब तीन घण्टाको हिँडाइमा डाँफेलेक पुग्न सकिन्छ । डाँफे लेक पुग्दा बिचमा पानी खान पाइने ठाउँ छैन । आफैले पानी बोक्नु पर्छ ।

डाँफे लेकबाट जुम्लाको ठूला ठूला पाटन देख्न सकिन्छ । पाटनमा भेडा चरेको मनोरम दृश्यले खुट्टा दुखेको अनुभव नै हुँदैन । डाँफे लेकबाट करिब एक घण्टाको हिँडाइमा जुम्लाको खालीचौर पाटन पुग्न सकिन्छ । जहाँ चिया नास्ताको लागि एक दुई वटा होटेल मात्रै छ । जहाँ जडीबुटी मसला चियाको स्वादमा चिया खान पाइन्छ ।

खालीचौरबाट बिस्तारै हिँड्दै हिँड्दै काभ्रा पुग्न सकिन्छ । काभ्रामा पडाडको ढिस्कामा खोपिएको स–सना पुरानै शैलीका घरहरू हेर्न पाइन्छ । त्यहाँबाट एक घण्टाको पैदल यात्रापछि जुम्लाको चौथा भन्ने ठाउँमा पुगिन्छ । त्यहाँबाट पनि एक घण्टाको उकालो हिँडेर जुम्लाकै भुलभुले पुगिन्छ । भुलभुलमा भने सवारी आवतजावत पनि राम्रै छ ।

भुलभुलपछि रारा राष्ट्रिय निकुञ्जको चेक पोस्ट सुरु हुन्छ । चेकपोस्टबाट करिब एक सय मिटर अगाडी बढ्ने बित्तिकै दुई वटा बाटाहरू आउँछन् । जहाँबाट गए पनि रारा पुग्न सकिन्छ । बायाँपट्टि लाग्दा अग्ला अग्ला डाँडा पार गर्दै रारा पुग्न सकिनछ । तर, अर्को बाटो लाग्दा भने झ्यारी भने ठाउँमा पुग्न सकिन्छ । झ्यारी पुग्न भने सहज बाटो छैन । जङ्गलको बाटो सिधै ओरालो झर्नु पर्छ । झ्यारीमा खाना नास्ताका लागि होटेल पनि पाइन्छ । झ्यारीबाट भने करिब तीन घण्टाको यात्रा पछि रारा नजिकैको पाटनमा पुग्न सकिन्छ ।

हवाई मार्गबाट जाँदा भने मुगुको ताल्चा विमानस्थलबाट करिब दुई घण्टा हिँडेपछि रारा ताल पुगिन्छ । हवाई मार्गबाट रारा पुग्ने भने दुई वटा विमानस्थल प्रयोग गर्न सकिन्छ । बाँकेको नेपालगञ्जस्थित राँजा विमानस्थलबाट र सुर्खेतबाट मुगुको ताल्चासम्मका लागि उडान भरिएको हुन्छ।

ताल्चा विमानस्थलमा उत्रिएपछि केही घण्टाको पैदल यात्रामा रारा पुग्न सकिन्छ । तर, काठमाडौंबाट नै हवाई यात्रा गर्ने हो भने दुई दिनमै रारा पुगेर काठमाडौं आउन सकिन्छ । काठमाडौंबाट बिहानको उडानमा नेपालगन्ज जाने र नेपालगन्जबाट फेरि ताल्चा विमानस्थल प्रयोग गर्न सकिन्छ ।

ताल्चाबाट भने दुई घण्टामा रारा पुग्न सकिन्छ । रारा ताल पुरै एक फन्को लगाएर एक रात राराका बसेर पनि भोलिपल्ट सहजै हवाई मार्गबाट काठमाडौं आइपुग्न सकिन्छ । हवाई मार्गले रारालाई नजिकै बनाइदिएको छ । तर, कालिकोट, दैलेख, जुम्ला र मुगुको मनोरम पहाड तथा पाटन हर्दै जानेका लागि भने हवाई मार्ग उचित छैन ।

आकाशबाट पनि रारा ताल अवलोकन गर्न सकिन्छ । ताल्चा–नेपालगन्ज उडान भर्ने जहाजले राराको फन्को लगाइदिन्छ । जसका कारण अवलोकनकर्ताले आकाशबाट पनि तालको मनोरम दृश्य कैद गर्न सक्छन् ।

तस्बीर सौजन्य : नेपाली टाइम्स, भरतबन्धु थापा

सार्वजनिक सवारी प्रयोग गरेर पनि रारा जान सकिन्छ । केही वर्ष अगाडीसम्म सुर्खेतबाट हिँडेर १० दिनमा रारा पुगिन्थ्यो । तर, अहिले रारा जान १० दिन हिँड्न पर्ने अवस्था छैन ।

१. सार्वजनिक सवारीमा जानेका लागि काठमाडौंबाट दैनिक कर्णाली यातायातको बस जुम्लासम्म जान्छ । काठमाडौंबाट हिँडेको करिब ३० देखि ३२ घण्टामा बसबाट जुम्ला सदरमुकाम खलङ्गा पुग्न सकिन्छ । जुम्ला सदरमुकामबाट भने लोकल बस राराका लागि छुट्दैन । सवारीमै जानेहरूले साना गाडी रिर्जव गर्नुपर्छ । तर, खलंगबाट सिञ्जा उपत्यका हुँदै मुगु सदरमुकाम गमगढी जाने बस पाइन्छ । गमगढीबाट हिँडेर चार पाँच घण्टाका रारा पुग्न सकिन्छ । खलङ्गाबाट जान आउनको २५ हजार रुपैयाँ गाडीले लिन्छ । तर, जुम्लाबाट हिँडेर नै रारा जानका लागि दुई दिनको समय लाग्छ ।

२. यसबाहेक, नेपालगञ्ज तथा सुर्खेतको वीरेन्द्र नगरबाट पनि गाडी रिर्जब गरेर रारा ताल पुग्न सकिन्छ । सुर्खेतबाट मोटर चढेपछि कर्णाली राजमार्ग हुँदै जुम्लाको गोरुचौरसम्म पुग्न सकिन्छ । जुम्ला सदरमुकाम जोडिइसकेको कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नाग्माघाटबाट छुट्टिएर नेपाली भाषाको उद्गमस्थल सिञ्जा उपत्यका हुँदै गोरुचौरबाट रारा तालको छेवैमा पुग्न सकिन्छ । फोरव्हील गाडीमा सजिलै रारा ताल पुग्न सकिन्छ ।

कति खर्च लाग्ला ?

रारा घुम्न जाने सोचमा हुनुहुन्छ भने खर्च धेरै हुने गन्तव्यको रूपमा नलिँदा हुन्छ । रारा जानको लागि सबैभन्दा सस्तो रुट छनौट गर्ने हो भने १७ हजारमै रारा पुगेर काठमाडौं आउन सकिन्छ ।

काठमाडौंबाट २७ सय रुपैयाँ बस भाडा लाग्छ । बाटोमा खाजा खानाका लागि एक हजार भए पुग्छ । जुम्ला सदरमुकाम बसाइका लागि एक हजार रुपैयाँका खाना सहित बास पाइन्छ । त्यहाँबाट रारा तालसम्म हिँडेर दुई दिनमा पुग्नका लागि तीन हजार रुपैयाँ भए पुग्छ ।

रारा तालका घोडा चढ्नदेखि एक रातको बसाइ र खानामा दुई हजारले पुग्छ । फेरि सोही रुटमा फर्कँदा करिब १७ हजारमा काठमाडौं आइपुगिन्छ । होइन म फर्कँदा हवाई यात्रा गर्छु भने पनि कुनै बढी रकम लाग्दैन । किनकि ताल्चाबाट नेपालगञ्जको राजा विमानस्थल ४२ सय रुपैयाँमै आउन सकिन्छ । नेपालगन्जमा दुई हजारमा एक रात मज्जाले बिताएर काठमाडौं आइपुग्दा पनि १७ हजार भन्दा बढी खर्च हुँदैन । तर, नेपालगञ्ज तथा सुर्खेत वा जुम्ला सदरमुकाम खलङ्गाबाट गाडी रिजर्भ गरेर जाँदा भने तीन हजार रुपैयाँसम्म बढी लाग्न सक्छ ।

रारा जान उपयुक्त समय कहिले ?

रारा भ्रमण गर्न उपयुक्त समय सेप्टेम्बरदेखि अक्टोबर र अप्रिलदेखि मे महिनामा उपयुक्त हुन्छ । डिसेम्बरदेखि मार्च महिनासम्म १ मिटरसम्म हिउँ पर्ने हुँदा यहाँको तापक्रम शून्य भन्दा पनि तल हुने भएकोले यो समयमा उपयुक्त हुँदैन । तालको पानी पनि जमेको जस्तो देखिन्छ । तर, नेपालीहरू दसैँ तथा तिहारको बिचमा बढी घुम्न जाने गरेका छन् । (क्लिकमान्डू लगायतमा विभिन्न स्रोतहरूमा आधारित)

सम्बन्धित समाचार