काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता दिपक विश्वकर्मा (निर्मल)ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । विगत दुई दशकदेखि माओवादी राजनीतिमा सक्रिय रहँदै आएका नेता विश्वकर्माले पार्टीमा वैचारिक विचलन आएको बताउँदै पार्टी परित्याग गरेका छन् ।
वाईसिएलका पूर्व केन्द्रीय समेत रहेका निर्मल पछिल्लो समय नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय सुनचाँदी रत्न तथा आभूषण व्यवसायी सङ्घको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा थिए ।
नेता विश्वकर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘२०६१ सालदेखि निरन्तर काम गर्दै आएको पार्टी छोडेको जानकारी गराउन चाहन्छु ।’
उनले आफू विगत एक वर्षदेखि पार्टीको कुनै पनि जिम्मेवारीमा नरहे पनि पार्टीका हरेक गतिविधिमा संलग्न हुँदै आएको जनाउँदै कार्यकर्ताप्रति पार्टी जिम्मेवार नभएको पाएपछि पार्टीबाट अलग हुन बाध्य भएको बताएका छन् । उनले उनी नेतृत्वको नेपाल राष्ट्रिय सुनचाँदी रत्न तथा आभूषण व्यावसायिक सङ्घ पनि पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।
पार्टीबाट अलग भए पनि सामाजिक कार्यमा भने आफू सक्रिय रहने विश्वकर्माले बताएका छन् ।
नुवाकोटको सुर्यगढीका विश्वकर्मा २०६१ मा नेकपा केन्द्रको पूर्णकालीन सदस्य बनेर सक्रिय राजनीतिमा होमिएका थिए । २०६५ मा माओवादी पार्टी जिल्ला कमिटी सदस्य २०७५ वाईसिएलका केन्द्रीय कमिटी सदस्य बनेका थिए ।
पछिल्लो समय नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय सुनचाँदी रत्न तथा आभूषण व्यवसायी सङ्घको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा थिए ।