सोमबार , साउन १८, २०८३

तपस्वीको तपस्या जस्तै अमृतको एकान्त भीड

सङ्ग्रहमा रहेका धेरै कविताहरू भावना खण्डमा समावेश गरेका छन् । कहिले उनी जून र ताराहरूलाई आफ्नो साथी मान्छन् र बाटोमा एक्लै बरालिन्छन्, कहिले भावुक भएर मलाई बाङ्गा बाटाहरूले हिँड्न सिकाएको छ भनेर जिद्दी गरिरहेका छन् ।

image

  • अनिता न्यौपाने

अमृतसँग ठ्याक्कै कहिलेदेखि मित्रता भयो याद छैन । उनी दार्जिलिङतिर थिएँ । विराटनगरमा मेरो कविता वाचन कार्यक्रम थियो । मैले विराटनगर आउँदै छु भन्दा उनले लेखेका थिएँ, “यता पनि आउनु है, म दार्जिलिङतिर छु ।” उत्तरमा मैले लेखेको थिएँ, “भइहाल्छ नि, म पक्कै आउँछु ।”

सायद त्यही बेलादेखि हुनुपर्छ, अमृतसँग बोलचाल सुरु भएको । त्यसपछि हो- अमृतले सुनाएको हेटौँडाको बाटो हुँदै पोखरा, पर्वत पुगेको कुरा । कहिलेकाहीँ पोलेको मकैको फोटो हाल्दै ‘,हेटौँडाबाट लागियो पोखरा’ भन्दा निकै चित्त दुख्थ्यो आखिर कवि मन न थियो । भेटेर जाँदा के फरक पर्थ्यो र ?  एक कप चिया खाने न हो । तर बसले एक कप चिया खाने फुर्सद कहिले दिएन । उनी हेटौँडा हुँदै दार्जिलिङ–पोखरा गरिरहे । हामी हेटौँडामा पर्खीरह्यौँ ।

त्यसपछि कयौँपटक चिया खाने गफ भयो तर फुर्सद मिलेन, मिल्दै मिलेन । मकवानपुरका नारी साहित्यकारहरूको संस्था आँचल साहित्य कला पुञ्जले २०७८ फागुनमा हेटौँडामा बृहत् साहित्य महोत्सव आयोजना गर्यो । त्यसमा अमृतलाई पनि बोलावट थियो । उनी आए, खुसी लाग्यो । चिया खाने निकै समयको कुरा, त्यो समय पनि पूरा हुन पाएन । कविता वाचन सेस्नमा निकै शान्त स्वभावका अमृतले कविता सुनाउने बेलामा कार्यक्रमको व्यवस्थापन आफैँले गर्नु पर्ने हुँदा म कतै हराएछु । त्यो कविता सुन्ने अवसर पनि मैले पाइनँ र म छुटेँ । त्यसको केही समयपछि हुनुपर्छ, कवि छवि अनित्य (जो नेपाली लेखक सङ्घ मकवानपुरका अध्यक्ष पनि हुनुहुन्छ)ले अमृतको कविता कृति ‘एकान्त भीड’को विमर्श हेटौँडामा गर्ने भन्ने विषयले म निकै उत्सुक रहेँ । उहाँ कार्यक्रममा आउनु भयो, विमर्श भयो र उहाँले पुस्तक पनि दिनु भयो । त्यसपछि मैले एक बसाइँमा नै कविता पढेर सकेँ र, मनमा लागेको कुरा लेख्न बसेँ ।

मलाई अमृत खुसी नै खुसीले भरिएको मान्छे जस्तो लाग्छ । तर हरकोहीको जीवनमा सबै कुरा हुन्छ । अमृत खुसी देखाएर दुःख लुकाएका वा खुसी नै हुन्, यसबारेमा म आज पनि अञ्जान नै छु । तर एकान्त भीड पढेपछि लाग्यो, ‘भीड बढी भयो भने मान्छेले एकान्त खोज्छ र, जब एकान्त बढी हुन्छ, मान्छे भीडमा रमाउन चाहन्छ ।’ सूक्ष्म तरिकाले बुझ्ने हो भने भीड र एकान्त एकअर्काका परिपूरक हुन् । त्यसैले मान्छे यी दुवै कुराबाट अलग रहन सक्दैन र, रहनु पनि हुँदैन । तर, कहिलेकाहीँ मान्छेले भीडमा पनि एक्लो भेट्टाउँछ आफूलाई र एकान्तमा पनि हल्ला गरिरहेका हुन्छन्, कयौँ प्रश्नहरूले । त्यसैले पनि अमृतको कविता कृति एकान्त भीड यस्तै-यस्तै प्रश्नहरूको सङ्ग्रह हो ।

देश, समाज, भावना र प्रेम गरी चार भागमा विभाजन गरिएर लेखिएको कविताहरूले छुट्टाछुट्टै अर्थ र महत्त्व बोकेको छ । चार भागमा कविले एक जीवन चक्र पार गरेका छन् । कविता पढ्दै गर्दा उनका कविताहरूमा मौन आक्रोश छ । अरूले जस्तो ढुङ्गा हान्ने, टायर बाल्ने र जिन्दाबाद र मुर्दावाद जस्ता नाराहरूले मात्रै कविताको बाटो कोर्न सकिन्छ भन्ने एउटा भ्रमलाई केही हदसम्म पार लगाइदिएका छन् । विद्रोह हाम्रै मनभित्र छ र मौन रहेर पनि ठूलाठूला विषयमा बोल्न सकिन्छ भन्ने कुरालाई अमृतका कविताहरूले प्रस्ट पारिदिएको छ ।

समाज सबै कुराको सम्मिश्रण हो । त्यो समाजमा बस्ने मान्छेको मनमा माया, दया, घृणा र प्रेम पनि साथै छ । कसैमा उग्र भएर आउँछ र कसैमा मौनतामा नै सीमित भएर बस्छ तर, आखिरमा जे भए पनि समाज निर्माण हुने क्रम भनेको नै यही र यस्तै प्रक्रिया हो । समाज अँध्यारो छ तर, उसले उज्यालो खोज्न छोडेको छैन । वर्षौँदेखि हिँडेको बाटो यही हो । कहिले भेट्टाउँछ उज्यालो ? त्यसको भने हामीले प्रतीक्षा गर्नु नै पर्ने देखिन्छ । आज पनि आमाको फाटेको चोली सिउन, बाको टोपी नयाँ फेर्न, छोराछोरीका कयौँ सपनाहरूलाई पूरा गर्न देशका लाखौँ युवा बिदेसिन बाध्य छन् । भलै पहिला पुरुष मात्रै बाआमाको सपनालाई आफ्नो ठानेर बिदेसिन्थे भने आज नारीहरू पनि परिवारको सपना पूरा गर्न बिदेसिन थालेका छन् । आमाबाका दुःखहरू उही छन् । छोराछोरीका सपनाहरू उस्तै छन् । देशको हालत उस्तै छ, न्युरोडको गल्लीहरू, क्यासिनोका रातहरूले आज पनि समाजलाई गिज्याइरहेको छ ।

त्यति मात्र हैन, कवि भावुक पनि छन् । सङ्ग्रहमा रहेका धेरै कविताहरू भावना खण्डमा समावेश गरेका छन् । त्यसैले त उनी मध्य वर्षादमा भिज्नको लागि कसैलाई आग्रह गरिरहेका छन् । कहिले उनी जून र ताराहरूलाई आफ्नो साथी मान्छन् र बाटोमा एक्लै बरालिन्छन्, कहिले भावुक भएर मलाई बाङ्गा बाटाहरूले हिँड्न सिकाएको छ भनेर जिद्दी गरिरहेका छन् । कहिले बाटो बिराएकोमा पनि खुसी छन् भने कहिले आफ्नैले आफैँलाई भेट्न नसक्दा पनि उनी भावविह्वल भएको देखिँदैन ।

समयको चौतारीमा कयौँ पटक एक्लै परेका छन् । कहिले समयले एक्लै पारेको छ । कयौँ रातहरू रोएका छन्, कयौँ समयलाई चिनेका छन् । कहिले आँखा पढेर बसेका छन्, कहिले सपनाहरूलाई अङ्गालो मारेर रात कटाएका छन् । कतै आव्हान गरिरहेका छन्, कतै विरहको भाका गाइरहेका छन् । कतै आशाहरूलाई मारिरहेका छन् । कतै आशा पलाएको रात भनेर नाचिरहेका छन् तर, अमृतले लेखेका कविताहरू शान्तमा गएर टुङ्गिएका छन् । जस्तै झरीमा पनि उनी भिजेका छन् । यसको मतलब उनले जिउन सिकेका छन् र, जीवन-जगत्मा जे भएको छ, त्यो स्वाभाविक प्रक्रियाको रूपमा लिएका छन् ।

आँसु, हाँसो, माया, मोह, प्राप्ति, अप्राप्ति, सुखदु:ख, गर्मी, शीतल; यी सबै जीवनका पाटाहरू हुन् भन्नेकुरा कविताले बोलको छन् । स्वाभाविक रूपमा जीवनलाई यसरी नै हरकोहीले बुझिदिने हो भने हरकोहीको जीवनमा खुसी छ जस्तो मलाई उनको यो पुस्तक पढ्दा लाग्छ । एउटा तपस्वी तपस्या गर्न बस्दा उसले केही कुराको खोजका लागि आफूलाई एकाग्र बनाइरहेको हुन्छ । अमृतको कविता सङ्ग्रह एकान्त भीडका कविताहरूले पनि केही न केही कुराको खोज गरिरहेको छ । चाहे त्यो देश होस्, समाज होस्, माया प्रेम होस् या आफूभित्रै मौलाइरहेको भावना होस्, उन्को प्रमुख विषय नै खोज हो ।

तर यति मात्रै भनेर अमृत उम्कन भने पक्कै पाउने छैनन् । छाल आउनको लागि कुनै शान्त तलाउमा ढुङ्गा हान्नै पर्छ । तपाईँ कविता लेखिरहनु भएको छ र यसले समाजबाट केही लिनु पर्छ र केही दिनु पर्छ भन्ने लाग्छ भने तपाईँका कविताहरूले प्रश्न मात्रै खडा गरेर पक्कै हुँदैन साथमा, उत्तरको एउटा रेखा पनि सँगसँगै कोरिनु पर्छ । कवितालाई अझैँ सुन्दर बनाउन भने सकिन्थ्यो, त्यसमा अमृत अल्छी भएकै हो या नचाहेको हो । कतै कतै कवितामा हिन्दी शब्दहरू पनि घुसाएका छन्, यो उनको दार्जिलिङको बसाइ प्रभाव हो कि मलाई त्यस्तो लाग्यो ।

हामीले बाँचिरहेका समाजमा, हामीभित्र मौलाइरहेको प्रेममा, हामीले देखिरहेको देशको अवस्थामा, हामीले गुम्साइरहेको भावनामा अब परिवर्तनहरू जरुरी छ । सधैँ अरूले बनाएको बाटो हिँडेर, अरूले देखेको सपनामा मलजल गर्न खोजेर, अरूले सुनाइएका कथाहरू सुनेर हामीले जुन एउटा चित्र बनाएका छौँ, त्यो चित्रमा फेरबदल जरुरी छ । अबको बाटो भनेको हामीले बनाउने हो र हाम्रो सन्ततिहरूलाई हिँडाउने हो । कविताले पनि अँध्यारोबाट छिर्दै छिर्दै उज्यालो बाटो देखाउनु पर्छ । यो देश बनाउने जिम्मा हाम्रो पनि हो । समाजको निर्माणकर्ता हामी पनि हौँ । हामीले कोरेको रेखामा हाम्रा नानीहरूले भविष्य खोज्नु छ । अबको पुस्ताले सपना देख्नु छ । त्यसैले हामी सबैले नयाँ मार्गको लागि एकाग्रताको साथ लाग्न जरुरी छ ।

अमृतको एकान्त भीड सङ्ग्रहको अर्को राम्रो पक्ष भनेको नै उनी भूमिका लेखाउन कहीँ कतै पुगेनन् । दसौँ पेज भूमिकाले भरेनन् । समाजमा जे देखे, जे भोगे त्यही लेखे । जसरी देखे, त्यसरी नै लेखे । कविताको मामलामा उनले आफ्नो कर्म पूरा गरे । कतै लेपन लगाएनन् । कयौँ प्रश्नहरूले उत्तर भेट्टाए कयौँ प्रश्नहरू यसै रहे उनी पुस्तकमा कविता तिर्खान लागे, आफूलाई तिर्खान बिर्सिदिएँ त्यसैले पनि यो कृति अझैँ सुन्दर देखियो । यसको लागि तपाईँलाई धेरै धन्यवाद र आगामी कविता यात्रा अझैँ सफल र सबल रहोस् शुभकामना !

सम्बन्धित समाचार