“यत्रो पैसा कहाँबाट ल्यायौ ? चोेरेको हो ?” उसको अनुहारभरि कालो बादल छायो । मेरो नजिक आउन पाउँदाको खुसी क्षणभरमै बिलायो ।
Photo by: Himal Darpan
– महेश पौड्याल
“अजय ? चिन्छु त्यस मूर्खलाई । मान्छेको भाँडो होइन त्यो ।”
“अजय ? अँ, चिन्छु । फटाहा ।”
“अजय ? सकिन्न भाइ त्यसलाई त । भो ।”
र थप अरू अरू कुरा । कति हो कति !
त्यस स्कुलमा म नयाँ थिएँ । मेरो दोस्रो दिन थियो ।
यी थिए मैले अजयका बारेमा उसका अन्य शिक्षक–शिक्षिकाहरूबाट सुनेका केही टिप्पणीहरू । यो चर्चा कक्षाकोठामा घटेको एउटा सानो घटनालाई लिएर सुरू भएको थियो । अघिल्लो दिनमात्रै त्यस स्कुलका प्रशासकीय अधिकृतिले मलाई त्यस कक्षामा लगेर “कक्षा ४ को कक्षा शिक्षक” भनेर परिचय गराएका थिए । बच्चाहरूले मलाई राम्ररी स्वागत गरेका थिए, र मलाई लागेको थियो, मैले सजिलै यस कक्षालाई सम्हाल्न सक्ने छु । तर, भोलिपल्टै मलाई एउटा समस्याको आभास भयो ।
मैले उनीहरूको हाजिरी लिइमात्रै के सकेको थिएँ, विनिशाले आफ्नो झोलाबाट सुकेको गोबरको एउटा गुइँठो निकाली र देखाउँदै भनी, “सर, मैले झोलामा भेटेको ।”
मैले कसले गरेको हो भनेर कक्षालाई सोधेँ । सबैको एउटै उत्तर थियो, “सर, अजयले ।”
मैले ‘अजय भनेको को हो’ भनेर सोधेँ, किनकि मैले नामले कुनै पनि बच्चा चिन्न थालेकै थिइनँ । उनीहरूले एउटा पातलो केटातिर देखिए । ऊ अन्तिम बेन्चमा बसेको थियो । निकै मैलो र छुच्छो देखिन्थ्यो ऊ । शिक्षकको अनुहारमा हत्तापत्त नहेर्ने । ऊ आफ्नै धुनमा मस्त थियो, र कक्षामा भएको कुनै गतिविधिले नछोइएजस्तो देखिन्थ्यो ।
मैले अजयलाई सोधेँ । तर उसले आफूले गरेको होइन भन्यो । मैले विनिशालाई भनेँ, ‘म छानबिन गरेर उनलाई भन्नेछु ।’ गल्ती गर्नेलाई सजाय दिलाउँछु भन्ने आश्वासन पनि दिएँ । त्यसपछि मैले पढाउनुपर्ने पाठ पढाएँ र घन्टी लागेपछि कक्षाबाट बाहिरिएँ ।
उता स्टाफरूममा मैले अजयबारे थप कुरा जान्ने जिज्ञासा राखेँ । त्यो बच्चो किन्डरगार्डेनमा भर्ना भएकै दिनदेखि पढाएका हौँ भनेर दावी गर्ने शिक्षक–शिक्षिककाले उसबारे माथिका टिप्पणी गरेका थिए । उनीहरू सबैका टिप्पणीमा एक प्रकारको नैराश्य–भाव सुनिन्थ्यो ।
एक वा दुई जनाले मात्रै यसो भनेका भए गतल हुन सक्छन् भन्नु । तर सबैले एउटै कुरा भनेपछि मसँग पत्याउने आधार भयो । मेरो मस्तिष्कको खाली पानामा एउटा कुरा अङ्कित भयो — अजयलाई सुुधार्नु असंभव कुरा हो ।
दिनहरू बित्दै गए । तर मतहरू बद्लिएनन् । अजय स्कुलमा “बदमास” कै रूपमा हेरिँदै गयो ।
यसैबीच म बच्चाहरूमाझ खूब जमेँ । जबजब कक्षामा विराम हुन्थ्यो, उनीहरू कुदेर म भएको ठाउँमा आइपुग्थे । अजय पनि अपवाद थिएन ।ऊ पनि मसम्म आउन र छेवैमा उभिन र मेरा कुरा सुन्न रुचाउँथ्यो । तर पनि ऊ विक्रम र विजयजति नजिक आउन भने डराउँथ्यो । कसो कसो उसलाई यो विश्वास गराइएको थियो कि ऊ “बदमास” हो र उसले कहिल्यै शिक्षकको नजिक आउनु हुन्न ।
मेरा लागि आश्चर्यको कुरा के थियो भने मैले अजयलाई कहिल्यै पनि बदमास पाइनँ । ऊ सधैँ मेरा कुरा सुन्थ्यो । गृहकार्य गर्थ्यो र एउटा आज्ञाकारी छात्रमा अपेक्षित आचरण अनुरूप अभिवादन गर्थ्यो र मलाई सहज अनुभव गराउँथ्यो । उसले अङ्ग्रेजीको जाँचमा पनि राम्रो गर्यो । व्याकरणका सूत्र राम्रोसँग सिक्यो र हस्ताक्षरमा पनि धेरै सुधार गर्यो । एकपल्ट त हजुरआमालाई भनेछ पनि- उसलाई अङ्ग्रेजी शिक्षक सबैभन्दा मनपर्छ । तरै पनि, अरू जे भन्थे, म त्यो पत्याउन बाध्य थिएँ – “अजय बदमास हो । कलङ्क हो । दाग हो ।”
ऊ अङ्ग्रेजीबाहेक अन्य सबै विषयमा फेल भयो ।
दसैँ–तिहारका लागि स्कुल बन्द भयो । ‘हामी अब एक महिनापछि भेट्ने छौँ’ भन्ने सूचना जारी भयो । बच्चाहरूले एकअर्कामा शुभकामना आदानप्रदान गरे । शिक्षकहरूलाई पनि शुभकामना भन्न बिर्सेनन् । अजय पनि मेरो निकट आयो र भन्यो, “ह्याप्पी दसैँ एण्ड तिहार, सर ।” मैले मुस्कुराएर उसको शुभकामना ग्रहण गरेँ र उसलाई पनि शुभकामना भनेँ । कता कता मेरो भनभित्र पहिरो चल्न थालिसकेको थियो ।
बिदा सकिएपछि हामी पुनः स्कुल पुग्यौँ । म कक्षा चारको कक्षा–शिक्षक भएको हुँदा उक्त कक्षामा पहिलो घन्टीमै पुगेँ म । उनीहरूले चाडबाड कसरी मनाए भनेर सबै विद्यार्थीलाई सोधेँ । सबैले खूब रमाइलो गरेको कुरा सुनाएँ । केहीबेर यस्तै गफगाफ गरेपछि मैले उनीहरूको ध्यान पढाइतिर खिचेँ यद्यपि मलाई थाहा थियो, बिदापछिको पहिलो दिनको पहिलो घन्टीमा उनीहरूलाई पढ्न मन थिएन ।
घन्टी लाग्यो । म कक्षाकोठाबाट निस्कनमात्रै के आँटेको थिएँ, अजयले भन्यो, “सर!”
“अजय? भन ।”
“मैले हजुरको लागि एउटा उपहार ल्याएको छु ।”
यो कुरा निकै अनौठो सुनियो । अरू विद्यार्थीहरू एकअर्कालाई हेराहेर् गर्न थाले । उनीहरूलाई थाहा थियो — अजयबाट कुनै शिक्षकलाई उपहार आउनु भनेको असम्भव कुरा हो । उनीहरू हाँसे, कुनै रमाइलो मजाकको अपेक्षा गरेर ।
“उपहार? मेरा लागि?”
“हो सर । हजुरको लागि ।”
म रोकिएँ । उसले रङ्गीन कागजमा बेरेर केही ल्याएको थियो ।
“सर, नलिनू,” विनिशाले चेतावनीको भाषामा भनी । “अस्ति उसको टिफिन बक्समा सर्प हालेर ल्याएको थियो अजयले ।”
“हो र ?”
“हो । सर बट्टा टाइट भयो, खोल्न सकिनँ भन्यो । अनि गणित पढाउने सरलाई खोल्दिनू भन्यो । सरले बिर्को खोल्दा सर्पले कस्तरी टाउको उठाएको ! सर त त्यहीँ ढल्नुभो । तर धन्न, प्लास्टिकको सर्प रहेछ,” उसले थपी ।
विनिशाका कुरा विश्वसनीय थिए । यस घटनाबारे मैले पहिले पनि सुनेको थिएँ, स्टाफरूममा ।
म कक्षाकोठाबाट निस्किएँ ।
“सर ।”
म पछाडि फर्किएँ । त्यहाँ अजय थियो, निराश उभिएको । आँखामा आँसु थिए । मैले उसलाई बेवास्ता गरेको दुःख उसको अनुहारभारि पोतिएको थियो ।
“अजय?”
आँसु बगे । म विश्वस्त भएँ — ठट्टामात्रै गरेको भए आँसु बग्ने थिएनन् यसरी । मैले उसको उपहार स्वीकार गर्ने निधो गरेँ ।
मैले उपहार हातमा लिएँ । उसको अनुहार उज्यालो भयो, यद्यपि धिमा गतिमा । मैले उसलाई पुलुक्क हेरेँ एकचोटि र बाटो लागेँ ।
तर म स्टाफरूममा गइनँ । बरू होस्टलमा मेरो आफ्नै कोठातिर लागेँ । मुटु हत्केलामा राखेर उपहारको खोल च्यातेँ । कुनै निकृष्ट ठट्टालगायत जस्तै आश्चर्यका लागि पनि म तयार थिएँ ।
तर होइन रहेछ । त्यो ठट्टा थिएन । त्यसभित्र एउटा सुन्दर फूल थियो, काँचको एउटा उत्तिकै सुन्दर बाकसभित्र । मलाई लाग्यो, यसको मूल्य ७५ रूपियाँ भन्दा कम त हुनै सक्दैन ।
अजय र उपहार ! अजय, र पचहत्तार रूपिया ! हैट, यो स्वाभाविक थिएन ।
म कुदेर कक्षाकोठातिर गएँ र अजयलाई बाहिर बोलाएँ । आफूले खेल्दै गरेको खेल स्थगित गरेर ऊ खुरुक्कै आयो ।
“अजय, सुन्दर उपहारका लागि तिमीलाई धेरै धन्यवाद । पचहत्तर रूपियाँभन्दा कम त पक्कै पनि परेन होला ।”
“हैन नि, सर । एकसय पचार रूपियाँ पर्यो ।”
यस कुराले मलाई अझै शङ्कास्पद बनायो । मैले मनमनै निचोड निकालेँ — अजयले पैसा चोर्यो ।
“यत्रो पैसा कहाँबाट ल्यायौ ? चोेरेको हो ?” उसको अनुहारभरि कालो बादल छायो । मेरो नजिक आउन पाउँदाको खुसी क्षणभरमै बिलायो । अजय पुनः उसको विगतमा फर्कियो — उही उदासी । उही विरक्ति । उही कलङ्क हुनुको तीतो अनुभूति ।
“सर, मसँग सय रूपियाँ थियो । पचास हजुरआमाले हाल्निुभयो ।”
झुटमा आफ्नै गन्ध हुन्छ । उसको कुरा पत्याउने कुनै आधार मैले भेटिनँ ।
“सय रूपियाँचाहिँ कहाँबाट आयो नि?”
ऊ डरायो । उसका ओठ काँपे र गला अवरुद्ध भयो । तर पनि उसले बोल्नु नै थियो । उसले भन्यो, “सर, देउसी ।”
मेरो टाउको घुम्यो । उसको बोलीमा मैले कुनै अर्थ भेटिनँ ।
“देउसी? कसरी?” मैले सोधेँ ।
“हो सर । म र मेरो काकाका छोरा देउसी खेल्न गयौँ । तीन रातसम्म हामी घरघर गयौँ । म सुत्न पनि सुतिनँ ।”
यो कुराले मेरो मन छोयो । तिहारमा बच्चाहरू घरघर जान्छन्, गाउँछन्, नाच्छन् । घरबेटीहरू तिनलाई एकदुई रूपियाँ दिन्छन् । अजयजस्तो बालकले सय रूपियाँ जम्मा गर्न त कम्तीमा दुई सय घर पुग्नुपर्छ । फेरि साथी पनि थिए । उनलाई पनि भाग लाउनुपर्यो, र धेरैजसो अवस्थामा बराबर हुन्छ विभाजन ।
दुई सय घर ! एउटा उपहारका लागि तीन अनिदा रातहरू !
अजय करिब बाह्र वर्षको बालक थियो । तीन रात, नसुती दुःख गरेर जम्मा गरेको पैसाले आइसक्रिम वा आफूलाई मनपर्ने कुनै चक्लेट किन्नुभन्दा अफ्नो शिक्षकको लागि एउटा सुन्दर उपहार किनेको थियो । यो सामान्य कुरा थिएन ।
म बोल्नै सकिनँ । उसलाई कक्षाकोठामा जान भनेँ ।
साँझ उसकी हजुरआमालाई फोन गरेँ ।
“हो नि सर । सत्य कुरा हो । यसले सय रूपियाँ जम्मा पारेछ । मलाई लिएर पसलमा गयो आज बिहानै । त्यो फूल टिपेर हजुरको लागि किन्छु भन्यो । किन भनेर सोध्दा उपहार दिन्छु भन्यो । फूलको दाम रहेछ एकसय पचास । पचास चैँ मैले हाल्दिएँ, सर ।”
अजय त्यो थियो !
एउटा शिक्षकका लागि तीन अनिदा रातहरू!
त्यही अजय, जसलाई सबै एउटा असम्भव बालक ठान्थे ।
मैले आफैँलाई सोधेँ, “यसको हृदयको आयतन कसले नापेको छ ? असल अजय खराब स्थानमा थियो…”
मेरा आँखामा अजय एउटा महामानवको रूपमा उभियो — मलाई कुनै उपहार दियो भनेर होइन, उभित्रको प्रेम, सम्मान र त्याग थियो भनेर । र ऊभित्र मानव थियो । शिक्षा, आखिर, अरू कुन कुराका लागि हो त?
उसले दिएको उपहार मेरो दराजमा आज पनि छ । जब जब त्यसलाई हेर्छु, मलाई त्यसै बालकको याद आइरहन्छ ।