काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोरभित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको बताएका छन् । शनिबार काठमाडौंको वंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले फोहोरमैला सामान्य कुरा भए पनि फोहोरमैलाभित्रकै गिरोहले यसलाई ठूलो कुरा बनाइरहेको बताए ।
उनले स्थानीय तहले नै अब फोहोरमैलालाई श्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने बताए । उनले स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा संघीय सरकार सहयोगका लागि तयार रहेको बताए । उनले पर्यटन मन्त्रालयले यी समस्या समाधानका लागि मठमन्दिरहरूमा सरसफाइ गर्न राष्ट्रिय अभियान सुरु गर्न लागेको जनाए ।
उनले सरसफाइको योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय आवश्यक रहेको पनि बताए । उनले नाइट टुरिजम व्यवस्थित बनाउन पर्यटकीयस्थल, मठमन्दिर र सम्पदालाई सुन्दर र संरक्षित बनाउँदै सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गरे ।
मन्त्री श्रेष्ठले कतिपय नागरिकलाई प्रदेश र स्थानीय सरकार बलियो छ भन्ने कुरा अहिलेसम्म पनि बुझाउन नसकेको बताए । उनले सिंहदरबारबाट स्थानीय र प्रदेशमा अधिकार सरिसकेको कुरा नागरिकमा बुझाउन आवश्यक रहेको बताए ।