शनिबार , अषोज ३, २०८३

६ सय मेट्रिकटन फोहोर काठमाडौंको महानगरभित्रै विसर्जन गर्ने बालेनको योजना

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौंभित्र उत्पादन हुने ६ सय मेट्रिकटन फोहोर महानगरभित्रै व्यवस्थापन गर्ने गृहकार्य थालेका छन् ।

image

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौंभित्र उत्पादन हुने ६ सय मेट्रिकटन फोहोर महानगरभित्रै व्यवस्थापन गर्ने गृहकार्य थालेका छन् । उनले सुरुवाती अवस्था देखि नै फोहाेर व्यवस्थापनलाई पहिलाे प्राथमिकतामा राख्दै आएका थिए।

“घरघरबाट उत्पादन भएको फोहोर स्रोतमै बर्गीकरण गरेपछि जैविक फोहोरलाई मल बनाउने विधि सबैभन्दा उपयुक्त देखिएको छ । यो विधि शतप्रतिशत प्रभावकारी छ,” मेयर बालेनले भने, “फोहोरलाई ग्यासका रुपमा रुपान्तरण गर्दा ३० देखि ३५ प्रतिशत मात्र प्रभावकारी देखियो । अर्थात् १ सय रुपैयाँ लगानी गर्दा ३० देखि ३५ रुपैयाँ मात्र फिर्ता आउने भयो ।”  भन्दै उनले  महानगरभित्र दैनिक उत्पादन हुने ६ सय मेट्रिकटन फोहोर आफैँ व्यवस्थापन गर्न खोजिएको बताएका छन् ।

जैविक फोहोरलाई मल बनाउन करिब दुईसय देखि २५० रोपनी जग्गा आवश्यक पर्छ । सबै फोहोरलाई मल बनाउन सकिन्छ । यसबाट देशमा भएको मलको समस्यालाई ८ देखि १० प्रतिशतसम्म योगदान गर्न सकिन्छ । यो मल खेतीमा उत्पादन बढाउन लाभदायक हुन्छ भन्दै बालेनले विजुली निकाल्दा २० देखि २५ प्रतिशतसम्म मात्र उत्पादन फिर्ता लिन सकिने पनि बताएका छन् ।

यसअघि काठमाडौंको फोहोर आफ्नै क्षेत्रभित्र विसर्जन गर्ने गोप्य योजनाको चर्चा चलेको थियो । वाग्मती प्रदेशले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले काठमाडौंको फोहोर महानगर आफैंले व्यवस्थापन गर्नुपर्ने भन्दै बालेनको आलोचना गरेका थिए । केही आलाेचना, विवाद आइरहे पनि बालेन सर्तक भएर काम गरिरहेका देखिन्छन्।

सम्बन्धित समाचार