मंगलबार , भाद्र ३०, २०८३

गद्य-गुम्फन : दिवा स्वप्न (अंक-१)

image

Photo by: Himal Darpan

– विज्ञान राज

(गुम्फनको अर्थ हो कुनै पनि कुरा बुन्नु, उन्नु अथवा क्रमबद्ध गर्नु । यसअर्थमा ‘गद्य—गुम्फन’ भन्नाले गद्य बुन्नु, उन्नु अथवा क्रमबद्ध गर्नु हो । गद्यहरु एकआपसमा उन्नु वा बुन्नु वा क्रमबद्ध गर्नु अर्थ होइन नि फेरि ! 

आजबाट सुरु भएको यस ‘गद्य—गुम्फन’ स्तम्भमा यहाँहरु सम्पुर्ण पाठक वर्गलाई स्वागत गर्द छु ।)

दिवा स्वप्न

यतिखेर म आचार्य चिया नास्ता पसलमा छु । मैले चिया अर्डर गरेको छैन । उनीहरु पनि अर्डर लिन आएका छैनन ।  जम्मा दुईटा टेबलमा मात्र मानिसहरु छन । उनीहरु चुपचाप भोजन गरिरहेका छन । 

म अघिको एउटा दृश्य सम्झिन थालेको छु । दृश्य भन्दा पनि त्यसलाई मैले एउटा घटनाको रुपमा लिएको छु । घटना भन्दा पनि त्यसलाई दुर्घटनाको स्तरमा लिएको भए झन सान्दर्भिक हुने थियो भन्ने पनि लागिरहेको छ ।  

अँ म एउटा दुघर्टना सम्झिन थालेको थिएँ । 

विश्वविद्यालयबाट आउदै थिए । मङ्गलगडी चोक भन्दा अलिवर एउटी केटी उभिरहेकि थिई । उ सडकमा दुर्त गतिमा गतिवान भैरहेका अटोहरु रोक्न खोजिरहेकि थिई । रोक्न उ हात हल्लाई रहेकि थिई । तर कुनै पनि अटोहरु रोकिएका थिएनन । किन रोकिएका थिएनन ? यो उसलाई के थाँहा होस, मलाई पनि के थाँहा होस, झन तपाईलाई के थाँहा होस । 

हो जब उ अटो देख्थी, फटाक्से हात हल्लाई हाल्थी । तर ति अटोहरु उसलाई, उसको हात हल्लाईलाई, हात हल्लाउदा उसको अनुहारमा उभारिएको आशालाई, नरोकिदा बिस्तारै बाक्लिदै गईरहेको निराशालाई अह यी कुनै पनि भावाकृतिलाई नहेरेर, नदेखेर आफ्नै गतिमा गतिवान भैरहेका हुन्थे । 

उनीहरुले के भनिरहेका थिए भने, “त्यो केटीले केही दिन देखि कुनै पनि अटो रोक्न सकिरहेकि छैने ।” 

उनीहरुले नै यसमा के थपिरहेका थिए भने, “ त्यो केटी आफ्नो सम्पुर्ण शैक्षिक प्रमाणपत्र जलाएर केही दिन पहिले घरबाट हिडेकि हो । अब जसले आफ्नो शैक्षिक प्रमाणपत्र जलाउन सक्छे, उसले प्रमाणपत्र दिने विद्यालय र विश्वविद्यालय नजलाउले भन्न सकिन्न । प्रमाणपत्र र दक्षताको आधारमा जागिर नदिने सरकार नजलाउले भन्न सकिन्न । अन्ततः उसले आफूलाई नै नजलाउले भन्न सकिन्न ।”

उनीहरुले अझ के सम्म भनिदिए भने, “ सनकको उत्कर्षमा आएर आसपासमा भएका जोसुकैलाई÷जेसुकैलाई पनि नजलाउले भन्न सकिदैन । यही भयको कारणले हेर्नु त उसको आसपास कोही पनि मानिस हिडिरहेको छैन । कुनै पनि गाडि गुडिरहेको छैन । यतिसम्म कि जुम्ला रोडको उ उभिएको साईड पुर्णरुपले खाली छ । जम्मै मानिसहरु, गाडिहरु हामी भएको साईडमा खादाखादा गरेर हिडिरहेका छन÷गुडिरहेका छन ।”

“तर केही अटो भने उ उभिएको साईडमा हुईकि रहेका छन, किन ?” मैले उनीहरुलाई प्रश्न गरेको थिए । खासमा यो प्रश्न भन्दा पनि जिज्ञासा थियो । 

उनीहरु आफुलाई थाहाँ भएको कुरा भन्न थाले, “उ जुनसुकै बेलामा पनि बेहोस हुनसक्छे किनभने उसले केही दिन देखि केही पनि खाएकि छैने । माथी सरकारबाट के आदेश आएको छ भने उ बेहोस भएर ढल्न बित्तिकै अस्पताल भर्ना गरिहाल्नु । बचाउनु । कुनै हालतमा मर्न नदिनु भन्ने । त्यसैले केही अटो हुईकि रहेका छन । कतिखेर उ ढल्छे र अस्पताल लिएर भर्ना गरौला भनेर ।”

यतिखेर सम्म उनीहरुका कुरा मैले धिरताका साथ सुनेकोे थिए । अब भने म सुन्न नसक्ने स्थितिमा आईपुगेको थिए । एक किसिमले असमंजसको अवस्थामा पुगेको थिए । असमंजसको अवस्थामा अक्सर मलाई चियाको तलतल लागेर आउने गर्दछ । त्यसैले म सरासर यस चिया नास्ता पसलमा आएको थिए । 

अह यतिखेर सम्म पनि चियाको अर्डर लिन कोही आएको छैन । न मैले नै बोलाएर अर्डर दिएको छु । 

खासमा उ अटो किन रोक्न चाहन्थी ? अनि अटो चढेर जान चै उ कहाँ जान चाहन्थी ? जुम्ला रोडको अर्को साईडमा खादाखाद मानिसहरु, गाडिहरु उसलाई नै हेरिरहेका थिए भन्ने कुराको के उसले अत्तो पाएकि थिई ? अथवा तिनिहरुलाई उसले देखेकि थिई ? अथवा ति मानिसहरु, गाडिहरु किन आफ्नो आसपास नआएर जुम्ला रोडको अर्को साईडमा गई खादाखाद गरिरहेका छन अथवा तिनिहरु किन आफुलाई हेरिरहेका छन चटकेलाई हेरिरहे झै भन्ने बारेमा के उसलाई पत्तो भएर पनि कुनै पर्वाह थिएन ? अनि अर्को कुरा उसले जति गरेपनि अटोहरु रोकिदैनन भन्ने कुराको उसलाई चाल कसरी नभएको ? जबकि उ केही दिन देखि जुम्ला रोडमा उभिएर अटो रोक्न खोजिरहेकि थि । तर अहिलेसम्म पनि कुनै अटो रोक्न सकिरहेकि थिईन । 

मेरो छेउको टेबलमा राखिएको पानीको जग एउटा युवाले हतारहतार आएर, उठाएर, पिएर पुनःराखेर गएको छ । उसको हस्याङफस्याङले सम्झिरहेको दृघर्टनाको क्रम टुटेको छ । 

यो युवा जो गयो भर्खर मेरो छेउ बाट, उ जस्ता हजारौं युवाहरु सहरको जन्म भए देखि यसरी नै होटेलहरुमा पस्छन, खाने परिकार हेर्दै पानी घुटकाएर लखरलखर बाहीर निस्किन्छन । म अघिको दृघर्टनाबाट मोडिएर अब यस कुरामा चिन्तित हुन थालेको छु । यी युवाहरुको गोजीमा कहिले पैसा हुने ? तिनले होटलमा बडो आत्मविश्वासका साथ कहिले बस्ने ? तिनिहरु बसिरहेको बेलामा त्यस होटेलका वेटरहरुले के खाने भनेर मेनु अगाडि राखिदिएर तातो÷चिसो पानी ल्याईदिने कहिले ?

यो दिवा स्वप्न हो । यस्तो दिवा स्वप्न, जसलाई सहरका हजारौ युवाहरु रोज देखिरहेका छन । तब यस दिवा स्वप्न को ईतिहास, विकासक्रम र परिस्थीति के होला ? यो कसको गैरजिम्मेवारको परिणाम होला ? के यसप्रकारको दिवा स्वप्नको अन्त्य होला ? होला र ? अन्त्य त हुनु पर्ने हो हगि ! 

कस्तो संयोग हेर्नु न ! दिवा स्वप्न भर्खरै अन्त्य भएको छ । कसरी भने नि मेरो भन्दा विपरित साईडको दुईटा टेबलमा कलेज पढने युवाहरु आएर बसिरहेका छन । तिनिहरु कतिखेर आएर बसेछन मलाई अत्तो पनि भएन छ । खैर तिनिहरु आएर जेरि खाईरहेका छन । वेटरहरु उनीहरुको अर्डरमा दत्तचित्त भएर लागिरहेका छन । 

उनिहरु बसेको टेबलको एक कुनामा, जहाँ उनिहरुका आँखा परिरहेका छैनन, त्यहाँ पानीको जग अवस्थित छ । उनिहरु पानीको जगलाई वेवास्ता गरेर, आनन्दले जेरि खाएर, बडो आत्मविश्वासका साथ एउटा व्यापारिक होटलमा बसिरहेका छन । अनेक विचारहरु गुम्फन गरिरहेका छन । विचारहरुको गुम्फन बाट बन्ने भनेकै स्वप्न हो । उनीहरु त्यस स्वप्नलाई मज्जैले देखिरहेका छन । अर्थात दिवा स्वप्न देखिरहेका छन । 

अघिको युवाले खाली पेटमा पानी मात्र खाएर देखेको दिवास्वप्न र यी युवाले पानीलाई वेवास्ता गरेर जेरि खाएर देखेको दिवास्वप्नमा कुन बेला हेराफेरि भयो ? कसरी अघिको युवा र यी युवामा यति छोटो समयको अन्तरालमा भिन्नताको खाडल तयार भयो ? तयार हुन कसरी सम्भव भयो हँ ? 

यतिखेर म टवाल्ल परेको छु । 

उसो त टवाल्ल पर्नु भनेको सोच्नु पनि त हो । म सोचिरहेको छु । त्योे युवा जसले मेरो छेउको टेबलमा राखेको पानीको जग उठाएर पानी घुटकायो र खाने परिकार हेर्दै बाहीर निस्कियो । यसकारणले हुन पनि त सक्छ, कि उसलाई पानी मात्र पिउनु थियो । अथवा उस सँग पैसा थियो तर उसलाई केही खानु नै थिएन । भनौं न भोक लागेकै थिएन । 

पैसा नभएर उसले पानी घुटकाएको हो र त्यो एक प्रकारको दिवा स्वप्न हो भनेर जसरी मैले अघि घोषणा गरे, गलत पो हो कि !  हो, दिवा स्वप्नको अन्त्य यसरी भएको छ । 

यतिखेर म फेरि टवाल्ल परेको छु । 

उसो त टवाल्न पर्नु भनेको आफ्नो अस्तित्व बारे सम्झिनु पनि त हो । आफ्नो अस्तित्व बारे जसै सम्झेको छु, मलाई चियाको सम्झना आएको छ । उफ ! चियाको अर्डर लिन अझै पनि कोही आएको छैन । फेरि मैले पनि त उनीहरुलाई बोलाएर चियाको अर्डर दिएको छैन नि !

आफ्नो अस्तित्वको अवस्था बोध भएपछि एकाएक मलाई सनक चल्छ । उनीहरु अर्डर लिन नआउने र म अर्डर दिन नबोलाउने बिचमा जुन झन्झट छ, यो झन्झटमा बस्नु भन्दा त सनक चल्नु अत्यन्त बेस छ । 

त्यसैले सनकमा आफु बसेको टेबलमा रहेको पानीको जग उठाउछु । घुटकाउछु । अनि हतारहतार त्यस होटल बाट बाहीर निक्लिन्छु । 

निक्लिएर म जुम्ला रोडको एक साईडमा उभिएर अटो पर्खिन थाल्छु । पर्खेर जब अटोहरु मेरो नजिक आउछन म फटाक्से हात हल्लाएर रोक्न खोज्छु । तर ति दुर्त गतिमा गतिवान भईजान्छन । जति गर्दा पनि अटोहरु रोकिएका छैनन । अथवा मैले अटोहरु रोक्न सकिरहेको छैन । 

अस्तु !

Tags:

सम्बन्धित समाचार