काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकाे तर्फबाट बुढानीलकण्ठ नगरपालिकाको प्रमुख पदमा उम्मेदवार दिएका विनोद चालिसे र उपप्रमुख पदमा उम्मेदवार दिएकी रमिला वाग्लेको प्रचारमा कांग्रेसका महामन्त्री गगन थापा आफैँ उत्रिएका छन् ।
बुढानीलकण्ठ नगरपालिका वडा नं १२ मा भएको घरदैलो कार्यक्रममा सहभागी बन्दै मत मागेका थापाले आजै वडा नं १३ मा पनि उम्मेदवारहरुलाई मत मागेका थिए ।
सांसदका रूपमा चौथो पटक र प्रत्यक्ष निर्वाचित सांसदका रूपमा तेस्रो पटक निर्वाचन मैदानमा होमिने तयारीमा रहेका थापा अहिले स्थानीय तहका उम्मेदवारहरूसँगै आफ्नो क्षेत्रको घर दैलोमा अभियानमा हिँडेका छन् । बुढानीलकण्ठ नगरका उम्मेदवार विनोद चालिसे गगन थापाको धेरै नजिक र सँगै पढेका साथी पनि रहेको बताएको छ ।
हिजोसम्म एमाले र माओवादी घरदैलोमा हिँडेका कतिपय स्थानीय नेताहरू अहिले विनोद चालिसेलाई नै जिताउन लागि परेको नेकाका बुनपा क्षेत्र ४ ‘ख’का सचिव मनोज सिग्देलले बताएका छन् ।