बिहिबार , मंग्सिर १४, २०८०

लिच्छवीकालदेखि चलेको गाईजात्राका अनेक किम्बदन्तीहरू

गोवर्द्धन पूजा कात्तिकमा हुन्छ, गाइजात्रा साउनमा हुन्छ । यी दुई पर्वबिच १० महिनाको अन्तर छ । गो (गाई) वर्द्धन (बढाउनु) पर्व ‘गाई बढाउने (गाईलाई साँढे दिने) पर्व’ हो । कात्तिकमा साँढे लागेको गाई साउनमा ब्याउँछ । पशुपालनको युगमा मानिसको सम्पूर्ण आजिविकाको आधार नै गाई थियो ।

image

गाईजात्रा भन्नासाथ छाडा स्वतन्त्रता, हास्यास्पद टिप्पणी र हास्यरस भन्ने बुझ्न थालिएको छ । अनौठो भेष धाराण गरेर हाँसख्याल प्रर्दशन गर्ने, उट्पट्याङ् गर्दै हसाउँदै, विचित्र रुपमा मनाइने यो पर्वको मौलिकता धुमिल हुन् थालेको छ । जसले जे गरे पनि, जे भने पनि हुने भन्ने अर्थमा यसलाई बुझ्दा  ‘गाईजात्रा’ को आफ्नै मिथक, महत्व र विशेषता ओइलाउन पुग्दछ । 

पृष्ठभूमि :

नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ । नेवारी भाषामा यो पर्वलाई ‘सापारू’ भनिन्छ । ‘सा’ को अर्थ गाई र ‘पारू’ को अर्थ प्रतिपदा तिथि हो जुन दिन यो चाड मनाइन्छ ।

नेवार समुदाय बसोबास गर्ने क्षेत्रहरू मुख्यतः काठमाडौं उपत्यकालगायत पोखरा, कीर्तिपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, दोलखा, ओखलढुङ्गा, संखुवासभाको चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडामा भाद्रशुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट गाइजात्रा मनाइने गरिन्छ । 

चित्रकार हरिप्रसाद शर्माले यो चित्रमा काठमाडौंको गाईजात्रा पर्वको दृश्य उतारेका छन्। चित्रमा बौलाहाको भेषधारी मानिस कोही माटोको कतारोमा चिप्लीकिरा राखेर ‘माछा किन्नुहोस् माछा’ भन्दै हँसाइरहेछन्। कोही भोगटे र काँक्रोको पुरुष यौनांग बनाएर मानिसलाई जिब्रो टोक्ने गरी लज्जित बनाउँदै हिँडेका छन्। कोही डाँडीमा खुर्सानीको माला झुन्ड्याइएको कपडाविहीन छाता ओढेर हाँसउठ्दो ख्याली गर्दै छन्। कोही विदेशी महिला–पुरुषको जस्तो तर बहुलठ्ठी पहिरन र उत्ताउलो चालढाल प्रदर्शन गर्दै छन् । तस्बीर : सेतोपाटी

प्रताप मल्ल भन्दा अगाडि पनि गाईजात्रा मनाइन्थ्यो

नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरु गरेको ठान्ने संस्कृतप्रेमीहरूको जमात ठुलै छ । तर संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार अभिलेखहरूले नेपालमा लिच्छविकालदेखि नै गाईलाई उच्च महत्त्व दिने गरिएको देखाएको बताउँछन् ।

उनका अनुसार मध्यकालीन धार्मिक, सांस्कृतिक जीवनमा अलौकिक शक्तिको महत्त्व बढेसँगै चाडका रूपमा गाईजात्राको महत्त्व पनि बढेको थियो । उनी भन्छन्, “लिच्छविकालको अभिलेखमा साँढे जुधाएर गरिने जात्राको उल्लेख भएको हामी पाउँछौँ । अंशुवर्माको मुद्रामा दूध चुसिरहेको बाच्छो देखाइएको छ । त्यसले हाम्रो धार्मिक सांस्कृतिक जीवनमा गाईको महत्त्व कति छ भन्ने देखाउँछ ।”

उनले ६०० वर्षअघिको गोपालराज वंशावलीमा ‘सायात’ भन्ने शब्द उल्लेख गरिएको भन्दै ‘सा’को अर्थ गाई र ‘यात’ को अर्थ जात्रा भएको बताए । त्यसबाहेक भक्तपुर दरबार क्षेत्र परिसरमा रहेको जितामित्र मल्ल र भूपतिन्द्र मल्ल राजाका शिलालेखमा पनि यो जात्राको चर्चा गरिएको उनको भनाइ छ । राजा प्रताप मल्लको पालामा आएर गाईजात्राको विधिविधान थपिदिएको हुनसक्ने उनको विश्वास छ ।

इतिहासविद गौतम वज्राचार्य पनि यस कुरामा सहमत देखिन्छन् । उनले गोवर्द्धन पूजाको प्रसंग ल्याएर गाईजात्रा गोपालवंशको शासनकालदेखि नै उपत्यकामा मनाउन थालिएको बताएका छन् ।

गोवर्द्धन पूजा कात्तिकमा हुन्छ, गाइजात्रा साउनमा हुन्छ । यी दुई पर्वबिच १० महिनाको अन्तर छ । गो (गाई) वर्द्धन (बढाउनु) पर्व ‘गाई बढाउने (गाईलाई साँढे दिने) पर्व’ हो । कात्तिकमा साँढे लागेको गाई साउनमा ब्याउँछ (साउन,भदौ भनेको सुत्केरी गाईलाई हरियो पोसिलो घाँस पाइने समय) । पशुपालनको युगमा मानिसको सम्पूर्ण आजिविकाको आधार नै गाई थियो । सामुदाय (गण) ले पालेका गाई ब्याउदा सो गणमा उत्साह छाउथ्यो । त्यही उत्साहका साथ उत्सव मनाउने प्रचलनबाट गोपाल वंशको शासनकालदेखि नै उपत्यकामा गाईजात्रा मनाउन थालिएको हो । असल संस्कृतिलाई शासकसँग जोडेर ब्याख्या गरियो र प्रताप मल्लसँग जोडेर गाईजात्राको उद्भवलाई शताब्दीयौँ पछाडि तानियो । 

लेखक महेश्वर महर्जनका अनुसार, गरुड पुराणको प्रेताकल्प भन्ने खण्डमा प्रेतत्वबाट मुक्ति भन्ने शीर्षकमा प्रेतत्वको मुक्तिको लागि मूर्तिको निर्माण गर्ने उल्लेख भएको पाइन्छ । साथै, ‘ललित विस्तर’ भन्ने बौद्ध ग्रन्थमा बौद्धदेवको तपस्या भङ्ग गर्न क्लेस, मृत्यु, देवस्कन्ध आदि विभिन्न रूपमा नक्कल गरी तपस्या भङ्ग गर्न आएको तथ्यहरू पाइन्छ । यस अर्थमा सापारु अर्थात गाइजात्रा मल्लकालभन्दा धेरै पहिलेदेखि नै प्रचलनमा रहेको देखिन्छ । मृत्यु गणना गर्ने सन्दर्भमा संस्कारमूलक सांस्कृतिक थालनी चाहीँ मल्लकालमा भएको देखिन्छ ।

यसैगरी, लिच्छविकालिन अभिलेखहरूमा पनि गौ उत्सव, गौ यात्रा, वृषभ यात्रा आदि विभिन्न नाम उल्लेख भएको अनुसार साया पर्व प्राचिनकालदेखि नै चल्दै आएको परम्परा हो भनि मान्न सकिने अधारहरू तय हुन्छन् । 

गाई जात्रासँग जोडिएका विश्वासहरू :

१. गाईजात्राको दिनमा गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्दा स्वर्गमा पुगिन्छ भन्ने मान्यता छ । बाँचेकाहरूको भलो होस् र मरेकाहरूको पनि मोक्ष प्राप्ति होस् भनेर गाईजात्रा मनाइन्छ । (संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ)

२. पृथ्वीलोकको १ वर्षको समय, देवलोकमा १ दिन हुने भएकोले यस दिन मृतकको घरबाट `सा छ्वेगु´ अर्थात, ‘गाई पठाउने गर्यो’ भने स्वर्गको बाटो खुल्ने जनविश्वास गरिन्छ । (नेवा: संस्कृति अध्येता सन्दीप महर्जन)

३. हिन्दू धर्ममा गाई पवित्र जनावर हो । हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ । मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो । भक्तपुरमा बालबालिकाको मृत्यु भएको छ भने केटा मर्दा केटाको लुगा र केटी मर्दा फरिया डोकोमा बेरेर गाईको चित्र बनाइन्छ । यसपश्चात् त्यसमा परालको सिङ गुथेर सिन्दूर, टीका र मालाले पूजा गरिन्छ र नगर घुमाउन लैजाने चलन छ । यमलोकमा कसैले कसैलाई नछेकून् भनेर त्यसलाई मुकाबिला गर्न यहाँको टोलटोलका मान्छेहरू घिन्ताङघिसी भन्ने नाच नाच्छन् । (संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगः)

४. गरुड पुराणअनुसार यमलोकको मुख्य ढोका वर्षभरी बन्द रहने र पृथ्वीलोकमा गाइजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेश पाई मुक्ति पाउने उल्लेख गरिएको पाइन्छ । यस दिन दिवंगत भएका आफन्तको सम्झनामा गाइजात्रामा सहभागीलाई श्रदालुले दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र पैसा दान गर्ने चलन रही आएको छ । (महेश्वर महर्जन)

५. राजा जयस्थिति मल्ल मल्लको राज्यकालमा अर्थात ने.सं. ५०० तिर नै राजखानदानका व्यक्तिको मृत्युमा गीत गोविन्दावली भजन गाउँदै सो दिन देश परिक्रमा गर्ने परम्परा रहेको पाइन्छ । यस कुराले गाईजात्रा प्रताप मल्लले सुरु गरेको भनिएको दाबीलाई खण्डन गर्छ । यसैगरी, गाईजात्राको दिन गाई प्रदर्शन गर्ने क्रममा उक्त गाईले हालेको एक पाइलाबाट एक अश्वमेघ यज्ञ गरे बराबरको फल प्राप्त हुने विश्वास पनि रहेको छ ।

६.बौद्धमार्गीले गाईजात्राको भोलिपल्ट दिवंगत आफन्तको सम्झनामा बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गर्ने र हातमा दीप लिएर पाटनको चार दिशामा अवस्थित अशोक स्तम्भ भित्र रहेका चैत्य र मठ मन्दिरमा पूजाआजाका साथ पैसा अन्न आदि चढाउँदै नगर परिक्रमा गर्ने चलन छ, जसलाई मतयाः पर्व,  दीपयात्रा नेकू वा श्रृङगभेरी जात्रा भनिन्छ । यो यात्राको शुरुवात लिच्छवीकालमा भएको हो । राजा बालचन्द्र देवका छोरा गुण कामदेव (काठमाडौंका संस्थापक)ले पाटका १० टोल (मङ्गलबजार, चक्रबहिल, इखा छेः, बुबहाल, हउगल, ओकुबाहाल, कोबाहाल, सौगल र नकबहिल)का जनतालाई सम्मिलित गरेर यो यात्रा शुरु गरेको मान्यता छ ।  (संस्कृतविद हरेराम जोशी) यस कुराले गाईजात्रा प्रताप मल्लले सुरु गरेको भनिएको दाबीलाई खण्डन गर्छ ।

७. स्थानीय किसानहरू स्थानीय भाषामा ‘ब्याञ्चायात जा नकेगु’ अर्थात् ‘भ्यागुतालाई खाना खुवाउन जाने’ गर्दछन् । गाईजात्रा खेतीपाती र किसानसँग सम्बन्धित पर्व पनि हो । रोपाइँ सकेर गोडमेल गरिसकेपछि साउन शुक्ल पूर्णिमादेखि अष्टमीसम्म आठ दिन मनाउने भनिएको छ । खेतमा काम गर्दा जति पनि कीराफट्याङ्ग्राहरू उनीहरूले मार्छन्, त्यसको लागि क्षमायाचना गर्दै भ्यागुतालाई खाना खुवाउने गरिन्छ । कीराफटयाङ्ग्राहरूलाई खाइदिने भएकाले भ्यागुता किसानको असल साथी भएको विश्वास गरिन्छ । (गाईजात्राको बारेमा अध्ययन गरेकी सुलोचना छ्वाजू)

गाईजात्रामा माटोको साँढे बनाई भक्तपुर नगर परिक्रमा गराइँदै (यसबारे तल चर्चा हुनेछ)। तस्बीर : नेपाल प्रेस

प्रतापमल्ल र गाईजात्रा

ने.सं. ५७५ कालीन राजा प्रताप मल्लका कान्छा सुपुत्र राजकुमार चक्रवतीन्द मल्लको शीतला रोगका कारण मृत्यु हुन पुग्दछ । राजकुमारको मृत्युमा भावविह्वल रानी रामतीलाई कसै गरे पनि शान्त राख्न नसकेपछि राजा प्रताप मलले ‘जसको घरमा वर्षभरी आफ्न्तको मृत्यु भएको छ, उसको नाउँमा ख्याली झाँकीसहित गाईजात्रा निकाल्नु’ भनेर उर्दी जारी गर्छन् । 

यसपछि, व्यंगात्मक रुपले ‘साया’ आई त्यससँगसँगै ‘ख्याली’ पनि आए । यो देखेर रानीले हाँसो रोक्न नसकेर बेस्सरी हाँसिन् अन्तत: राजाले ‘संसारमा मृत्यु अपरिहार्य छ र हाम्रै देशमा पनि जनताहरुको मृत्यु भइरहन्छ’ भनी बुझाउन सके । सोही समयदेखि यो परम्परालाई निरन्तरता दिएको मानिन्छ भने राजाले सोही दिन ‘राजादेखि रैतिसम्मका जसको पनि मजाक बनाउन पाइने’ गरि जनतालाई सहुलियत प्रदान गरेका थिए । यसको ज्वलन्त उदाहरण अहिले पनि गरिने `ख्यालिं वयेगु´ हो, जसमा विभिन्न पात्रहरुको अभिनय गदै मजाक र व्यंगात्मक कुराहरु प्रस्तुत गरि रमाइलो गर्ने गरिन्छ । 

दायाँ फोटो : दुरबिनबाट काठमाडौं हेर्दै राजा प्रताप मल्ल, यस दुरबिन अष्ट्रेलियन खगोलशास्त्री एवम् पादरी जोहान ग्रुबर तथा बेल्जियन पादरी एवम् नक्शाकारले कान्तिपुरका राजालाई उपहार दिएका थिए, तस्बीर : Old Photos of Nepal

उपत्यकामा स्थानविशेष फरक-फरक गाईजात्रा

सापारु (गाईजात्रा) लाई स्थानीय विशेष ऐतिहासिक आधारमा काठमाडौंको सःया (सापारु –गाइजात्रा), ललितपुरको पाटन लगायतका नेवारी बस्तीहरुमा मतया नेकूजात्रा, भक्तपुरमा घिन्ताकिसी जात्राका रुपमा मनाइन्छ । त्यसैगरी कीर्तिपुरमा वाःचाहिलेका नाउँमा पागाः, मच्छेगाउँ र ललितपुरको खोकना सिकाली अजिमास्थल अगाडिको पोखरीमा विभत्स ढंगले जिउँदो बाख्रीलाई टोकी, लुछाचुँडी गरी, हत्या गरेर गाईजात्रा मनाइन्छ ।

धर्मको आधारमा श्रेष्ठ ज्यापू समुदायले निकाल्ने गाईजात्रा झन्डै एउटै प्रकारको हुन्छ भने शाक्य, बज्राचार्य, चित्रकार, तुलाधर, मानन्धरमा सापारु भनिए तापनि बुद्धस्त्रोत्र पाठ गर्दै मतया निकाल्ने गर्दछन् । त्यसै गरी वैदिक नेवार राजोपाध्याय, शर्मा आदिमा सापारुका दिन नृसिंह झाँकी प्रदर्शन गरिने परम्परा छ ।

१. येँमी (काठमाडौँवासी) गाइजात्रा सापारु

काठमाडौँ नगरवासीहरुले मृतकको नाउँमा मानवलाई सेतो जामा, छ्वालीको जनै, टाउकोमा अगाडि गाईको अनुहार अंकित चित्र र पछाडि गणेशको चित्र लेखिएको मुकुण्डो पहिराएर भव्य शृङगार गरी बाजागाजासहितको गाईजात्रा निकाल्छन् । साथै दोस्रो व्यक्ति पहेँलो वस्त्र पहिरेर फेटा बाँधी चिम्टासहित कमण्डल लिई जोगीको भेष धारण गरेर श्रङ्गारमा रहन्छ । र, तेस्रो गाईलाई सिँगारेर नगरका विभिन्न स्थानबाट निकाली राजाको उर्दीअनुरुप हुनमानढोका दरबार परिक्रमा गराइन्छ । 

मृतकका घर घरबाट मृतकका नाउँमा पुरी, जुलेवी, फलफूल, नगद, दूध आदि द्रव्य दान गर्दा १०८, प्याकेटदेखि १००८ प्याकेटसम्म पुर्याउनुपर्ने परम्परा छ । यसरी गाईजात्रा निकाले वा दान गरिए सिठी नःखःका दिनदेखि बन्द रहेको यमलोकको ढोका खुल्छ र मृतक सजिलै स्वर्ग प्रवेश गर्छ भन्ने मान्यता पाइन्छ । 

गाईजात्रा नगर परिक्रमा पछि घर फर्किएकालाई घरको मूलढोकाअगाडि हातखुट्टा धुवाएर स्वागत गरी घर भित्र्याइन्छ । बौद्धमतअनुसार गाईजात्रा सायाः जानु भनेको बुद्धलाई मार (आपत विपत) आएको भन्ने मान्यताअनुरुप बौद्धमार्गी नेवार शाक्य, बज्राचार्य, मानन्धर, चित्रकार, तुलाधर आदिले मृतकको नाउँमा दाफा बाजाका साथ धूपदीपसहित थने कोने परिक्रमा गर्ने गर्दछन् ।

२. कीर्तिपुरको पाँगा, मच्छेगा बाःचाहिले जात्रा

यहाँ गाईजात्राको एक दिन अगाडि गुँपून्हीका दिन राति बाःचाहिलेका नाउँमा मृतकका नाउँमा धूपदीप र दक्षिण बुद्ध चैत्य विहार परिक्रममा गर्दै चढाउने गर्दछन् । गाईजात्राका दिन झयाझयाँ पापाको नाउँमा रङ्गीविरङ्गी देवी देवता ख्यालो भैरवको मुकुण्डो पहिरेर देश परिक्रमा गराइन्छ । धा, पयँता बाजाको तालमा देश परिक्रमा गर्दै बाघभैरव मन्दिर अगाडि नारायण मन्दिरबाट पोखरीमा राँगाको खुट्टा सहभागीहरुले हानथाप गरी लुटेर रमाइलो गर्ने गर्दछन् ।

त्यसैगरी, कीर्तिपुरको पाँगामा गाईजात्राका दिन घुँसी गणेशस्थान (पिगँद्य) मा मृतकको घरघरबाट जम्मा हुन्छन् र ९ देखि ११ जनासम्मको सामूहिक गाईजात्रा देश परिक्रमा गराउने चलन छ । साँझ राजदरबार अगाडिको हयेँ पोखरीमा राँगाको टाउको खुट्टा फ्याकी लिन् प्रतियोगिता हुने गर्दछ । 

त्यस्तै, कीर्तिपुरको मच्छेगाउँमा ग्वाःटोल, सायमिटोल र नायःटोलबाट लाखेजाात्रा निकालिन्छ भने गाईजात्राका दिन नारायण देवस्थलमा मृतकको नाउँमा निकालिने गाईजात्रा, ख्याली भेला भई देश परिक्रमा गराइन्छ । साँझ विष्णुदेवीको भव्य जात्रा हुन्छ भने यो क्रम कृष्णाष्टमीका दिनसम्म चल्छ ।

३. भक्तपुर ख्वपको घिन्ताकिसी जात्रा

उपत्यकाका विभिन्न ठाउँबाट निकालिने साया गाईजात्रामध्ये भक्तपुरबाट निकालिने गाईजात्राको रौनकता विशिष्ट रहने गरेको पाइन्छ । यहाँको गाईजात्रलाई घिन्ताकीसी भनिन्छ । मृतकको घर घरबाट छ्वाँली, लामो बाँस, काठ आदिको प्रयोग गरी तायमचा खट निर्माण गरिन्छ । मृतको फोटो राखेर पुरोहितद्धारा पूजाआजा गरी बाजागाजाका साथ नगर परिक्रमा गराइन्छ । राजनीतिक घटनालाई प्रस्तुत गर्दै तायमचा खटको पछिपछि ख्याल प्याखँ, खिःद्या धिमे बासुरु आदि बाजाको तालमा कथि ख्याखँ (लट्ठी नृत्य) भव्य प्रदर्शन गरिन्छ । यस नृत्यको लागि उगःलुसी तकू, चिकू, अयलाः लुइम्ह र त्वनीमह बजि इनिम्ह आदि कलाकालहरुको भूमिकासहित देश परिक्रमा गरिन्छ । घिन्ताकिसी गाईजात्राको समापन देशका विभिन्न भागबाट न्यातपोल  (पाँचतले मन्दिर) र भैरवनाथ देगलमा पुगी समापन हुने परम्परा रहेको छ ।

भक्तपुरको गाईजात्राअन्तर्गत माक प्याखँमा सहभागी कलाकार । तस्बीर : नेपाल प्रेस

भक्तपुरको गाईजात्रामा साँढे छोड्ने चलन

गाईजात्रा मनाउने क्रममा ज्यान गुमाएका व्यक्तिको सम्झनामा माटोको साँढे वा तहासाँ बनाएर नगर परिक्रमा गर्ने चलन रहँदै आएको छ । तहासाँ वा तहामचा भक्तपुरको गाईजात्राको विशेषता हो । बाँसमा फरिया बेरेको भए त्यो महिलाको र कपडा बेरेको भए त्यो पुरुषको तहासाँ भनेर बुझिन्छ ।

यसको महत्त्वपूर्ण सन्देश चाहिँ यो एक प्रकारको मृत्यु गणना जात्रा पनि हो । परम्परागत सहरमा तपाईँ बस्नुहुन्छ भने वर्षभरिमा कति मान्छेले ज्यान गुमाए भन्ने गाई जात्रा घुमाउने बाटोमा दिनभरि तपाईँ ढुकेर बस्नुहोस् एकदमै निश्चित र प्रामाणिक तथ्याङ्क आउँछ । भक्तपुरमा परालको भैरव र भद्रकालीको साथमा त्यस वर्ष मरेका व्यक्तिहरूको ताहासाँ प्रदर्शन गरिसकेपछि गाईजात्राको अन्तिम कार्यक्रम सकिने गर्दछ

ताहा सासँगै डोक सा बोकेर नगर परिक्रमा गराइँदै । तस्बीर : नेपाल प्रेस

भक्तपुरमा गाईजात्राको प्रारम्भिक कालमा मृतकको सम्झनामा जिउँदै साँढे छाड्ने गरिन्थ्यो । तर, यसरी छाडिएका साँढेहरुले किसानका बालीनालीमा क्षति पुर्‍याउन थालेपछि यो क्रममा ब्रेक लाग्यो । अनि जिउँदोको साटो माटोको साँढेको प्रतीक बनाएर (प्रजापति समुदायले) नगर परिक्रमा गराउने प्रचलन आयो । त्यतिबेला माटोको साँढको प्रतीक फाल्न भक्तपुर निश्चित ठाउँकै व्यवस्था गरिएको थियो । जसलाई अहिले थुसाचा भन्ने गरिन्छ ।

ताहासा बनाउने कार्य पनि खर्चालु भएपछि आकार घटाएर डोकसा बनाउने प्रचलन समेत देखिएको छ । डोकोमा लिंगअनुसारका कपडाले सिंगारेर ताहासामा जस्तै गाईको मुखाकृति, परालले बनाएको एकजोडा सिङ तथा कागजका अन्य सजावटका सामग्री राखेर गाईको प्रतीक बनाइन्छ । यसप्रकार गाईजात्रामा परिक्रमा गराइने गाईको प्रतीकको आधारमा सम्बन्धित परिवारको आर्थिक अवस्थाको आँकलन समेत गर्न सकिन्छ । (संस्कृतिकर्मी ओमप्रसाद धौभडेल)

४. खोकनाको बाख्री हत्या गाईजाात्रा

ललितपुरको खोकनामा मृृतकको नाउँमा निकालीने गाईजात्रामा दुई जना मानिसले हलो जोत्ने बेलामा जस्तै बीचमा घण्टी झुन्ड्याएर बोक्छन्  । पुरानो ‘भान्ता लुगा’ पहिरिएका ती गाइजात्रेहरूले अनेक हाउभाउ कटाक्ष प्रयोग गरी हँसाउँदै नगर परिक्रमा गर्दछन् । 

दिउँसो सिकाली अजिमा अगाडिको पोखरीमा जिउँदो बाख्री फ्याकेपछि युवाहरूको ठूलो जमातले लुछाचुँडी गर्दै बहादुर वर्ष पुरुषको पद धारण गर्न त्यस्तो बबन्डर प्रदर्शन गर्ने गर्दछन् । वर्ष पुरुष घोषणा हुनुअघि बाख्रीको लुछाचुँडीमै मृत्यु भइसकेको हुन्छ ।

५. ग्वल पशुपति र नरहाँडी गाउँमा पायो जात्रा

पशुपति क्षेत्रमा गाईजात्राको भोलिपल्ट रोपाइँजात्राका दिन (गुँलागा द्धितीया) नवदुर्गा जगाउन ९ जनाको पायो निकालिन्छ भने नेपाल भाषामा ग्वल ८१ संयोजनयुक्त बस्तीलाई जगाउन वर्षभरी जलाएको आत्माको कामना गर्दै बाजागाजासाथ देश परिक्रमा गरिन्छ । त्यसैगरी लिच्छविकालीन बस्ती नरदे हाँडीगाउँमा द्यःछेबाट यस दिन खड्गधारी पायो निकाली खिँ काँहा बाजा बजाएर रोपाइँ जात्रा प्रदर्शन गरिने परम्परा छ।

६. मतयाः पर्व, दीपयात्रा, नेकू वा श्रृङगभेरी जात्रा

चक्रवही, इखाछे बुबहाल, हौग, वकुवहा, इखालखु, कोवहा, सौगः, नःवही, मंगःप्याल, ललितपुरका यी १० टोलले पालैपालो प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट नेकुजात्रा मतयाः जात्रा आयोजना गर्दछन् । भदौ कृष्ण द्धितीयाको दिन ललितपुरको नगरीमा अवस्थित बुद्ध चैत्यस्थलमा मृतकको नाउँमा दीपदान गर्ने र राँगाको सिङ बजाउँदै नगरपरिक्रमा गर्ने हुँदा यस पर्वलाई मयता नेकुजात्रा भनिएको हो । 

पालोवाला टोटलमा जम्मा भई विहान ६ देखि साँझ ७ बजेसम्मा १२ घण्टा लगातार देवताको नाउँमा धूप, दीप, नैवेद्य, मैरी, मतयामरी, हयुदिवा, कपुर दक्षिणा, अबिर, अक्षताहलः अमला आदि चढाउँदै मृतात्माको लागि शान्ति कामना गर्नु यस पर्वको विशेषता हो । 

तस्बीर : बोधी टिभी

कोही कोही रमाइलोको लागि पनि मतयाः यात्रामा भाग लिन्छन् भने यस पर्वप्रति आशक्त केही व्यक्तिहरू कठिन व्रतको नाउँमा चोखो गरी पानी एकथोपा पनि नखाई बस्छन् । र प्रत्येक बुद्धचैत्यस्थलमा जीउ नापेर परिक्रमासमेत गर्दछन् । अझ कतिपयले कसै सँग नबोल्ने ब्रत लिन पनि गर्दछन् । 

मतयाः जात्रामा उकातिर राँगाको सिङ नेकुबाजा र अर्कोतिर ज्यापू समुदायद्धारा बाँसुरी, ढोलक, मगःखि बजाई भजन गाउँदै देश परिक्रमा गरिन्छ । बीच बीचमा युवायुवतीहरु अनेक प्रकारको मुकुण्डा पहिरेर हास्य झाँकी देखाउँछन् । इतिहास तथा संस्कृति विद हरेराम जोशीका अनुसार लिँच्छवि राजा बालार्चनदेवको पालादेखि सञ्चालन भएको मानिने मयता: नेकुजात्रा राजा सिद्धिनरसिंह मल्लले पुनःजागृत गरेको जनविश्वास गरिन्छ ।

नेकुजात्राबारे केही कुरा 

नेपालभाषा (नेवारी)मा ‘नेकु’ भनेको भैंसीको सिङलाई चिनाउँछ । भैंसीको सिङ बजाएर जाने भएकाले पनि यसलाई नेकु मतयाः भनिएको हो । नेपालभाषामा ‘मतः’ को अर्थ बत्ती हुन्छ भने ‘या’ को अर्थ ‘यात्रा’ हुन्छ । यसो गर्नाले वर्ष दिनभित्र मृत्यु भएका पितृले स्वर्गमा बास पाउने धार्मिक विश्वास छ । मतयाः यात्रामा सबैले आफ्नो जीवनकालमा एक न एक पटक सहभागी हुनै पर्छ भन्ने मान्यता रहि आएको छ । 

नेपाल सम्वतको नवौं महिनामा आयोजित मतयाः जात्रामा बनाइने नेकुबाजामा नौ प्रकारका बाजा हुने गर्दछ । नेकु भन्नाले सिङ यस बाजालाई श्रुङ्गेरी पनि भन्ने प्रचलन छ । ललितपुरको नगर परिक्रमा गरी मनाइने मतया नेकुजात्रामा बजाइने श्रृङ्गभेरी बाजालाई पूर्व मेची देखि पश्चिम महाकालीसम्म प्रचलनमा रहेको सम्पूर्ण बाजाहरुको संयोजन संगीत भन्न सकिन्छ । 

नेकुजात्राको बारेमा प्रचलित आख्यानअनुसार सिंहकेतु राजाको कार्यकालमा शशिपहन नगरमा रानी सुलक्षणा अति धर्मकर्ममा विश्वास गर्ने स्वभावकी थिइन । राजा सिकार खेली निर्दोष पशुपन्छीको हत्या गर्ने कारण रानीले धेरै सम्झाउथिन् । तर नमानेपछि कालगतिको कारण एक दिन दुवैको मृत्यु हुन्छ । 

पशुहत्याको पापका कारण राजा एक ब्राम्हणको घरमा राँगाको रुपमा र रानी एक ब्राम्हाणकी छोरीको रुपमतीको रुपमा जन्मिन्छन् । एक दिन राँगा भिरबाट खसी मरेछ, पूर्वानुस्मृति शक्तिको कारण वर्तमान ब्राम्हणकी छोरी रुपमतीले मृतक राँगो आफ्नो पति भएको थाहा पाई राँगाको हाडखोर जम्मा गरी बुद्धचैत्य निमार्ण गर्छिन् । साथसाथै, उनले राँगाको सिंङको प्रयोग गरि एक प्रकार बाजा बनाएको विश्वास रहेको छ । यस सन्देशलाई आत्मसात गर्न र हिंसा हत्याको श्रापबाट बच्ने सन्देश प्रवाह गर्न प्रत्येक वर्ष दिन ललितपुरमा श्रृङ्गभेरी, नेकुजात्रा र दीपयाात्रा हुँदै आइरहेको छ ।

गाईजात्राका पछिल्ला संस्करणहरू :

गाईजात्राको परम्परागत मान्यता वर्तमानमा नेवार समुदायमा मात्र सीमित नरही व्यंग्यात्मक हास्यब्यङग्य प्रहसन, गाइजात्रे पत्रपत्रिका, नाटक तथा सञ्चारका माध्यमबाट राष्ट्रिय हास्यब्यङ्ग्य चाडको रुपधारणा गरिसकेको पाइन्छ । ‘गाईजात्रा’को आडमा हुने गरेका केहि कमसल प्रहर्सनहरूले ‘गाईजात्रा’को महत्त्वलाई बटारिदिएको छ । ‘हसाउनै पर्ने बाध्यता र हास्दिनुपर्ने बाध्यताबीच’ यस पर्वले बोकेको ‘मृत्यु चिन्तन’, ‘कृषि चिन्तन’, ‘पुराना नृत्य’ र त्यससँग सम्बन्धित दन्त्यकथाहरू हराउने डर देखिन्छ ।  

व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको ‘शाही कू’ पछि प्रतिबन्ध लागेको गाईजात्राका पछिल्ला संस्करणहरूमा केहि उच्छृङ्खलता पनि नदेखिएका होइनन्, तर यसले समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न खोजिरहेको छ, जुन राम्रो कुरा हो । बस्, यस कार्यमा ‘हामी यस्तै त हो नि ब्रो’ हुनु भएन ।

केहि वर्ष अगाडिको गाईजात्रा, तस्बीर : rubinmuseum

अन्त्यमा,

‘त्यति सजिलै कहाँ मरिन्छ र’ भनेर जीवन जिइरहेकाहरूलाई ‘होइन, मरिन्छ । जहाँ जीवन छ, त्यहाँ मृत्यु निश्चित छ’ भन्नु भनेको चानचुने कुरा होइन । ‘जीवनमा बाँच्नु मात्र पर्याप्त छैन । स्वतन्त्र भएर खुसीसाथ फुल्न सक्नुपर्छ’ भनेर बुझाउन सक्नु यस जात्राको अर्को महत्त्वपूर्ण कडी हो । मृतात्मको स्मरण, सुःखावती भूवनमा बास तथा निर्वाण कामना गर्नु अर्को पाटो रह्यो ।

जन्मेपछि मृत्यु निश्चित छ भन्ने जान्दाजान्दै मान्छे मृत्युबाट लखेटिनुका खास कारणहरू छन् । तीमध्ये पहिलो कारण हो- जीवनशून्यता र डरत्रासको मनोविज्ञान । दोस्रो- प्रकृति र जीवनबीचको नातासम्बन्ध । तेस्रो- सृष्टि चलाउन प्रकृतिले सिर्जना गरेको लोभ, मोह, क्रोध र स्वार्थ । चौथो- जन्मदेखि मृत्युसम्म गरेका आफ्नै कर्महरू । पाँचौं- मृत्युको अनिश्चितता । यी सबै कुराहरूको यथार्थ सम्बोधन यस पर्वले गरेको देखिन्छ । जीवनको अस्तित्वबारे चित्तबुझ्दो उत्तर भेट्याउन व्यक्तिलाई प्रेरित गर्ने पर्वको रुपमा यसलाई बुझेको खण्डमा बेसै हुने थियो । 

स्रोत : (भिजिट नेपाल, बीबीसी लगायत उल्लेखित विभिन्न स्रोतहरूमा आधारित रहेर) – लेखक: राजु झल्लु प्रसाद 

सम्बन्धित समाचार