रंगाशालाको बाँकी काम संघ, प्रदेश र स्थानीय सरकार मिलेर सम्पन्न गर्ने भएको छ ।
काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालाको बाँकी काम पुरा गर्न संघीय सरकारले आगामी आर्थिक वर्षका लागि २२ करोड ५० लाख रुपैयाँ बजेट छुट्ट्याएको छ ।
हास्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले स्थापना गरेको धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सुरु गरेको रंगाशालाको निर्माण आर्थिक अभावका कारण रोकिएको थियो । आर्थिक स्रोत जुटाउन नसकेपछि फाउण्डेसनले १४ प्रतिशत काम गरेर हात झिकेको थियो ।
रंगाशालाको बाँकी काम संघ, प्रदेश र स्थानीय सरकार मिलेर सम्पन्न गर्ने भएको छ । आगामी आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले पनि पाँच करोड रुपैयाँ विनियोजन गरेको छ ।
बागमतीका आर्थिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेलले प्रस्तुत गरेको बजेटमा ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न गर्न भरतपुर महानगरपालिकासँग सहकार्य गर्न ५ करोड छुटाएको छु’ भनिएको छ।
यो रंगशाला निर्माणमा भरतपुर महानगरपालिकाले पछिल्ला हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ।
रंगाशालाको कुल लागत तीन अर्ब रुपैयाँ छ ।