उनीहरूमाथि शंका लागेर चेक गर्दा उनीहरूले लगाएको कपडामा सुनको धुलो बनाएर ल्याएको फेला परेको हो ।
काठमाडौं । अवैध रूपमा सुन लिएर आएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सात जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरले जानकारी दिए ।
शनिबार दिउँसो दुबईबाट काठमाडौं आएको नेपाल वायु सेवा निगमको जहाजमा केही व्यक्तिहरूले भन्सार छलेर सुन ल्याउँदैछन् भन्ने सूचना प्रहरीले पाएको थियो ।
सूचनाको आधारमा प्रहरीले कार्यालयबाट विशेष अनुसन्धानको टोली खटिएको थियो । त्यसक्रममा प्रहरीले सुरूमा दुई जनामाथि निगरानी राखेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेटबाहिर गुल्मी घर भई रूपन्देहीको सैनामैना-१ बस्ने ४२ वर्षीय सुरेशबहादुर शाही र कपिलवस्तु बस्ने २९ वर्षीय सन्दीप चन्द ठकुरीमाथि निगरानी राखेको थियो ।
उनीहरूमाथि शंका लागेर चेक गर्दा उनीहरूले लगाएको कपडामा सुनको धुलो बनाएर ल्याएको फेला परेको हो ।
उनीहरूले लगाएको सर्ट, पाइन्ट र अन्डरवेयरलगायत विभिन्न भागहरूमा सुनको पेस्ट लगाएको फेला परेको हो ।
सन्दीप चन्द ठकुरीबाट ५७२.१६० ग्राम र सुरेशबहादुर शाहीबाट ३९६.८९ ग्राम सुन फेला पारेको हो । प्रहरीले उक्त मात्राको सुन कपडाबाट पगालेर निकालेको हो ।
‘उनीहरूले कपडामा पेस्ट बनाएर ल्याए । त्यसलाई नपगाली ननिस्किने रहेछ,’ कोइरालाले भने,‘कपडा डढाएर, धुलो बनायो । त्यसपछि केमिकल हालेपछि मात्रै सुन निस्किएको हो ।’
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएपछि फेरि अन्य पाँच जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।
पक्राउ पर्नेमा बारा जितपुर सिमरा-१६ घर भई काठमाडौं बौद्ध बस्ने निर्मला घलान, धनुषा बडेश्वर-४ घर भई बुढानिलकण्ठ बस्ने ४१ वर्षीय राहुल भन्ने बरूणभक्त माथेमा र चीनको तिब्बतका घर भई बौद्ध बस्ने २७ वर्षीय लोप्साङ ग्याल्सेन छन्।
त्यस्तै नवलपरासी पश्चिम सुनवाल-१० घर भई माछापोखरी बस्ने ४२ वर्षीय युवराज भुषाल र भारतको दिल्ली कृष्णनगर घर भई ललितपुरको बागडोल बस्ने ५१ वर्षीय अमन राजपुत छन् ।