शुक्रबार , जेठ ८, २०८३

आगामी माघ १ र २ गते तारुकामा २८ हल गोरु जुधाइँदै

कसैले भन्थे, ‘तारुका जयपृथ्वी बहादुर सिंहको मामाघर हो । ऊ मामाघर जाँदाखेरि गोरु जुधाउन थालेको हो ।’

image

काठमाडौं । हामी पौष महिनाको अन्त्य-अन्त्यतिर छौँ । यस समयमा ठाउँठाउँमा माघी पर्वको रौनक सुरू भइरहेको छ ।

यस्तै, नुवाकोटको  तारकेश्वर गाउँपालिका–३ तारुकामा हरेक वर्षको माघी पर्व तामझामका साथ मनाइँदै आइएको छ । अझै त्यस ठाउँमा माघीको विशेष रौनक देख्न पाइन्छ । माघीका अवसरमा हुने ‘गोरु जुधाइ’ले तारकेश्वरमा विशेष रौनक थप्ने गरेको छ । गोरु जुधाइ पर्वले त्यहाँको माघी पर्वको रौनकलाई नै बेग्लै बनाइदिन्छ ।

लामो समयदेखि नै यहाँ हरेक वर्ष गोरु जुधाइँदै आइएको छ । गाउँपालिकाका अध्यक्ष शिव अधिकारीका अनुसार, ‘गोरु जुधाइ कार्यक्रमका लागि यो वर्ष गाउँपालिकाले ८ लाख बजेट छुट्याएको छ ।’

‘१० हजार पर्यटकको उपस्थिति हुने अपेक्षा गरिएपनि अघिल्ला वर्षहरूमाझैँ यस वर्षपनि १५देखि २० हजार पर्यटक उपस्थित हुने प्रबल सम्भावना छ । विशेषगरी, काठमाडौँ, धादिङ र रसुवाबाट आन्तरिक पर्यटकहरू आउने गर्दछन् । त्यसैगरी, गोरु जुधाइ महोत्सवकै लागि भनी बाह्य पर्यटक समेत आउने गरेका छन् ।’, उनले भने, ‘पर्यटकहरूको सुविधाको लागि होमस्टे, खानपान र पार्किङको राम्रो व्यवस्था गरिएको छ ।’

तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्षजस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा गोरु जुधाउन २८ हल गोरु दर्ता भएका गाउँपालिकाका वडाअध्यक्ष सूर्यमान श्रेष्ठले जानकारी दिए ।

यस वर्ष गोरु जुधाइ मेलालाई ‘महोत्सव’का रूपमा सञ्चालन गर्न लागिएको समितिका सचिव अमित अधिकारीले जानकारी दिए । गोरु जुधाइ प्रतिस्पर्धालाई व्यवस्थित, आकर्षक, रोचक बनाई थप मनोरञ्जनात्मक गतिविधिसमेत संलग्न गराइने भएकाले यस वर्ष दुई दिन गोरु जुधाउन लागिएको हो ।

कस्तो छ गोरु जुधाइको इतिहास ? 

तारुकामा ठ्याक्कै कहिलेबाट ‘गोरु जुधाइ’को प्रारम्भ भयो भन्ने यकिन अभिलेख नभेटिए पनि माघी पर्वको विशेष अवसरमा तारुकामा गोरु जुधाउने प्रचलन धेरै पुरानो भएको त्यहाँका स्थानीयहरूको मान्यता छ । साथै, गोरु जुधाउने चलन कसरी सुरु भयो भन्ने प्रश्नमा समेत एक मात्र नभएर अनेक किंवदन्ती सुन्न पाइन्छ ।

चलचित्रकर्मी पुरु लम्सालका अनुसार, गजराज सिंहको पालादेखि गोरु जुधाउने चलन सुरु भएको रहेछ । गजराज सिंहले शाहजादी विवाह गरेका थिए ।  तारुका उनको बिर्ता थियो । तारुकाको बिर्ता (शाहजादीलाई दिएको बिर्तामा) गजराज सिंह जाँदा त्यहाँका किसानहरूले उनको मनोरञ्जनका लागि गोरु जुधाएको भन्ने तथ्य पाइन्छ ।

उनका अनुसार, गोरु जुधाउने जात्राको विषयमा एकदम फरक-फरक खालका भनाइहरू छन् । कसैले भन्थे, ‘तारुका जयपृथ्वी बहादुर सिंहको मामाघर हो । ऊ मामाघर जाँदाखेरि गोरु जुधाउन थालेको ।’ त्यसैगरी अर्काथरीले भन्थे, ‘होइन’ जयपृथ्वी बहादुर सिंहकै घर हो । ऊ त्यहाँ जाँदाखेरि गोरु जुधाउन थालेको हो ।’

यस अर्थमा गोरु जुधाउने प्रचलन गजराज सिंह र जयपृथ्वी बहादुर सिंह दुवैभन्दा पुरानो हुनसक्ने अनुमान भने गर्न सकिन्छ । उनीहरू दुवैको पालाभन्दा पनि परापूर्वकालदेखि चल्दै आएको हुँदा उनीहरूको समयमा पनि विशेष अवसरमा ‘गोरु जुधाइ’ देखाइएको त होइन ? यो एउटा ऐतिहासिक खोजको विषय हुनसक्छ ।

पर्यटनको ‘होल प्याकेज’ !

विदेशमा यही गोरु जुधाइलाई (विशेष गरी स्पेनमा) पर्यटनको भयङ्कर ठूलो उपज बनाइएको छ । लम्सालले भने, ‘जात्रा माघेसङ्क्रान्तिकै दिन आयोजना हुने भएकाले र माघेसङ्क्रान्तिसँग विभिन्न संस्कृति जोडिने भएकाले यसलाई सांस्कृतिक पर्यटनको रूपमा पनि प्रवर्द्धन गर्न सकिन्छ ।

‘त्यहाँ स्टल हुन्थे, विभिन्न सरसामान बेच्थे, कृषकहरूले आफ्नो अन्नबाली बेच्थे, र सँगसँगै तारुकाका फरक-फरक जातजातिका सांस्कृतिक झाँकीहरू देखाइन्थ्यो । लाखे नाचिन्थ्यो । बालन गाइन्थ्यो । मगरहरूले आफ्नो संस्कृति देखाउँथे । नेवारहरूले आफ्नो संस्कृति देखाउँथे ।

कति हल गोरु जुधाइँदै छ ? 

तारुकामा माघेसङ्क्रान्ति गोरु जुधाइ महोत्सव आयोजक समिति नै गठन गरी कार्यक्रम गरिँदै छ । पालिकाका वडाअध्यक्ष सूर्यमान श्रेष्ठका अनुसार, अहिले गोरु दर्ता सुरू गरिसकिएको छ । उनले विगतमा भन्दा यस वर्ष धेरै गोरु जुधाइने समेत बताए ।

हालसम्म के-कति गोरु जुधाउनका लागि दर्ता गरिन्छन् यकिन भन्न नसकिएपनि २८ हल गोरु जुधाउने अनुमान गरिएको वडाअध्यक्ष सूर्यमान श्रेष्ठले बताए । जसका लागि हालसम्म ५४ गोरु जुधाउनका लागि तयारी गरिएको उनको भनाइ छ ।

सम्बन्धित समाचार