बुधबार , साउन ९, २०८१

एकै पर्व उपत्यकामा तीन जिल्लामा फरक-फरक दिनमा ?

काठमाडौंमा क्वाति पुन्ही भनेर क्वाति पकाएर मनाइरहँदा भक्तपुरमा सापारु मनाइरहेको हुनेछ र काठमाडौमा सापारु मनाइरहँदा पाटनमा भने अघिल्लो दिनमा नै सकेर मतया पर्व मनाइरहेको हुनेछ ।

image

काठमाडौं  । भक्तपुरमा गुन्हुँपुन्ही (जनैपूर्णिमा) साउन २६ गते र सापारु (गाईजात्रा) साउन २७ गते मनाइने भएको छ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन परेकाले अन्योल उत्पन्न भएको जनाउँदै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरुसँगको छलफलपछि साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निर्णय गरेको हो ।

भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोहीअनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलन रहेको छ । तिथि घटबढका कारण कुनै दुई तिथि एकै दिन परे तलेजुका मूल पुजारी राजोपाध्याय एवं पुजारीहरु कर्माचार्य र जोशीहरुले आपसमा ज्योतिष विज्ञानको आधारमा छलफल गरी चाडपर्व मनाइने गरिन्छ ।

सोहीअनुसार भक्तपुर नगरपालिकाले तलेजुका मूल पुजारी र पुजारीहरुसँग छलफल गरी साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निष्कर्षमा पुगेको जनाउँदै सोहीअनुसार गर्न सर्वसाधारणलाई आग्रह गर्दै सूचित गरेको हो ।

May be an image of text that says "भक्तपुर नगरपालिका भक्तपर ব नगर कार्यपालिकाको कार्यालय @HATAFURMUNCPAUT ज्यासी, भक्तपुर गुन्हिपुन्ही (जनै पूर्णिमा) र सापारु(गाईजात्रा) मनाउने सम्बन्धि सूचना) यस वर्षको गुन्हिपुन्ही (जनै पूर्णिमा) र सापारु (गाईजात्रा) एकै दिन परेको कारण जनमानसमा अन्यौल पैदा भएको हुँदा यस सम्बन्धमा भक्तपुर नगरपालिका र सरोकारवालाहरु तलेजुका मुल पुजारी (राजोपाध्याय), पुजारीहरु (कर्माचार्य र जोशी) बीच छलफल गरी यहि मिति २०७९ साउन २६ गते गुन्हिपुन्ही (जनै पूर्णिमा) र मिति २०७९ साउन २७ गते सापारु (गाईजात्रा) मनाउने निष्कर्षमा पुगेको हुँदा सर्व साधारण जनताको लागि सोही अनुसार गर्न यो सूचना प्रकाशित गरिएको छ।"

यस सम्बन्धमा सम्पदाप्रेमि एवम् नेवा: संस्कृति अध्येता फ्रयान्की फ्रान्ज (सन्दीप महर्जन) यसो भन्छन्,

“यो वर्ष सापारु मनाइने प्रतिपदा तिथि टुट भएको भनेर श्रावण २७ गते क्वाति पुन्ही र सापारु एकैदिन पारेको छ । नेवा: समुदायले विशेष रुपले मनाउने यी दुई पर्वको भिन्नभिन्न रीत छ । यो वर्ष यहि अन्योल र विवादको बीचमा तीन सहरमा मतभेद हुने गरि छुट्टाछुट्टै निर्णय भएको छ । काठमाडौंमा  श्रावण २७ गते क्वाति पुन्ही र २८ गते सापारु मनाउने भएको छ । किर्तिपुर र ललितपुरको दक्षिण भेगका विभिन्न बस्तिहरूमा पनि यहि निर्णय छ । मुख्य पाटनमा भने २७ गते नै क्वाति पुन्ही र सापारु मनाइने भएको छ भने सापारुको भोलिपल्ट मनाइने मताय पर्व २८ गते मनाउने भएको छ । यस्तै भक्तपुरमा भने श्रावण २६ गते क्वाति पुन्ही र २७ गते सापारु मनाउने भएको छ।
सर्सर्ती हेर्दा एकता कायम नभइकन मतभेद भएको देखिन्छ । यो निर्णयको हिसाबले काठमाडौंमा क्वाति पुन्ही भनेर क्वाति पकाएर मनाइरहँदा भक्तपुरमा सापारु मनाइरहेको हुनेछ र काठमाडौमा सापारु मनाइरहँदा पाटनमा भने अघिल्लो दिनमा नै सकेर मतया पर्व मनाइरहेको हुनेछ । आखिर कहिले सम्म यस्तो मतभेद र अन्योलता ? कहिले दशैंको तिथि, कहिले तिहारको तिथी… अनि यहि तिथि अन्योलताले गर्दा अघिल्लो दिन र पछिल्लो दिन गरि पर्व पनि विभाजित हुँदै….. ! नेवा: समुदायको लागि भनेर खोलिएका यत्ती धेरै संघ-संस्थाहरु सबै मिलेर गुथी तथा सम्बन्धित निकायसँग छलफल गरि अलग्गै पात्रो निकाल्न नसकिने नै हो त ??”

Tags:

सम्बन्धित समाचार