बिहिबार , फागुण १७, २०८०

धार्मिक सद्भाव र सहिष्णुताकाे मुहानः हलेसी महादेव 

image

“विभिन्न ठाउँमा धार्मिक लडाइँहरू भएको सुनिन्छ, ती मानिसहरूले एक पटक हलेसीमा आएर धार्मिक सहिष्णुता सिक्नुपर्ने हो कि जस्तो लाग्छ ।” होटेल एशोसिएसन अफ नेपाल (हान) खोटाङका उपाध्यक्ष एवम् स्थानीय पर्यटन व्यवसायी राजेश राईले भने, “किनकि, हलेसी महादेव तीन धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र हो । यो धार्मिक सद्भाव र सहिष्णुताको मुहान हो ।”

राजेश राई, उपाध्यक्षः हाेटल एशाेसिएसन अफ नेपाल (हान), खाेटाङ एवम् पर्यटन व्यवसायी ।

हलेसी महादेवको गुफामा प्रवेश गर्ने बित्तिकै राजेश राईको भनाई पुष्टि हुन्छ । गुफाको एक भागमा हिन्दु धर्मावलम्बीहरू पूजापाठ गरिरहेको देख्न सकिन्छ भने अर्को कुनामा बौद्ध धर्मका लामा गुरुहरू, किराँत धर्मका अनुयायीहरू आ–आफ्ना धार्मिक क्रियाकलापहरू गरिरहेको देख्न सकिन्छ । एउटै धार्मिक स्थलमा भिन्न-भिन्न धार्मिक समुदायका मानिसहरूले आ–आफ्ना धार्मिक क्रियाकलापहरू गरिरहेको देख्न पाउनु आफैँमा दुर्लभ दृश्य हो । गुफाकाे परिसरमा गुम्बा छ । गुम्बामा बौद्ध लामा गुरुहरू र बौद्ध अनुयायीहरू ध्यान गरिरहेको देख्न सकिन्छ । सँगै शिव मन्दिर छ । मन्दिरमा हिन्दुहरू धार्मिक कर्म गरिरहेको देख्न सकिन्छ । जहाँ पाइला टेकेपछि धार्मिक समुदायहरूबीचमा सह-अस्तित्वको भावना जागृत हुन्छ ।

गुफाभित्र लामा गुरुहरू ।

हिन्दुहरू बौद्ध किराँतलाई देख्दा मुस्कुराउँछन् । बुद्धिस्टहरू हिन्दु किराँतलाई देख्दा दर्शन गर्छन् । किराँतहरू हिन्दु बौद्धलाई सम्मान व्यक्त गर्छन् । आ–आफ्ना धार्मिक कर्म गरेपछि एकै ठाउँमा बसेर चिया नास्ता गर्छन् अनि गफिन्छन् । फरक-फरक धार्मिक समुदाय, फरक आस्था अनि फरक-फरक धार्मिक क्रियाकलाप एकै ठाउँमा । एक अर्काप्रति सम्मान र सद्भाव छचल्किएको प्रष्टै देखिन्छ । धर्मको नाम, धार्मिक क्रियाकलाप, विधि र प्रक्रिया अलग-अलग भएपनि ईश्वर एउटै हुन् भन्ने सन्देश हलेसी महादेवले दिइरहेको पाइन्छ । आफ्नो धर्म र आस्थालाई मात्रै सही मान्ने र अन्य धार्मिक समुदायलाई हेयको दृष्टिकोणले हेर्ने अथवा धर्मको नाममा द्वन्द्व गरेर संसारलाई अशान्त बनाउन उद्यत हुनेहरूका लागि गतिलो झापड हो, हलेसी महादेव ।

हलेसी महादेव ।

“विभिन्न धार्मिक समुदायका मानिसहरू यसरी एकै ठाउँमा जम्मा भएर दर्शन, पूजापाठ गरेको तपाईँहरूले कतै देख्नुभएको छ ?” एक जना भक्तजनले प्रतिप्रश्न गर्दै भने, “यस्तो दुर्लभ दृश्य संसारमा सायदै देख्न पाइन्छ । यहाँ (हलेसी महादेव) आउँदा महादेवको दर्शनसँगै धार्मिक सद्भाव र सहिष्णुता पनि सिक्न पाइन्छ ।”

हिन्दु, किराँत र बौद्ध धर्मको त्रिवेणी हो, हलेसी महादेव । कोशी प्रदेश अन्तर्गत खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित हलेसी महादेवलाई हिन्दुहरूले पूर्वको पशुपतिनाथ समेत भन्ने गर्दछन् । बौद्ध धर्मावलम्बीहरू यस धार्मिक स्थललाई दोस्रो लुम्बिनी मान्दछन् भने किराँतीहरू आदिम भूमि मान्दछन् र पुज्ने गर्दछन् ।

हलेसी महादेव गुफा परिसरमा रहेकाे शिव मन्दिर ।

हलेसी महादेवको दर्शन गरेमा दुःखबाट मुक्ति पाइने, खडेरीबाट मुक्ति पाइने, निःसन्तानलाई सन्तान प्राप्ति हुने, पदोन्नति हुने र निरोगी हुने हिन्दु धर्मावलम्बीहरू विश्वास गर्दछन् । बौद्ध धर्मावलम्बीहरू ज्ञान प्राप्ति र सांसारिक दुःख कष्टबाट मुक्ति पाउने विश्वास गर्दछन् । किराँतहरू हलेसीलाई आफ्ना पुर्खाहरूको आदिम थलो मान्दछन् । हलेसी महादेवको दर्शन गरेमा पितृहरू खुशी हुने विश्वास गर्दछन् । हलेसीबाटै मानव सभ्यताको विकास भएको किराँतहरू विश्वास गर्दछन् । खेतीपातीदेखि लत्ताकपडाको उत्पादन समेत हलेसीबाट भएको उनीहरू विश्वास गर्दछन् ।

पर्यटकको चहलपहल

त्रि–धार्मिकस्थल भएकाले हलेसीमा पर्यटकको चाप कम हुँदैन । नेपाली मात्रै नभएर भारत, भुटान, श्रीलङ्का, म्यानमार, थाइल्याण्ड लगायत देशबाट पनि पर्यटकहरू आउने गर्दछन् । बौद्ध धर्मावलम्बीहरूले एक पटक हलेसी पुग्नैपर्ने मान्यता छ । त्यसैगरी बुद्ध जयन्ती/वैशाख पूर्णिमा तथा बुद्ध धर्मावलम्बीहरूको विशेष पर्वहरूमा पनि चहलपहल बढ्छ । महाशिवरात्रि, रामनवमी र बालाचतुर्दशीमा हिन्दु धर्मावलम्बीहरूको भीड लाग्छ । किराँतहरूको उँधौली, उभौली जस्ता ठुला पर्वहरूमा विशेष भीड बढ्छ । अन्य सामान्य दिनहरूमा पनि दर्शनार्थीहरुको चहलपहल उस्तै हुन्छ ।

“कोरोना महामारीको बेला पनि पर्यटकको चहलपहल राम्रो नै थियो । तीन धर्मावलम्बीहरूकाे सङ्गम भएकाले पर्यटकको चाप घट्दैन”, एक जना स्थानीय व्यवसायीले भने, “चाडपर्वहरूमा थामिनसक्नु भीड हुन्छ ।”

बाटोको दुरावस्थाले सास्ती

मध्येपहाडी लोकमार्ग अन्तर्गत खुर्काेट–घुर्मी–हलेसी सडकखण्डको अवस्था भने टिठ लाग्दो छ । जताततै खाल्डाखुल्डी छ । घुर्मी–हलेसी खण्डमा कालोपत्रे प्रायः उप्किसकेको छ ।

सडकको दुरावस्थाका कारण दुर्घटना हुने जोखिम बढेको होटल तुवाचुङका सञ्चालक एवम् होटल एशोसिएसन अफ नेपाल, खोटाङका उपाध्यक्ष राजेश राई बताउँछन् । उनले भने, “त्रि–धार्मिक स्थल भएकाले यहाँ पर्यटकको चाप उस्तै हुन्छ । तर बाटोको अवस्था राम्रो नहुँदा पर्यटकहरूले सास्ती भोग्नु परिरहेको छ । दुर्घटनाको जोखिम पनि बढेको छ ।”

हलेसीमा आउने पर्यटकहरूले बाटोको दुरावस्थाबारे गुनासो सुनाउने गरेको हलेसीस्थित जाम्बाला रिसोर्टका मेनेजर अनिन्द्रनाथले बताए । उनले भने, “पर्यटकहरू आउने बित्तिकै बाटोबारे गुनासो गर्नुहुन्छ । हामीले स्थानीय सरकारलाई पटक पटक भनेका पनि छौँ । तर, राम्रो बनाउन सरकारको ध्यान गएको छैन ।”

अनिन्द्रनाथ (दायाँ), मेनेजर, जाम्बाला रिसाेर्ट, हलेसी ।

खानेपानीको हाहाकार

हलेसीमा खानेपानीको अभाव पनि भयावह छ । सुनकोशी र दुधकोशी नदिले घेरिएको हलेसी तुवाचुङ नगरपालिकामा नदी किनार बाहेक प्रायः ठाउँमा पानीको अभाव उस्तै छ । पर्यटकहरूको चहलपहल भइरहने हलेसी बजार क्षेत्रमा पानीको झनै हाहाकार छ । दूधकोशीको पानी लगेर उपलब्ध गराउने कोसिस गरिए पनि पर्याप्त छैन । सागसब्जी, तरकारी लगायत सबै खाद्यपदार्थ आयात गर्नुपर्दा हलेसी पर्यटकहरूका लागि निकै महँगो पर्ने गरेको छ । पानी नहुँदा पशुपालन समेत गर्न सकेका छैनन् ।

“खानेपानी नै पुग्दैन । बारीमा सागसब्जी रोप्न पानी छैन । सबै बाहिर बजारबाट ल्याउनुपर्छ ।” एक जना स्थानीयले भने, “पर्यटकहरूले अलि महँगो भयो भन्नुहुन्छ, तर के गर्नु हामीले आफ्नो बारीमा उत्पादन गरेर खुवाउन पाए पो सस्तो दिन सक्नु ।”

विश्वमा धार्मिक समुदायहरूबीच तनाव बढिरहेको बेला धार्मिक सद्भाव र सहिष्णुताको प्रतीकको रूपमा रहेको हलेसी महादेवलाई थप प्रवर्द्धन गर्न जरुरी छ । जसले धार्मिक द्वन्द्वमा होमिइरहेकाहरूलाई ठुलो पाठ सिकाउन सक्छ र विश्वशान्तिको सन्देश दिन सक्छ । तीन धर्मावलम्बीहरूको आस्थाको केन्द्र हलेसी महादेवसम्म पुग्ने बाटोको स्तरोन्नति, खानेपानी तथा सिँचाइको व्यवस्था, पर्यटन प्रवर्द्धन, विकास र विस्तारमा सम्बन्धित र सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।

हलेसी महादेव गुफा कस्तो छ ?

हलेसी महादेव गुफा ।

गुराँसे, तुवाचुङ, जायजुम, मलाथुम्की र रुपाकोट डाँडा जस्ता सदाबहार हरियाली डाँडाहरूको काखमा बाक्लो जङ्गलले ढाकिएको एउटा थुम्को छ । थुम्काको टाकुरामा आकाशतिर फर्केको एउटा ठुलो चट्टानको गुफा छ । त्यही गुफालाई हलेसी महादेव गुफा भनिन्छ । गुफाभित्र प्रवेश गरी करिब ३ सय फिट तल ओर्लिएपछि केही समथर ठाउँमा पुगिन्छ, जहाँ सयौँ मानिस अटाउन सक्छन् । गुफाभित्रको मन्द उज्यालो र समथर ठाउँमा महादेव र गणेशको प्राकृतिक मूर्ति एकै ठाउँमा अवस्थित छ । त्यहाँबाट दक्षिणतर्फको भित्तामा पार्वतीस्थान छ । सो स्थानमा पार्वतीले गणेशजीका लागि दूध ल्याइरहेको जस्तो आकृति छ, जहाँ निःसन्तानले सन्तान माग्ने चलन छ ।

गुफाभित्रको उत्तरी कुनामा धर्मद्वार, पापद्वार छ । त्यस द्वारबाट धर्मात्माहरू छिर्न सक्ने र अधर्मी छिर्न नसक्ने किंवदन्ती छ । यसबाहेक जन्मद्वार, स्वर्गद्वार, कर्मद्वार, तेत्तीसकोटी देवताका प्रतिमूर्ति लगायतका विशेष महत्त्वका ढुङ्गाका प्राकृतिक मूर्तिसमेत गुफाभित्र छन् ।

बसाहाथान गुफा

बसाहाथान गुफा ।

हलेसी महादेव रहेका थुम्कोमा अर्को एउटा ठुलो गुफा छ । यसलाई बसाहाथान भनेर चिनिन्छ । जुन गुफाको मुखमा बसाहालाई राखी महादेव आकाशमा निस्के भनिएको छ । त्यो वारपार छिचोलिएको गुफालाई बसाहा थान भनिन्छ । यो गुफाको मुखमा आज पनि एउटा अजङ्गकाे चट्टान छ र यसैलाई बसाहा भनी पुज्ने गरिन्छ । बसाहाथानको गुफा कैलाशपर्वत भनिने थुम्कोको फेदतिरबाट तेर्सो छेडिएर जाँदै झण्डै १५० फिटमा पुगेपछि अङ्ग्रेजी अक्षरको एल (L) जस्तो ९० डिग्रीको कोणमा ठाडै उठेर छिचोल्दै आकाशमा निस्किएको छ । यसको लम्बाई २२० र ठाडो मुख करिब ९० फिट जति अग्लो छ । एकैपटकमा सयौँ जना मानिस सजिलै भित्र–बाहिर गर्न सकिने यस गुफाबाट करिब २ सय १० फिटभित्र प्रवेश गरेपछि खुला र उज्यालो समथर भूभागमा पुगिन्छ । जहाँ चट्टानको प्वालबाट खुला आकाश देख्न सकिन्छ ।

बसाहाथान गुफाभित्रबाट देखिएकाे आकाश ।

गुफाको स्वरूप हेर्दा भियतनाममा रहेको संसारकै ठुलाे गुफा हान साेन डाेङ्ग जस्तै छ । प्रवेशद्वार अलि सानो छ । भित्रिपसेपछि ठुलाे फराकिलो स्थान छ । बीचमा चट्टानले बनेका विभिन्न आकृतिहरू छन् । गुफाको अन्तिम भागबाट माथि आकाश देख्न सकिन्छ । ठुलाे प्वाल रहेको छ । गुफाभित्र प्रवेश गर्दा अनौठो महसुस हुन्छ ।

बसाहाथान गुफाकाे प्रवेशद्वार ।

यो गुफाको मुखबाट एकैचोटी ८/१० जना सजिलै पस्न सकिन्छ । यसको गर्भ झण्डै ४५ फिट चौडा छ । आकाशतिरको मुख धेरै चौडा छ । यसको कुना काप्चाबाट पानी रसाएका छन् । एक ठाउँमा भित्तामा गाईका थुनहरू जस्तै चुनढुङ्गाका पग्लँदै गरेका जस्ता चुच्चा आकृतिहरू देखिन्छन् । त्यसबाट चुन मिश्रित चौलानी रङ्गको पानी टप्कने गर्दछ । भक्तजनहरू त्यहाँ दूध देउमाई’ भन्दै दूध थाप्दछन् । भाग्यमानीको हातमा दूध चुहिन्छ भन्ने भनाइ छ । नभन्दै केहीका हातमा चौलानी जस्तो चुनपानी हातमा खस्ने पनि गर्दछ । धर्मभीर भक्तजन यसलाई कामधेनुको दूध भन्छन् भने भौतिकवादीहरू उता महादेवथानमा महादेवलाई चढाएको दूध रसाएर यता चुहिएको हो भनी अड्कल काट्दछन् ।

हलेसी महादेवकाे उत्पत्तिबारे किंवदन्तीहरू

हलेसी महादेव गुफाको उत्पत्ति प्रसङ्गको सन्दर्भमा विभिन्न कथा र किंवदन्तीहरू रहेका छन् । इतिहासका अनुसार हलेसी को नाम नेपाल एकीकरण हुनुअघि यस भूमिमा किराँती राजा ‘होलैसुङ’ले शासन गरेका थिए । सोही शब्द अपभ्रंश भई ‘हलेसी’ बन्न गएको बताइन्छ ।

किंवदन्ती-१

स्थानीयवासीको भनाइअनुसार पहिले सत्य युगमा हलेसी मन्दिर वरिपरि जङ्गल रहेकाले त्यहाँ बाघ, भालु घोरल मृग जरायो कालिज तित्रा आदि पशुपंक्षीहरू प्रशस्त मात्रामा पाइने र त्यस जङ्गलमा त्यसै गाउँका स्थानीयवासी किराँत जातका मान्छेहरूले नै सिकार गर्ने र जीवजन्तुहरू मार्ने गर्दथे । त्यो बेलामा हलेसी गुफा लहराले जेलिएर रहेको अवस्थामा भएकाले यस गुफाका बारेमा कसैलाई थाहा थिएन । एक दिन एकजना किराँती सिकारीको बाण प्रहारबाट घाइते भएको मृग लडेर हलेसी महादेव गुफाभित्र खसेछ । मृगसँगै सिकारी कुकुर पनि गुफामा पुगेछ । भोलिपल्ट त्यो मृग लिन जाँदा अँध्यारो गुफाभित्र चम्किलो बत्तीको जस्तो ज्योति देखेर सिकारीको आँखा तिरमिराएर सिकारी बेहोस भएछ । उक्त बेहोस भएको सिकारीलाई भगवान् शङ्करले दर्शन दिए पछि यस गुफाभित्र अन्य देवी देवताको पनि उत्पत्ति भएछ । यो देखेर त्यो सिकारीले त्यो मन्दिर आसपासका क्षेत्रमा कसैले पनि हत्या हिंसा नगर्नु भन्ने चेतावनी समेत दिएको भन्ने भनाइ रहेको छ ।

किंवदन्ती-२

पुरानो धार्मिक मान्यता अनुसार यी दुवै गुफाहरू महादेवले भस्मासुर राक्षसबाट बच्नको लागि खनेका हुन् भन्ने किंवदन्ती छ । भनिन्छ एक पटक भस्मासुरले महादेव को घनघोर तपस्या गरेछन् र महादेव खुशी भई वरदान माग भन्दा उनले ‘जसको थाप्लोमा म हात राख्छु त्यो चुर्णहोस’ भन्ने वरदान मागेछन् । महादेवले पनि तुरुन्तै तथास्तु भनी वरदान दिएछन् । भस्मासुरले यो वरदान सद्दे हो कि होइन भनेर जाँच्न महादेव कै थाप्लोमा हात राख्न खोजेछन् । महादेव डरले त्राहिमाम् भएर भागेछन् । भस्मासुरले पनि छाडेन छन् । महादेव हलेसीको चट्टानै फोडेर जमिनभित्र पसेछन् र द्वारमा आफ्नो वाहन बसाहालाई पाले राखेछन् । बसाहाले युद्ध गरेर भस्मासुरलाई निकै बेरसम्म अलमल्याई दिएछन् । त्यतिन्जेल सम्ममा महादेव पहाड छिचोलेर आकाशमा निस्केछन् र नजिकै जमिन छेडी पातालमा घुसेर लुकेछन । यसरी त्यहाँ बसाहाथान र महादेव थान दुई वटा गुफा बनेको प्रसङ्ग आउँदछ । हलेसी महादेव पतालको गुफामा लुकेपछि विष्णुले मोहनी रूप लिएर नृत्य गर्दै राक्षसलाई भुलाउन आएछन् । एउटी रूपवती आइमाई देखेपछि भस्मासुरले महादेवलाई भुलेछन् र उनकै जस्तो नाच नाच्ने नक्कल गर्दा आफ्नै टाउकोमा हात राख्न पुगी उनी भष्म भएछन् । भष्म भएर रहेको हाडखोर भनी आज पनि च्यास्मि भन्ने गाउँमा भएको कालाकाला चट्टानलाई यहाँका आदिवासीहरू देखाउने गर्दछन् ।

किंवदन्ती-३

हिन्दु धर्मको श्री स्वस्थानी व्रत कथा अनुसार सतीदेवीले आफ्ना बाबु दक्ष प्रजापतिले एउटा ठुलो महायज्ञ गरे जुन यज्ञमा आफ्नै छोरी सतीदेवीलाई सम्म बोलाएनन् र आफ्नो पिताले त्यस यज्ञमा नबोलाईकन पनि गइन् । पिताको अपमान सहन नसकी सती देवीले तत्काल यज्ञस्थलमा नै यज्ञाग्निमा स्वयंलाई लाई भस्म गरिदिइन् । यज्ञमा हामफालेर देह त्याग गरेको शरीरलाई महादेवले लिएर संसार डुलाउने क्रम मा यहाँ सतीदेवी अङ्गको दाहिने कुहिनो पतन भएर राज गृह पीठ राज ग्रिहेश्वरि देवी उल्का मुखी योगिनी हलेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरूपमा रहेको पनि कथा मा पाइन्छ ।

किंवदन्ती-४

बौद्ध धर्मअनुसार यस भूमिमा सयौँ वर्षअघि महान् बौद्ध गुरु पद्मसम्भवले वर्षौँ तपस्या गरी बुद्धत्व प्राप्त गरेको पवित्र भूमि हो । बौद्ध धर्मावलम्बीहरू यस गुफालाई मरातिक गुफा नाममा एक पवित्र स्थान मान्दछन् ।

यस मन्दिरमा विशेष गरेर शिवरात्रिका दिन भक्तहरूको निकै घुइँचो लाग्दछ । बसाहा, हलेसी र भैरव गरी तीन वटा गुफा रहेको मन्दिरमा महाशिवरात्रि, रामनवमी र बालाचतुर्दशीमा मेला लाग्छ । अन्य समयमा शनिवार बिहान दर्शनार्थीको घुइँचो हुन्छ ।

कसरी पुग्ने ?

काठमाडौंबाट हलेसी जाने दुई वटा बाटो छन् । काठमाडौं–मिर्चैया–कटारी–घुर्मी–हर्कपुर हुँदै जयरामघाटबाट दूधकाेशी तरेर हलेसी पुगिन्छ । यो अलि लामो बाटो पर्छ । बीपी राजमार्ग हुँदै काठमाडौं–नेपालथोक–सिन्धुली–घुर्मीबाट पनि जान सकिन्छ ।

सम्बन्धित समाचार