आइतबार , अषोज ४, २०८३

हरिभक्तको त्यो निबन्ध : बोर गर्‍यौ शङ्कर दाइ !

image

– हरिभक्त कटुवाल
एक दिन त जसले पनि मर्नुपर्छ  नै। मरेपछि पुगिने ठाउँ स्वर्ग हो वा नर्क– त्यसमा मलाई विश्वास छैन । तर किन हो एकपल्ट विश्वास गर्न मन लागिरहेको छ यसबेला । कुनै दिन म पनि मर्छु र त्यतै कतै तिमीलाई भेट्न पाए कति मज्जा हुन्थ्यो शङ्कर दाइ ⁄ कत्ति मज्जा हुन्थ्यो।
मेची तरेपछि पोहोर पनि एकपल्ट काठमाडौं आएको थिएँ । नयाँ भाउजूलाई साथमा लिएर तिमी अम्बरजी कहाँ आएका रहेछौ । म पनि संयोगले त्यहाँ पुगेको थिएँ । केही क्षण हामीले दुःख–सुखका कुराकानी साटासाट गर्‍यौं । तिमीले मैले लेखेका गीतहरुको प्रशंसा गर्‍यौ । तिमीले लेखन बन्द गरेका थियौ र नयाँ कुनै तिम्रो कृति पढ्न नपाएको मैले प्रशंसा गर्ने ठाउँ पाइनँ । अल्मलिएको थिएँ । तर चुकिनँ । तिम्रो वचनबद्धताको नै प्रशंसा गरेँ । शङ्कर दाइ ⁄ अब तिम्रो स्मृतिमा विशेषाङ्कहरू निस्कन लागिरहेछन् । तिम्रो गुण–गान खूब होला । माझिएको गद्य लेख्ने शङ्कर लामिछानेको सह्रनी अब होला ।
बाँचुञ्जेल तिमीलाई क–कसले के–के भने त्यो मलाई थाहा छ । धेरैपल्ट म तिम्रो ज्यादै नजिक पुगेको थिएँ । अब तिमीलाई महान गद्य लेखक बनाइन्छ । अब तिमी अमर हुन्छौ । स्वर्गैमा होस् वा नर्कमा तिमीलाई भेटन् पाए कति मज्जा हुन्थ्यो ।
भूपि बिरामी छन् । नगेन्द्र जागिरे भएछन् । म टाढा छु । तिमी झन् टाढा गयौ नआउने गरी । विचरा अम्बरजी एक्लो परे । स्वर– संगीतको संसारबाट फुत्केर यसो गफगाफ गर्न अथवा बिदाको दिन रमाइलो हुने गरी बिताउन अचेल उनलाई कति गाह्रो पर्दो हो । अम्बरले गाएको होइन, तिमीले गाएको ‘नौलाख तारा उदाए…’ हामीलाई त्यस्ता दिनहरूमा मनपर्थ्यो । म नाच्थेँ, थसुल्ली रत्ना भाउज्यू फूलको थुंगोजस्तो भएर नाच्थिन्, नगेन्द्र र सोफिया भाउजू नाच्थे, अम्बरनी नाच्थिन्, अम्बरजी ताल दिन्थे । अब ती दिन पक्कै नआउलान् । पेङ्ग्री गाउँको पट्टयारलाग्दो वनमा जंगली हात्तीको जगजगी बोकेर गह्रुङ्गा पाइला चाल्दै जब म एक्लै हिँडिरहेको हुन्थेँ, त्यहाँ पनि हाम्रो त्यो रमाइलो भेटघाटले मलाई प्रेरित गरिरहेको हुन्थ्यो । प्रेरित गर्थ्यो तिम्रो मुस्कानले, जसमा आत्मविश्वासको एउटा सजीव छवि हुन्थ्यो– प्रेरित गर्थ्योमलाई तिम्रो हरेस नखाने बानीले । एकचोटि तिमीलाई मकहाँ पुर्‍याउने धोको धोको बनेर नै रह्यो । तर म हरेस खान्नँ । जिन्दगीको बाँकी रहेको यात्राभरी अब त स्मृति मात्र बन्ने भयौ तिमी । टाढा पुगेको मान्छेका लागि स्मृति नै त थियो । अब स्मृति मात्र रह्यौ । तिमीले भनेका धेरै धेरै कुराहरू मसित छन् । तिमीले रोएका आँसुहरु पनि मसित छन् । तिनैबाट म प्रेरणा लिन्छु शङ्कर दाइ ।
कवि बन्धु अगम मर्दा मेरा एकजना आत्मीयले भनेका थिए रे– ‘मर्नुपर्ने कटुवाल तर मरेछ अगमसिंह गिरी ।’ यसपल्ट मैले आफैँ भनें– ‘मर्नुपर्थ्यो कटुवाल … … ।’ मर्न मलाई पनि रहर लागेको थियो । काठमाडौंमा एक वर्ष मर्ने ठूलो बल गरी हेरेँ । मुटु फुट्ने गरी रक्सी खाएँ । खूब मातेँ । सडकमा सुतेँ । तर, प्रत्येक बिहान ओछ्यानबाट मैले सजीव उठ्नुपर्‍यो । कस्तो काल ⁄ पटक्कै आएन । जुन निगाहले मलाई काठमाडौं ल्यायो– उही निगाहाले बचायो । पीर नमानी फर्केँ । लेख्न अचेल घटेको छ । शिक्षा बिना अल्मलिएका धेरै मान्छेका लागि आफूलाई बिलाइदिएको छु । त्यहाँ मेरो ठूलो खाँचो रहेछ । मलाई पाएर धेरै धेरै साथीहरु धेरै धेरै रमाएका छन् । तिम्रो ओठको आत्मविश्वास मैले आफ्ना ओठभरी लिएको छु । केही गर्न मन लागिरहेछ । तिमी चाँडै गयौ । तिमीले गर्न बाँकी छोडेका कुराहरु पनि गर्नु छ, गराउनु छ । मभित्र बाँच्ने रहर फेरि बलियो भएर उम्रेको छ । तर ‘क्यू’ लाग्दैमा वा ‘क्यू’ छोड्दैमा फुत्किन नदिने कालदेखि को उम्कन सक्छ र ?
स्वर्ग र नर्कलाई विश्वास नगर्दा नगर्दै पनि केही क्षण विश्वास गरेर भन्छु– ‘उहीँ भेटुँला ।’ यसपल्ट काठमाडौं आउँदा सबैलाई भेटेँ, मात्र तिमीलाई भेटिनँ । बोर गर्‍यौ शङ्कर दाइ ! बोर !
(कवि हरिभक्त कटुवालको यो निबन्ध ‘विदेह’ पत्रिकामा २०३३ मा प्रकाशित भएको थियो ।–सम्पादक)

सम्बन्धित समाचार