शुक्रबार , भाद्र २६, २०८३

हिमाल दर्पणको समाचार प्रभावः आर्थिक अभावले मृत्यु कुरिरहेकी सानीले उपचार पाउँदै

आर्थिक अभावका कारण सानीले उपचार नपाएको विषयमा हिमाल दर्पण डटकममा समाचार प्रकाशित भएपछि सहयोगी हातहरूको लर्को लागेको छ ।

image

काठमाडौं । आर्थिक अभावका कारण घरमै थलिएर मृत्यु पर्खेर बसिरहेकी सानी थिङ तामाङले उपचार पाउने भएकी छन् । आर्थिक अभावका कारण सानीले उपचार नपाएको विषयमा हिमाल दर्पण डटकममा समाचार प्रकाशित भएपछि सहयोगी हातहरूको लर्को लागेको छ ।

बिहीबार साँझ “आर्थिक अभावका कारण उपचार नपाउँदा मृत्यु कुर्दै १५ वर्षकी सानी थिङ” शीर्षकमा हिमाल दर्पण डटकममा समाचार प्रकाशित भएको थियो । उक्त समाचार प्रकाशित भएपछि सानीलाई काठमाडौं ल्याउनका लागि काठमाडौंमा रहेकी छिमेकी मुना थिङ तामाङले एम्बुलेन्स पठाएकी हुन् ।

हिमाल दर्पण डटकममा प्रकाशित समाचार

काठमाडौं ल्याएपछि हिमाल दर्पणका समाचार सम्पादक चन्द्र तामाङको विशेष पहलमा सहयोग रकम सङ्कलन सुरु भएको हो । शनिवार दिउँसोसम्म एक लाख पच्चीस हजार रुपैयाँ आर्थिक सङ्कलन भएको पत्रकार तामाङले जानकारी दिएका छन् ।

सानीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको छ । बिरामीको अवस्था स्थिर रहेको र सबै परीक्षणको रिपोर्ट आएपछि मात्रै रोगबारे भन्न सकिने उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै पत्रकार तामाङले जानकारी दिएका छन् ।

सानीका अनुसार उनलाई ६ महिनाअघि अचानक खुट्टा दुख्ने, पोल्ने र झमझमाउन थालेको थियो । सामान्य समस्या होला, एक दुई दिनमा निको भइहाल्छनी भन्दै बेवास्ता गर्दै बसेकी उनलाई झन्झन् गाह्रो हुँदै गयो । तत्काल अस्पताल जान आर्थिक अभाव भयो । गाउँमै बसेर धामी झाँक्रीलाई देखायो । तर, स्थिति झन् झन् बिग्रिँदै गयो । तीन महिनाअघिदेखि उनी हिँडडुल गर्न नसक्ने भइन् ।

अहिले कम्मर मुनिको भाग नचल्ने भइसकेको छ । खुट्टाबाट सुरु भएको दुखाई अहिले छातीसम्म पुगिसकेको छ । हात पनि चलाउन सक्दिनन् ।

अहिलेसम्म सानीलाई कुन रोग लागेको हो भन्नेसम्म पनि पत्ता लागेको छैन । अवस्था निकै नाजुक भइसकेको छ । सघन उपचार कक्षमा राखेर थप परीक्षणहरू थालिएको छ । सबै रिपोर्टहरू नआउन्जेल केही बताउन नसकिने उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

सम्बन्धित समाचार