शनिबार , अषोज ३, २०८३

‘कपुरी क’काे विहेबारीको कुरा

कन्ने क ले विवाह गरेपछि 'कन्दानी का' बन्छ । का दम्पती स्वरूप हो । छोराछोरी जन्मे क, कि, की बन्छ । अनि ज्वाइँ, बुहारी आउँदा कु, कू बन्छ ।

image

बाह्रखरीमा ‘कपुरी क’को पारिवारिक जीवन चक्र यसरी देखाइएको छ ।

सुरुमा ‘क’ एक्लै हुन्छ । यो शुद्ध कन्या हुन्छ । यसलाई ‘विलकन्ने क’ पनि भनिन्छ। अथवा कुनै लक्काना आदि मात्रा नलागेको- कन्या क । यसलाई सामे क पनि भन्छन् । यो भनेको साम्य, सौम्य, शान्त क ।

अब क लाई एक अविवाहित व्यक्तिको रूपमा लिएर पूर्ण जीवनगाथा यही बाह्रखरीमा व्यक्त गर्ने एउटा भिन्न परम्परा छ अथवा थियो- विगतको ग्रामीण शिक्षण परम्परामा ।

कन्ने क ले विवाह गरेपछि ‘कन्दानी का’ बन्छ । का दम्पती स्वरूप हो । जब छोराछोरी जन्मे क, कि, की बन्छ । अनि ज्वाइँ, बुहारी आउँदा कु, कू बन्छ । जब नाति नातिना हुन्छन् अनि के, कै बन्छ । जब बुढ्यौलीले समात्न थाल्छ लट्ठी टेक्ने ओढा ओढ्ने गरेर क को बन्छ । बूढो हुँदै जाँदा ज्यादै व्यवहारिक झन्झटले जेलिएर कौ बन्छ । अनि आफ्ना व्यवहारिक कारोबार आफ्ना छोराछोरीलाई दिएर टीका लगाएर साधुजस्तै भएर कं बन्छ । अनि अन्तिम अवस्थामा कहराउँदै अहहऽऽऽ अहहऽऽऽ गर्दै विस्तारामा पर्छ क: भएर ।

जसरी एक्लै यो संसारमा आइन्छ त्यसैगरी एक्लै जानुपर्छ भन्ने दृष्टान्त यो बाह्रखरीको स्वरूप अध्ययनबाट पाइन्छ । यहाँ केटाकेटी र बूढाबूढी उस्तै हुन्छन् भन्ने कुराको पुष्टिसमेत बाह्रखरीले देखाउँछ । (शिक्षाभित्रको स‌ंस्कृतिबाट) /(उत्तर कुमार पराजुलीको फेसबुकबाट)

सम्बन्धित समाचार