शुक्रबार , मंग्सिर २३, २०७९

होटेल उद्योगको सेल्स एण्ड मार्केटिङ प्रतिनिधिको वनभोज तथा दसैँको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने

काठमाडौं बुढानीलकण्ठमा रहेको तपेस रिसोर्टमा आयोजना हुने उक्त कार्यक्रममा एकअर्काबीच परिचय तथा पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहन गरिनेछ । कार्यक्रममा सेल्स एण्ड मार्केटिङ विभागमा जोडिएका नयाँ सदस्यहरूलाई पुराना सदस्यहरूले मोटिभेसन दिनेछन् भने एकअर्कालाई के-कसरी सहयोग गर्न सकिन्छ भन्ने बारे छलफल समेत गरिनेछ ।

image

काठमाडौं । पहिलो पटक होटेल उद्योगको प्रमुख अङ्ग सेल्स एण्ड मार्केटिङ विभागको राष्ट्रियस्तरको वनभोज तथा दसैँको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने भएको छ । यो कुराको जानकारी प्याराडाइज इन काठमाडौंका बिजनेस डेभलपमेन्ट म्यानेजर दीपक पोखरेलले दिएका हुन् । कार्यक्रममा देशभरिका सबैथरी होटेलका सेल्स एण्ड मार्केटिङ विभागका प्रतिनिधिहरूको उपस्थिति रहनेछ । एक हप्ता अगाडी सत्कार होटेल एण्ड स्पा ठमेलमा भएको सेल्स एण्ड मार्केटिङ विभागका प्रतिनिधिहरूको छलफलबाट यो कार्यक्रम आयोजना गर्ने निर्णय लिइएको हो ।

काठमाडौं बुढानीलकण्ठमा रहेको तपेस रिसोर्टमा आयोजना हुने उक्त कार्यक्रममा एकअर्काबीच परिचय तथा पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहन गरिनेछ । कार्यक्रममा सेल्स एण्ड मार्केटिङ विभागमा जोडिएका नयाँ सदस्यहरूलाई पुराना सदस्यहरूले मोटिभेसन दिनेछन् भने एकअर्कालाई के-कसरी सहयोग गर्न सकिन्छ भन्ने बारे छलफल समेत गरिनेछ । वनभोज कार्यक्रम आयोजना गरिसकेपश्चात् सेल्स एण्ड मार्केटिङ विभागको राष्ट्रिय भेला गरिने समेत पोखरेलले बताए । केही समयमै देशभरिका होटेलमा कार्यरत सम्पूर्ण सेल्स एण्ड मार्केटिङ विभागका प्रतिनिधिलाई समेटेर राष्ट्रिय संगठन बनाउने योजना समेत रहेको पोखरेलले जनाए ।

सेल्स एण्ड मार्केटिङ विभागमा जोडिएका नयाँ सदस्यहरूलाई यसको महत्व बुझाइ थप नयाँ जनशक्तिलाई आकर्षित गर्नु समेत कार्यक्रमको उद्देश्य रहेको छ । कार्यक्रम (१९ सेप्टेम्बर) असोज ३ गते संविधान दिवसको दिन आयोजना गरिँदैछ । १३३ जना सेल्स एण्ड मार्केटिङ सदस्य रहेको ह्वाट्सएप ग्रुप तथा सामाजिक सञ्जालमार्फत कार्यक्रमका लागि सबैलाई आमन्त्रित गरिएको छ । इच्छुक सदस्यले तोकिएको शुल्क तिरी सहभागिता जनाउन पाउने यस कार्यक्रमको आयोजक सबै सदस्य स्वयम् रहेका छन् । यद्यपि यसको व्यवस्थापनको जिम्मेवारी एगिस हस्पिट्यालिटीकी एनी थापा, कुटी रिसोर्टका देवराज अर्याल, प्याराडाइज इनका दीपक पोखरेल, चन्द्रागिरि हिल्सका प्रभाकर खड्का, होटेल पबेराका प्रदीप पौडेल, आनन्द पशुपतिका रविन महर्जन, केजीएच ग्रुपका संजिव तुलाधर, होटेल बाराहीका राजकुमार के.सी, टाइगर ल्याण्ड सफारी रिजोर्टकी मिरु नकर्मी तथा जङ्गल भिल्लाकी सुहानी गिरिले लिएका छन् । उपत्यका बाहिरबाट आउने अतिथि सदस्यहरूका लागि बस्ने व्यवस्था उल्लेखित सदस्यहरूले मिलाउने छन् ।

असोज ३ गते बिहान ९:३० बजे ब्रेकफास्टबाट सुरु हुने कार्यक्रम बिचमा स्न्याक्स हुँदै दिउँसोको लन्चसँगै समापन हुनेछ । कार्यक्रममा विभिन्न किसिमका मनोरञ्जनात्मक तथा साङ्गीतिक कार्यक्रमका साथै रोचक खेलहरू समेत खेलाइनेछ । सेल्स एण्ड मार्केटिङ विभागको समूहले तिब्बत इन्टरनेसनलमा कार्यरत आजाद हर्षका बुवालाई उपचारार्थ सहयोग समेत गर्ने भएको छ । हर्षका बुवा मृगौलाको समस्यासँग जुझिरहेकाले उनलाई उक्त कार्यक्रममा खेलाइएका मनोरञ्जनात्मक खेलबाट उठेको केही रकम सहयोग गरिने पोखरेलले जनाए ।

पोखरेलका अनुसार यस समूहको उद्देश्य विभिन्न सेल्स एण्ड मार्केटिङ व्यक्तित्वहरूबिच जानकारीको आदानप्रदान र सहयोगको सुविधा हो ।

Tags:

सम्बन्धित समाचार