आइतबार , भाद्र २८, २०८३

प्रतिनिधि सभाको कार्यकाल सुरु, आज सदस्यहरूकाे शपथग्रहण

सङ्घीय संसद् सचिवालयका अनुसार शपथ लिएसँगै सदस्यहरूको औपचारिक रूपमा कार्यकाल प्रारम्भ हुने छ । सदस्यहरूले पाउने सेवासुविधालगायतको गणना पनि बिहीबारदेखि नै हुनेछ ।

image

काठमाडौं । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधि सभाको कार्य सुरु भएको छ । २०७२ असोज ३ गते संविधान सभाबाट जारी भएको नेपालको संविधानअनुसार यो दोस्रो प्रतिनिधि सभा हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित ज्येष्ठ (८० वर्षीय) सदस्य पशुपतिशमशेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथग्रहण गराएसँगै सङ्घीय संसद्को प्रतिनिधि सभामा तीन महिनादेखिको जनप्रतिनिधिको रिक्तता पनि समाप्त भएको छ । यसअघि अघिल्लो संसद्को अन्तिम अधिवेशन २०७९ असोज १ गतेदेखि अन्त्य गरिएको थियो ।

शपथग्रहणलगत्तै ज्येष्ठ सदस्य राणाले संसद् सचिवालयमा सभामुखको पदभार ग्रहण गरी कार्यारम्भ गरिसकेका छन् । जबराले प्रतिनिधि सभाका अरू नवनिर्वाचित सदस्यलाई आज बिहीबार शपथग्रहण गराउने कार्यक्रम छ । त्यससँगै सदस्यहरूको औपचारिक रूपमा कार्यकाल बिहीबारदेखि नै सुरु हुनेछ । आज दिउँसो १ बजे सदस्यहरूको पद तथा गोपनीयताको शपथ हुनेछ । ज्येष्ठ सदस्यबाट शपथ लिएसँगै सदस्यहरूको कार्यकाल प्रारम्भ हुनेछ । सदस्यका रूपमा पाउने सेवासुविधा पनि शपथपछि प्रारम्भ हुनेछ ।

सचिवालयले तोकेको समयसीमाभित्र २६ सदस्यले मातृभाषामा शपथ दिने जानकारी सचिवालयलाई गराएका छन्  । १४ फरक–फरक भाषामा २६ सदस्यले मातृभाषामा शपथ लिने भएका छन्  ।

सङ्घीय संसद् सचिवालयका अनुसार शपथ लिएसँगै सदस्यहरूको औपचारिक रूपमा कार्यकाल प्रारम्भ हुने छ । सदस्यहरूले पाउने सेवासुविधालगायतको गणना पनि बिहीबारदेखि नै हुनेछ । मङ्सिर ४ मा एकै पटक चुनाव सम्पन्न भएपछि यस पटक मतगणनामा शीघ्रता हुँदा जनप्रतिनिधिमूलक संस्थामा छोटो समय मात्र रिक्तता भएको हो । साथै प्रधानमन्त्री चयनअघि नै सदस्यको शपथ गराउने सरकार र संसद् सचिवालयको परामर्शपछि यो पटक चाँडै शपथ हुन लागेको हो । अघिल्लो पटक अधिवेशन प्रारम्भको एक दिनअघि शपथ गराइएको थियो । यस पटक सरकारले औपचारिक रूपमा अधिवेशन भने सिफारिस गरेको छैन । पुसको दोस्रो सातासम्म अधिवेशन आह्वान हुने अनुमानमा सचिवालयले तयारी भने करिब पूरा गरिसकेको छ । शपथपछिको अधिवेशनको पहिलो बैठक भने निश्चित भएको छैन ।

अधिवेशनमा राष्ट्रपतिले चाहेमा सम्बोधन पनि हुनेछ । राष्ट्रपतिबाट सरकार गठनका लागि पुस १० गते साँझ ५ बजेसम्म प्रधानमन्त्रीको दाबी पेस गर्न आह्वान गरिसकेकी छन् । अघिल्लो पटक सांसदको शपथग्रहण नगरी प्रधानमन्त्री नियुक्त भएकोमा यस पटक त्यो अभ्यासमा पनि सुधार हुने भएको छ । अब बस्ने अधिवेशनमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया पनि अघि बढ्नेछ ।

१४ भाषाका २६ जना

सचिवालयका अनुसार मातृभाषामा शपथ लिन चाहने सदस्यको सङ्ख्या यस पटक २६ पुगेको छ । सचिवालयले तोकेको समयसीमाभित्र २६ सदस्यले मातृभाषामा शपथ दिने जानकारी सचिवालयलाई गराएका छन् । १४ फरक–फरक भाषामा २६ सदस्यले मातृभाषामा शपथ लिने भएका छन् । यसैबीच शपथअघि ज्येष्ठ सदस्य जबराले सर्वदलीय बैठक आह्वान गरिसकेका छन् । शपथलाई व्यवस्थित बनाउन भन्दै जबराले बैठक आह्वान गरेका हुन् । बैठकमा राष्ट्रिय दलको मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधि, अन्य दलका प्रतिनिधि तथा स्वतन्त्र सांसदको पनि सहभागिता रहनेछ । बिहीबार मध्याह्न १२ बजे सर्वदलीय बैठक आह्वान भएको संसद् सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार