मंगलबार , भाद्र ९, २०८३

काठमाडौंको सबैभन्दा पुरानो तीर्थस्थलहरू मध्ये एक जगन्नाथ मन्दिर

काठमाडौं दरबार स्क्वायरमा अवस्थित जगन्नाथ मन्दिर आफ्नो वास्तुकला र धार्मिक महत्वका लागि प्रसिद्ध छ

image

काठमाडौं । हप्ताभरिको कामको शारीरिक तथा मानसिक थकान मेटाउन मान्छे विभिन्न मनोरञ्जनका उपायहरू अप्नाउछ । जसमा घुमफिर गर्नुलाई पनि एक महत्त्वपूर्ण मनोरञ्जनको श्रोत मानिन्छ । नयाँ ठाउँको अवलोकनले मान्छेको मानसिक थकान मेटाउनुका साथै शरीरलाई पनि चुस्त राख्न मदत गर्छ । तर, बिदा आउँदा-नआउँदै ‘यसपालि कहाँ जाने त घुम्न ?’ भन्ने प्रश्नले गिजोल्न थाल्छ ।

यस्तै ‘यसपालि कहाँ जाने त घुम्न ?’ भन्ने प्रश्नको जवाफमा जगन्नाथ मन्दिरलाई लिन सकिन्छ । काठमाडौं उपत्यकामा घुम्ने ठाउँ खोजिरहेकाहरूका लागि एउटा राम्रो विकल्प हो जगन्नाथ मन्दिर । काठमाडौंको हनुमानढोका स्थित दरबार क्षेत्रमा अवस्थित यो मन्दिरको अवलोकन गर्न विभिन्न ठाउँबाट पर्यटकहरू आउने गर्छन् ।

यो मन्दिरसँगै सो क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिरहरू समेत अवलोकन गर्न सकिन्छ । राजा रत्न मल्लदेखि पृथ्वी वीर विक्रम शाहका पालासम्म निर्माण गरिएका स्मारकहरूमा तलेजु मन्दिर,जगन्नाथ मन्दिर, शिव पार्वती मन्दिर, ठुलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारी घर, वसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डप आदि छन् ।

काठमाडौं दरबार स्क्वायरमा अवस्थित जगन्नाथ मन्दिर आफ्नो वास्तुकला र धार्मिक महत्वका लागि प्रसिद्ध छ ।  यो १६ औँ शताब्दीको सुरुमा माला वंशका राजा महेन्द्रको शासनकालमा निर्माण गरिएको थियो । साथै यो सहरको सबैभन्दा पुरानो तीर्थस्थलहरू मध्ये एक रहेको छ । परम्परागत प्यागोडा-शैली वास्तुकलामा आधारित रहेर बनाइएको काठ र इट्टाको दुई तले भवनले धार्मिक तथा ऐतिहासिक पर्यटकहरूलाई आकर्षित गर्ने गरेको छ । मन्दिरमा रहेको सुन्दर काष्ठकलाले पनि धेरैको मन हर्ने गरेको पाइन्छ । सन् २०१५ को भूकम्पमा मन्दिरका केही भागमा क्षति पुगेको थियो तर हाल केही भाग पुनर्निर्माण गरी पर्यटकका लागि खुला गरिएको छ । सहरभित्रै रहेर पनि सहरको कोलाहलबाट टाढा रहेको यो पर्यटकीय स्थल वरिपरि घुम्दा निकै आनन्द महसुस गर्न सकिन्छ ।

सम्बन्धित समाचार