प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले यस्तो बताएका हुन् ।
Photo by: फाइल तस्बिर
काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रका अधिकारीले स्थानीय तह निर्वाचन र रुस-युक्रेन युद्धका कारण काम गर्न नसकिएको बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले यस्तो बताएका हुन् ।
समितिको बुधबारको बैठकमा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक झाले स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्नुपर्ने भएकाले र रुस-युक्रेन युद्धका कारण किताब छाप्ने कागज आइनपुगेको बताए । ‘गत चैत १० सम्म आइपुग्नुपर्ने कागज अहिले मात्रै आएको छ । असार पहिलो सातासम्म छपाइ सकिन्छ । त्यसको १ महिनाभित्र विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने छौं,’ उनले भने, ‘कागज समयमा ल्याउन काबुबाहिरको स्थितिले सकिएन । रुस-युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा नै कागजको अभाव थियो । मतपत्र छाप्नुपर्दा पनि पाठ्यपुस्तक छाप्न सकिएन ।’
२ करोडमध्ये करिब ३५ लाख मात्रै पाठ्यपुस्तक छाप्न बाँकी रहेको झाले दाबी गरेका छन् । छापिएका पाठ्यपुस्तक जेठ ९ गतेदेखि देशभरका ९ वटा डिपोबाट वितरण थालिएको उनको भनाइ थियो । दुर्गम हिमाली र पहाडी जिल्लाका विद्यार्थीलाई प्राथमिकता दिएर वितरण कार्य भइरहेको उनले बताए ।
कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक जनक शिक्षाले छाप्ने जिम्मा पाएको छ । त्योमध्ये कक्षा ५, ६ र ८ को पाठ्यपुस्तक अभाव देखिएको छ ।