मंगलबार , भाद्र ३०, २०८३

जयपुर साहित्य महोत्सव : बुद्धिसागर र छुदेन काविमोको कुराकानी

image

अजित बरालको फेसबुक स्ट्याटसबाट थाहा हुन पुग्यो, जयपुर साहित्य महोत्सवमा यसपालि नेपाली लेखकको प्रतिनिधित्व हुँदैछ । सेसन `नेपाली ब्लूज´नाम दिएर बुद्धिसागर  र छुदेन  काविमोले प्रतिनिधित्व गरेको कुरा पनि थाहा भयो । जयपुर साहित्य महोत्सव मैले नछुटाइकन हेर्ने गरेको छु । नेपाली लेखक पनि यसपालि हेर्न पाइने कुराले गद्गद थिएँ । अनि युट्युबमा प्रतीक्षा गर्न थालेँ ।  करिब एक महिनाको प्रतीक्षापछि बल्ल जयपुर लिट्रेचर फेस्टिभलको आधिकारिक युट्युब च्यानलमा `नेपाली ब्लूज´  सेसनको भिडियो अपलोड भयो । निकै उत्सुकताका साथ त्यसलाई हेरेपछि सेसनका कुरालाई लेख्ने मन भयो । अनि यसरी तयार भयो यो आलेख ।

जयपुर साहित्य महोत्सव परिचय:

जयपुर साहित्य महोत्सव अन्तर्राष्ट्रिय स्तरको साहित्यिक मेला सन् २००६ देखि निरन्तर रूपमा प्रत्येक वर्ष जयपुरमा आयोजना हुँदै आएको छ । यस साहित्यिक महोत्सवलाई विश्वकै ठूलो उत्सवको रूपमा पनि गनिन्छ । जयपुरमा प्राय ऐतिहासिक महलहरूलाई होटेलको रूपमा रूपान्तरण गरिएको छ । त्यस्तै ऐतिहासिक महल `डिग्गी प्यालेस होटेल´को प्राङ्गणमा यो उत्सवको आयोजना हुन्छ । यस महोत्सवको निर्देशकको जिम्मेवारी लेखद्वय नमिता गोखाले र विलियम डार्लिम्लेले निभाएका छन् । निर्माताको रूपमा टीमवर्क आर्ट्सका सञ्जय रोयले जिम्मेवारी सम्हालेका छन् । साथमा, जयपुर विरासत फाउन्डेसनले पनि सहयोग गरेको छ । यो महोत्सव पूर्णतः निःशुल्क हो ।

सन् २००६ मा पहिलोपटक आयोजना हुँदा १८ जना लेखकको सेसनमा करिब १०० जनाको सहभागिता थियो । सन् २००८ सम्म आइपुग्दा सहभागीको सङ्ख्या २५० मात्र पुग्यो । सन् २००९ मा कायापलट भयो । १४० जना लेखकको सेसनमा करिब १२,००० सहभागी भएर इतिहास रच्यो । सन् २०१० मा ३०,००० सहभागी भए । त्यसपछि जयपुर साहित्य महोत्सव विश्वस्ततिरको सबैभन्दा ठूलो साहित्य महोत्सव बन्न पुग्यो । सन् २०२१ मा कोभिडको कारण भर्चुअल साहित्य महोत्सवको आयोजना गरियो ।

सन् २०२२ को महोत्सव पहिलोपटक डिग्गी प्यालेस होटेलमा आयोजना भएन र सम्पूर्ण रूपमा निःशुल्क पनि गराइएन् । १५ औँ संस्करणको यो महोत्सवमा चार लाखभन्दा बढिको सहभागी रह्यो । १३२ वटा सेसन ४४ वटा भाषा र ३२ वटा अवार्ड यस महोत्सवको आकर्षण रह्यो । मार्च ५ देखि १४ सम्म आयोजना भएको महोत्सव यसपटक  कलर्क्स अमेर जयपुरमा आयोजना भएको थियो ।

जयपुर साहित्य महोत्सवमा भारतीय लेखकको साथमा अन्तर्राष्ट्रिय लेखकहरूलाई सहभागी गराइन्छ । अहिलेसम्म भारतीय लेखक गुलजार, प्रसून जोशी, विनोद कुमार शुक्ल, अब्दुल कलाम, शशी थरूर, चेतन भगत लगायत अन्तर्राष्ट्रिय लेखकका रूपमा सल्मान रुश्दी, नोबल पुरस्कार विजेता लेखक लगायत थुप्रै प्रसिद्ध लेखकले सहभागिता जनाइसकेका छन् ।

जयपुर साहित्य महोत्सव -२०२२  नेपालीको लागि किन चासोको विषय बन्यो भने यसमा दुईजना नेपाली उपन्यासकारको सहभागिता भएको थियो । बुद्धिसागर र  काविमो जसको उपन्यासमा नेपालमा चर्चित त भयो, भर्खरै अङ्ग्रेजीमा अनुवाद भएर पनि आएको छ ।

बुद्धिसागर र छुदेन काविमोसँग गरिएको कुराकानीको सम्पादित अंश ।

नेपाली भाषालाई भारतमा २२ राष्ट्रिय भाषा अन्तर्गत ८ औँ अनुसूचीमा  सूचीकृत गरिएको छ । कार्यक्रमको सहजकर्ताको भूमिक्व प्रभात रञ्जनले निभाएका थिए । उनी आख्यानकार, अनुवादक तथा जानकी पुल साहित्यिक पत्रिकाको सम्पादक पनि हुन् ।

प्रभात रञ्जनले सेसनको सुरुवातमै नेपाली भारतको आठौँ अनुसूचीको भाषा हो भनेर नेपाली भाषालाई सम्मान देखाउँदै सुरु गरे । छुदेन  काविमो जसले साहित्य एकेडेमी युवा पुरस्कार प्राप्त गरिसकेका छन् । छुदेन काविमो नेपाली भाषी दार्जिलिङका  लेखक हुन् । उनले गोर्खाल्यान्ड आन्दोलनमा केन्द्रित भएर फातसुङ उपन्यास लेखेका हुन् । सहजकर्ता रञ्जनले बुद्धिसागरको परिचय दिँदा नेपालमा हजारौँ प्रति बिक्री भएको  किताबको ‘स्टार लेखक’ भनेर परिचय गराएँ ।

छुदेन काविमो

छुदेन काविमोले दार्जिलिङलाई पर्यटकीय हिसाबले मात्र हेरिएको कुरा व्यक्त गरे  । चियाबगान, रेल, पहाडलाई मात्र देखिरहेको भारतलाई दार्जिलिङ समस्याको बारेमा लेख्न खोजेको कुरा पनि बताए ।

अर्को प्रश्नमा जम्प गर्नुपूर्व सहजकर्ताले  फेरि आफू रोमाञ्चित भएको कुरा बताउँछन् । बुद्धिसागरको उपन्यास यति ठूलो सङ्ख्यामा बिकेको कुराले । उनी भन्छन्, `हिन्दी यति ठूलो भाषा र विशाल पाठक भएर पनि यति धेरै किताब बिक्दैनन् ।´ यसले भारतमा भन्दा नेपालमा पठन संस्कृतिको प्रतिशत धेरै हो कि भन्ने कुरा पनि अड्कल काट्न बाध्य बनाउँछ ।

 

छुदेन काविमोले भारतमा भाषागत हिसाबले प्रदेश बनाउने तयारी गरिए पनि अल्पसङ्ख्यक भएका भाषालाई महत्त्व नदिएको कुरा बताए । नेपाली भाषालाई बङ्गला भाषामा ल्याएर वैस्ट बेंगालमा गाबिचको र दार्जिलिङलाई छुट्टै प्रदेश बनाउन पर्छ भन्ने माग दशकौँदेखि गर्दै आएको कुरालाई पनि स्पष्ट बनाए । `किरण देसाइको उपन्यासमा कालिम्पोङलाई निकै सुन्दरतापूर्वक वर्णन गरिएर लेखिएको तर, दार्जिलिङको सुन्दरता भित्र कति पीडा र समस्या हुन्छ त्यो स्थानीयलाई मात्र थाहा हुन्छ ।´ त्यसैले आफूले उपन्यासमा दार्जिलिङको मुद्दा उठाएको कुरालाई व्यक्त गरे ।

सहजकर्ताले अनुवादको महत्त्वको बारेमा छुदेन काविमोलाई प्रश्न गर्दा छुदेनले भने, `कहिलेकाहीँ तिमी को हौ भन्दा पनि पनि तिमी कहाँबाट हौ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।´

उनले एउटा दर्दनाक कुरा बताए, `दिल्लीमा नाली बिग्रिएको खण्डमा पनि राष्ट्रिय समाचार बन्न सक्छ तर, सानो ठाउँको समाचार बन्नलाई सयौँको बलिदानको आवश्यकता पर्दछ ।´ उनका अनुसार राष्ट्रिय ध्यान खिच्नको लागि सजिलो माध्यम साहित्य हो । नेपालीमा भाषामा लेखिएको साहित्यलाई राष्ट्रिय स्तरमा पुर्‍याउन अनुवाद जरुरी हुन्छ ।

साहित्य एकेडेमीले पनि नेपाली भाषाको साहित्यलाई अनुवाद गर्न सहयोग नगरेको कुरा बताए । दार्जिलिङमा ठूलो प्रकाशन गृह पनि नभएकोले अनुवादको काम हुन नसकेको कुरा स्पष्ट पारे ।  इन्द्रबहादुर राई जस्ता वरिष्ठ लेखकको केही अनुवाद भएपनि जति अनुवाद हुनुपर्ने हो, त्यति हुन नसकेको कुरा पनि बताए । उनी आफूलाई भाग्यमानी ठान्छन् कि उनको उपन्यासको अनुवाद भएको छ ।

सहजकर्ताले नेपाली लेखकको प्रसङ्ग निकाले । उनले अमृता प्रीतमको आत्मकथा पढ्दा निकै महत्त्वका साथ धुस्वा सायमीको नाम आएको रहेछ । त्यसपछि अमृता प्रीतमले लिएको साहित्यकार त पक्कै गजब हुनपर्छ भनेर हुने धुस्वा सायमीलाई खोजेर पढेका रहेछन्।

बुद्धिसागर

बुद्धिसागरले मञ्चलाई सम्बोधन गर्दै भने, `मैले किताब  नेपालीमा लेखेको थिएँ, अनुवाद अङ्ग्रेजीमा भयो र अहिले यहाँ हिन्दीमा  बोलिरहेको छु ।´

दर्शकदीर्घाबाट हाँसोको गुञ्जन सुनियो ।  त्यसपछि जो प्रशंसा सहजकर्ताले बुद्धिसागरलाई गरेका थिए, त्यसको हार्दिकताको लागि बुद्धिसागरले मोडरेटर प्रभातलाई धेरै पहिलादेखि चिनेको बताए । प्रभात रञ्जन सम्पादक रहेको जानकीपुल पोर्टललाई फलो गरिरहने र उनले लेखेको किताब पनि पढेको कुरा बताए ।

‘नेपालमा हिन्दी साहित्यलाई कसरी लिइन्छ ?’ भनेर दोस्रो  प्रश्न गरियो ।

बुद्धिसागरले भाषाको सहजताको कारणले हिन्दी सजिलै ग्रहण गरिने कुरा बताए । बुद्धिसागर आफै पनि कमिक्स;  सुपर कमाण्डो, नागराज, ध्रुव पढेर हुर्किएको कुरा गर्दा दर्शकदीर्घा पुनः एकपटक हाँसिदियो ।

 

जासुसी उपन्यास हुँदै अन्य पुस्तकहरू पनि पढेको कुरा बताएपछि उनले नेपालीले हिन्दी फिल्म, सिरिएल आदि हेरेर सिक्ने कुरा पनि पोखे । ठूलो ठाउँको कुरा सानो ठाउँले सजिलै ग्रहण गर्छ भन्ने स्वीकारोक्ति पनि गरे । नेपालीले भारतीय कविताहरू पनि रुचि लिएर पढ्ने कुरा बताए।

बुद्धिसागर भने, `हमारे पास आग हे । पढ्ने  कि आग । ´

हिन्दीमा अनुवाद भएका अन्तर्राष्ट्रिय पुस्तक पनि नेपालमा भाषाको सहजताका कारण पढिने कुरा बताए ।

नेपालको पठन संस्कृतिको कुरा गर्दा बुद्धिसागरले १५-१६ वर्ष पहिला पाठक कम रहेको कुरा बताए । साझा प्रकाशनद्वारा प्रकाशित पुस्तकहरूको दोस्रो संस्करण आउँदा मात्रै पनि हिट किताब र लेखकको सूचिमा राखिन्थ्यो । पहिलो संस्करण जम्मा १,००० प्रति छापिने कुरा व्यक्त गरे । अखबारी लेखनमा सिद्धहस्त बनिसकेका नारायण वाग्लेको उपन्यास `पल्पसा क्याफे´ आएपछि नेपालमा  पठन संस्कृतिको  विकासले फड्को मारेको कुरा बुद्धिसागरले सेसनमा बताए ।

सहजकर्ताले ‘बुद्धिसागर आफ्नो बारेमा बताउन निकै सङ्कोच मान्ने लेखक भएको, त्यसैले मोडरेटरको बारेमा व्याख्या गर्दिने मान्छे हो’ भनेर भन्दा दर्शकदीर्घा फेरि हाँस्यो । मोडरेटरले पछिल्लो बीस वर्षमा धेरै बिकेको र पढिएको उपन्यास कर्णाली ब्लूज हो भनेर पेङ्गुइन प्रकाशन गृहले लेखेको कुरा स्मरण गराए ।

बुद्धिसागरले एउटा मज्जाको कुरा गरे कि, ‘अब किताब बिक्नु मात्र ठूलो कुरा भएन, लेखकले के नयाँ लेख्यो भन्ने कुराको चर्चा हुन थालिसकेको’ बताएँ । उनी पाठकको साक्षरता पनि बढेको कुरालाई स्विकार्न पछाडि परेनन् । अर्को एउटा रोचक कुरासँग पनि साक्षात्कार गराए उनले; एउटा प्रौढ शिक्षा पढेकी ८४ वर्षकी महिलाले पनि उनको उपन्यास फिरफिरे पढेकी रहेछिन् ।

बुद्धिसागरका अनुसार नेपाली पठन संस्कृतिको विकास हुनुमा आजका उपन्यास सरल ढङ्गबाट लेखिनु प्रमुख कारण हो भने । `विभिन्न भूगोल, संस्कृति, जातजाति आदिबाट नयाँ-नयाँ लेखक जन्मिरहेका छन्  । पाठकलाई त्यो कुरा पढ्दा वैधानिक लाग्छ । जसले भोगेको छ उसको लेखाइमा पाठकले मौलिकता भेट्छ । नेपालीहरू जो वैदेशिक रोजगारीमा छन्, उनीहरूले पनि आफ्नो देशलाई सम्झिनको लागि पनि पुस्तक पढिरहेको उनले बताए । उनले एउटा आफ्ना परदेशमा बस्ने पाठकको चर्चा गरे, उक्त पाठक बस्ने ठाउँमा उनी एक्लै नेपाली हुन रे । जब उनी नेपाली पुस्तक पढ्छन्, कुनै नेपालीसँग संवाद गरिरहेको अनुभव गर्छन्  रे ।

धुव्रचन्द्र गौतमको  घामका पाइलाहरू अनुवाद हुनुपर्ने पुस्तक र  नयनराज पाण्डेको सल्लिपिर, अमर न्यौपानेका सेतो धर्ती पनि अनुवाद भएर आउन लागेको जानकारी पनि दिए ।

**

मोडरेटरले आफूले प्रश्न सोध्ने जिम्मेवारी सक्काएपछि दर्शकको लागि प्रश्न तेर्साइदिएँ

पहिलो प्रश्न दर्शकबाट आयो, छुदेन काविमोलाई – ‘जब तपाईँ लेख्नुहुन्छ एक्टिभिस्ट भएर लेख्नुहुन्छ कि लेखक भएर ?’

उनले छोटो उत्तर दिए,` म एक्टिभिस्ट  होइन, लेखक हुँ । केही रिसर्च गर्छु नत्र लेखक भएर लेख्छु ।´

उनै प्रश्नकर्ताले बुद्धिसागरलाई पनि प्रश्न गरेका थिए । उनको प्रश्न थियो, `अनुवाद गर्दा `लस्ट इन ट्रान्सलेसन´ हुन्छ भन्छन्, तपाईँको किताबमा यस्तो भयो कि भएन ?´

बुद्धिसगरले अनुवादको बारेमा आफूले सुनेको किस्सा सुनाएँ, `वाइनको बोतलबाट गिलासमा वाइन खनाउँदा केही न केही त उडेर जान्छ । माइकल हन्ट राम्रो नेपाली जान्ने मन्छे हो । केही कुरा मौलिकमा सुन्दर हुन्छ, केही अनुवादमा ।´  उनले आफ्नो किताबको अनुवादको मूल्यांकन आफूले गर्न नसक्ने बताए । जो व्यक्तिले नेपालीमा उपन्यास पढेका थिए उनीहरूले अङ्ग्रेजीमा पढ्दा सन्तुष्ट भएको कुरा बुद्धिसागरले बताए ।

दोस्रो प्रश्न हिन्दीमा अङ्ग्रेजी मिसावटको समस्याको बारेमा आएको थियो । प्रश्नकर्ताले एकजना सम्पादकसँग कुरा गर्दा, `अबको केही सममयको अन्तरालमा हिन्दी हिन्दी रहन्न र अङ्ग्रेजी अङ्ग्रेजी रहन्न´ भनेको कुरा साभार पनि गरे । नेपाली भाषामा अङ्ग्रेजीको प्रभाव कतिको छ भन्ने उनको मुख्य प्रश्न थियो ।

बुद्धिसागर र काविमोले यसलाई सहज रूपमा लिनुपर्ने पनि बताए, त्यसैमा सहजकर्ताले जोडे, `बुद्धिसागरको उपन्यासको नाम कर्णाली ब्लूज छ, अब आफैँ अनुमान लगाउनुस् अङ्ग्रेजीको प्रभाव कत्तिको छ ।´ माहौल एकछिन हाँसोमा गुञ्जियो ।

अन्तिम प्रश्न दर्शकदीर्घाबाट यो थियो कि, `भारतमा युवा लेखकहरू प्रेमको विषयमा मात्र लेख्छन् तर, नेपाली युवा लेखकको कुरा सुन्दा उनीहरू आन्दोलन र पहिचानका कुरा लेखिरहेको देखियो  ।´

बुद्धिसागरले भने, `नेपालमा पनि प्रेमका विषयमा लेख्ने युवा छन् । तर, म जुन ठाउँबाट आएको थिएँ, त्यहाँको विषयमा लेखिएको थिएन । त्यसैले मैले लेखेँ ।´

सेसन समग्रमा सफल नै भएको मान्न सकिन्छ । सहजकर्ताले नेपाली साहित्य, लेखक र अनुवादका विषयमा केन्द्रित थिए र त्यसको उत्तर आयो। हिन्दी नेपालीले बुझे पनि बोल्दा नेपाली लवज आउनु समान्य कुरा नै हो । छुदेन  र बुद्धिसागरले बिचबिचमा नेपाली भाषा पनि मिसाएर हिन्दी बोले पनि उनीहरूले आफ्ना कुरालाई प्रस्ट बनाउन सक्षम थिए । बुद्धिसागरले एक ठाउँमा हिन्दीमा नेपाली मिसाउँदा आफै हाँस्न पुगेँ र निर्धक्क `म नर्भस छु´ भने । आफ्नो भाषा बाहेक अर्को भाषामा पूर्णता हुनैपर्छ भन्ने छैन । भाषाको काम भनेको विचारको आदानप्रदान हो । जुन कुरा राम्रैसँग भएको थियो ।

सेसन हेरिराख्दा दुईजना लेखक पर्दामा देखिए पनि;  दर्शकदीर्घामा रहेका अजित बरालको नाम लेखकले दोहर्‍याएर लिइराखेका थिए । त्यसैले उनी पनि सेसनको हिस्सा हो जस्तो बारम्बार आभास हुन्थ्यो । नेपाली साहित्य महोत्सवको कुरा निक्लँदा । नेपाल साहित्य महोत्सवका निर्देशक अजित बराल हो भनेर नाम आयो । यस महोत्सवले पनि पठन संस्कृति बढाएको छलफल गरियो । नेपाल साहित्य महोत्सवले पनि हिन्दी लेखकलाई स्थान दिने गरेको छ । फातसुङको अङ्ग्रेजी अनुवाद – ‘द सङ अफ सोयल’का अनुवादक प अजित बराल पनि सोही कार्यक्रम हेरिरहेको  रहेको कुरा पनि निक्लियो, जतिबेला  सहजकर्ताले नेपाली भाषाको मिठास त्यसमा पाइएकोले प्रशंसा गरिरहेका थिए ।

नेपाली साहित्य पनि अन्तर्राष्ट्रिय स्तरमा पुग्ने प्रक्रिया  सुरुवात हुँदैछ । पछिल्लो क्रममा भएका नेपाली पुस्तकका अनुवाद र अन्तर्राष्ट्रिय स्तरका महोत्सवमा नेपाली लेखकहरू पुग्नुले यसलाई साबित गर्दैछ । आउने दिनमा अझै नेपालका असल पुस्तक अनुवाद होऊन  र यसको सुगन्ध पृथ्वीको कुनाकुनामा पुगोस् । यही शुभकामना !

जनक कार्की

भिडियो

सम्बन्धित समाचार